हरेक बिहान उसैगरी
उज्यालो बाँडेजस्तो गर्दै
समय निल्दै हिँड्ने घाम
परै टल्कन्छ सिस्नेमा
र, लिवाङ आङ तन्काउँदै उठ्छ ।
आकाश छ अनन्त
बाँकी विश्वको जस्तै
जून टल्किन्छ बेलाबेला
र, चिसो हावाको सिरेटो
बहकिन्छ दक्षिण पूर्वतिर
घाम ढल्किन नपाउँदै
लिवाङ सुत्छ चिसो स्याँठसँगै ।
माडीचौर, सुलीचौर
थवाङ, भवाङ, इरिवाङ
माडीखोलाको धूनसँगै
जर्याकजुरुक उठ्छन्
जलजला छुन
लिवाङ विस्तारै हाई काढ्छ
र, आफ्नो अनुहार हेर्छ ऐनामा ।
धाङ्सी खोलाको पानीसँगै
बग्दै जान्छन् दक्षिणतिर
कालो इतिहासका अवशेषहरू
रगतका फाल्सा बग्छन् सँगसँगै
त्यसैका चित्कारबाट उब्जन्छन्
ठेट भाषाका लोकगीतहरू
जस्तो कि-
‘उजेलो भएको छैन, झुक्यायो जून पापी ताराले’
हो, अरू सदरमुकामजस्तै
यहाँ पनि घाम उसैगरी
उज्यालो बाँडेजस्तो गर्दै आउँछ
र, समय निल्दै जान्छ ।
अग्ला डाडाँहरूमा छेकिँदै
लिवाङ छिरेको घामको किरण
फेरि ठोकिन्छ अग्ला महलमा
र, चिसो हुन्छ उसैगरी
लिवाङको माटो
लिवाङको बाटो
र, लिवाङको अर्को पाटो ।

मधुपर्क २०६८ असोज

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *