चामेको बिहान निकै जाडो थियो। सबेरै आँखा खुले पनि ओछ्यान छोड्न मनै नलाग्ने। तर, उठ्न ढिला हुँदा बाथरुम पाउन पालो कुर्नुपर्ने सम्भावनाले सुत्न दिएन। नुहाउन चाहन्थेँ। पानी छोएपछि त्यो उत्साह पनि मरेर गयो। कपालसम्म नुहाएँ जसैतसै।

हिजोअस्तिजस्तै आज २०६५ सालको कात्तिक २१ गते पनि कवितागोष्ठीको कार्यक्रम राखिएको थियो, बिहानै। मलाई बासी कविता सुनाउन मन लागेन। यत्रो प्रकृतिको काखमा ताजा हावा र ताजा वातावरणले मन, मस्तिष्क दुवैलाई ताजा गराएको बेलामा नयाँ कविताको स्केच कसो नबनाउनु? श्रीओमजी बाहिर निस्केको बेलामा फेर िनिकालेँ यात्राको डायरी र भावनाको बेगलाई डायरीमा उतारेँ।

यो हिमाली क्षेत्रमा आमा समूह निकै सक्रिय रहेछ। महिलाहरू यसरी सक्रिय भएर सामूहिक रूपमा सामाजिक एवं आर्थिक उपार्जनका कार्यहरू गर्नु वास्तवमा राम्रो कार्य हो। यसले स्रोत-साधनमाथि महिलाको पहुँच बढाउन, व्यक्तित्व विकास गर्न तथा सबलीकरणका लागि समेत ठूलो सहयोग गर्छ।

“कार्यक्रम सुरु गरौँ,” रमेशलाई भनेँ।

“पर्ख न, सीडीओ सा’बलाई प्रमुख अतिथि बनाउनु छ। उहाँलाई एकछिन पर्खौं,” रमेशले भन्यो। ऊ सायद कार्यक्रम प्रभावकारी होस् भन्ने चाहन्थ्यो।

यो खाली समयमा ठाकुरजीले काठमाडौँमा रहेको इमेज एफएमबाट यस कवितागोष्ठीको प्रत्यक्ष प्रसारणको व्यवस्था मिलाउनुभयो। साढे ७ बजेदेखि आधा घन्टा हुने प्रत्यक्ष प्रसारणका लागि समय भइसक्दा पनि सीडीओको पत्तो नलागेपछि ठाकुरजीले प्रत्यक्ष प्रसारण सुरु गर्नुभयो। केही भूमिका बाँधेपछि उहाँले मलाई बोलाएर अलिपर लैजानुभयो र प्रत्यक्ष प्रसारणमा पहिलो कविता वाचन गर्न भन्नुभयो। मैले कविता वाचन गर्न सुरु गरेँ:

यही बाटोबाट रहरजस्ता धूलोहरू उडाउँदै भर्खरै गए एक हूल खच्चडहरू र अहिलेत्यसरी नै जाँदैछन् अर्को हूल भरियाहरू।

दुवैले दुःख बोकेका छन् पिठ्यूँभरि
दुवैले नुहाउन भ्याएका छैनन्
दुवै भोकै छन् र थाकेका छन्
जाडोले दुवैलाई सताइरहेको छ उसरी नै
दुवैका आँखामा सपना छैनन्।

………..

तपाईंहरू पनि
हिमालतिर जानुभएको होला
कुनै अन्तर देख्नुभएको छ
भरिया
र खच्चडको जीवनमा?

यसपछि मणि, साम्बजी, उज्ज्वलजी र यज्ञजीले कविता पढ्नुभयो। यसैबीचमा सीडीओ आइपुगेकाले रमेशले उहाँलाई प्रमुख अतिथि बनाउन चाहेको बतायो। उनी मक्ख परे। तर, कुरैकुरामा रमेशले उहाँ आउन ढिला गरेकाले पर्खंदा कार्यक्रम ढिला हुन पुगेको पनि भन्यो। यसपछि त सीडीओ जंगिए नराम्ररी। उनको उफ्राइ कस्तो थियो भने मानौँ उनी यस क्षेत्रका राजा नै हुन् र रमेशले अक्षम्य अपराध गर्‍यो, भन्न नहुने कुरा बोलेर। हुन त रमेशले पनि सीडीओलाई प्रमुख अतिथि बनाउने सोचेको भए पूर्वसूचना गर्नुपर्थ्यो। उनी ठीक समयमा आउँथे होलान्। कार्यक्रमबारे थाहा नहुँदा उनी नियमित घुम्न हिँड्नु स्वाभाविकै हो। रमेशले त्यसो भन्न नहुने। तर, उसले भनिहाले पनि उनी मनाङको मध्ययुगीन सामन्ती राजाझैं त्यसरी बम्किनुको सट्टा राम्ररी नै सम्झाए पनि हुन्थ्यो रमेशलाई। जिल्लामा शक्तिको उन्मादले भरिएका उनले त देखाइदिने कुरा पो गरे। वाफ रे ! नेपाल सरकारको एउटा उपसचिव मात्र भए पनि उनले यत्रो फूर्ति लगाएको देखेर झोँक पनि चल्यो। रमेश सीडीओलाई फकाउँदै थियो। मैले उसलाई तानेर अलि पर लगेँ र भनेँ, “सीडीओलाई जान देऊ। उनलाई प्रमुख अतिथि बनाउन पर्दैन। ” तर, उसले मानेन।

मैले कतै पढेको थिएँः ‘रिस उठ्यो भने भगवान्सँग रिसाऊ, मन्दिर जाऊ र गाली गर। भगवान्ले गाली स्वीकार गर्नुहुन्छ, तिमीलाई हानि पुर्‍याउनु हुन्न।’ म गएर कुर्सीमा बसेँ र आँखा बन्द गरेर भगवान्लाई सम्झन थालेँ। भगवान्प्रतिको एकाग्रताले मेरो रिस खाइदियो। सोचेँ- कर्मचारीतन्त्रमा सिंगो सरकार र गणतन्त्रलाई नै समेत बदनाम गराउने यस्ता मान्छेहरू पनि बाँकी रहेछन्। छि !

कार्यक्रम सुरु भयो। कविताले चिसो वातावरणलाई केही हदसम्म न्यानो बनायो। त्यसपछि पुनः उही उकालोतिरको यात्राले गति लियो। यात्रा उकालोतिरको भए पनि बाटोचाहिँ ओरालो पनि झर्ने गर्थ्यो। उकालो र ओरालो जहिले पनि सँगसँगै हुने रहेछन्, शरीरसँग छायाजस्तो।

बाटोछेउको बारीमा स्याउको बोट देख्यौँ। त्यो देखेपछि खान मन लाग्यो। बाटोसँगै जोडिएर बनाएको एउटा सानो घरको सिकुवामा एउटी अधबैँशे महिला नाङ्लोमा केही केलाइरहेकी थिइन्। “दिदी स्याउ बेच्ने हो?” मणिले सोध्यो।

“हो,” उनले हामीतिर नहेरीकनै भनिन्।

“किलोको कति हो?” ठाकुरजीले सोध्नुभयो।

“२५ रुपियाँ,” उनले भनिन्।

“हामीले तीनवटा मात्र किन्न खोजेको। कति पर्छ?” मणिले पुनः सोध्यो किनभने अहिले मणि, ठाकुरजी र म मात्र सँगसँगै हिँडिरहेका थियौँ। बाँकी साथीहरू निकै पछाडि छोडिएका थिए।

“पाँच रुपियाँ,” हामीले १० रुपियाँको स्याउ किन्यौँ।

उनको सानो छोराले पनि स्याउ खाने मन गरेछ। “मेरो छोराका लागि पनि टिपिदिनूस् न स्याउ !” उनले भनेपछि मणिले अरू केही स्याउ टिप्यो। तर, उसले ती बाबुका साथै आफ्ना लागि पनि टिपेछ केही। केही माथि बाटोमा मुख सुक्न थालेपछि निकाल्यो गोजीबाट।

स्याउका दानाहरू स-साना भए पनि असाध्यै रिसला र मीठा थिए।

अग्लाअग्ला चट्टाने भीरहरू मात्र देखिन्थे। दिनको ११ बजिसकेको भए तापनि घाम लाग्ने छेकछन्दै थिएन। चिसो निकै बढेको थियो। हिँडुञ्जेल गर्मी हुन्थ्यो तर बिसाउनासाथ पसिनाको चिसो र चिसै हावाको थप्पडले गर्दा दोहोरो चिसो हुन्थ्यो। सास बढेर हिँड्न केही गाह्रो भए तापनि रोकिन मन लाग्दैनथ्यो त्यसैले।

बाटोमा पुनः भेटियो मस्र्याङ्दी- एकदम कञ्चन पानीको नदी। नदीको झोलुङ्गे पुल तरेपछि ठाडो उकालो उक्लन थाल्नुअघि एकछिन बिसाएर शक्ति सञ्चय गर्नु र फोटाहरू खिच्नु नै रमाइलो लाग्यो। रमेश, डाक्टरलगायत पछाडि छोडिएका साथीहरूमध्ये केही आइपुग्नुभयो। श्रीओमजी र साम्बजी अझै पछि नै हुनुहुन्थ्यो।

डाक्टरसा’बले नदीपारकिो अग्लो चट्टाने भीरको शिरमा भिरालो विशाल स्लेट आकारको ढुङ्गो बिछ् याएजस्तोलाई देखाउँदै भन्नुभयो, “त्यो ठाउँलाई स्वर्ग जाने बाटो भन्छन् मनाङवासी।”

“हँ,” मेरो ध्यानाकर्षण भयो मज्जाले। त्यहाँमाथि सेता भुवाजस्ता बादलहरू उडिरहेका थिए दक्षिणबाट उत्तरतर्फ। “ती सायद दिवंगत मनाङेका आत्माहरू होलान् स्वर्गतिर गइरहेका,” मैले भनेँ।

उहाँसँगै रमेश पनि हाँस्यो। मलाई भने लाग्यो, त्यो चिप्लो ढुङ्गाको भिरालोमा कोही जीवितै पुगिहाल्यो भने पनि त्यहाँबाट खसेर अवश्यै स्वर्ग जानेछ। बाटामै एक जना मनाङे बूढा चौँरी र भेडाको ऊनले बनाएका टोपी, ज्याकेट, पञ्जा र केही मालाहरू बेच्न बसेका थिए।

“यो टोपी लगाएर हेर्छु है,” मणिले सोध्यो।

“हुन्छ, लगाऊ,” उनले भने।

वाह ! मणि त एकदमै अर्कै र अनौठो पो देखियो। मैले उसको फोटो खिचेँ। त्यसपछि ठाकुरजीले लगाउनुभयो। ठाकुरजी पनि एकदमै बेग्लै देखिनुभयो। उहाँ मणिले फोटो खिचेपछि त्यसलाई हेरेर हाँस्न थाल्नुभयो। यसपछि उत्सुकतावश मैले पनि एउटा टोपी निकालेर सर्लक्कै लगाएँ। मणि र ठाकुरजी दुवै मरीमरी हाँस्न थाले। उनीहरूले मेरो पनि फोटो खिचे र मलाई देखाए। हो त, आफैंलाई आफू होइनजस्तो लाग्ने कहिल्यै कल्पनासम्म नगरेको रूपमा देखिएँ म त।

तर, हामीले केही पनि किनेनौँ। सरासर बाटो लाग्यौँ। दिउँसोको पौने २ बजेको थियो, हामी ढुकुरपोखरी पुग्दा।

ढुकुरपोखरी सानो बेँसीजस्तो रहेछ वरपिरबिाट रूखहरूले घेरिएको सानो तर समथर मैदान। तीन/चारवटा रेस्टुराँ तथा होटल थिए त्यहाँ। हामीले खाना खाने कमला गेस्ट हाउस भर्खरै बनेजस्तो नयाँ देखिन्थ्यो। घाम मज्जाले लागेको हुँदा एकछिन घामको न्यानो ओढेर बाहिरै बस्यौँ कुर्सीहरू राखेर। थकाइलाई आफूबाट झिकेर फ्याँक्ने क्रममा हामीले तातोचिसो पानीसँग एकछिन खेल्यौँ हातमुखबाट बाटाको धूलो पखाल्न।

दिउँसोको खाना खाएपछि हामी अघि बढ्यौँ। हामीलाई दृश्यहरूका नयाँपन र विविधताले अझ तान्दै लगे। हरयिो जंगलले ढाकेको पहाडले दुवैतिरबाट घेरिएको उपत्यकाजस्तो सानो हरयिो चौरको बीचबाट हामी हिँडिरह्यौँ। हिँड्दाहिँड्दैको बाटो एउटा सानो बजारभित्र पसेपछि हामी पिसाङ भन्ने ठाउँमा आइपुगेका थियौँ। बजारको अलि मास्तिर भिरालोमा पुरानो गाउँ रहेछ। मनाङको पैदल यात्रामा एकदम मौलिक मनाङे गाउँ पहिलोपल्ट देखेँ यहाँ। ढुङ्गाको गाह्रो र ढुङ्गाकै छाना थिए ती घरहरूमा। भेँडा र च्याङ्ग्रा चर्दै थिए आँगन र बारीमा। मानिसहरू पनि अलि धेरै धूलोले पुरिएका, अलि धेरै दुःख र दरद्रिताले डामेका चिन्हहरू बोकेर हिँडेका। उमेरजस्तै सपनाले पनि छाड्दै गएपछिको उदास मनहरूको गाउँ निकै मायालाग्दो नजरले हेर्दै थियो हामीलाई। हामी भने त्यसलाई नदेखेझैं गरी बाटो गएको दिशातिरै कुद्यौँ। एउटा सानो फुच्चे केटो घोडा चढेर आयो।

“तिम्रो नाम के हो भाइ?” मणिले सोधिहाल्यो।

“छिरिङ कर्मा,” निकै फुर्तिलो पाराले भन्यो उसले।

“यो घोडा तिम्रो हो?” मैले सोधेँ।

“होइन, बाबुको,” उसले उसरी नै भन्यो।

उसको शैली र स्फूर्ति देखेर एकछिन उसैसँग कुरा गर्न मन लाग्यो। कुरालाई लम्ब्याउँदै सोध्यो मणिले, “तिमी कति वर्षका भयौ भाइ?”

“१० वर्ष।” उसमा संकोच किञ्चित थिएन। १० वर्षको ठिटोले मज्जाले घोडा कुदाइरहेको थियो। आफूले भने ४० वर्ष नाघिसक्दा पनि घोडा चढ्ने अवसरै पाएको छैन।

“कहाँ पुगेर आएको?” ठाकुरजीले सोध्नुभयो।

“माथि पिसाङ गुम्बाको लामाले घोडा लगेको थियो, लिएर फर्केको। उसले पछाडि गाउँमाथिको डाँडातिर देखायो। उसले हिँड्दै गरेको घोडालाई रोक्यो र फेर िकुदायो। अलि पर पुगेपछि गाडीमा ब्रेक लगाएझैं पुनः घोडालाई रोक्यो र भन्यो, “देख्नुभो, मान्छेले भनेको यसले मान्छ।”

वाह ! उसको आवाज एकदम वजनदार थियो र अनुहारमा सहश्र सूर्यको उज्यालो। मलाई त उसले हामी मान्छेलाई पो गिज्याइरहेझैं पनि लाग्यो, मानौँ हामी मान्छेहरू यति चुत्थो भइसक्यौँ कि कसैले भनेको केही पनि मान्दैनौँ र व्यर्थैको अराजकता बढाइरहन्छौँ। तर, यो घोडा हामीजस्तो होइन। यो अनुशासित छ र हामीले घोडाबाट अनुशासनको गुण सिक्नैपर्छ।

उसको कुरा सुनेर हामी हाँस्यौँ। ऊ पनि हाँस्यो। हाँसो मिसिएको यो रङ साँच्चिकै सुन्दर थियो इन्द्रेणीजस्तो।

“हुम्दे कति टाढा छ भाइ?” मणिले उसलाई सोध्यो।

“डेढ घन्टा लाग्छ,” अगाडि परको डाँडालाई देखाउँदै उसले भन्यो, “त्यो डाँडासम्म बाटो उकालो छ। त्यहाँदेखि अलि पर हो।”

उसले घोडा दौडायो। हामीले हात हल्लाइदियौँ र घोडाले उडाएको धूलोलाई पन्छाउँदै अघि बढ्यौँ।

लामोलामो सास तान्दै, परपर हुँदै गएको घामको मधुरो किरणलाई समात्दै बल्लबल्ल हामी त्यो उकालो काटेर डाँडामाथि पुग्यौँ। गजबको उपत्यका रहेछ, हुम्दे। हरिया रूखहरूले छपक्कै छोपेको चारैतिरबाट। चामेजस्तो गुजुमुज्ज, साँघुरो र नमिलेको होइन रहेछ हुम्दे। मनाङ जिल्लाको एक मात्र एयरपोर्ट यही हुम्देमा रहेछ। त्यसैले पनि हुम्देमा चहलपहल बढ्दै गएको रहेछ। हुम्दे हाम्रो आजको यात्राको गन्तव्य थियो।

मनमा लागिरह्यो, मनाङको सदरमुकाम राख्नलाई उपयुक्त ठाउँ त हुम्दे रहेछ, चामे होइन।

नेपाल साप्ताहिक ४१८

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *