एकाबिहानै चाबहिल चोकमा रमेश विकल उभिइरहनु भएको थियो। अलि ढिलै आउनु हुन्थ्यो, आज यति चाँडै किन आउनु भएछ भन्ने लाग्यो।

म सरासर पत्रिका पसलमा गएँ। समाचारहरूबारे सामान्य जानकारी लिने उद्देश्यले कुनै एउटा पत्रिकातिर हात लम्काउँदै थिएँ, पत्रिका टिप्न नपाउँदै पसलका मालिक वसन्त रजिालले भने, “दुःखको खबर थाहा पाउनुभयो?”

“छैन,” पत्रिका हातमा लिँदै मैले जवाफ दिएँ।

“ए ! अहिलेसम्म थाहा छैन?” उनले फेरि प्रश्न गरे।

“अहँ, छैन,” मैले भनेँ।

“आर्यघाट जानुपर्ने भयो नि !” उनले दुःखभावका साथ भने। आर्यघाट जानुपर्ने कुरा सुन्नेबित्तिकै म झस्किएँ।

“को बित्यो?” मैले सोधेँ।

“ल, थाहा छैन?” उनले उल्टो मलाई नै प्रश्न गरे।

“छैन,” मैले जवाफ दिएँ।

“गोतामे गएछन् नि !” फेरि पनि दुःखभावका साथ उनले भने। उनले जवाफ त दिए तर उनको जवाफपछि पनि म अलमलिएँ। किनभने, को बितेको हो भन्ने कुरामा उनको उत्तर अझै स्पष्ट थिएन।

“को गोतामे?” मैले स्पष्टताका लागि अर्को प्रश्न गरेँ।

“गोतामे भन्या थाहा छैन?” अस्पष्टतालाई प्रस्ट्याउलान् भनेर मैले सोधेको थिएँ। तर, उनैले मतिर अर्को प्रश्न तेस्र्याए।

“थाहा त छ तर कुनचाहिँ गोतामे?” मैले फेरि पनि स्पष्टताका लागि आग्रह गरेँ।

“श्याम गोतामे क्या, व्यंग्य लेख्छन् नि !” उनको कुरा बल्ल स्पष्ट भयो।

चाबहिल चोकमा पत्रपत्रिका र स्टेसनरी पसल थियो वसन्त रजिालको। उनी साहित्यिक मित्र पनि हुन्। उनको त्यो पसल धेरैको भेटघाटको केन्द्र थियो। अहिले पनि त्यो पसल त छ तर त्यहाँ वसन्त छैनन्। वसन्तले पसल छोड्नेबित्तिकै हाम्रो भेटघाटको एउटा केन्द्र पनि भत्किन पुगेको थियो।

श्याम गोतामे बितेको कुरा त थाहा भयो। तर, आर्यघाट जाने कि नजाने भन्नेबारेमा मैले केही सोचेको थिइनँ। म विभिन्न पत्रिकाका लेख र समाचारका शीर्षकहरूतिर आँखा घुमाइरहेको थिएँ। गोविन्द वर्तमान आइपुगे। वसन्तले सुनाउनुभन्दा अगाडि मैले नै श्याम गोतामे बितेको खबर उनलाई सुनाएँ।

मान्छेको मृत्युको समाचार दुःखदायी हुन्छ। हामी दुःखकै कुरा गरिरहेका थियौँ। रमेश विकल सडक पार गरेर पत्रिका पसलतिरै आउँदै गर्नुभएको देख्यौँ। पहिले-पहिले जागिर हुँदा बिदाको दिन बिहानको समय सधैँजसो चाबहिल आउने रमेश दाइ जागिर छोडेपछि अलि कम आउन थाल्नुभएको थियो। तर, त्यस दिन सबेरै चाबहिल आइपुग्नु भएछ। उहाँ सरासर हामी उभिएको ठाउँतिरै आउनु भयो। उहाँलाई श्याम गोतामे बितेको कुरा अरूले भन्दा पहिले आफैँले सुनाउनुपर्‍यो भनेर अरूलाई उछिन्दै अलिकति अगाडि बढेर मैले सोधेँ, “दाइ, एउटा दुःखद खबर थाहा पाउनुभयो?”

“अँ, थाहा पाएँ। त्यही थाहा पाएरै आएको।” रमेश दाइले पहिले नै सुनिसकेको बताएपछि म खिसि्रक्क परेँ। अरूलाई उछिन्दै खबर सुनाउन खोजेको थिएँ, बेकार भयो।

“म त घाटतिरै जान लागेको, तिमीहरू पनि जाने भए हिँड,” रमेश दाइले भन्नुभयो। वर्तमान र म रमेश दाइसँगै पशुपतितिर लाग्यौँ।

चाबहिल चोकबाट पशृुपति आर्यघाटसम्म जाँदा हामी रमेश दाइका श्रोता बनेका थियौँ। उहाँ जीवन र मृत्युका बारेमा कुरा गरिरहनुभएको थियो। अलि संवेदित मुद्रामै हुनुहुन्थ्यो उहाँ। कोही बितेको खबर पाएर घाटतिर गइरहेको अवस्थामा उहाँको त्यो मुद्रा हामीलाई स्वाभाविक लागिरहेको थियो। त्यही संवेदित मुद्रामा रमेश दाइ भनिरहनु भएको थियो, “राम्रा मान्छे हुन् गोतामे। लेखनमा पनि राम्रा, व्यवहारमा पनि राम्रा, विचारमा पनि राम्रा। हामी त साथी नै थियौँ। नजिककै मित्रता थियो। के गर्नु आफू पनि कुन दिन यसरी नै गइने हो। जानु त परी नै हाल्छ।” उहाँको भनाइ हामीलाई मार्मिक लागिरहेको थियो।

२० मिनेटजतिमा हामी आर्यघाट पुग्यौँ। कतै लास जलिरहेका थिए। कतै जल्ने तयारीमा थिए। एकातिर केही परििचत अनुहारहरू देखिएपछि हामी त्यतैतिर लाग्यौँ। नातामा श्याम गोतामेका बहिनीज्वाइँ अग्निशिखासँग भेट भयो। हामी उहाँसँगै कुराकानी गर्न लाग्यौँ। कुराकानीकै बीचमा अचानक रमेश दाइले भन्नुभयो, “ध्रुव, खोइ त ध्रुव?” यति भनेर उहाँ अर्कोतिर लाग्नुभयो।

रमेश विकल कसैलाई खोज्दै कहिले यता, कहिले उता गरिरहनुभएको थियो। कसैसँग केही भन्ने र त्यसको जवाफ नआउँदै अर्काथरी मान्छे भएको ठाउँतिर लाग्ने गर्दै हुनुहुन्थ्यो उहाँ। केहीबेरमा उहाँ फेरि हामी भएतिरै आउनुभयो। फेरि पनि भन्नुभयो, “ध्रुवलाई देखिएन नि !”

हामी केही बोलेनौँ। रमेश दाइ फेरि अर्कोतिर लाग्नुभयो। कतै उभिइरहेका र कतै बसिरहेका चिनजानका सबैको नजिक रमेश दाइ पुगिसक्नु भएको थियो र सबैसँग ‘के छ?’ भन्दै संक्षिप्त कुरा गर्न पनि भ्याइसक्नुभएको थियो। उहाँलाई नचिन्ने कोही थिएनन्। सबैले चिन्थे। त्यहाँ उपस्थित साहित्यकारहरूमा व्यंग्य लेखकहरूको उपस्थिति अलि बाक्लो थियो।

अग्निशिखा श्याम गोतामेको स्वाभिमानी स्वभाव, घरपरिवार र अप्रत्यासित निधनका बारेमा जानकारी दिँदै हुनुहुन्थ्यो। गोविन्द वर्तमान र म उहाँकै कुरा सुनिरहेका थियौँ। फेरि पनि रमेश दाइ हामी उभिइरहेको ठाउँमा आइपुग्नुभयो। उहाँले फेरि पनि भन्नुभयो, “ध्रुवलाई देखिएन, कता गएछन्?”

आर्यघाटमा आइपुगेदेखि नै उहाँ ध्रुव नामको कसैलाई खोजिरहनुभएको थियो। रमेश दाइ को ध्रुवलाई खोजिरहनु भएको छ भन्ने कुरा बुझ्न हामीले सकिरहेका थिएनौँ। सोधेपछि मात्र थाहा भयो उहाँले ध्रुवचन्द्र गौतमलाई खोजिरहनुभएको रहेछ।

रमेश दाइ केही युवा हास्यव्यंग्यकारहरू बसिरहेको ठाउँतिर लाग्नुभयो। हामी भने सुरुमा जहाँ उभिएका थियौँ, त्यहीँ नै थियौँ।

श्याम गोतामेको चिता बलिरहेको थियो। कोही श्रद्धाञ्जलि दिन आउँदै थिए, कोही फर्किंदै थिए। हामी पौने घन्टाजति बस्यौँ। त्यसपछि अग्निशिखासँग बिदा मागेर हिँड्यौँ।

जाँदाजस्तै र्फकंदा पनि हामी तीन जना नै थियौँ। रमेश दाइसँगै गोविन्द वर्तमान र म आर्यघाटबाट चाबहिलतिर लाग्यौँ।

“मान्छेको जीवन यस्तै त हो। केही गर्नेहरू पनि गएकै छन्। केही नगर्नेहरू पनि गएकै छन्। अजम्बरी कोही छैन।” यस्तै यस्तै अलि निराशाजनक कुरा गर्दै हिँड्दै हुनुहुन्थ्यो, रमेश दाइ। मृत्युसम्बन्धी केही धार्मिक कथाका प्रसंगहरूबारे पनि उहाँ चर्चा गर्दै हुनुहुन्थ्यो। हामी पनि उहाँको कुरा सुनिरहेझैँ र सहमति जनाइरहेझैँ गरी बेलाबेलामा ‘हजुर…हजुर’ भन्दै सँगसँगै हिँडिरहेका थियौँ। हिँड्दाहिँड्दै फेरि पनि रमेश दाइले भन्नुभयो, “होइन, ध्रुव किन देखिएनन् त्यहाँ?”

रमेश विकलले ध्रुवचन्द्र गौतमलाई खोज्याखोज्यै गर्नु र नदेखेपछि सोधेको सोध्यै गर्नुले उहाँ पक्कै पनि भ्रममा पर्नुभएको अनुमान मैले गरेँ। पहिले पनि एकपटक रमेश दाइले एउटाका बारेमा बोल्नुपर्नेमा के कारणले हो विभ्रममा परेर अर्कैको जीवनका बारेमा बताइरहेको घटना हामी केहीले अनुभव गरेका थियौँ। ०४५ सालमा प्रगतिशील लेखक संघले चेखब जयन्तीको आयोजना गरेको थियो। कार्यक्रमको सभापतित्व रमेश दाइले नै गर्नुभएको थियो। कार्यक्रमका अन्तिम वक्ता रमेश दाइ नै हुनुहुन्थ्यो। उहाँले बोल्ने क्रममा चेखबलाई ‘दुःख पाएर प्लेटफार्ममै सुत्ने गरेको र भाँडा माझेर समेत हिँडेको’ बताउनुभएको थियो। उहाँ चेखबका बारेमा बोल्नुपर्नेमा गोर्कीका बारेमा बोल्दै हुनुहुन्थ्यो। तर, बीचबीचमा नामचाहिँ चेखबकै लिँदै हुनुहुन्थ्यो। नबुझेर र थाहा नपाएर उहाँले त्यसरी बोल्नुभएको पनि होइन। किनभने, चेखब र गोर्कीका बारेमा उहाँको अध्ययन गम्भीर मात्र थिएन, विस्तृत पनि थियो।

त्यो दिनको जस्तै यो दिन पनि कुनै क्षणिक भ्रमले रमेश दाइको दिमागलाई प्रभावित गरिरहेको हो कि भन्ने महसुस मैले गरेँ। मैले गोविन्द वर्तमानलाई साउतीको भाषामा भनेँ, “गोतामे बितेको कुराले रमेश दाइलाई भ्रम भएजस्तो छ।”

“अँ, त्यस्तै छ। अझै पनि उहाँ भ्रममै हुनुहुन्छजस्तो छ,” वर्तमानले भने।

हिँड्दै हामी मित्रपार्क आइपुगेका थियौँ। मैले रमेश दाइको भ्रम हटाउने आँट गर्न सकिरहेको थिइनँ। तर, वर्तमानले त्यो आँट गरे। उनले प्वाक्क भनिहाले, “दाइ ! तपाईं अहिलेसम्म भ्रममै हुनुहुन्छजस्तो छ।”

“कस्तो भ्रम?” अलि फरक मुद्रामा रमेश विकलले भन्नुभयो।

“तपाईंलाई धच गोतामे बित्नुभएको भन्ने भ्रम परेजस्तो छ,” वर्तमानले भ्रम हटाउने प्रयासमा भने।

“हँ, अनि को बितेको त?” रमेश दाइको आश्चर्यबोधक प्रश्न थियो।

“बित्न त गोतामे नै बित्नुभएको हो। तर, धच गोतामे होइन, श्याम गोतामे बित्नुभएकोे,” वर्तमानले प्रस्ट पारे।

“हँ, के भन्दैछौ, श्याम गोतामे पो बितेका हुन्?” मित्रपार्कको चोकमा टक्क अडिएर रमेश दाइले आश्चर्यभावसहित प्रश्न गर्नुभयो।

“हो त,” वर्तमानले भने।

मित्रपार्कको व्यस्त चोकको एकछेउमा हामी तीन जना उभिएका थियौँ। त्यो भीडका बीच पनि केहीबेर सन्नाटामा हराएझैँ हुनुभयो रमेश दाइ। उहाँको परविर्तित अनुहारको मौनतासँगै केही समय हामी पनि उभिइरह्यौँ। हामी रमेश दाइको अनुहारतिर हेरिरहेका थियौँ। उहाँको शिथिल अनुहार अझै शिथिल देखिएको थियो।

“कस्तो विभ्रम !” यति भन्दै रमेश दाइ हिँड्न थाल्नुभयो। हामी उहाँको पछिपछि लाग्यौँ। मित्रपार्कबाट चाबहिल चोकसम्म आउँदा रमेश दाइ केही बोल्नुभएन। आफूलाई प्रभावित गर्ने विभ्रमका बारेमा सोचेर उहाँ चिन्तामा पर्नुभएको महसुस हामीले गर्‍यौँ।

चाबहिल चोकमा आइपुगेपछि हामी चिया होटलतिर छिर्‍यौँ। रमेश दाइ निकै गम्भीर र शान्त देखिनुभएको थियो। खासमा, अस्पष्ट सूचनाका कारण उहाँमा त्यस्तो भ्रम परेको रहेछ। उहाँलाई सूचना दिनेले ‘गोतामे बिते’ भनेर भनेका रहेछन्। त्यही आधारमा उहाँ धच गोतामेलाई सम्झँदै आरुबारीबाट दौडिनुभएको रहेछ। धच गोतामेसँगको निकट सम्बन्धका कारण पनि ‘गोतामे’ भन्नेबित्तिकै उहाँले धच गोतामेलाई नै सम्झनु अस्वाभाविक थिएन। चिया खाउञ्जेलसम्म पनि रमेश दाइ धेरै बोल्नुभएन। चिया खाइरहेको समयमा एकपटक रमेश दाइले भन्नुभएको थियो, “कहिलेकाहीँ यस्तै हो।”

कुनै अनौठो कुरा होइन। क्षणिक विभ्रमको प्रभाव सबैमा पर्छ। कोही पनि मान्छे जीवनमा नझुक्किने भन्ने हुनै सक्दैन। यो मानवीय गुण नै हो। त्यस्तो विभ्रमको कारण केही हुन पनि सक्छ, केही नहुन पनि सक्छ। त्यस दिन रमेश दाइमा विभ्रम पैदा गरििदने कारण अरू केही नभएर खबरदाताको खबर नै रहेछ। त्यो खबरदाता आफैँ पनि विभ्रममा त थिएन? हामीले त्यो कुरा पनि सोच्यौँ। रमेश दाइ अलिकति हाँस्नुभयो। त्यो खबरदाताप्रति हाम्रो कौतूहलता अझै बढ्न पुग्यो।

“यस्तो विभ्रममा पार्ने त्यो व्यक्ति को हो?” हामीले रमेश दाइसँग जिज्ञासा राख्यौँ।

“छ कोही,” उहाँले भन्नुभयो।

“को हो, नामै भन्नूस् न !” हामीले अलि जोड गर्‍यौँ। तर, रमेश दाइले त्यो व्यक्तिको नाम खोल्न चाहनु भएन। उहाँले भन्नुभयो, “राम्रै मान्छे हो। साथी नै हो। चाबहिल वारिपारिकै हो। को होला तिमीहरू नै अनुमान गर।” यति भनेर रमेश दाइ उठ्नुभयो। उहाँ घर जाने हतारमा हुनुहुन्थ्यो। हामी पनि कुनै नामको अनुमान गर्नेतिर भने लागेनौँ।

हामी पनि होटलबाट निस्क्यौँ। रमेश दाइ कति चाँडै सडकपारि पुगिसक्नु भएछ ।

नेपाल साप्ताहिक अंक ४७३

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *