हिजोआज जबजब म रेडियोबाट रामकृष्ण ढकालको सुमधुर स्वरमा घन्कँदै गरेको एउटा गीत सुन्छु, तबतब निकै गम्भीर रूपमा त्यसबाट प्रभावित हुने गर्छु। यस गीतको सुरुका दुई हरफ यस्ता छन् :

बिहान उठ्नेबित्तिकै हिमाल देख्न पाइयोस् !
यी हातले सधैँसधैँ नेपाल लेख्न पाइयोस् !

आज हाम्रो मुलुकमा छाएको राजनीतिक अस्िथरता र अन्योल, अशान्ति, असुरक्षा र अराजकता, बढ्दो महँगी र बेरोजगारी, कामको खोजीमा राष्ट्रिय प्रितभा तथा दक्ष-अदक्ष युवकयुवतीहरूको विदेश पलायन, देश हाँक्ने जिम्मा पाएका नेताहरूको चरम सत्तालिप्सा, स्वार्थपरायणता र आपसी अविश्वास, थपिएको म्याद गुज्रिन लाग्दा पनि संविधान नबन्नु र शान्तिप्रक्रिया टुंगोमा नपुग्नु आदि-इत्यादि कारणहरूले गर्दा पनि नेपाल नामको हाम्रो यो मुलुक तीव्र गतिमा असफलतातिर धकेलिइरहेको अनुभव-अनुभूति स्वयं हाम्रा यी नेताहरूलाई पनि अवश्यै हुँदो हो, हुनुपर्ने हो। हामीले यो नेपाल र यहाँको यो हिमाललाई हाम्रो भन्न नपाएको दिन हाम्रो के हविगत होला? यही र यस्तै तीव्र संवेदनशीलताले नै त होला भावुक कालीप्रसाद रजिाललाई राष्ट्रप्रेमले ओतप्रोत यस्तो मार्मिक गीत लेख्न उत्प्रेरित गरेको।

देशको यस्तो गम्भीर र सोचनीय अवस्थाले मन खिन्न भइरहेका बेला मैले श्रीमद्भागवद्गीताको एक पंक्ति हठात् सम्झन पुगेँ, उद्धरेत आत्मनात्मानं नात्मानम् अवसादयेत् अर्थात् मनमा अवसाद बोकेर नबसी आफ्नो उद्धार आफैँले गर्नुपर्छ। श्रीमद्भागवद्गीता वास्तवमा पूर्वीय आध्यात्मचिन्तनको चूडान्त ग्रन्थ हो। यो पढ्ने सौभाग्य मैले बाल्यकालमै पाएको थिएँ। यस्तो भनिरहँदा मैले अनायास सम्झन पुगेँ आफ्ना बाल्यकालीन सन्दर्भहरू- आफ्नो जन्मस्थान, कुलघरान, बाल्यकाल र त्यसबेला आफूले पढेका कुरा र आफूलाई पढाउने गुरुहरूका जीवनोपयोगी अर्तीहरू।

मेरो जन्म काठमाडौँको चाबहिलबजारमा १९९८ मंसिर २३ गतेका दिन भएको हो। मेरा बुबा मात्र होइन, उहाँका दाजु नीरबहादुर जोशी पनि वैद्यराज नै हुनुहुन्थ्यो। दुई दाजुभाइको संयुक्त परविार थियो र दुई दाजुभाइका नाममा चाबहिल बजारमा हाम्रो घरमा सरकारी स्वीकृतिप्राप्त एउटा ठूलो औषधी पसल थियो। ‘आयुर्वेद औषधालय’ भन्ने साइनबोर्ड टाँगिएको। घरपछाडि दक्षिणतर्फ फलफूलको बगैँचा र त्यसको छेउमा एउटा टहरा घर थियो। त्यो टहरामा दुईवटा ढिकीहरू थिए- एउटा औषधी कुट्ने र अर्को धान कुट्ने। घरमा कामदारहरू पनि थिए। काष्ठादिदेखि रसादिसम्म आयुर्वेदका सबैजसो औषधीहरू घरमै बनाइन्थे। त्यसबेला डाक्टरी वा भनूँ एलोप्याथी औषधी पसल चाबहिलमा एउटै पनि थिएन। त्यसैले हामीकहाँ औषधी गराउन टाढा-टाढाबाट पनि बिरामी लिएर मानिसहरू आई नै रहन्थे।

बुबा छउञ्जेल हाम्रो घरमा चकचकी थियो र हामी सबै सुखी नै थियौँ। तर, २००६ सालमा ब्रेन ह्यामरेज भई बुबाको असामयिक निधन भयो। त्यसपछि भने हाम्रा दु:खका दिन सुरु भए। बुबा बित्नुहुँदा म सात-आठ वर्षको थिएँ भने ममुनि एउटी बहिनी (सुशीला) र दुई भाइ (श्रीधर र माधव) थिए। तर, संयुक्त परविारमा हुनाले हाम्रो हेरविचार र लालन-पालन येनकेन ठूल्बुबाबाट भयो।

यसरी बुबाहरू मात्र होइन, हाम्रा हजुरबुबा शेरबहादुर जोशी पनि राजवैद्य वा वैद्यराज नै हुनुहुन्थ्यो। उहाँले तामालाई पगालेर बद्ध पाराको संयोजनमा सुन पनि बनाउनुहुन्ध्यो रे ! यसरी बनाइएको सुन सबै पशुपतिमा साधुसन्तलाई भण्डारा ख्वाएर सिध्याउनुहुन्थ्यो रे ! श्री ३ भीमशमशेरको पालामा हो क्यारे उक्त प्रकार सुन बनाउन लाग्दा नै ‘वैद्यले बम बनाउन लाग्यो’ भन्ने उजुरी परेर हाम्रो हजुरबुबा दुई वर्ष जेल पर्नुभएको र हाम्रो घर तायदात भएको थियो भनिन्छ।

जेहोस्, उक्त प्रकार वैद्य घरानाको भएकाले मैले अक्षरारम्भपश्चात् घरमै पढेर साधारण लेखपढ गर्न जान्ने भएपछि पहिले संस्कृत र आयुर्वेद पढेँ। सुरुमा मैले संस्कृत व्याकरण र कोश अर्थात् लघुकौमुदी र अमरकोश कविराज उमानाथ आचार्य (वर्तमान नेपाली कांग्रेसका केन्द्रीय नेता तथा सांसद नरहरि आचार्यका पिता)सँग उहाँको घर विशालनगर चन्डोलमा गई गुरुकुलीय परम्परामा २००८/९ देखि ०११/१२ सालसम्म तीन-चार वर्ष बडो मनोयोगपूर्वक पढेँ। त्यसबेला नौ-दस वर्षको बालक म बिहान सबेरै उठेर नित्यकर्म सकी घरबाट निस्केर चाबहिलको चन्द्रविनायक गणेशको परिक्रमा गरी धोबीखोला तरेर चण्डोलमा गुरुकहाँ पुग्थेँ। जाडोमा चिसोपानीमा खोला तर्न मलाई निकै सकस हुन्थ्यो भने वर्षायाममा चाहिँ कहिलेकाहीँ बाढी आएका बेला बगाउने डरले खोला तर्न नसकी म घरै र्फकन्थेँ। बाटो फेरि त्यस्तै, कतै काँडाको झाँङ पन्छाउँदै हिँड्नुपर्ने गोरेटो त कतै खेतको आली-आली र खहरे खोलाको डिलैडिल हिँड्नुपर्ने।

उमानाथ गुरुचाहिँ ऋषिजस्तै हुनुहुन्थ्यो, सनातन हिन्दुधर्म र वैदिक संस्कृतिका निष्ठावान् अनुयायी। धोती र भोटो वा कमिजको पहिरनमा कपडाको जुत्ता लगाई लठ्ठी लिएर हिँड्ने उहाँ शुद्ध शाकाहारी एवं स्वयंपाकी उपाध्याय ब्राह्मण हुनुहुन्थ्यो। सधैँजसो बिहान भान्छामा गुरुआमा (रेवतीदेवी) चौकी नजिकै बसी तिहुन-तरकारी केलाइवरी ठीक पारििदनुहुन्थ्यो। गुरुचाहिँ चुल्होमा दाउरा बालेर भात पकाउँदै मलाई पढाउनुहुन्थ्यो, लघुकौमुदी र अमरकोश। गुरुलाई किताब हेर्नुपर्दैनथ्यो, आँखा चिम्लेर पढाउनुहुन्थ्यो। गुरुले सुरुदेखि नै नियम बसालिदिनुभएको थियो- अघिल्लो दिनको पाठ नबुझाई नयाँ पाठ नदिने। यसो हुँदा प्रत्येक दिन मैले गुरुलाई पाठ बुझाउनै पर्थ्यो। मैले पाठ बुझाउँदै जाँदा गुरु मसँग खुसी हुँदै जानुभयो। पछिपछि त उहाँले मलाई आज यहीँ खाएर जानू भनीकन भान्छाको चौकीनजिकै राखेर भात पनि खुवाउन थाल्नुभयो। जीवन सफल बनाउन गुरुकृपा, शास्त्रकृपा र ईश्वरकृपा यी तीन कृपा चाहिन्छ भन्छन्। मैले सुरुमै यस्तो गुरुकृपा प्राप्त गरेको थिएँ, त्यो मेरो सौभाग्यको कुरो थियो।

गुरुले सबै कुरा व्युत्पत्तिसहित बुझाएर पढाउनुहुन्थ्यो र भन्नुहुन्थ्यो, “बुझेर पढ्ने, नबुझेको कुरा मसँग सोध्ने अनि कण्ठ गर्नुपर्ने कुरा, जस्तै- कौमुदीका सूत्रहरू र अमरकोशका श्लोकहरू तथा मन्त्र र स्तुति, प्रार्थनाका पंक्तिहरू कण्ठै गर्ने।” अनि, कण्ठ गर्ने उपाय पनि गुरुले मलाई बताइदिनुभएको थियो, जसबाट मैले उहिलेदेखि अहिलेसम्म पनि बराबर लाभ उठाउँदै आइरहेको छु। गुरुले बताउनुभएको त्यो उपाय हो- “कण्ठ गर्नुपर्ने कुरालाई राति सुत्ने बेला सम्झँदै निदाउने र भोलिपल्ट बिहान ब्यूँझिनेबित्तिकै पनि पहिले त्यसैलाई सम्झने।” त्यसबेला मैले झन्डै दुई काण्ड अमरकोश र लघुकौमुदीका मुख्य-मुख्य र प्राय: सबै सूत्रहरू त्यसरी नै कण्ठ गरेको थिएँ। त्यतिबेला म यी दुई ग्रन्थमा जसले जहाँ जे सोधे पनि व्युत्पत्तिसहित कण्ठाग्र भन्न सक्थेँ।

उमानाथ गुरु त्यसबेला के पनि भन्नुहुन्थ्यो भने नबुझीकन घोकेर, सुगाले झैँ रटेर कण्ठ गर्ने काम छैन, त्यसले ऐन-मौकामा काम पनि दिँदैन, त्यसबाट त धोका मात्र हुनसक्छ।

त्यसबेला वा भनूँ १०-१२ वर्षको उमेरमा मैले उमानाथ गुरुसँग पढेका मात्र होइन, उहाँबाट प्रसंगात बेलामौकामा प्राप्त गरेका अर्ती-उपदेशहरू पनि अहिले यो ७० वर्षको उमेरपछि पनि म यथावत् नै सम्झन्छु। कौमुदी पढाउन थाल्नुहुँदा गुरुले सुरुमै सुनाउनुभएको एउटा श्लोक मलाई अझै कण्ठै आउँछ, जुन यस्तो छ :

यद्यपि बहुनाधीषे तथापि पठ पुत्र व्याकरणम्।
स्वजन: श्वजनो माभूत् सकलं शकलं सकृत शकृत्।।

अर्थात् धेरै थोक नपढे पनि व्याकरणचाहिँ अवश्यै पढ्नु है बाबु किनभने व्याकरण पढिएन, जानिएन भने ‘स्वजन’ (आफन्त) लेख्नुपर्ने ठाउँमा ‘श्वजन’ (कुकुर), ‘सकलं’ (सबै)को ठाउँमा शकलं (टुक्रा) तथा ‘सकृत’ (एकपल्ट)को ठाउँमा ‘शकृत’ (मल, विष्ठा) लेखिन सक्छ र अर्थको अनर्थ हुनसक्छ।

यसैगरी गुरु कहिलेकाहीँ विद्याको महिमा बताउँदै भन्नुहुन्थ्यो, विद्याधनं सर्वधन प्रधानम् अर्थात् विद्या नै सबैभन्दा ठूलो धन हो। ‘किं किं न साधयति कल्पलतेव विद्या’ अर्थात् कल्पवृक्षले जस्तै विद्याले पनि जे पनि सिद्ध गर्नसक्छ विद्ययाक्मृतमन्शुते अर्थात् विद्याले अमरता प्राप्त हुन्छ। इत्यादि …।

आयुर्वेद पनि मैले सानैमा चाबहिल मित्रपार्कनिवासी कविराज शमशेरबहादुर मिश्र (कविराज रामबहादुर र कविराज कृष्णबहादुर सिंहका पिता)सँग उहाँको घरमा गई पढेको थिएँ डेढ-दुई वर्षजति। शमशेरबहादुरसँग मैले खासगरी माधवनिदान र निघण्टु पढेको हुँ। उहाँले पनि पढाउने क्रममा बीचबीचमा विशद् व्याख्यासहित सुनाउनुभएका आरोग्यविषयक अर्तीका पंक्तिहरू म अझै सम्झन्छु, जसमध्ये एउटा यस्तो छ : धर्मार्थकाममोक्षाणामारोग्यमूलभुत्तमम् अर्थात् धर्म, अर्थ, काम, मोक्ष, यी चारै पुरुषार्थका मुख्य साधन आरोग्य (स्वास्थ्य, निरोगिता) नै हो।’ निश्चय नै आरोग्य भएन वा भनूँ स्वास्थ्य (शारीरिक, मानसिक दुवै थरी) ठीक रहेन भने हामी न धन कमाउन सक्छौँ, न धर्मकर्ममै लाग्न सक्छौं, न मोजमस्तीको मजा लिन सक्छौँ, न त मोक्ष वा निर्वाण नै प्राप्त गर्न सक्छौँ। यस्तै अर्को छ :

मिथ्याहारविहारभ्यां दोषा ह्यामाशयाश्रया:
बहिर्निरस्य कोष्ठाग्निं ज्वरदा: स्यु: रसानुगा:।

अर्थात् आहार र विहार मिथ्या वा बेठीक भएमा त्यसबाट हाम्रो शरीरमा गडबडी पैदा भई हामी बिरामी हुन्छौँ (भावार्थ)। तात्पर्य के भने हामी बिरामी हुनाको मूल कारण हाम्रो मिथ्या आहार र मिथ्या विहार नै हो। त्यसैले निरोगी बन्नु छ भने हामीले आफ्नो आहार र विहारलाई सन्तुलित र उपयुक्त राख्नु जरुरी छ। इत्यादि …।

उक्त प्रकार गुरुहरूकहाँ घर-घर गई पढ्दै जाँदा एकदिन यसरी घरमा पढेर मात्र हुँदैन जाँच पनि दिँदै जानुपर्छ भन्ने भएपछि म रानीपोखरी संस्कृत प्रधान पाठशालामा भर्ना गरिए ०१२/१३ सालतिर। यहाँ पढ्न थालेपछि साथीहरूमार्फत म पशुपति चार शिवालयनिवासी एवं वेदान्तशास्त्री अग्निहोत्री गणेशप्रसाद गौतमकहाँ पुगेँ। रघुवंश र किरातार्जुनीय महाकाव्य पढ्न। गणेशगुरुसँग मैले उक्त महाकाव्य मात्र पढिनँ, अपितु नेपाली-संस्कृत अनुवाद गर्ने सीप पनि सिकेँ। अझ उहाँसँग मैले खास पढेको त अध्यात्म दर्शन हो- व्याख्याविवेचनासहित समग्र श्रीमद्भगवद्गीता र वेदान्तसारसंग्रह। त्यसैले खासमा उहाँलाई म आफ्ना आदरणीय आध्यात्मगुरु मान्छु। उहाँले पढाउनु हुँदाखेरिका जीवनोपयोगी अर्तीका अनेक अविस्मरणीय श्लोकहरू मलाई अझै कण्ठै आउँछन्। तीमध्ये उदाहरणस्वरूप एकाध यहाँ प्रस्तुत गर्दैछु। एउटा यस्तो छ :

युक्ताहारविहारस्य युक्तचेष्टस्य कर्मसु।
युक्तस्वप्नावबोधस्य योगो भवति दु:खहा: ।।

अर्थात् सन्तुलित र उपयुक्त आहार-विहार गर्ने, सही काममा हात हाल्ने, ठीक समयमा सुत्ने र ठीक समयमा ब्यूँझिने व्यक्तिको जीवन दु:खी हुँदैन। मतलब के भने त्यस्तो व्यक्तिलाई हत्पति रोगादि दु:खले छुँदैन र जीवनमा कर्मद्वारा सफलता प्राप्त गरेर ऊ सुखी हुन्छ। त्यस्तै अर्को छ :

यत: प्रवृत्तिभूर्तानां येन सर्वमिदं ततम्।
स्वकर्मण तमभ्यच्र्य सिद्धिं विन्दति मानव:।।

अर्थात् जसबाट संसारका सारा प्राणीहरूको प्रवृत्ति भएको छ र जसले यो सारा संसार ढाकेको छ, त्यो परमात्मा-परमेश्वरको हामी मानिसहरू आफ्नो कर्म (मानवोचित कर्म)द्वारा पूजा-अर्चना गरेर सिद्धि प्राप्त गर्छ। इत्यादि …।

साँच्चि भन्ने हो भने सुरुसुरुका संस्कृतमा मेरो मजबुत जग बसालिदिने मेरा आदरणीय आद्याचार्य वा प्रथम गुरुहरू पनि कविराज उमानाथ गुरु र अग्निहोत्री गणेशगुरु नै हुनुहुन्थ्यो। उहाँहरूले बसालिदिनुभएको जगमा नै उभिएर मैले उपर्युक्त रानीपोखरी संस्कृत प्रधान पाठशाला र संस्कृत महाविद्यालयमा पढी संस्कृतमा दर्शनशास्त्री गरेर सर्वदर्शनाचार्य दोस्रो वर्षसम्मको पढाइ पूरा गरें, जाँच मात्र दिन पाइनँ तर यता नेपालीमा एमए गर्न पुगेँ र पछि महाकवि देवकोटा विषयमा विद्यावारििध पनि गरेँ र मेरो यो विद्यावारििध महाकवि विषयक पहिलो विद्यावारििध बन्यो।

नेपाल साप्ताहिक ४४१

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *