कल्पनामा हराइरहेको थियो लेखक । ऊ एक्लै थियो आफैले संरचना गरेको त्यो घरमा । त्यो फ्लाटमा । आफ्नै कोठाको ओछ्यानमा ।

घरक्क ढोका बजेको आवाज आयो । हेर्‍यो, डम्म लगाएको ढोका बाहिरबाट कसैले तानेर अलिकति उघ्राएको थियो । र, उघ्राउने त्यो मानिस मोबाइलमा चर्को चर्को स्वरमा बोलिरहेको थियो- ‘ल तपाईं तुरुन्त यहाँ आउनुपर्‍यो । कुरा गम्भीर छ, एउटा फैसला गर्नुछ तुरुन्त……..।’

यसैगरी ऊ अर्को अर्को फोन गर्दै थियो । लेखकलाई लाग्दैथियो, ढोका बाहिर बोलिरहने मानिसको बोली सुने सुनेजस्तो छ । मानिस चिने चिनेजस्तो छ । मनमा एकप्रकारको उत्सुकता र कुतुहलता जगाउँदै लेखक ढोकाको छेस्कनी सुरुक्क खोलेर बाहिरपट्टि चिहायो ।

साँच्चै नै त्यो अनुमान गरिएकै मानिस रहेछ । ऊ मध्यभर्‍याङको स्पेसमा उभिएर पूर्ववत् चर्को स्वरमा फोन सम्पर्क गर्दैछ र मानिस बोलाउँदै छ ।

नाम किटेर भन्दैछ, फलानाको घरमा आउनुस् ।

लेखक विस्मित हुन्छ । आदरपूर्वक नाता जोडेर सम्बोधन गर्ने मानिस, आज नामै किटेर अपमानपूर्ण शब्द प्रयोग गर्दैछ ।

लेखक छक्क पर्छ- के भएको छ आज यसलाई ? यो जँड्याहा पनि होइन, भाङ धतुरो खाएको मानिस पनि होइन, बोली सन्तुलित छ, खुट्टा सन्तुलित छन् । लरबराइरहेका वा लड्खडाइरहेका छैनन् उसका खुट्टाहरू । फेरि किन यत्तिविधि उत्तेजित हुँदैछ, संयमता गुमाउँदैछ र अपमानपूर्ण शब्द प्रयोग गर्दैछ ?

लेखक उसको नामै किटेर भन्छ- ‘दामोदर ! तिमीलाई के भयो ? के आपत पर्‍यो र मानिसहरू बोलाउँदैछौ ? भित्र आएर बस । मलाई यथार्थ कुरा बताऊ ।’

तर ऊ उत्तेजित हुँदै चर्को स्वरमा जवाफ दिन्छ- ‘म मात्र होइन, अब मसँग धेरै मानिसहरू आउँछन्, एकैछिनमा यो घर घेर्छन्, जुत्ताको माला ल्याएर लगाइदिन्छन्, कालोमोसो दलिदिन्छन् र भाटे कारवाही गर्छन् । त्यसपछिमात्र यथार्थ कुरो थाहा हुन्छ । मैले जुन सोचेको थिइन, त्यो भयो ।’

‘के भयो ? भित्रै आएर कुरा गर न ! तिमीलाई कसैले गलत समाचार दिएको जस्तो छ । गलत कुरा सुनाएजस्तो छ । तिमीले मलाई विश्वास गर । मबाट त्यस्तो कुनै गल्ती भएको छैन । छ भने म सजाय भोग्न तयार छु । तर वास्तविक कुरा त थाहा पाउनुपर्‍यो नि ! त्यसकारण तिमी भित्र आऊ र भएको कुरा बताऊ ।’

तर ऊ न भित्र आउन तयार छ, न फोन सम्पर्क बन्द गर्न नै तयार छ । को कसलाई फोन गर्दैछ, थाहा छैन । ठाडो स्वरमा त्यही कुरा दोहोर्‍याउँदैछ- ‘म एक्लै पस्दिनँ भित्र । मानव अधिकारवादीहरूलाई पनि खबर भएको छ । महिला अधिकार सङ्गठनलाई पनि जानकारी भएको छ । ती सबै आउँछन् र उनैले भन्छन् के भएको हो ? त्यत्ति ठूलो विश्वासघात गरिसकेपछि पनि अझ बुझपचाउने ? पत्रकारहरू पनि आउँछन्, सबै कुरा बुझ्छन्, भोलिको अखवारमा छ्याप्छ्याप्ती नाम छापिन्छ । अनि देखिन्छ लेखक हुँ भनेर फुर्ति गर्नेको नक्कली अनुहार । लेखकको असली चरित्र ।’

‘ए बाबा ! मबाट त्यस्तो के गल्ती भयो ? यति जान्न पनि नपाउने मैले ?’ लेखक भन्छ ।

‘अर्काको इज्जत लुटेको कुरा बुझपचाएर अझ केही थाहा नभएजस्तो गर्ने ? अब दुई/चार भाटा खाएपछि बुझिन्छ ।’

‘इज्जत ! कस्तो इज्जत ! अनि मैले कहिले लुटेँ, कहाँ लुटें ? कसको लुटेँ ?’

लेखक चक्कराउँछ । सोच्छ- अस्तिको दिन । त्यो दिन, जुन दिन घरैमा बसेर काम सघाइरहेकी र स्कुल पढ्दै गरेकी एउटी चौध/पन्ध्र वर्षे किशोरी सामान्य असन्तुष्टिपछि दाजुको साथ लागेर घर फर्केकी थिई । सायद उसले मेरो बारेमा, मेरो घरको बारेमा गलत प्रचार गरेकी हुन सक्छे ।

त्यसपछि त लेखक अत्यन्त भयभीत अवस्थामा देखियो । मानौँ उसको मस्तिष्क चक्करायो, दृष्टि तिलमिलायो, मुटु फुल्यो, गोडा लगलगाउन थाले, होस ठेगानमा रहेन ।

यसर्थ कि गल्ती केही पनि नगरेको होस्, घरमा बसेकी एउटी किशोरीले कपोलकल्पित कुराहरूको तानाबाना बुनेर वा कुसङ्गतमा परेर आफ्नै बुद्धिले वा अरूको बुद्धिले कुनै आरोप लगाई भने त्यो सत्य होस् वा गलत, समाज उसैको पक्षमा बोल्छ र आरोपित मानिसमाथि खनिन्छ ।

त्यसबेला जे पनि हुन सक्छ, सत्यको विजय नै हुन्छ भन्ने केही छैन, असत्यको पनि विजय हुन्छ । चाहे क्षणिक होस् या दीर्घकालीन ।

लामो समयदेखि बसाउठी भएको र पारिवारिक हिसाबमा समेत लिइने गरेको त्यो मानिस एकाएक त्यसरी बक्र भई घरभित्र पनि पस्न नमान्ने र गम्भीर आरोप लगाउदै गरेको देखेर लेखक साँच्चै नै त्यो विपत्ति निम्तिने नै हो कि भनी खुब सोचमा पर्छ ।

यसै बीच हस्याङ्फस्याङ् गर्दै तीन/चारजना महिलाहरू घरभित्र छिर्छन्- आफूलाई त्यस टोलका नेतृ ठान्नेहरू । तर कुनै सङ्गठनका पदाधिकारीचाहिँ होइनन् ।

पुरुष वर्गले महिलाहरूमाथि गरेका अन्याय अत्याचारका विरुद्ध उनीहरू खनिन्थे । आफ्नो वर्गको स्वार्थका लागि पुरुषवर्गलाई दवाव पनि दिन्थे । टोल छिमेक थर्काउथे । त्यही आक्रोसको पोखाइ आज लेखकमाथि पनि हुँदै थियो सायद ।

उनीहरू सोध्ने पक्षमा थिएनन्, घटनाको पृष्ठभूमि के हो ? कहाँबाट समस्या तन्किएर आयो र यस रूपमा फैलियो कि एउटी अवोध किशोरीले घरै छाडेर हिँड्नुपर्‍यो । यो सबै सोध्नुसँग उनीहरूको सरोकार थिएन ।

उनीहरू आक्रोशित मुद्रामा देखिए र हातै हालुँला, जाई नै लागुँलाजस्तो गरी लेखकलाई घेरेर रिसको पेटारो खोले- ‘छोरीजस्ती एउटी अनाथ केटीमाथि दुराचार गर्ने ? हातपात गर्ने ? र इज्जतमाथि खेलबाड गर्ने ? थुक्क…………..! यस्तो पनि लेखक ? यस्ताले लेखेर समाजलाई शिक्षा दिने ? छि छि छि छि ……..! लाज पचेका सरमछाडा …………..!’

‘स्वास्नीको कुरा किन काट्छ ? आफन्तले भनेको किन मान्दैन ? छिमेकी महिलाले गरेको सानोतिनो कुराको चियोचर्चो किन गर्छ ? भनेको त भित्रभित्रै अर्काकी छोरीलाई शोषण गर्न पाएको रै’छ र पो………….! यस्ता दुराचारीको नाम अखवारमा निकाल्नुपर्छ, चौबाटोमा उभ्याएर कालो मोसो दलिदिनुपर्छ । अनि थाहा हुन्छ लेखकको भित्री अनुहार कस्तो रहेछ भनेर ।’

‘बडो विकृतिको नाममा कथा लेखेर घुमाइ फिराइ हामीमाथि झटारो हान्ने ! अनि आफू पानीमाथिको ओभानो बन्ने ! अब यस्तालाई छाडिँदैन । अबोध केटीमाथि जथाभावी गरेबापत जरिमाना नतिरिकन छुट्कारा पाउँला भनेर आशै नगरे हुन्छ । जुलुस आउँछ महिलाको । आवश्यक परे पुलिसको सहयोग मागिन्छ तर यसै छाडिँदैन ।’

लेखक निरीह छ । ऊ बोल्न सकेको छैन । मुख सुकेको छ । हातखुट्टा लगलगाएका छन् । ऊ ती अपमानपूर्ण शब्दहरूको डटेर विरोध गर्न सक्दैन । विरोधबाट झन् ठूलो विपत्ति आउन सक्ने सम्भावना देख्दैछ । त्यसैले आफू निर्दोष भएको कुरामात्र सुनाउन खोज्दैछ । तर उनीहरूको गर्जनसामु लेखकको स्वर विलिन छ ।

लेखक सोच्छ, मेरो मौनताले यिनीहरूको पुरानो रिसइवी यहीँ छताछुल्ल पोखिएर बाहिर निस्किएन भने ठूलो गनिमत ! त्यसै हो भने म सहिदिन्छु । जति गाली दिए पनि पचाइदिन्छु । कोठाभित्र एक/दुई मुक्का खाएर उनीहरूको रिस शान्त हुन्छ भने त्यो पनि खाइदिन्छु ।

लेखक सोचमग्न छ । त्यसरी पालिएकी, त्यस्तो वातावरणमा बसेकी, हुर्केकी, पढेकी र घुम्न/रम्न पाएकी त्यस केटीले यतिविधि आरोप कसरी लगाउन सकी ? सम्भवतः कतैबाट षड्यन्त्रको जालो बुनिन गयो र उसलाई चक्रव्यूहमा पारेर रिस फेर्ने वातावरण तयार पारियो ।

लेखक मनमनै चाहना गर्छ- घर गएकी त्यस केटीलाई बोलाइयोस्, उसले सत्यसत्य बोलोस् र न्याय निशाप होस् । तर कता कता उसलाई मनमा आशङ्का छ- ऊ कुनै दुर्बुद्धिबाट निर्देशित भएर मनगणन्ते आरोपहरू लगाउन थाली भने त्यसको प्रतिरोध गर्ने आधार ममा के रहन्छ र मेरो सुनुवाइ कोबाट हुन्छ ?

लेखक परिवन्दले जकडिएको अवस्थामा खुम्चिएको छ । शिशुपालले दिएका गाली सुनेर बस्ने क्षमता भएका श्रीकृष्णले समेत एक सयभन्दा बढी गाली सुन्न नसक्ने अवस्थामा पुगेथे । तर लेखक सयौँसयौँ गाली सुन्न तत्पर छ । उसले सुन्नुपर्ने स्थिति छ । सुन्न बाध्य छ । यसबेला उसको मौनता नै अमोघअस्त्र हो । यही सोच्छ र चुप लागिरहन्छ ।

को को आउने हुन् र केके हुने हो ? भन्ने पिरलोले पिरोलिएकै अवस्थामा दुई तीनजना पुरुषको प्रवेश हुन्छ । उनीहरू समस्या निराकरण गर्ने उपाय सोच्छन् । क्षतिपूर्तिको कुरा उठ्छ ।

लेखक अन्योलमा छ । अपराध के हो ? दण्डसजाय के हो ? मागिएको क्षतिपूर्ति के वापत हो ? र कति हो ? तथापि बोलिहाल्ने साहस गर्दैन लेखक ।

लेखक चक्रव्यूहमा फनफनी रिँगेको छ । बोलेर ठीक हुने हो कि नबोलेर ? अन्यायलाई कड्केर विरोध गर्नुपर्ने हो कि चुपचाप सहनुपर्ने हो ! वास्तवमा ऊ सम्भाव्य बेइज्जतीबाट बच्नका लागि जे भोग्न पनि तयार छ । चार पर्खालभित्र ऊ जे सहन पनि तयार छ । तर उसलाई यो पनि डर छ कि धेरै विनम्रता देखाउँदा र आरोपहरूलाई विरोध नगरेर सहिरहँदा आरोप स्वीकार गरेको पो ठहरिन्छ कि ?

महिला स्वर चर्को छ । बोल्न खोजे पनि अवसर मिल्दैन लेखकलाई तर पुरुष स्वर लेखकलाई बोल्न प्रेरित गर्दैछ ।

दबिएको स्वरमा लेखक भन्छ- ‘मबाट दुराचार भएकै छैन, किशोरीमाथि कुनै प्रकारको अनैतिक शोषण गरेकै छैन । गरिएको छ त ठूलाले सानामाथि गर्ने व्यवहार । घरको मुख्य सदस्यले केटाकेटीमाथि गर्ने व्यवहार । चलाई, बोलाई, खेलाई जति छन् ती सबै दुरासयविहीन छन् । तर अर्थ लगाउनेले स्वार्थलाई विपरीतार्थ बनाइदिएको र त्यसैगरी बुझ्न किशोरीलाई प्रेरित गरेको मेरो अनुमान छ ।’

‘यो आरोप कसलाई लगाइएको हो ? कसले सिकायो उसलाई यी सबै कुरा बोल्न ? सिकाएर लगाइएका हुन् यी सबै आरोपहरू ? भन्न खोजिएको के हो ? स्पष्ट हुनुपर्‍यो ।’ महिलावर्गको तीब्र आक्रोस सुनिन्छ ।

‘त्यसले आफ्नो बुद्धिले यो चर्तिकला गरी होली र कहिल्यै कठोर बोली नबोल्ने, मागेको दिने, भएका सानातिना गल्तीलाई पनि ढाकछोप गरिदिने ममाथि यति ठूलो आक्षेप लगाई होला भनेर मलाई पत्यार लाग्दैन । पछिल्लो पटक कुरा हुँदा पनि उसले मलाई प्रमुख कारक बनाएकी थिइन । उसले विगतदेखि भोग्दै आएका विविध घटनाहरूको सङ्कलन नै उसको वितृष्णाको कारकतत्व हो भन्ने मेरो अनुमान छ ।’- लेखकको स्पष्टोक्ति रहन्छ ।

लेखक सम्भावनाका कुरा औल्याउँछ । यथार्थमा लेखक बेइज्जती हुने डरले थरथराएको छ । ढोका बाहिर कोही मानिस बोलिरहेको सङ्केत मिल्दैछ । ती मानिस एकाघरकै कोही पनि हुन सक्छन् ! चर्को महिला स्वरले तानिएर आएका छिमेकी पनि हुन सक्छन् ! वा कुरो गम्भीरता साथ अगाडि बढ्यो भने जाइलाग्न तत्पर रहेको कुण्डले झुण्ड पनि हुनसक्छ । जुन झुण्डले एकपटक लेखककै सन्तानमाथि आक्रमण गरेको थियो र लेखककै धम्काइपछि त्यो समूह प्रतिशोधको भावनाले ग्रसित हुनपुगेको थियो ।

साँच्चै नै लेखक यसबखत प्रचण्ड ज्वालामा जलिरहेको छ । सुरुमा ढोकामा आएर फोनबाट तीब्र आक्रोश पोख्नेले भनेजस्तै लाठे, जगल्टे, ट्यापे वा भद्रभलाद्मी जोसुकै पनि घरमा आए भने र मेरो बेइज्जती गरे भने वा घरमा प्रवेशमात्र गरिहाले भने पनि टोलमा कस्तो तमासा होला ? निष्पक्ष, सशक्त र अनुभवी लेखक भनेर टेलिभिजन, रेडियोबाट प्रचारप्रसार भएको लेखकको नाम कसरी एकाएक धुलिसात् होला !

उसलाई भाउन्न होलाजस्तो भएको छ । जीउ काँपेको छ । स्वास-प्रश्वास बढेको छ । ओठमुख सुकेका छन् । पानी पिइरहेको छ । तर समय निकै घर्किदै जाँदा पनि कल्पना गरिएजति मानिसहरू घरमा नआएकामा लेखकलाई मानौँ सञ्जीवनी मिलेको छ । सागरमा डुबिरहेको मानिसलाई मानौँ तृणाले आशा दिइरहेको छ ।

यसै बेला छिमेककै अरू एक/दुई जना महिला-पुरुष थपिएका छन् र लेखकको भनाइ सुनेका छन् । उनीहरू लेखकको स्वभावका बारेमा र लेखकप्रति यदाकदा छिमेकीहरूबाटै हुने गरेका प्रताडनाका बारेमा केही बुझेका र केही जिज्ञासा राख्ने मानिसहरू हुन् । उनीहरू मध्यविन्दुमा बसेर निष्कर्षतिर लाग्न मिलनविन्दुका कुरा उठाउँछन्- ‘पीडित पक्ष पनि साथमा भए यथार्थ कुरा बुझ्न सजिलो पर्थ्यो । गाउँ नै गएकी भए पनि उसलाई यहाँ झिकाऊँ/ल्याऊँ र उसका कुराहरू पनि सुनौँ ।’

यस भनाइमा महिला समूहकै मतमतान्तर रहन्छ- ‘त्यस्तो पीडा खेपेर गएकी केटी फेरि यस्ताको मुख हेर्न कसरी आउँछे ? किन आउँछे ? आउँदिन । पर्दैन त्यसलाई बोलाउन । उसले भोगेको कुरा हामीलाई बताएर गएकी छे, कुरा त्यही हो । यो मानिस गतिलो होइन भन्ने हामीलाई पहिले नै थाहा थियो, जुन सत्य निस्क्यो । यस मान्छेको चरित्र राम्रो छैन भन्ने कुरा चरित्रहीन केटीहरूको सङ्गतले नै स्पष्ट पारेको छ । यो मानिस टोलमा राख्न हुने मानिस नै होइन । हाम्रो टोलमा आइसकेपछि हाम्रैअनुसार चल्नुपर्छ । हाम्रै टोलमा आउने, हामीले गरेकै काम कुराको विरोध गर्ने ? अनाथमाथि दुराचार गर्ने ?’

अर्को पक्षको भनाइ रहन्छ- ‘ल्याए हुन्छ, के फरक पर्छ ? ऊ आउँछे र उसैले झोँको झार्छे यस्ता अत्याचारीको । चरित्र हत्याएवापत त्यसले क्षतिपूर्ति जेजे दावी गर्छे, उसैले गर्छे । पैसा दिनुपर्ने हो कि अंशै काटेर दिनुपर्ने हो ! ऊ आफैँ बोल्छे ।’

दावी डरलाग्दो थियो महिला जत्थाको । हुन पनि यो मामिला यस्तै हो । हुनुपर्ने कुरा पनि हुन्छ, नहुनुपर्ने कुरा पनि हुन्छ । यस्तो बेला न्यायको जीत पनि हुनसक्छ, अन्यायको जित पनि हुनसक्छ । त्यो क्षणिक होस् वा दीर्घकालीन । तर इज्जत गएपछि गयो, गयो । त्यो फर्केर आउँदैन, जुन सेतो कपडामा बसेको कालो दागजस्तै हो ।

लेखकलाई अझै पनि कताकता विश्वास पलाएको छ । एक मन भन्दैछ – ‘सवुद प्रमाण त त्यही केटी हो । जसमाथि अत्याचार भएको आरोप लगाएर यो कचहरी बसिरहेको छ र ममाथि बर्बर प्रहार भएको छ, त्यो केटीले असत्य बोलिन भने म यो सबै आरोपबाट मुक्त हुन्छु ।’ तर उसैको अर्को मन भन्दैछ- ‘कुसङ्गतमा परेपछि र मति बिग्रिएपछि जे पनि हुन्छ । नहुने पनि हुन्छ, हुने पनि हुँदैन । त्यसपछि म न्याय माग्न कहाँ जाने ?

मन बलियो पारेर लेखक महिलाहरूको भनाइमा झिनो सहमति राख्दैछ- ‘तपाईंहरू चाहनुहुन्छ भने म बोलाउनु हुन्न भन्ने पक्षमा छैन । मैले दण्ड भोग्नुपर्ने कुनै त्यस्तो दुष्कार्य गरेको छैन भने भएको कुरा गर्न किन हुन्न भन्ने ? संवादको विपक्षमा बसियो भने त गल्ती स्वीकार गरेको ठहरियो नि ! ठीकै छ तपाईंहरू जे चाहनुहुन्छ त्यो गर्नुस् ।’

अधिकांशको मतअनुसार केटी र उसको साथमा आउने मानिसहरूलाई आतेजाते बसभाडा र बस्ने खाने खर्चको व्यवस्था लेखकबाट नै हुने गरी बोलाउने निष्कर्ष निकालियो ।

कचहरी लेखककै अतिथि कक्षमा बस्ने तय भयो । पहिलो बहसमा सम्मिलित भएका महिला र पुरुष टोलीका अतिरिक्त पीडित पक्षको तर्फबाट आएका केटीसहित पाँच जनाको जमघट तोकिएकै कक्षमा भयो ।

केटीलाई इङ्गित गर्दै एउटी महिला बोलिन्- ‘लौ भन्, तँलाई केके गरेको हो ? कहाँकहाँ समाएको हो ? कहाँकहाँ छोएको हो ? वा अरूथोकै गर्न नहुने काम गरेको हो ?’

अर्कीले थपिन्- ‘डर नमानिकन भन्, तेरै लागि हामी यहाँ भेला भएका छौँ । तँप्रति गरेको दुर्व्यवहार केके हो ? तँ के के चाहन्छेस् ? त्यो सबै हामी पूरा गराउँदछौँ ?’

केटी टुलुटुलु हेरिरहेकी मात्रै थिई । केही बोलेकी थिइन । बोली फुटालेकी थिइन ।

केटीसँगै आएकै एउटी अधबैँसे आइमाईले बोल्न प्रेरित गरिन्- ‘किन चुप लाग्छेस् ? बोल । नबोलेकै कारण, जे गर्‍यो त्यही सहेकै कारण हेपेका हुन् यिनीहरूले । म त डराउन्न, यस्ता लुच्चादेखि । अत्याचार गर्नेहरूदेखि बस्न नसकेरै मेरो घरबार बदलिएको हो । समाजले जेसुकै भनोस् तर म त हाकाहाकी भन्छु, लोग्नेले मलाई अहिले पनि मन नपर्ने व्यवहार गर्छ भने तुरुन्त छाडिदिन्छु । गल्ती नगरेपछि केको डर ? तँ पनि के डराउँछेस् ! तेरो कुमारीत्व नै लुटेको हो भने पनि लाज मान्नुपर्दैन, भन् । कहिले, कहाँ, कति चोटि जथाभावी गरेको हो ? हामी छाड्दैनौँ । स्वास्नीसरहको व्यवस्था गरिदिनुपर्छ यसले ।’

केटी जिल्ल परेर हेरेको हेरै भई । अरू मानिस पनि सुनेको सुन्यै भए । लेखक मूर्तिवत् बसेको बस्यै भयो । नजिकैको प्लाष्टिक बोतल तानेर घुटुघुटु पानी पियो ।

अर्को एउटा गाउँले केटो बोल्यो- ‘किन बोल्दिनस् ? बोल् न ! किन डराउँछेस् ? हामी छौँ नि त ? नगर्ने गरिसकेपछि भएको कुरा गर्न केको डर ! तैलेँ भनेको कुरा स्वीकार गर्छन् र मागेको कुरा दिन्छन् भने दिन्छन्, दिन्नन् भने गाउँ उल्टेर आउँछ । न्याय निसाप उसैले गर्छ ।’

तर केटीको वाक्य फुटेन । एकदमै डराएको, आत्तिएको मलिन अनुहारमा देखिई ऊ । लेखक त्यत्तिकै उद्विग्न मनस्थितिमा देखियो । घटनाले कुन मोड लिने हो ! केटीले के भन्ने हो ! ऊ कति आफ्नो कुरा बोल्ने हो ! कति सिकाएको कुरा बोल्ने हो ! घटनाको निचोड त्यसैको बोलीमा निर्भर हुनेवाला छ ।

केटीले महसुस गरिरहेको अप्ठ्यारोपन लेखकले पनि झल्याकझुलुक हेरिरहेको थियो र आफूले घर छाडेको कारणबाट लेखकले भोग्नुपरेको पीडादायी अवस्थालाई केटीले पनि पल्याकपुलुक हेरिरहेको थिई ।

केटीलाई बोल्नका लागि अरूहरूले पनि प्रेरित गरिरहेका थिए । तिम्रै बोली सुन्नका लागि हामी भेला भएका । तिम्रै पीडा बुझ्नका लागि तिमीलाई यहाँसम्म बोलाएका । भएको सत्यतथ्य कुरा त बोल्नुपर्‍यो नि !

“म केही पनि बोल्दिनँ, तपाईंहरू जे गर्नुहुन्छ गर्नुस्” यति भनेर उसले पिलपिल आँखा पार्दै पछ्यौरीले मुख छोपी ।

लेखकले पनि आफू केही बोल्नुपर्ने आवश्यक ठान्यो । भन्यो- ‘तिमीले भएको सत्यसत्य कुरा बोल्नुपर्छ । असत्य कुरा बोल्नु हुँदैन । गल्ती गर्नेले सजाय भोग्नुपर्छ । तर अनर्थ लान्छना लगाएर कसैले पनि सजाय पाउनु हुन्न । खाएको विष लाग्नुपर्छ, नखाएको विष लाग्नु हुँदैन । झूठ कुरा गरेर एकछिन फाइदा लिन सकिएला तर सधैँभरि सकिन्न । यहाँ जोसुकैले जेसुकै कुरा गरे पनि सत्य भनेको तिमी हौ । सबुद प्रमाण भनेको तिमी हौ । सत्य कुरा जहिल्यै पनि सत्य नै ठहरिन्छ । यहाँमात्र तिमीले बोलेर पुग्दैन, यहाँ बोलेको कुरा कत्ति फरक नपारेर सबैलाई चित्त बुझ्नेगरी बोल्नुपर्छ । तिमीले गरेको कुराको अनुसन्ध्ाान पनि हुनसक्छ र त्यसबेला झूठा ठहरिन गयो भने सजाय तिमीले पनि भोग्नुपर्छ । तर सत्य बोल्नेले डराउनु पर्दैन । मैले तिमीप्रति कति नराम्रो व्यवहार गरेँ, कति राम्रो व्यवहार गरेँ, भएको कुरा सबै सुनाइदेऊ ।’

त्यसपछि केटीले अनुहारबाट पछ्यौरी उघारेर आँसु पुस्दै भनी- “मलाई केही भएको छैन, मलाई कसैले पनि केही गरेको छैन, म बस्न मन नलागेर मात्र गएकी हुँ ।”

‘त्यसो भनेर हुन्छ ? तेरै कारणले कुरा यति अघि बढेपछि ? गर्ने बेलामा यत्रो बबाल गर्ने ! भन्ने बेलामा ममाथि अन्याय भयो, म शोषित भएँ, म यो घरमा बस्नै नसक्ने भएँ भन्ने र बीचैमा घर छोडेर हिँड्ने ? अनि अहिले केही भएको छैन भनेर पन्छिने ? के हामीलाई मूर्ख बनाएकी ?’- गाउँबाट आउने एक/दुईजना जङ्गिए ।

‘त्यति कुराले यति ठूलो तमासा होला भन्ने मलाई के थाहा ? तपाईंहरूले यति सानो कुरालाई तन्काएर यहाँसम्म ल्याउनु होला भन्ने मलाई के थाहा ? मैले त बस्न मन नलागेर घर जानका लागि पो यी सबै कुरा गरेकी ! मैले कति चोटि भनेँ मम्मी (घरमालिक्नी) सँग, मलाई बस्ने मन भएन म बस्दिनँ, घरै जान्छु, गाउँमै पढ्छु भनेर तर फकाएर लोभलालच देखाएर छाड्नै मान्नु भएन । घर गएको बेला जान्नभन्दा पनि बाआमाले “तँ जानैपर्छ, त्यसरी माया गरेर घरमा राख्दासम्म बस्नुपर्छ, राम्रोसँग पढ्नुपर्छ, तेरै फुपाजूले त्यति माया गरेर लानुभएको, तैँले च्याट्टै छोडेर हिँड्दा उहाँलाई पनि नमज्जा हुन्छ” भनेर मलाई घरमा पनि बस्न दिनु भएन । अनि के गर्ने त ?’

त्यहाँको परिस्थितिले कोल्टो फेर्‍यो । केटी पक्षबाट बोल्नेहरूका फुलेका अनुहार साँघुरासाँघुरा देखिन थाले । ‘त्यसो भए तैँले हामीलाई उल्लु बनाएकी ? तेरै निम्ति हामीले यति दुःख पायौँ । कि तँलाई डर लाग्यो, लेखकजीका आदर्शवादी कुराले । मुखले कुरा गरेजस्तै, कागजमा लेखेजस्तै व्यवहार गरेको भए त यो टन्टै हुने थिएन नि ! भन्भन्, आफैँ कुरा उठाउने र तमासा मच्चाउने ! अनि आफैँ केही भएको छैन भन्ने ?’

केही मानिसले केटीलाई बोल्न दबाब दिए ।

केटीले रुन्चे स्वरमा भनी- ‘तपाईंहरूले यति सानो कुरालाई तन्काएर यति लामो बनाउनु हुन्छ र मलाई यहाँ ल्याएर यो तमासा गर्नुहुन्छ भन्ने थाहा पाएकी भए त म केही भन्दै भन्ने थिइनँ नि !’

‘के तँैले सुनाएका ती सबै कुरा सामान्य थिए ? चौध/पन्ध्र वर्षे तरुनी केटीलाई अँगालो हाल्नु, चिमोट्नु, तिमी मलाई मनपर्छ भन्नु, तिमी विना घरै नचल्ने भो भन्नु, यी सबै सामान्य कुरा हुन् ?’ आफन्तले प्रश्न तेस्र्याए ।

‘हो, अङ्कल (लेखक) ले यी सबै कुरा भन्नुभएको हो । तर तपाईंहरूले सोचेजस्तो नराम्रो दृष्टि राखेर भन्नुभएको होइन । घरका अरू धेरै मन नपर्ने कुराहरूबाट दिक्क भएर म बस्दिनँ, घर जान्छु भनेको हो । तर यही कुरा बारम्बार घोकिरहँदा पनि कसैले नसुनेपछि यो सजिलो उपाय खोजेकी मात्र हुँ ।’

तैपनि केटीबाट केही कुरा थुत्न कोसिस गरिरहे केटीका आफन्तहरूले- ‘तँलाईं बस्नै नसक्ने कारण के पर्‍यो ? खान दिएकै थिए, बस्न दिएकै थिए, लगाउन दिएकै थिए, पढ्न पाएकै थिइस्, फेरि के भयो ?’

‘मलाई सुरुमै घर छाडेर हिँड्नै मन थिएन ? यहाँ आएपछि घरको काम गरिरहनु पर्ने र यहाँका दाइ दिदीहरूले पनि हेपेर बोल्ने गरेको मलाई पटक्कै चित्त बुझेको थिएन । त्यसै कुरालाई लिएर म घर जाने अड्डी लिएँ, तर ममीले उनीहरूलाई गाली गरेर मलाई सह्राएर काममा लगाइरहनुभयो । मैले यहाँबाट निस्कने सजिलो उपाय खोजिरहेकी थिएँ । पछिल्लो पटक मैले एउटा गल्ती गरेको र उल्टै अटेर गरेको विषयलाई लिएर अङ्कलले मेरा दुई कुम समाएर झकझक्याउनु भयो । त्यो देखेपछि मम्मी पनि जङ्गिनुभयो- “के गरेको ? अँगालो मारेको ? यति ठूली भइसकेकी केटीमाथि हात हाल्ने ? लाज लाग्दैन ?” त्यसपछि त मैले पनि बोल्ने मौका पाएँ । यसै कुरालाई बढाइचढाई गरेर बारम्बार यस्तो भइरहने गरेको कुरा दोहोर्‍याएँ । वर्तिरपर्तिरसमेत कुरा गरेँ । घरमा पनि फोन गरेँ, अनिमात्र छुटकारा पाएँ । तर यसो गर्दा यति ठूलो होहल्ला होला र तपाईंहरू अङ्कलमाथि यसरी खनिनु होला भन्ने मैले सोचिनँ ।

‘तेरो बुद्धिले मात्र यो सबै तमासा भएको जस्तो लाग्दैन । यस्तो उपाय निकालेपछि घर जान पाइन्छ भनेर तेरो बुद्धि भुटिदिने कोहो ? भन् ।’- अर्को गाउँले कड्कियो ।

‘तल्लो घरमा काम गर्ने कामना, तरकारी पसल्नी, पल्लो घरकी दीपा दिदी, गैराघरकी रचना आन्टी र सल्यानटारकी फुपू ।’

उसले नाम लिएका नारीहरू प्रायः चारित्रिक कमजोरी भएका महिला थिए । लोग्ने छोडेर भिन्नै बसेकी, घर मालिकलाई यौनशोषकको आरोप लगाएर पैसा कुम्ल्याई हिँडेकी, लोग्नेलाई दास बनाएर बसेकी, टोलकै स्वघोषित नेतृ र घर फेर्दै मस्ती मार्दै हिँड्न सफल महिलाहरू पनि थिए ।

उसले नाम लिएपछि त्यहाँ भेला भएका कति जनालाई बसिरहन असजिलो पनि लाग्यो सायद । केही व्यक्तिहरू हिँडे रातो मुख लगाएर ।

‘घरमा बस्न मन लागेन भन्दैमा यति ठूलो जात्रा गर्न हुन्छ त ? अँ……..कहिलेदेखि तँलाई यहाँ बस्न मन नलागेको ? के भएर ……….? एक जनाले प्रश्न गरे ।

‘मैले भनिसकेँ, मलाई त सुरुमै घर छोडेर कहीँ जाने मनै थिएन । फुपाजूले मैले चिनेको घर, आफ्नै घरमा जस्तो माया पाइने, राम्रो स्कुलमा पढ्न पाइने र पछि जागिरको अवसर पनि मिल्ने भनेर ललाईफकाई ल्याउनुभयो । पछि मसँगै आएकी विनिता पनि गई, म पछि आएकी अन्जु पनि गई, त्यसपछि त झनै दिक्क लाग्यो । पढ्न पनि मन लागेन । एसएलसी पास गर्ने आशा पनि मरेर गयो । पढ्न बसेकी मान्छे फेल हुने भएपछि किन बस्ने ?’ उसले रुञ्चे स्वरमा भनी ।

अब भने भेला भएका अरू मान्छेले पनि बाटो तताए । अन्त्यमा एक्लै भयो लेखक । पहिले पनि एक्लै थियो, पछिल्लो पटक पनि एक्लै थियो, विचारको एक्लो, विकृति र विसङ्गतिविरुद्ध एक्लै लड्ने त्यस टोलको निषेधित लेखक ।

मधुपर्क २०६७ चैत

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *