“मधुपर्कको ५०० औँ अङ्क निस्कँदै छ, कमलबाबु” श्रीओम रोदनले फोनमा भन्नुभयो । अमेरिकासम्म पुगेर तरमारेर फर्केका रोदनलाई मैले झर्केर अङ्ग्रेजीमै सोधेँ- ‘सो हृवाट !’ अनि पूरकको रूपमा थपेँ- “मेरो ‘नेपाली’ पनि कम छैन, ५२ औँ वर्षको भैसक्यो क्या !” रोदनले ओठे जवाफ फर्काए-” तपाईंको ‘नेपाली’ भर्खर २०० अङ्क निक्ल्यो, हाम्रो ‘मधुपर्क’को हामी ५०० अङ्क निकाल्ने तर्खरमा छौँ । तपाईंले हामीसँग फूर्ति गर्ने ?” अवश्य, मेरा मित्र रोदनले त्यति खस्रो भाषामा त्यसो भन्नुभएको थिएन । उहाँले अत्यन्तै नम्र पाराले भन्नुभएको हो तर त्यो भनेको मजमून मेरो मनले त्यही निकालेको थियो । अनि त मेरो फूर्ति सूर्ती खाएर लल्याकलुलुक भयो । त्यसपछि मैले फोनमै उहाँलाई सोधेँ “मैले के गर्नु पर्‍यो त रोदनजी ?” भनेर । उहाँले भन्नुभयो- “तपाईंको एउटा लेख चाहियो नि । अरू के ? ‘मधुपर्क’ को पहिलो अङ्कमा तपाईंले लेख्नुभएको थियो अब यो ५०० अङ्कमा दिनु परेन तपाईंले ? यो त तपाईंको पनि इज्जतको सवाल हो ?”

यसरी श्रीओमले मेरो इज्जतकै दुहाई दिएपछि मैले पछिहट्नु भएन ! नत्र, लेख्ने ओर्ने कामलाई मैले त ऐले अलि विश्राम दिएर बसेको छु । यसै पनि ‘नेपाली’ भन्दा बीस वर्ष जेठो म, ‘बूढो’ नभए पनि वरिष्ठ नागरिक भैसकेको छु र भवानी भिक्षुका भाषामा म अब ‘पूजाभाग मात्र खाएर’ नै बाँँच्न पाउँछु । भन्नाले अघिअघि लेखेकै कुराको सम्मान भँजाएर म जिउन सक्छु । पैले बाँधेको हिँगको टालो सुँघ्दा नै पुग्छ मलाई ।

यति चर्को डम्फू आफ्नो कीर्तिको बजाइसकेपछि अब श्रीओमले लगाएको काम नै गरुँ । ‘मधुपर्क’को पहिलो अङ्हमै म झुल्किएको थिएँ भनेर उहाँले सम्झाएपछि त्यो अङ्क हेर्नु मेरो कर्तव्यै भयो । नत्र ५० वर्षअघिको कुरो कसरी सम्झनु ? ‘कम्प्युटर मेमोरी’ भएका बाबुराम आचार्य त होइन नि म ! तर ‘मधुपर्क’को पहिलो अङ्क फेला पारेर पढ्न पाउनु त्यति सजिलो छैन । कहाँ पाउँनु ? उत्तर त सजिलै छ- म.पु.प्र.-मा । हो, म.पु.प्र.-मा सबै अङ्क छन् तर तिनलाई त्यति सजिलै हेनर्ं, पढ्न पाइन्न । सबै शोधकको जस्तै म पनि त्यही गुनासो गर्छु । त्यहाँ पत्रपत्रिका पढ्न पाउन क.दी.लाई पनि सुसाध्य छैन । क.दी. लाई थाहा छ- ‘शारदा’, ‘प्रगति’, ‘रूपरेखा’ जस्तै ‘मधुपर्क’ का पनि सुरुका अङ्कहरू छालाका जिल्लाबन्दी गरी राखिएका थिए पुस्तकालयमा । तर माइक्रो फिल्म गर्ने, ‘डिजिटाइज’ गर्ने नाममा ती जिल्लाबन्दी गरिएका अङ्कहरू खोलेर, फोटो लिइसकेपछि छुट्टै बाकसबाकसमा प्याक भएर बसेका छन् ऐले ती सबै । मैले मपुपु-का मुकुन्दलाई सोधेँ-‘मधुपर्क’को पहिलो अङ्क हेर्न पाइन्छ ? एक दुई दिनपछि मलाई भनियो- ”हार्ड कपी त होइन ‘रिडर’ मा हेर्न सकिन्छ माइक्रोफिल्म, त्यसैमा पढे हुन्छ ।” कुनै उपाय नलागेर मैले बल्ल बल्ल रिडर अगाडि बसेर एकएक गरी ती पृष्ठहरू सारेर हेरेँ । राजा (श्री ५ महेन्द्र) को एउटा गीत नै ‘उपहार’ पाएको रहेछ त्यो अङ्कले । त्यो पहिलो पृष्ठमा छापिएको छ । अनि छ बालकृष्ण समको गद्य लेख ‘मधुपर्क’ भन्ने । त्यसपछि लगत्तै (स-सम्मान) यो क.दी.लाई बसालिएको रहेछ एउटा लामै लेखसहित । नेपालीका धेरै जना नामीदामी लेखक-कविका कृतिहरू समेटिएका छन् त्यस पहिलो अङ्कमा । त्यस्तोमा पनि सम्मिलित हुन पाएको देख्दा ऐले पनि म गौरवबोध गर्दैछु । त्यसबेला ‘मधुपर्क’ का सम्पादकहरू तीन जना रहेछन्- नारायणबहादुर सिंह, दाताराम शर्मा र भैरव अर्याल । नारायणबहादुरजीलाई धेरै नचिने पनि बाँकी दुई जना मेरा निकै निकटका मित्र भएकाले होला मैले ‘मधुपर्क’ को पहिल्यै अङ्कमा त्यति सम्मानका साथ बस्न पाएको । ती तीनै जना स्वर्गीय आत्मालाई म यो पृथ्वीबाटै नमन गर्दछु ।

‘मधुपर्क’ को यो ५०० औँ अङ्कमा मैले लेख्ने नयाँ विषय केही नपाएको हुँदा त्यो पहिलो अङ्कमा लेखेकै कुरा केही तन्काउने अनुमति चाहन्छु । वि.संं. २०२५ साल जेठको मिति परेको ‘मधुपर्क’ को पहिलो अङ्कमा छापिएको मेरो लेख अलि फरकखालको रहेछ । भित्र के कुरो छ त्यसको भेउ नपाइने तर भव्य शीर्षक दिएर मैले त्यो लामो ७ पेजी लेखमा नेपाली ‘खुट्टो झार्‍यो झ’ को वकालत गरेको रहेँछु । ‘अधूरो टिपोट ः अधूरो रिपोट’ सँग त्यो झ को के साइनो पर्‍यो यो झर्को झ-को त्यो मैले ऐले पढ्दा पनि पत्तो पाइनँ । त्यसै हुँदा त्यसको जिम्मा चासो हुने जुझारु पाठकलाई नै दिँदै म अघि बढ्छु । त्यस लेखको अन्त्यतिरको एउटा वाक्य मार्मिक रहेछ । त्यो उद्धृत गरुँ-” तर यो हाम्रो झ को यात्रा अझ टुङ्गोमा पुगेको छैन, केही वर्षअघि दिल्लीबाट प्रकाशित हुने ‘सोभियत भूमि’ पत्रिकामा नेपाली ‘झ’ को प्रयोग गर्नुहोस् न, भनी लेख्दा मेरा मित्र शिवप्रसाद उपाध्याय (सहायक सम्पादक) ले जवाफ दिनुभएथ्यो-‘तपाईंहरूको गोरखापत्रमा पहिले त्यसको प्रयोग गर्नुहोस्, अनि हामी गरुँला’ भनेर । ” त्यस लेखको चुरो त्यही एउटा वाक्यमा समेटिएको रहेछ । त्यसै वाक्यको प्रभावमा परेर होला लाजगालले त्यसबेलाका सम्पादकज्यूहरूले मेरो त्यो लेखमा भने, फन्ट नमिले पनि, नेपाली झर्रो झ नै प्रयोग गरेका रहेछन् । त्यसै अङ्कका अरू लेखमा भने त्यो कतै देखिँदैन । आज चालीस वर्षपछि पनि झर्रो झ ले गोरखापत्र संस्थानमा प्रवेश पाएको छैन ।

हो, बीचमा वि.सं. २०६३ सालमा छ, आठ महिना यो झ झुल्किएको थियो गोरखापत्रमा, तत्कालीन अध्यक्ष इन्दिरा प्रसाईंको सत्प्रयासले । तर उनको बहिर्गमनपछि त्यो झ-को पनि बाहिर पाटो लाग्यो । के लेख्नु यस्ता नमिठा कुरा ! त्यसैले ‘मधुपर्क’को पहिलो अङ्कमा झैँ यसपल्ट पनि अधूरो टिपोट नै भर्छु म, अपूरो रिपोट नै गर्छु ! अधूरो र अपूरो फेरि !

२४ मङ्सिर २०६७

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *