‘गोर्खेको सृष्टि-कादम्बरी कविता’


कवितात्मक समीक्षा
स्रष्टा परिचयबाट विषय प्रवेश

ऋषिप्रसाद हुन् एक सिर्जनाका धरोहर
रच्दछन् जसले काव्य अत्यन्त नै मनोहर ॥१
भएथ्यो जसको जन्म वि.सं.को आठ सालमा
थुर्पगाउँ नुवाकोट नेपाली परिवेशमा ॥२
साहित्यमा भए गोर्खे साइँलो भै प्रख्यात नै
छन्दोबद्ध भई चल्दा जीवन भो सुरम्य नै ॥३
माता हिमकुमारी हुन् पिता हुन् बोधनाथ ती
जसको भक्त भै हिँड्छन् इश्वर रुप सम्झिई ॥४
मीनमाया भइन् पत्नी साहित्य प्रेरकै पनि
चार छोरा दुई छोरी चम्किला साथ सन्तती ॥५
भात तिउनका लागि व्यापारमा रमाउँछन्
यातायात सुसेवा त्यो निरन्तर चलाउँछन् ॥६
साहित्य सिर्जना थाले बाइस सालमा रमी
बढ्दै गए उचाईमा आएन है कतै कमी ॥७
गजल कविता गीत हाइकु र निबन्ध ती
रमाउँछन् सधैँ लेख्न साधनामा घुँडाधसी ॥८
संयुक्त लेखनी पैलो एक्सठ्ठी सालले दियो
गजलपथका यात्रीहरु शीर्षकमा छ जो ॥९
गजलबिम्ब हो अर्को संयुक्त लेखनी मिठो
बैसठ्ठी सालमा निस्क्यो प्रकाशित भयो छिटो ॥१०
एकल काव्य हो यिन्को सम्मोहन सुसार्थक
बैसठ्ठी सालमै छापे काम भयो फटाफट ॥११
मुस्कान नामको अर्को गजलकृतिको पनि
प्रकाशन गरे यिन्ले बैसठ्ठी सालमै रमी ॥१२
यसरी सिर्जना यात्रा चल्दै हिँड्दा निरन्तर
गजल कविता राम्रा हुँदै गए मनोहर ॥१३
त्रिसठ्ठी सालमा निस्क्यो सूत्रमाला लगालग
छन्दमा सिर्जना गर्न बलियो भो निकै जग ॥१४
त्रिसठ्ठी सालमै निस्क्यो कादम्बरी नयाँ कृति
परिमार्जन पाइन्छ यस्को रैछ सुआकृति ॥१५
संस्मरण समीक्षाका लेख अनेक लेख्दछन्
गोर्खेले भावना जस्मा निरन्तर समेट्दछन् ॥१६
अनेक सङ्घसंस्थामा आबद्धता रहीकन
गर्दछन् जनको सेवा स्वच्छतामा रमीकन ॥१७
कतै नेतृत्व यी गर्छन् सहभागी कतै बनी
वाङ्मय फाँटको सेवा गर्छन् जहाँ डुले पनि ॥१८
पुरस्कार र सम्मान पाएका छन् अनेकन
भएको छ सधैँ रम्य ऋषिको यो सुजीवन ॥१९
सिर्जना साधना गर्न छन्दका हुन् हिमायती
छन्दका तालमा भर्छन् जीवनका मिठा गति ॥२०
छन्दमा लेख्दछन् नित्य छन्दमा बग्दछन् खुली
छन्दका साथमा रम्दै बढ्छन् आनन्दता लिई ॥२१
छन्द जीवनको शैली मान्छन् यिनी यथार्थत
छन्दमा स्वच्छता हुन्छ हुँदैन है कतै खत ॥२२
चितवन बसी नित्य लाग्छन् छन्द प्रचारमा
छन्दकै चेतना छर्छन् यिनी आफ्नो समाजमा ॥२३
छन्दका क्षेत्रमा उच्च प्रतिभा एक हुन् यिनी
लागेका छन् सधैँ जस्ले छन्दका पारखी बनी ॥२४

कादम्बरीको संरचना
राम्रै छ झट्ट हेर्दा कृतिको यो कलेवर
दीपेन्द्रले बनाएछन् जसलाई सरासर ॥२५
दीपेन्द्रको जमर्को यो देखिन्छ अर्थपूर्ण नै
रङ्गीन झन् भए हुन्थ्यो अझै राम्रो झनैझनै ॥२६
कविता कृति यो पैलो हो गोर्खेको प्रकाशित
जसलाई बनाएछन् गोर्खेले नै सुसज्जित ॥२७
प्रतिष्ठान भयो पल्लव् प्रकाशक यथोचित
गर्छ है जसले सारा स्रष्टा सर्जकको हित ॥२८
संस्करण भई पैलो भएको छ प्रकाशित
पाइन्छ रम्नलाई नै गोर्खेका कवितासित ॥२९
एक हजार एघारप्रति छापे यही कृति
जसको उच्च खाले त्यो देखिन्छ है सजावटी ॥३०
मुद्रण चित्रवन् प्रेसबाट भयो व्यवस्थित
प्रेमको काम देखिन्छ अत्यन्त नै सुसंस्कृत ॥३१
कृतिको मूल्य देखिन्छ उचित र स्वभाविक
गोर्खेका भावना फेरी बनेका छन् परिष्कृत ॥३२
केशवराज आमोदी नारायण खनालको
भूमिकाजन्य मन्तव्य देखिन्छ है निकै निको ॥३३
स्तरीय पृष्ठका साथ प्रस्तुत छ पुरा कृति
गहन भावना बोल्ने छन् उच्च कवितास्थिति ॥३४
संरचना सबै हेर्दा उच्च छ कृतिको रुप अतः
भाव शब्द भएका छन् सौन्दर्यले सुवासित ॥३५

कादम्बरी मा छन्द प्रयोग
छन्दले दिन्छ आनन्द मनलाई सधैँभरी
छन्दको रागमा डुल्दा खुल्छन् भाव कला छरी ॥३६
छन्दले काव्यको मीठो छर्न सक्छ सुवासना
छन्दका पारखी गर्छन् यस्कै मीठो सुसाधना ॥३७
कादम्बरी बनेको छ छान्दिक चेतनासँगै
जस्मा छन् छन्दमा सारा कविता सिर्जना सबै ॥३८
पच्चीस छन्दमा रै छन् यहाँका कविताहरु
लयात्मक सबै छन् ती पढ्दा हुन्छ पढूँ पढूँ ।३९
प्रचलित कुनै छन्द कुनै नौला प्रयोगित
भएका छन् यहाँ सारा कविका सिर्जनासित ॥४०
छन्दका गण औ सुत्र समावेश गरीकन
प्रस्तुति छ यहाँ नौलो छन्दज्ञान बढाउन ॥४१
छन्दोभङ्ग नकारेथत् भनेझैँ कविले यहाँ
बगाउँदै गएका छन् शब्दहरु नयाँ-नयाँ ॥४२
केही निपात छन् जस्को प्रयोग छ निरर्थक
निपात ती बिना लेख्दा काव्य बन्छ सुसार्थक ॥४३
वसन्ततिलका छाया विद्युन्माला अनुष्ट्प
पाचचाम वंशस्थ उपजाति र तोटक ॥४४
विमोहा हरिणी छन्द शिखरिणी र स्रग्धरा
कनकसुन्दरी छन्द वितान प्रमिताक्षरा ॥४५
स्वागता स्रग्विणी साथ इन्द्रवज्रा उपेन्द्र त्यो
मन्दाक्रान्तासँगै अर्को त्यो भुजङ्गप्रयात हो ॥४६
चम्पक् र मणिमाला ती साथड छ हरिगीतिका
त्यो शार्दूलविक्रीडित्मा छन् भाव उच्च खालका ॥४७
अनेक छन्दको यस्तो प्रयोगले सुसज्जित
भएछ कृति यो रम्य भावनाले समुच्चित ॥४८
यसरी छन्दको मार्ग छन्दोज्ञ भै समाउने
गर्दछन् ऋषिले नित्य शब्दलाई नचाउने ॥४९
भएछन् पोख्त यी ऐले छन्दमा गर्न सिर्जना
छन्दका मार्गमा हिँड्छन् बोकी छान्दिक चेतना ॥५०

कादम्बरी विषयवस्तु र सन्देशमा
काव्यको पहिलो पृष्ठभित्र शीर्षक बन्दना
समावेश भएको छ गरेर मिष्ठ सिर्जना ॥५१
देवी त्रि-शक्तिको गर्दै आराधना धमाधम
शुभारम्भ भएको छ कविताकाव्यको क्रम ॥५२
भन्दैछन् कविले जस्मा देउ शक्ति प्रशस्त नै
पि्रय भक्त म बन्नेछु साधनाशील व्यक्ति भै ॥५३
दोस्रो त्यो कविता पढ्दा दसैँको छ सुवर्णन
यत्न छ कविको जस्मा अनुभव खुलाउन ॥५४
संस्कार संस्कृति माथी आस्थावान बनीकन
खुलेका छन् यहाँ गोर्खे लिई आध्यात्म चिन्तन ॥५५
सुधार धर्ममा गर्ने आग्रह गर्दछन् यिनी
भोकानाङ्गा सबैलाई पार्नुपर्छ खुसी भनी ॥५६
सुरम्य त्यो नुवाकोट टाढा भयो भनीकन
सम्झना गर्दछन् आफ्नो जन्मभूमि खुलीकन ॥५७
आफ्नो जन्मथलोबारे चर्चा गरी रमाउन
चाहन्छन् यी नुवाकोटसँग प्रेम जगाउन ॥५८
हावा माटो नदी खोला मन्दिरको सुवर्णन
गरेका छन् नुवाकोटको महत्व खुलाउन ॥५९
चौथोमा कविता लेख्छन् – शीर्षक सुन्दरी भनी
भाषा सौन्दर्य भेटिन्छ जस्मा छ शब्दमाधुरी ॥६०
मेला र चित्रवन् बारे पाँचौँ छ कविता मिठो
चित्रवन् ठाउँका बारे जस्मा चर्चा छ त्यो उचो ॥६१
उद्योग साथ व्यापार फस्टाउने छ है भनी
मेलाको छ प्रशंसा त्यो उन्नति हुन्छ क्यै भनी ॥६२
छैटौँमा भानुको याद गरेर कविता रची
समावेश गरेका छन् ऋषिले सिर्जना भरी ॥६३
नेपाली दिलका उच्च आचार्य भानुभक्त हुन्
प्यारा छन् सबका नित्य आदिकवि अपार छन् ॥६४
यस्तो भाव खुलाएर ऋषिले लेख्दछन् यहाँ
राम्रो स्रष्टा सधैँ हुन्छन् नेपाली दिल माझमा ॥६५
सातौँ छ कविता राम्रो शीर्ष छ कादम्बरी
जसको भाावनाभित्र नशा छ त्यो अजम्बरी ॥६६
आठौँ छ कविता फेरि नारीको भाव झल्कने
बालविवाहको यौटा दृष्टान्त यसले दिने ॥६७
मान्छे दानव भै देशभित्र आगो लगाउँछ
भन्ने भाव नवौँ उन्को कवितामा उदाउँछ ॥६८
गुणगान छ छन्दको दसौँ त्यो कविताभरि
छन्दमा भावना पोख्ने प्रेरणा सबमा छरी ॥६९
एघारौँ कविताभित्र पुत्र नै धन हो भनी
यी गोर्खे साइँलो भन्छन् कमाइ यै उचो छ नी ॥७०
राजनीति गरी हिँड्ने व्यक्तित्वका समीपमा
जस्तो कर्म गरे त्यस्तै फल मिल्छ यथार्थमा ॥७१
भन्ने विचार त्यो पोख्दै बाह्रौँ त्यो रचना रची
गणतन्त्र नआएमा हुन्न भन्छन् समुन्नती ॥७२
दिएको प्रेमले पीडा जीवनभरमा भनी
वियोग प्रेमको पीडा रचनामा देखिन्छ नि ॥७३
प्यारीविना जवानी त्यो नअडेको भनीकन
तेह्रौँ त्यो कविताबाट भन्छन् गोर्खे खुलीकन ॥७४
ँनिम्तो शीर्षकको अर्को चौधौँ त्यो रचना पनि
लेखेका छन् पियारीको माथा धोका भयो भनी ॥७५
छोराको स्नेह आमाको साथमा हुन्छ है सधैँ
भन्ने भाव खुलेको छ पन्ध्रौँ त्यो कवितासँगै ॥७६
लक्ष्मीप्रसादका निम्ति श्रद्धाभाव छरीकन
गोर्खेबाट भएको लक्ष्मीकै उच्च वर्णन ॥७७
सोह्रौँ हो कविता त्यस्तो जसमा पात्र हुन् कवि
लक्ष्मीप्रसाद ती ऐले चिनिन्छन् भै महाकवि ॥७८
सत्रौँ त्यो कवितामा छ वर्णन परिवारको
एक नारी जहाँ भन्छिन् जिन्दगानी छ है निको ॥७९
मोतीराम असाध्यै थे गजलका हिमायती
उनीबाटै बढेकोथ्यो तीव्र गजलको गति ॥८०
भन्ने कुरा खुलाउँदै अठ्ठारौँ कविता भरी
कविले छर्दछन् भाव शान्तिको कामना गरी ॥८१
बालककालका आफ्ना आनीबानी खुलाउँदै
अर्कोमा लेख्दछन् फेरी सम्झनामा रमाउँदै ॥८२
मित्र पितृ वियोगी भै व्यवहार समाउँछन्
विचलित नभै आफ्नो कर्म कर्तव्य गर्दछन् ॥८३
भन्ने कुरा खुलेको छ अर्को त्यो कवितासँग
श्रद्धाका भाव छर्कन्छन् भावनामा बगी झन् ॥८४
कवि पुस्तकका बीच सम्बन्ध छन् निकै उचा
काव्यले नै बढाउँछन् मार्मिक सिर्जना सुधा ॥८५
कविले लेख्दछन् यस्तो कवितामा सुभावना
राम्रा यी सिर्जना साथ बनेका छन् सुवासना ॥८६
कवि बिदाइ गर्छन् जो ह्दयबाट नै खुली
खुल्दछन् ती पि्रया साथ सम्झन्छन् है सधैँभरी ॥८७
सरुवा भो पि्रयसीको गोरखा राज्यमा भनी
बिदाइ शब्दका गुच्छा अर्पन्छन् कविले पनि ॥८८
परिवार विषयीमा बिहेको त्यो प्रसङ्ग नै
कोट्याई लेख्दछन् फेरि सन्तुष्ट ती बनीकनै ॥८९
सन्तानप्रतिको माया अभिव्यक्त गरीकन
शब्दसँगै बगेका छन् शुद्ध भाव छरीकन ॥९०
चौबीसौँ कविताभित्र लक्ष्मीपूजा प्रसङ्ग छ
शीर्षक छ जुवा जस्मा भावना अति गन्य छ ॥९१
कौडा पासा जुवा कैल्यै खेल्नु राम्रो हुँदैन है
भन्ने सन्देशका साथ कविको भाव जाग्छ नै ॥९२
कवि साहित्य-खानी हुन् रसले भिज्दछन् सधैँ
भन्ने भाव खुलाएछन् कविले कवितासितै ॥९३
नारीलाई भनी जाग आग्रह गर्दछन् कवि
भन्छन् जुट्नुपर्यो नारी सङ्घर्षमा सधैँभरी ॥९४
नयाँ जाँगर औ जोश लिएर अधिकार त्यो
खोज्नुपर्छ भनी लेख्छन् कविले भावना मिठो ॥९५
प्रेमको स्वाद अर्कोमा छर्दछन् कविले रीमा
आग्रह गर्दछन् उन्ले पि्रयासँगै हिँडौँ भनी ॥९६
प्रेम विषयमा रैछ अर्को त्यो कविता पनि
स्वमनको बिलौना झन् रमाई पोख्दछन् उनी ॥९७
मित्रश्रीमा परेको त्यो मातृशोक खुलाउँदै
मित्रकै भावना लेख्छन् स्वर्गीय मातृयादमै ॥९८
उत्कृष्ट जो सबैभन्दा माता हुन् विश्व नै भरी
भन्ने भाव खुलेको छ उन्तीसौँ कविता भरी ॥९९
तीसौँमा कविता अर्को मरेसरी त भै गयो
भन्ने शीर्षकमा लेख्छन् गोर्खेको चाह झल्कियो ॥१००
केबुलकारको यात्रा-मनकामना सुदर्शन
धार्मिक चेतना बोल्छ अर्कोमा कविको मन ॥१०१
महत्व धर्मको खोली बोलेका छन् यहाँ उनी
धार्मिक बन्नुमा राम्रो भन्छन् गोर्खे जहाँ खुली ॥१०२
मायाप्रेम ठुलो हो है सम्झेर जगमा उनी
सत्कर्ममा सधैँ लाग्नू पर्दछ यो कुरा बुझी ॥१०३
भन्दै शीर्षक यी क्षण दिई लेख्छन् सरासर
प्रेमकै भावना उच्च भन्दछन् यी सराबर ॥१०४
अर्को त्यो कविता लेख्दै गुनासो पोख्दछन् निकै
कवितासँगका आफ्ना भाव लेख्छन् सुशब्दमै ॥१०५
निराशा भाव पोखेर चौतीसौँ कविता भर
यो जीवनै गयो भन्छन् पोन्दै ती शब्द अक्षर ॥१०६
अर्को भाव बगेको छ चेलीको त्यो कथासँगै
भन्छन् कठीन नै हुन्छ जीवन उनको सधैँ ॥१०७
आफ्नी जीवनसाथीको व्याख्या गर्छन् रमीकन
श्रद्धाभाव सबै साथ राख्छिन् जस्ले भनीकन ॥१०८
कविले श्रीमती आफ्नी जुरेली चरी हुन् भनी
प्रेमपूर्ण छरी भाव लेख्दछन् कविताभरी ॥१०९
शान्तिपूर्ण नेपालमा िहंसा बढ्दै छ धेर है
भनी चिन्ता गरेका छन् कविले कवितासँगै ॥११०
हर्षित मनले गर्छन् सम्मान समपूर्णमा
अर्पन्छन् कविता अर्को साहित्य प्रेम साथमा ॥१११
गौमाता नाममा अर्को छान्दिक कविता भर
गाईको महिमागान लेखेका छन् सरासर ॥११२
राम लक्ष्मण सीताको एक यात्रा सुवर्णन
गोर्खेले गर्दछन् अर्को मिष्ठ त्यो कवितासँग ॥११३
बिदाइ गरिद्यौ झट्ट लडाइँका सबै मिली
भन्दै आग्रह लेख्छन् यी गोर्खेले सिर्जनाभरी ॥११४
दोषी चिन्ता र धोका औ देवाट सम्झना गरी
विभिन्न नाममा रै छन् कविका कविता थरी ॥११५
यौटा गोष्ठी भएको थ्यो साहित्यिक सुवासमा
धेरै सर्जक थे जस्को कार्यक्रम प्रवाहमा ॥११६
त्यै गोष्ठीको कुरा खोली गोर्खेले सिर्जना गरे
आफूलाई निकै सच्चा स्रष्टा व्यक्तित्वमा दरे ॥११७
अर्को त्यो सिर्जना गर्दा हार्दिक समवेदना
तीर्थराजविषे छर्छन् आफ्ना ती मनभावना ॥११८
नेपाल देश छाडे भो भन्ने भाव दिईकन
अर्को त्यो कविता साथ गोर्खे छर्छन् नयाँपन ॥११९
बधू वर्णनमा खर्चे केही शब्द र अक्षर
झूटो बोल्नु हुँदैहुन्न भन्छन् गोर्खे निरन्तर ॥१२०
आमन्त्रण अवस्था औ अनुनय उनी र म
टाढाको मन जस्ता यी छन् राम्रा कविता क्रम ॥१२१
सान्त्वना गरीबी साथ कर्मका भावना छरी
गोर्खेले कविता केही लेखेका छन् थरीथरी ॥१२२
साठीऔँ कविता लेख्दै स्वार्थ भाव खुलाउँदै
मान्छेको मनमा हुन्छ स्वार्थ भन्छन् सधैँ-सधैँ ॥१२३
खोल्दछन् ऋषिले आफ्नो सिर्जनामा सुभावना
स्रष्टा सम्मानका बारे छर्छन् ती भावना निका ॥१२४
मेरो देश भनी अर्को कविता रच्दछन् उनै
राष्ट्र चिन्तनमा खुल्छन् कविले सिर्जनासँगै ॥१२५
चेली कुटुम्भका बारे पनि छन् कविता यहाँ
जनभावन झल्किन्छ पढ्दा यी रचना जहाँ ॥१२६
छैँसठ्ठी कविताभित्र वर्णन नववर्षको
गरेका छन् कविले नै अन्तिम कविता छ जो ॥१२७
शुभदिन नयाँ वर्ष भन्ने भाव खुलाउँछन्
कामनाका मिठा शब्द सबै माझ फिँजाउँछन् ॥१२८

निष्कर्ष तथा सुझाव
गोर्खेका सिर्जनाभित्र पाइन्छ लय चेतना
जसले लेख्दछन् काव्य लिई साथ सुभावना ॥१२९
कादम्बरी बनेको छ आस्वाद्य जो समग्रमा
सफल छन् यहाँ गोर्खे गर्न ती मिष्ठ सिर्जना ॥१३०
कम्जोरी देखिएको छ यहाँ फेरि कतै-कतै
परिमार्जनमा ध्यान दिऊन् गोर्खे सधैँसधैँ ॥१३१
छन्द प्रयोगमा केही सुधार गर्नुपर्दछ
निपातको जबर्जस्त प्रयोग हट्नुपर्छ ॥१३२
छन्दमा कविता लेख्दा लय झन् बग्नुपर्दछ
पढ्दा सल्ल बहेझैँ त्यो भावना खुल्नुपर्दछ ॥१३३
यस्ता कुरा विचारेर गोर्खे लेखून् सदैवझैँ
भन्ने छ चाहना मेरो गोर्खे रचून् सुकाव्य नै ॥१३४
शीर्षक कविताबीच तारतम्य मिलाउँदै
गोर्खेले भावना पोखून् सत्यतामा रमाउँदै ॥१३५
अध्ययन सिर्जना साथ अघि बढून् निरन्तर
साधनाशील भै लागून् साहित्यमा सधैँभर ॥१३६
संभाव छ यिनीभित्र छन्दोविज्ञ हुने पिन
निष्पक्ष भावना छर्दै चेतनाका बनून् धनी ॥१३७
अपेक्षा राख्छु है मैले लेखून् क्यै खण्डकाव्य नै
जसमा लेखियून् राम्रा उक्ति सुक्ति सुरम्यकै ॥१३८
केही याम लगाएर महाकाव्यसमेत नै
सक्दछन् यिनले रच्न म सोच्दछु यहाँ अझै ॥१३९
छन्दका पारखी यस्ता स्रष्टप्रति छ कामना
सदैव चम्कियून् गोर्खे भन्छ यो मनभावना ॥१४०

छन्द : अनुष्टुप्
पोखरा-६, सिर्जनाबस्ती, हेमजा, कास्की

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *