कोठाको दृश्य ।

कोठाको दैलो खोलिन्छ । एक युवक हातमा केही पोका झुण्ड्याएर भित्रिन्छ । भित्रबाट दैलो लगाइदिन्छ ।

ग्यासको चुल्हो राखेको ठाउँमा जान्छ । चुल्होमा पानी बसालिदिन्छ । ल्याइएका पोकामध्ये एउटा पोका कफीको हुन्छ जुन बसालिएको पानीमा अलिकति हालिन्छ । अर्को पोकाबाट चिनी हालिन्छ । अरू पोका त्यतिकै छाडिन्छ ।

युवक कोठाको एक कुनामा भएको कम्प्युटर चलाउन मेचमा बस्छ । स्वीच नखुलिएपछि उसको स्वर सुनिन्छ ।

लोडसेडिङले पनि कहिले मुक्ति दिने हो ! हामी नेपालीको जिन्दगी त अब यस्तै कहिल्यै राम्ररी नबल्ने बत्तीजस्तै हुने हो क्या ! (एकछिन त्यही मेचमै बसिरहन्छ । फेरि नमीठो मानेको भाव देखाउँदै) कस्तो…इमेल नपठाइ नहुने थियो । त्यसको उत्तर पठाइ हाल्नुपर्ने…। के लेखेकी सिर्जनाले त्यस्तो…। अब विवाहित भएपछि त मलाई भुल्न सक्नुपर्छ नि । आफ्नो लोग्नेको आँखा छलेर होस् वा नहोस्…किन मलाई बिर्सन नसकेको कुरा लेखेकी…। उसको अगाडि कुनै फिल्मी हिरोको ताल त देखाएको थिइनँ, फेरि ऊ किन ? (आफैं हात ‘खै’को सङ्केत गर्छ ।)

जुरुक्क उठ्छ । ग्यास चुल्हो निभाउँछ र कफी कपमा लिएर सोफामा आएर बस्छ । छेवैको किताप उठाएर पल्टाउँछ । कफीको सुर्कोसँगै एकछिन पढ्न थाल्छ । एकछिनमै पट्यार लागेको भावमा किताप सोफातिरै मिल्काइदिन्छ ।

के लेख्छन् अचेलका लेखकहरू ! कि सेक्स मात्र हुन्छ कि अहिलेको पोलिटिक्स । दिमाखमा अरू कुरा छिर्दैन कि क्या हो ?

त्यसै बेला मोबाइल बज्छ । खल्तीबाट मोबाइल झिकेर मनिटरमा एकछिन नम्बर हेर्छ ।

यसलाई चैँ सोधखोज गरिहाल्न परिहाल्छ । पतिलाई लगाम लगाएको घोडा बनाउन पाए सार्थकता देख्छे कि क्याहो यसले । (मोबाइलको स्वीच अन गर्छ) अँ, के भो ? किन गरेकी ? कहाँ छु रे ? बिहानै भनेके हैन ? मलाई केही दिन रेस्ट चाहियो …यता घरमै छु । के रे ? पर्दैन, पर्दैन । आउन पर्दैन । म यहाँ ठीक छु । एक्लै आराम गर्न चाहन्छु । (एकछिन सुन्न थाल्छ ।) हैन, तिमीलाई चाहिने कुरा सबै ल्याइदिएकै छु । लोग्नेको पछिपछि सबै ठाउँमा जानैपर्छ भन्ने केही छ र ? ममीलाई यस्तो जाडोमा चिसो लाग्छ, हेर है । बुबालाई टाइममै खान लगाउनू । उफ् ! कति सम्झाउने । म अन्यत्र गएको त छैन नि । आफ्नै अर्को घरमा त हो । मलाई रेस्ट गर्न दिन्नौ ?…ल, अफ् गरिदी कुरा गर्दागर्दै । (झिझार मानेको स्वरमा) हृया…स्टुपिडहरू ! जहिले पनि, कहिलै पिछा छाड्ने भएन ।

उठेर पर्दा हटाएर झ्याल खोलिदिन्छ । फेरि फर्केर ग्लासमा कफी हाल्छ र झ्यालबाट बाहिर हेर्दै पिउन थाल्छ ।

खुब शङ्का छ यसलाई, सबैका स्वास्नी यस्तै त होलान् नि । लोग्ने अर्कीसित लाग्यो भन्ने हँ ! विश्वास भन्ने कुरा लोग्नेको गर्नुभनेको यी स्वास्नीमान्छेलाई मर्नै पर्ने हुन्छ कि क्या हो ! अस्ति त सिर्जनाको नाउँ लिँदै थी, इमेल हेरिछे कि क्या हो । किन आइमाईहरू हामीलाई एउटै दृष्टिले हेर्छन् । आफूभन्दा पाँच वर्ष जेठी सिर्जनालाई त्यस्तै दृष्टिले हेरेको भए कसले रोक्न सक्थ्यो र बिहे गर्न ? यो आएकी त डेढ वर्ष त भयो । सिरुलाई मैले प्रेमको दृष्टिले हेरको भए यो यहाँ आउन सक्थी त ! सिर्जना त्यस्ती, यो यस्ती ! अझ घरमा विवाह गरेर ल्याएको केटीलाई मात्र ध्यान दिनुपर्छ भनेर घुमाई फेराई भन्छिन् । कस्ताकस्ता नारी हुन्छन् बा….। केही गरे पनि, नगरे पनि पुरुषलाई शङ्काले हेर्नै पर्ने..नैसर्गिक अधिकारै सम्झन्छन् कि क्याहो ।

फेरि सोफामा बस्छ । रित्तो कपसँगैको टेबिलमा राख्छ । केही सम्झेझैं गरेर वालेट झिक्छ र त्यसमा सुरक्षित राखिएको एउटा पुरानो कागज निकाल्छ ।

यो पनि खै कताकता थियो, मैले त फ्याकिदिसकेँ भन्ने पो ठान्या थिएँ त । धन्न पुरानो डायरीमा राखेको रहेँछु । अर्काको बिनाअनुमति डायरी पढ्न हुँदैन भन्ने थाहा छैन मेरी स्वास्नीलाई । भेटेकी भए… ओफ् ! कल्पनै गर्न सकिँदैन के हुन्थ्यो, के मात्र गर्दिनथी । (निकालिएको कागज मनमनै पढ्छ ।) पक्कै त्यसको यही हस्त लेखनसित मिल्छ । खै त…(कोटको भित्री खल्तीबाट अर्को कागज निकाल्न थाल्छ ।) के बेर ! यो पनि त्यसै छडाउलीको काम त होला नि । त्यसको स्तरै यही हो । कलेजको बेला त लेख्थी-म नै त्यसका लागि अन्तिम सत्य हुँ रे । अनि अमेरिका लैजाने केटाको अघिल्तिर पनि त्यस्तै बजाइ होली नि…आफूलाई सुशील कन्या सिद्ध गर्ने अभिनयको जादू चलाइहाली त फेरि (दुवै पत्र तुलना गर्दै पढ्छ ।) झट्ट हेर्दा त हस्त लेखन मिल्दैन, त्यस्तीको के…। को त यो ? कसले पठायो त यो हँ ? त्यसको र मेरो यस्ता आपत्तिजनक फोटाहरू हामीले खिच्ने त के, त्यस्तो अवस्थामा समय बिताएकै थिएनौँ । पहिले भए आफूले मन पराएकी ठिटीसित यसरी नाङ्गै जोडिएको कल्पना गर्न/देख्न अतिशय मजा हुँदो हो…अब त…यही त हो नि कमजोरी…अनि यसैको माध्यमबाट हामीलाई तह लगाउन जानेका हुन्छन् स्त्रीहरूले । आजको युगमा कम्प्युटरबाट सबै मिलाउने कुरा त साधारण भइहाल्यो तर यस्तो दुस्साहस गर्ने महानुभाव को पर्‍यो ? मेरी स्वास्नीलाई पनि प्रेषित गरिने छ रे । वाह ! धम्की चाहिँ तगडै दिएको हो ।

त्यसै बेला दैलो बाहिरबाट ढकढकाइन्छ ।

को हो ? (पत्रहरू खल्तीमा राखिहाल्छ ।)

दैलोतिर जान्छ ।

को हो यति बेला यहाँ ? (दैलो खोल्छ ।)

तिमी…? (अचम्मित हुन्छ ।)

कोही अनुपस्थित पात्र आएको उसकै अभिनयबाट थाहा पाइन्छ । त्यसै अनुपस्थित पात्रसँगै हिँडेर सोफासम्म आउँछ । त्यसक्रममा उसले भन्दै गरेको हुन्छ –

अचम्मले आयौं त यहाँ । घरमा सबैलाई ठीक त छ ?

सोफामा पुगेर टक्क अडिन्छ ।

ल, हेर । कोही छ त यहाँ म

बाहेक ? अब..? (सबैतिर देखाउँदै) कम्प्युटर र्‍याकभित्र हेर, पर्दापछाडि हेर । कहाँ हेर्छौं ? बेडमुनि हेर्छौं ? हेर, हेर । यही गर्न त आएका होलाऊ । (अनुपस्थित पात्रको प्रतिक्रिया बुझेझैं गरेपछि)

उफ् ! कुरा नछलाऊ न, केके चाहिन्छ भनेर बुझ्न आएको भनेर…(एक ठाउँमा अडेर) चित्त बुझ्यो ? ल, अब त्यहाँ बस । म कफी बनाउँछु तिमीलाई…पिएर आएको रे । किन मैले तिम्रा लागि चिया कफी बनाउनु हुँदैन ? हे, छाडिदेऊ, मैले कहिलै तिमीलाई आफ्नो घरमा काम गर्न राखेको कामदार सम्झेको छु ? भाइजस्तै त मानेको छु । (प्रतिक्रिया बुझेपछि) अनि त ? अप्ठेरो नमान न । जाने नै ? लौ, कफी लिन मान्दैनौ, लाज मान्यौ । (हाँस्छ ।)

अनुपस्थित व्यक्ति फर्किएको उसको सँगसँगै कुरा गर्दै दैलोतिर जानुबाट थाहा लाग्छ ।

हो, तिम्रो मालिक्नीले पकाएको मात्र मीठो हुन्छ, जे पनि । म यहाँ आराम गर्न आएको छु, यो कुरा बुझ । ल, राम्रोसित जाऊ ।

दैलो लगाएर सोफातिर फर्किन्छ ।

स्वास्नी कति शङ्कालु छे भने…जासुस छोड्छे । केशव, प्रभु, रूपकहरूले जस्तो बाहिरबाहिर केटी राख्दै हिँड्ने गरेको भए के गर्थी होली । (आफैंसित कुरा गरेझैं गरेर) उमेरमा सबैलाई कामतीर्खा लाग्छ, त्यो बिहे गरेपछि सबै ठीक भइहाल्छ । अब अन्य स्त्रीतिर हेर्ने भनेको सबै नारी शरीर एउटै हुने हो क्यारे, किन आफूलाई दुःख दिने ? प्रत्येकका शरीरमा फरकफरक कुरा हुने भए पो, के ठान्छन् यी स्वास्नीमान्छेहरू ? (झट्ट सम्झेर) बत्ती आयो कि ?

कम्प्युटरतिर जान्छ, एउटा स्वीच खोलेर हेर्छ ।

के आउनु । (र्फकंदै) अब त यहाँ जीवनमै बत्ती यसरी नै सधैँ निभिरहने पो हो कि !

सोफामै बस्छ ।

दुई लाख ? (उपेक्षाको भावमा) दुई लाख दिनु रे ! केका लागि ? यसरी हुँदै नभएको अवस्थाको फोटो मिलाएर निकालेको उपलक्ष्यमा ? त्यसको स्याबासीका लागि ? कि कम्प्युटरमा एक्सपर्ट भएको सिद्ध गरेको खुसीमा ? (एकछिन अडेर) दुई लाख त हैन, दुई लात चैँ दिनुपर्ने रहेछ । फोटामा भएको अवस्थाबारे मैले न कहिल्यै गरेको थिएँ, न सोच्न नै सक्थेँ । (आफ्नै मुख मुसार्दै) पट्ठो थिएँ नि पट्ठो । खुब प्रेममा इमानदार हुनुपर्ने, ओहो ! त्यसै छडाउलीले भन्दा पनि हामीले बिहे नगरेसम्म त्यतातिर ध्यान दिन हुन्न भनेर, मैले के सिद्ध गर्न खोजेको थिएँ ? त्यस छडाउलीको दृष्टिमा के ठीक भएँ त ? त्यसले इमानदारी (उपेक्षाको भावमा टाउको झट्कार्दै) यस्ता समर्पित प्रेमस्रेमको कदर गरी त ? बरु भित्रभित्रै त्यो अमेरिका लैजाने केटाले माग्यो भन्दैमा चुम्बनदेखि सबै कुराको रिहर्सल गर्न भ्याइसकिछ ।

एक्कासि खोलिएको झ्यालबाट सानो चिट सानो ढुङ्गामा बेरिएर भित्रिन्छ । ऊ त्यसलाई नटिपी झ्यालतिर दौडिन्छ ।

को हो त्यो ? खै त, कोही देखिँदैन नि । (परपरसम्म टाउको उचालेर हेर्न थाल्छ ।) त्यसै बदमास त होला नि । (र्फकंदै) म यहाँ आउँछु भन्ने…अब आफ्नै घरमा पनि शान्तसँग बस्न नपाउने भइसक्यो ।

भुइँबाट त्यो सानो चिट उठाएर पढ्छ ।

तयार भएर बस्नू ।

फेरि झ्यालतिर हेर्छ । सोफामै आएर बस्छ ।

केका लागि तयार भएर बस्नु ? भने जस्तै दुई लाख दिन ? आओस् न मात्रै, दिन्छु दुई लात । कस्ता चोरहरू बढेछन् अब त आफ्नो काम नहुँदैमा काम हुनेहरूलाई पनि आफ्नो खुसीमा हिँड्न दिँदैनन् । अब त नखाएको विष पनि लाग्ने पो भयो कि

क्या ! घरमै बस्ता पनि आतङ्कति हुनुपर्ने ? कस्तो युग सुरु भएछ अब त !

(खिन्नता) । जुरुक्क उठेर टेबिलमा राखेको भाँडोबाट गिलासमा पानी सारेर स्वाट्टै पिउँछ ।

म किन एउटै दृष्टिबाट हेरिरहेछु यसलाई ? भनिदेओस् न स्वास्नीलाई, के हुन्छ ? यो छडाउली यहाँ छैन भन्ने थाहा छँदैछ मेरी स्वास्नीलाई । अब आफ्नो घरमा रेस्ट गर्न आउँदा यसलाई पनि यहाँ ल्याउँछु भनेर सोच्न त सक्ली तर प्रमाणित अहिलेसम्म भएको छैन नि । हुने पनि छैन । सत्यतालाई कसैले ढाक्न सक्छ

र ? केको डर ? स्वास्नी राम्रैसित जान्दछे, यस छडाउली र मेरो बीचमा केही रहेन अब जस्तो अन्य नारी, मेरा लागि, अब त्यस्तै त हो त्यो पनि । यो त्यसै छडाउलीको काम भए पनि (एकछिन बिचार्दै) के फाइदा हुन्छ त्यसलाई ? नत्र त्यसको र मेरोबीच तेर्सिएको दस वर्षे विगत कसलाई थाहा हुन्छ यहाँ ? थाहा पाउने साथीहरू सबै लाखापाखा लागिसकेका छन् । पैसा माग्नु त निहुँ मात्र त देखिन्छ नि । के त्यसो भए, (एकछिन यताउता घुम्न थाल्छ ।) त्यसो भए, त्यो विगत कोटट्याउन चाहन्छे ?

(सम्झँदै)…तर अब के फाइदा ! म यति पारि आएँ…त्यो आफैं त्यति पारि मुन्टिएकी न हो…। अब त, अब त, म जे भयो हामीबीच, एकदम ठीक भयो भन्न सक्ने भइसकेको छु भने त्यसले अब के नै गर्न सक्छे र ! डराएर म अब त्यसले भनेभनेको गर्छु भन्ने ठानेर कतै लुकेर यी सबै गरिरहेकी त हैन ? सम्बन्ध भनेको…(रोकिन्छ । फेरि नकारको भावमा टाउको हल्लाउँदै) सम्बन्ध त त्यस्तीसित के रहेको मान्ने, सम्पर्क भन्ने ?

(फेरि झर्को मान्दै) आ…जे भए पनि के यसरी बाँचिरहन सक्छ त ? मान्छे एकचोटि पो झुक्किन सक्छ, दुईचोटि पो झुक्किन सक्छ तर सधैँ त…। ओफ् ! म त केके सोच्न थालेँछु…यसो नहुन पनि त सक्छ ।

(मुस्कान खोज्छ ।)

मोबाइलको घन्टी बज्छ । खल्तीबाट मोबाइल झिक्छ र नम्बर हेर्छ । नचिनेको नम्बर देख्नेबित्तिकै स्वीच अन गरेर बोल्न थालिहाल्छ ।

हेलो ! हेलो…! को बोल्नुभएको होला, मैले त चिनिनँ नि ।…चिनेको छैन रे ? अनि…? अबको दुई घन्टापछि एकान्त कुनामा दुई लाखको बि्रफकेस राखिदिनू रे ? को बोलेको ? नाम जान्नु आवश्यक छैन रे…? ए…त्यसो पो । यदि मैले यो कुरा नमाने…? घरमा पठाउने ती फोटाहरू ? …हुन्छ, हुन्छ । पठाइहाल्नू, आइ डन्ट केयर ।

(हाँस्तै) बरु त्यस्तो फोटो कम्प्युटरबाट निकाल्न जानेकोमा बधाई छ हैं ।

(एकछिन रोकिएर उता सुन्न थालेझैं देखिन्छ ।) यसरी पटकपटक सटअप भन्न जानेको हृवाइ सुड आइ ? यस्तो सटअप भन्ने बानी त मैले चिनेचिनेको मान्छेजस्तो लाग्यो नि ।

(आँखा झिम्काउँछ ।) जिस्किरहेको त कसले हो…लेट मी टेल यु वन थिङ

(गम्भीर हुँदै) मेरी श्रीमती आफ्नो पतिको चरित्रमा शङ्काउपशङ्का गर्दिन, उसलाई पूरापूरा विश्वास छ, आफ्नो लोग्ने कसैसित यस्तो गरेर हिँड्दैन । अन्डरस्ट्यान्ड ?

जाऊ, जाऊ । गए हुन्छ । यस्ता धम्कीले केही छुँदैन । नभएको कुरा जबर्जस्ती सिद्ध गर्न खोजेर…के रे ? फोटामा भएको केटीलाई नै लगेर जाने…अँ, अँ, अरू केटीसित भएको फोटाहरू पनि छन् रे। लौलौ (आनन्दले हाँसेर) तिमेरुको क्रिएसन हेर्न पाइने भयो । वेलकम ! वेलकम !

(स्वीच अफ् गर्दै) काट्यो, यस्तालाई उल्टै घुमाइ दिएपछि त…।

दह्रोसाथ उठ्छ । दैलोतिर बढ्छ । लौ हेरूँ त, यो ब्ल्याकमेलिङ गर्नेले के गर्न सक्तोरहेछ ? सत्य कुरालाई कसले कतिञ्जेल लुकाउन सक्तो रहेछ ? आफ्नो गति र मति ठीक तरिकाले सञ्चालन भई रहेसम्म कोही कसैसँग पनि किन डराउने ?

दैलो खोलेर बाहिरिन्छ ।

बाहिरैबाट दैलो लगाइन्छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *