काठमाडौ, आश्विन २२ –

‘रे रामचन्दर
खिसियाइल बन्दर
मठिया के छुछुन्दर
रे रामचन्दर…।’

हामी केटाकेटी उसलाई चारैतिरबाट घेरेर उभिन्थ्यौं ।

ऊ फुटेको टाउको उचालेर हेर्थ्यो । त्यहाँबाट रगत भलभली बगिरहेको हुन्थ्यो । अर्धनग्न शरीरभरि पनि स-साना घाउ नै घाउ हुन्थे । अनगन्ती घाउ ।

‘का भइल रामचन्दर ?’ हामी (कराउन छाडेर) भन्थ्यौं ।

आफ्नो गालाको रगत गमछाले पुछेर ऊ हामीलाई ठूलठूलो आँखाले (ख्याउटे अनुहारमा दुई आँखा भने असामान्य किसिमले ठूला) हेर्थ्यो । त्यहाँ भयङ्कर क्रोध हुन्थ्यो ।

हामी डराएर भाग्थ्यौं ।

ऊ अलखियामठमै बस्थ्यो । त्यहीँको भण्डारामा खान्थ्यो । र धुनीछेउ साधु-सन्न्यासीहरूसँग बसेर साँझको चिलिम तान्ने गर्थ्यो । तर गाँजाभन्दा अफिमको बेसी सौखिन थियो । त्यसैले सबै उसलाई ‘अफिमची रामचन्दर’ भन्थे । यही नामले ऊ टोलभरि प्रसिद्ध थियो । उसको पूरा नाम कसैलाई थाहा थिएन ।

घुँडासम्म पुगेको धर्के अन्डरवेयरको इँजार तुर्लुङ्ग झुन्ड्याएर हिँड्ने रामचन्दर टोलमा हास्यको पात्र थियो । असाध्यै दुब्लो-पातलो शरीरमा यामानको टाउको । कुनै लठ्ठीमा हाँडी राखेको जस्तो । कालो हाँडीका दुवै गाला भने भित्रसम्म धसिएका थिए । कहिलेकाहीँ आधा बाहुको थोत्रो गन्जी लगाउँथ्यो । धेरैजसो मयलले कट्कटिएको नाङ्गो जीउमा यताउता डुलिरहन्थ्यो । कपाल जिङ्रिङ्ग । रामचन्दरलाई नुहाएको कसैले देखेको थिएन । ऊ पानीले मुख धुनसम्म असाध्यै गाह्रो मान्थ्यो ।

‘रामचन्दर नुहाउने हो ?’

‘…………. ।’

‘ननुहाएको कति भयो ?’ टोलवासी उसलाई जिस्क्याइरहन्थे ।

‘………… ।’

‘यो वर्षभरिमा एकपटक पनि नुहाएको छस् या छैनस् रामचन्दर ?’

रामचन्दरका दुई खोपिल्लाभित्रका ठूलठूला आँखा चम्किरहन्थे ।

‘एकलोटा पानी आफ्नो जीउमा खन्याउने हो भने पाँच रुपियाँ दिन्छु ।’ उसलाई नोट देखाइन्थ्यो ।

‘………. ।’

‘नोट नलिने रामचन्दर ?’

‘भाग चुतियाहरू… ।’ ऊ एक्कासी जंगिन्थ्यो ।

अलखियामठ पछाडि बाँसको घना झ्याङ थियो । त्यहीँनेर गएर अफिमची रामचन्दर बेस्सरी उफिन्थ्यो । भुइँमा लडीबुडी हुन्थ्यो । आफैंले मुड्की तानेर आफैंलाई बङबङ हिर्काउँथ्यो । ढ्याङ्ग पछारिन्थ्यो । र यताउताका ढुङ्गामा ठोक्किएर घाइते हुन्थ्यो ।

यस्तो महिनामा दुई-तीनचोटी हुने गर्थ्यो ।

घटीबढी पनि हुन्थ्यो ।

बीचमा अफिमची रामचन्दर एक-डेढ वर्षसम्म गायव थियो । एक बिहान मठियाको बाँस झ्याङनेर एकतमासले उफिरहेको देखापर्‍यो ।

‘रामचन्दरले यो के गरेको हो बमबम ?’ एकदिन हामीले बमबम (अलखियामठका मुख्य साधुलाई यसैगरी सम्बोधन गरिन्थ्यो) सँग सोध्यौं ।

‘तिमीहरूलाई किन चाहियो ?’ बमबमले हप्काए ।

‘होइन बमबम, भन्नोस्, यो रामचन्दरले यस्तो किन गर्छ ?’ हामीले जिद्दी गर्‍यौं ।

‘रामचन्दरले कुस्ती लडेको हो ।’ बमबम मुस्कुराए ।

हामीलाई चकित पाएर बमबम फेरि मुस्कुराए । अनि जोडले उद्घोष गरे- बमबम… । र हामीतिर हेरेर मधुर स्वरमा भने, ‘केटाकेटी भएर यस्तो पचडामा नपर, जाऊ, आ-आफ्ना घर जाऊ ।’

एकदिन अफिमची रामचन्दरकै पछि-पछि लागेर अफिम खानथालेको धनीरामको छोरो बाहुनले (सबैले बाहुन-बाहुन भन्दाभन्दै नाम नै बाहुन भइसकेको) मलाई सुटुक्क बतायो, ‘रामचन्दरले भूतसित कुस्ती लडेको हो ।’

‘भूतसित कुस्ती… ?’ मेरो स्वरमा आश्चर्य थियो ।

‘भूत नदेखिने भएकोले रामचन्दरले एक्लै कुस्ती लडेको जस्तो देखिएको हो ।’

‘हो र बाहुन ?’

‘अब म पनि भूतसित लड्ने विचार गरिरहेछु ।’ बाहुन गम्भीर थियो ।

धेरैपछि थाहा भयो, अफिमची रामचन्दरले भूतसित कुस्ती लड्नुपर्ने कारण अफिम नै थियो । अफिम खान नपाएर छट्पटी भएपछि ऊ यस्तो गर्थ्यो । र घाइते शरीर लिएर घर-घर डुल्थ्यो । यो बदमास भूतलाई मैले लडेर रोकिन भने टोलभरि उपद्रो गर्छ भन्थ्यो । अनि पैसा माग्थ्यो । सबै उसलाई अलिअलि चन्दा दिन्थे । यसैको ऊ अफिम किनेर खाने गर्थ्यो । अफिमची रामचन्दरको भूतसित कुस्तीको यही रहस्य थियो ।

आज अफिमची रामचन्दर अलि बढी नै घाइते देखिन्थ्यो ।

ऊ मठको केही उँचो स्थानमा रहेको पक्की इनारछेउ (आश्चर्य) उदास मुद्रामा बसेको थियो ।

‘रे रामचन्दर
खिसियाइल बन्दर
मठिया के छुछुन्दर
रे रामचन्दर… ।’

हामी सबै केटाकेटी सधैंझैं उसलाई घेरेर उभियौं ।

उसले क्रोधविहीन ठूलठूलो आँखाले हामीलाई हेर्‍यो ।

‘का भइल रामचन्दर ?’ हामीले एकसाथ भन्यौं ।

अफिमची रामचन्दरले केही नभनेर आफ्नो ताजा घाउ सुमसुम्याउन थाल्यो ।

प्रकाशित मिति: २०६७ आश्विन २३ १०:१०

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *