अँध्यारोको जगमा सिर्जित उपन्यास

  • by


मार्क्सवादी फ्रेडरिक जामेसनले नव मार्क्सवाद र उत्तर आधुनिकतावादको आधारमा आफ्नो सैद्धान्तिक योजना बनाएका थिए । उनले अर्नेस्ट म्यानडेलको अनुसरण गर्दै पूँजीवादको विकासका तीन तहमा प्रकाश पारे । उत्तर आधुनिकतावादलाई जामेसनले परपूँजीवादको सांस्कृतिक तर्क ‘कलचरल लजिक अफ लेट क्यापिलटलिम्ज’ भनेर अरथ्याएका थिए । जामेसन पूँजीवादको इतिहासका तीन तहको चर्चा गर्छन् । त्यसमध्ये मार्क्सद्वारा विश्लेषित पहिलो तह मार्केट क्यापिटलिजम हो, बजार पूँजीवाद हो । त्यसलाई एकीकृत राष्ट्रिय बजारको उदयको रूपमा बुझ्ने गरिन्छ । लेनिनद्वारा विश्लेषित दोस्रो इमेरियल स्टेज हो, साम्राज्यवादी तह हो । त्यसमा भूमण्डलीय पूँजीवादी सञ्जालको उदय भयो । तेस्रो तहलाई म्यान्डेल र जामेसनले परपूँजीवाद भने । त्यसमै आएर पहिले नपसेको क्षेत्रमा पनि पूँजीको व्यापक विस्तार भयो । संक्षेपमा भन्नुपर्दा पूँजीवादको इतिहासका तीन तह छन् – मार्केट क्यापिटलिम, मोनोपोली क्यापिटलिजम र मल्टिनेसनल क्यापिटलिजम । नेपालीमा क्रमशः बजार पूँजीवाद, स्वच्छन्द पूँजीवाद र बहुराष्ट्रिय पूँजीवाद । जामेसन के कुरा राख्छन् भने अहिलेको परपूँजीवादको चरित्र बहुराष्ट्रिय छ र त्यो मालसामानको उत्पादनमा विपुलीकृत भएको छ । ध्रुवचन्द्र गौतम निरन्तर प्रयोगशील भएर उपन्यास रचना गर्दै आएका छन् । उनको सिर्जना जीवन्त छ । जामेसनका विचारहरू उनका कृतिको विश्लेषणमा फलप्रद हुन्छन् ।

पूँजी र संस्कृतिका सम्बन्धलाई प्रस्टयाउँदै जामेसनले बजार पूँजीवादमा यथार्थवादी संस्कृति, स्वच्छन्द पूँजीवादमा आधुनिक संस्कृति, बहुराष्ट्रिय पूँजीवादमा उत्तरआधुनिक संस्कृति फस्टाएको बताए । यस किसिमसित हेर्दा ध्रुवचन्द्र गौतमको पूर्वार्धको उपन्यासकारिता स्वच्छन्द पूँजीवाद अनुकुल आधुनिक संस्कृतिको रचना गर्छ । उत्तरार्धको उपन्यासकारिता बहुराष्ट्रिय पूँजीवाद अनुकूल उत्तरआधुनिक संस्कृतिको रचना गर्छ । त्यसमा एक असफल आख्यानको आरम्भ नामक उनको उपन्यास उल्लेख्य हुन आउँछ । मार्क्सवादमा उत्पादनको मोड, पूँजी, धन वा अर्थतत्व आधार हो । त्यसमा संस्कृतिको घर वा अधिरचना बन्दछ । आधारजस्तो छ तदनुकूल घर खडा हुन्छ । जामेसन पुराना मार्क्सवादीहरू झैँ जग र भवनको सोझो सम्बन्ध मान्दैनन् । उनको मोडेल भने परम्परित मार्क्सवादकै सुपरस्ट्रक्चरको नयाँ संस्करण हो भन्ने बताइन्छ । ध्रुवचन्द्रका उपन्यासहरू आधार र धरा साझो कथा भन्न लेखिएनन् । स्वच्छन्द पूँजीवादको साहचर्यमा उनको पुर्वार्धगत उपन्यास लेखन प्रयोगशील हुनसक्यो । आविष्कारात्मक हुनसक्छ । यथार्थवादको अतिक्रमण गर्न समर्थ भयो । बहुराष्ट्रिय पूँजीवादको साहचर्य लिने उनको उत्तरार्धगत उपन्यासकारिता पनि त्यसैगरी प्रयोगशील भयो । नवीनताको उत्पादक भयो ।

नेपालमा पूँजीवाद कतै मौलाएको छ, कतै अङ्कुरित हुँदैछ, कतै मध्ययुगकै पकड छ । व्यवहारमा कम भए पनि विचारमा पूँजीवादले हामीलाई निकै पहिलादेखि नै हमला गर्दै आयो । कतै पूँजीवादी जग दरिलो भयो । कतै जग नै बनेन । सामन्तवादकै प्रभुत्व रहृयो । उत्पादनका स्रोतहरूमाथि केही ठालूहरूकै पकड छ । थोरै मात्र सम्पन्न छन् । अरू निर्धन छन् । बेरोजगार छन् । गौतम गरिबी र बेरोजगारीका सिर्जनात्मक खोज गर्ने उपन्यासकार हुन् । समन्तका पूँजीपतिका ठूला पदमा र प्रशासनमा आसीन व्यक्तिहृरूका लोभ, लालच, शोषण, दम्भ, घमण्ड, अत्याचार, आडम्बरहरूलाई कतै प्रत्यक्ष कतै अप्रत्यक्ष किसिमसित, कतै सङ्केतहरूद्वारा केलाउँदै कृतिको रूप पक्षलाई घाटिलो प्रयोगशीलतामा उनले ढालिछाडे । सत्ताको मेरूदण्ड प्रशासन हो । प्रशासनको सिर्जनात्मक आख्यान रच्ने गौतमबाहेक अर्को कुनै सक्षम लेखक नेपालीमा देखापरेजस्तो लाग्दैन । उत्तरआधुनिक आँखाले नेपाली प्रशासनलाई उपहासमय, व्यङ्ग्यात्मक शैलीमा हेर्ने अभियान उपन्यासको सुरूकै पाइला भएको छ । साहित्यिक कथाको विवरण दिमा उपन्यासले निकै शब्द खर्च गरेको छ । तसमा लेखकरूमा बूढा लेखकहरूप्रति इडिपसेली मृत्यु कामना छ । चतुर लेखकहरू थोरै लेखेर पनि चिनिएका छन् । प्रशस्त लेख्नेहरू पछाडि धकेलिएका छन् ।

उपन्यास ‘ग्लोबल कम्युनिकेसन्स’ भन्ने संस्थाको वरिपरि निकै घुम्छ । त्यो नामले नै उपन्यास बहुराष्ट्रिय चरित्र अनुरूप उत्तरआधुनिकतावादमा डोर्याउँछ । आधार शर्मा र सुषुम्ना निषेधात्मक कोटीमा अर्थवत् छन् । आधार शर्मा देशको र प्रशासनको जग हुननसकेको कुराको सूचक छ । सुषुम्ना देशको, प्रशासनको केन्द्रीय नाडी हुन असफल छे । मान्छेहरू, कर्मचारीहरू, नारीहरू, पुरूषहरू भ्रष्टाचार, यौनसाधना, सोमपान र धोडाचढीमै निमग्न छन् । चार बूढाका उत्तराधिकरीहरू भूमण्डलीय, डिजिटलीय, कम्पयुटरीय नयाँ पुस्ताको जाहेरी दिन्छन् । पुस्ता परिवर्तनबाट आएको उत्तर आधुनिक संस्कृति बाढीको भेलझै ढाक्तैढाक्तै आइरहेछ ।

जामेसनले उत्तर आधुनिक संस्कृतिलाई कृत्रिमतामा र उत्तानतामा अथ्र्याएका छन् । यो सतही छ । यो मूलमा न उठेर मूलको नक्कलमा उठेको छ । एन्डी वार होलले सुपका बट्टा (सुप क्यान) को चित्र ती बट्टाको फाटोग्राफबाट बनाएका थिए । डिजिटलीय पुस्ता त्यस किसिमका कृत्रिम, सतही बिम्बमा डुब्दछ । उपन्यासमा टीभी सिरियलको, विज्ञापनको विवरण आउँछ । टीभीका, विज्ञापनका आकर्षक विम्बहरू मोडेलबाट बनाइन्छन् । उत्तरआधुनिक मान्छे मूलको वास्ता गर्दैन । उसलाई टिभीको स्थानगत, चेप्टा बिम्बहरूनै लोभ्याउँछन् । अर्को तरिकाले पनि कृत्रिमताको बोध सकिन्छ । परम्परा, संस्कृति र आदर्शहरू कुनामा थन्क्याएको पानसझैँ झए ती कहिलेकाहीँ उद्घाटनमा काम आउँछन् । ज्ञान र अज्ञान नछुटिनु ब्रहृममय भयो । निर्वाङ्ग पार्वतीलाई शिव अवलोकन गर्छन् । ऋषिपत्नीहरूलाई गर्भवती बनाइदिने शक्तिको वीर्यपात गर्छन् । जँड्याहा बेहोसमा शेषशाीझै लेट्छ । सुषुम्ना सपनामा सूँड खेलाएर कलियुगका शक्तिहीन गणेशलाई ऊर्जा दिन्छे र लिन्छे पनि । गणेश टिभीको विज्ञापन हेरेर च्वयनप्राश किन्न जान्छन् । उत्तरआधुनिकतामा संस्कृति व्यङ्ग्यको प्रहारले थिलथिलिन्छ । परिहारको सासमा उड्दछ ।

भावक्षय (वेनिङ्ग अफ अफेक्ट), ऐतिहासिकता क्षय (लस अफ हिस्टोरिसिटी), इलेक्ट्रोनिक मिडिया तथा हाइपरसोस आदि उत्तरआधुनिक संस्कृतिका लक्षणको चर्चा जामेसनले गरेका छन् । यसको उल्लेख्य लक्षण त बहुराष्ट्रिय चरित्र भइहाल्यो । उपन्यास भावनाको सच्चाइ चित्रित गर्दैन, केवल सनसनीको, उत्तेजनाको, तीव्रता (इन्टोनसीटी) को अभिव्यक्तिमा ढलेको छ । कृतिभित्र कतैकतै मिति छ । कतै कालको भ्रम उत्पन्न हुन्छ । कालको क्रमबद्धता छैन । सूचना प्रविधिले सशक्त पारेको भूमण्डलीय आयामको दबाव छ । ठूलो सहर, ठूला भवन र होटेलहरू बढेकोले तिनीहरूमा मान्छे आफ्नो ठेगाना थाहा पाउन असमर्थ हुन्छ । उपन्यासमा पनि बाटो बिराएर बूढाहरू अगम समुद्रको छेउमा पुग्छन् । सांस्कृतिक चिन्तनको नरम उत्तरआधुनिकतावादमा जामेसनको स्थान रहेको मानिन्छ । सिर्जनाका ध्रुवचन्द्र गौतम भने विसङ्गतिपरक, विडम्बनापूर्ण, ‘तमसोमा तमस् गमय’ को प्यारोडी रच्दै उत्तर आधुनिक निहिलिज्मको चरम दार्शनिक सन्देश दिएर छुट्टी लिन्छन् । समाज अँध्यारो, शासन अँध्यारो, प्रशासन अँध्यारो, अँध्यारोमा बाहेक यात्रा अन्त कता हुनु ?

आश्विन ९, २०६७
शनिबार, गोरखापत्र ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *