थोराङलाः जीवनको खर्च नहुने कमाई

  • by


पाँचौँ गन्तव्यको रूपमा हामी मनाङ पुग्यौँ । यहाँ कार्यक्रम गर्ने कुनै योजना थिएन तर मन्त्री भोलि काठमाडौँ र्फकन लागेकोले विमानस्थलमा नै कार्यक्रम गर्ने व्यवस्था मिलाइसक्नुभएको रहेछ रमेशजीले । हामी बसेको होटलबाट विमानस्थल नजिकै थियो । मनाङ जिल्लाको विमानस्थल भएकोले नेताहरू, कर्मचारीहरू, विदेशीहरूलाई ओहोरदोहोर गराउने अखडा बनको रहेछ हुम्दे ।

मन्त्रीलाई बिदाइ गर्न आएका कर्मचारीहरूसहित कार्यक्रम भयो । स्थानीय विकास अधिकारी मज्जाको हुनुहुँदोरहेछ । उहाँले भनेको तीतोसत्य नै थियो । हो पनि, जाडो लाग्न थालेपछि मनाङबाट सबै पोखरा, काठमाडौँ वा अन्यत्र र्झछन्, तीन हजार जनता पनि हुँदैनन् रे तर सम्पूर्ण कर्मचारीहरू भने जिल्लामा हुनैपर्ने । सेवाग्राही नै नभएपछि कर्मचारीको के काम ? एलडिओ वसन्त अधिकारी भन्नुहुन्थ्यो- ‘काठमाडौँको जिविसको अधिकारी र मेरो हैसियत एउटै हो तर काठमाडौँको अधिकारीले एकदिनमा गर्ने काम मैले वर्षमा पनि गर्न पाउँदिन । यसरी कुँजो भएपछि कसरी सिर्जनात्मक हुनसकिन्छ ? प्रश्नहरू शतप्रतिशत जायज हुन् तर यसप्रति ध्यान कसले दिने ? जुनजुन पार्टीको सरकार आए पनि उस्तैउस्तै त हो नि ।’

मन्त्री देव गुरुङ अरूभन्दा केही गम्भीर नै हुन् । प्रकृति संरक्षणको विश्वव्यापी अभियान चलिरहेको बेलामा कविता यात्राको माध्यमद्वारा चेतना प्रवाहित गरेकोमा खुसी व्यक्त गरे । हुन त कार्यक्रममा कसले दुःख व्यक्त गर्छन् र ? बोल्नको लागि बोल्ने त हो नि । बोलीमा केको कन्जुस्याइँं गर्छन् र नेताहरू ।

यात्रा मनमोहक र उत्तेजक हुँदै थियो ।

जता हेर्यो त्यतै हिमाल, चिसो हावा र मस्र्याङ्दीको सङ्गीतको तालमा हाम्रो हिँडाइ चम्केको थियो । फेरि हिमाल पनि मज्जाले खुलेको थियो, हामीलाई स्वागत गर्न र हाम्रो थकाइ भुलाउन जस्तो । हिंड्ने बाटो दायाँबायाँ माटो ताछेकाजस्ता बन्जर पहाडहरू । कतै घोडाहरू, कतै चैारीहरू चरिरहेका । भारी बोकेका खच्चडले उडाएको बाटोको धूलो, ठाउँठाउँमा धुपीका हल्लिरहेका हाँगाहरू । अनुपम दृश्य छ, मोहनी लगाउने, मनलाई भुतुक्कै पार्ने । यस्तै भएर त हो नि कति टाढाटाढाका देशका मान्छे लाखौँलाख खर्च गरेर आउँछन् । आकर्षक नहुँदो हो त कसलाई के मतलब ?

भ्राका गाविसको स्वागतद्वार प्रवेश गर्नासाथ चार सय वर्ष पुरानो गुम्बा देखिन्छ । ऐतिहासिक गुम्बालाई हामी क्यामरामार्फत समात्छौँ । हावामा हल्लिरहेका तोरणहरूले शान्तिको बताससँगै स्वागत गरिरहेको जस्तो लाग्छ । नजिकैको चौरमा सिङ्गो याक टुक्राइरहेको थियो । हेर्न गयौँ, घण्टौँ लगाएर मात्र मार्न सकेका रे । याक ठूलो थियो, आउँदो जाडोभरिको लागि भनेर धेरैजना मिलेर छत्तीस हजारमा किनेका रे, त्यो बेच्दा दुई लाखसम्म हुनसक्छ रे सुकुटी बनाएपछि ।

हिमालपारिको जिल्ला मनाङ प्राकृतिक दृष्टिले कुमारी छ । जैविक विविधताले सम्पन्न छ, विकासको हिसाबले गरिब हो तर सुन्दरताको दृष्टिले धनी छ । यो जिल्ला सौन्दर्य, संस्कृति र सम्पदाले कहिलै नरित्तिने समुद्र हो, जति खोजी पसे पनि कहिले नसकिने । यस्तो ठाउँ प्रचारप्रसारको दृष्टिले भने भूमिगतजस्तै छ ।

मनाङ पनि ठमेल बजारजस्तै । पैँतीस सय चालीस मिटरको उचाइ भएकोले थोराङला पास गर्न यहाँ सके दुई रात बिताएर शरीरलाई तयारी गराउनुपर्ने रहेछ । हामी दिउँसो आइपुगिसकेका थियौँ । त्यसैले आजै कार्यक्रम गर्ने व्यवस्था भैसकेको रहेछ । भोलि घाम नखस्दै हिँडिसक्नुपर्छ रे । हाम्रो होटेलभन्दा केही माथिको अन्नपूर्ण माविको प्राङ्गणमा डेस्कबेन्चहरू राखेर सम्पूर्ण विद्यार्थी र शिक्षकहरू तयार भएर बसिरहेका थिए । अर्को कार्यक्रमको लागि आइपुग्नुभएका डा.राजाराम सुवेदी सर पनि कार्यक्रममा सहभागी हुनुभयोे । चिसो हावा चलेर भुइँको धूलो उडाउन थालिसकेको थियो, विद्यार्थीहरू घर जान हतार गरिसकेकाले कार्यक्रम हतारले सुरु भयो । संरक्षणसम्बन्धी कविता वाचन भनेपछि विद्यार्थीहरू जोडजोडले ताली बजाउँथे । कविता बुझे बुझेनन् भिन्नैकुरा ।

गोर्खाका शिक्षक सुन्दरबाबु श्रेष्ठको कविता राम्रो थियो । प्रधानाध्यापक आनन्दराज घिमिरेले यस ठाउँको प्रचारप्रसार हुने आशा गर्नुभयो । अहिलेसम्म भएका कार्यक्रममध्ये सहभागिताको हिसाबले सबैभन्दा ठूलो यहीँ नै भयो ।

कार्यक्रम सकिएपछि नजिकै भएको ताल हेर्न गए साथीहरू । साम्बजी र मैले टाढाबाटै हेरेर चित्त बुझायौँ । हामी दुई जना मात्र भयाँै केहीबेर । चारैतिरका हिमालहरू हातले छुन खोजे पनि भेटिएलाजस्ता । जति फोटाहरू खिचे पनि चित्त नबुझ्ने । प्रत्येकको घरमाथि फरफरिरहेका तोक्यो (झण्डा)ले यात्राको लागि शुभकामना दिइरहेका जस्तो ।

कोठामा साम्बजी र म गफिएर बसेका थियौँ, पछि मणि र ठाकुर आइपुग्नुभयो । हामी झन् रमाइलो गर्न थाल्यौँ । अन्य साथीहरू बाहिर कतै जमेर बसेछन् । साथीहरूसँगै कुरा गरिरहँदा मलाई पटकपटक हाइ आयो । थाहा पाए अनुसार लेक लाग्नुको पहिलो सङ्केत नै हाइ आउनु हो । मनमा एक प्रकारको त्रास फैलियो ।

ओहो, यति दुःखले यहाँसम्म आइपुगेर फर्किनु पर्यो भने के गर्ने होला ? यात्राको सुरुमै हामीलाई के जानकारी गराइएको थियो भने, यात्रामा कोही अगाडि बढ्न सकेन भने कुनै व्यवस्था गरेर फर्काइने छ र बाँकीको यात्रा निरन्तर अगाडि बढ्ने छ ।

निरन्तर हाइ आइरहेपछि शरीर पनि निकै गलेको अनुभूति हुनथाल्यो तर साथीहरूलाई थाहा दिन मन लागेन । एक मन नजानिँदों प्रकारले पराजित हुन थालेको थियो । थोराङला चढ्न नपाउने पीरभन्दा एक्लै हारेर फर्किनु पर्ने पीरले झन् बढी सताइएको थिएँ । त्यसैले अर्को मनलाई बलियो बनाउन खोजेँ । कमजोर मन मलाई बलियो बनाउन लसुनपानी मनग्गे पिएँ ।

सोचेँ, जान त जाने नै हो, जे पर्ला-टर्ला नै । आखिर यति ठूलो समूह छँदैछ क्यारे । यस्तै सोचेर ओछ्यानमा गइहालेँ ।

एक प्रकारको त्रासले निदाएको थिएँ, मनाङमा । लमजुङबाट अन्नपूर्ण हिमालको परिक्रमा गर्न हिँडेपछिको पाँचौँ दिनको गन्तव्य थियो । यात्राको महìवपूर्ण गन्तव्य थोराङला पासको भएकोले विशेष यात्रा यहीँबाट सुरु हुँदै थियो । त्यसो त मनाङ पनि एउटा यात्राको गन्तव्य स्थल हो । तिलिचो ताल, मनास्लुको आधार शिविरको यात्रा पनि यहीँबाट गर्न सकिँदो रहेछ । यहीँसम्मको पदयात्रा मात्र पनि हुँदोरहेछ । यो एउटा आधार शिविरजस्तै रहेछ । सामान्यतया यो पैँतीस सय चालीस मिटरको उचाइ पचाउन सक्नेले मात्र यहाँबाट अगाडि बढ्दारहेछन् । यस दृष्टिले मनाङ यात्रुको क्षमता परीक्षण केन्द्र पनि रहेछ । हिजो साँझदेखि त्यही परीक्षणमा जस्तै थिएँ । यहाँबाट उक्लन सक्ने कि नसक्ने त्रासमा थिएँ ।

बिहान उठ्नासाथ झ्यालको पर्दा खोलेँ । हुनसम्म नजिकिएर टल्किरहेको घामको झुल्कोसँग आˆनो अनुहार हेरिरहेको हिमाल देख्छु । सिरसिरे हावाले मनाङका प्रत्येक घर माथिका झण्डाहरू फरफराइरहेका थिए तर मनाङ भने मस्त निद्रामाझैँ चलमल थिएन । घाम बिस्तारै ओर्लंदै थियो, बिहानको दैलो ढकढकाउन ।

जतिसक्यो चाँडो हिँड्नुपर्छ भन्दाभन्दै पनि मनाङसँग बिदाइको हात मिलाउँदा साढे आठ बजिसकेको थियो । हामी संरक्षण कविता यात्राका स्रष्टा यात्री बनेका छौँ । कवि रमेश श्रेष्ठले यसको संयोजन गरिरहेका छन् । यात्रामा भीष्म उप्रेती, साम्ब ढकाल, मणि लोहनी, ठाकुर बेलवासे, दुर्गा शाह ‘बाबा’, यज्ञराज पौडेल, उज्ज्वल ओझा र म पनि कविका रूपमा छौँ । कोषबाट स्वास्थ्य सहायक यामबहादुर गुरुङ र सहयोगी ओमबहादुर गुरुङ छन् । त्यस्तै समूहमा आएका गोविन्द मुल्मी र किरण श्रेष्ठ गरेर हाम्रो समूह तेह्र जनाको थियो ।

हिमाली शृङ्खलाको निकटताले गर्दा आजदेखिको यात्रा निकै उत्तेजक हुने जानकारी गराइएको थियो । त्यसैले अघिल्ला दिनका यात्राहरू बिर्सिएभै”m गरी पहिलो दिनको यात्रा जस्तो उत्साह र जोशपूर्ण थियो । ओम गुरुङ अथवा माइल्दाइले चामेमा मलाई रुइसको लठ्ठी दिएका थिए । निकै बलियो र राम्रो । लठ्ठीलाई पोलिएको पनि थियो । यो लठ्ठी घरमा राख्दा भूतप्रेत नलाग्ने भन्ने पनि विश्वास गर्दा रहेछन् । जे भए पनि मलाई हिँड्न निकै सजिलो भयो लठ्ठीले । केही साथीले चाहिँ टङ्की मनाङमा किने ।

आजदेखि थोराङलापास पार नगरुन्जेल उच्चलेक लाग्नबाट बच्नको लागि माइल्दाइले मिनरलवाटरको बोतलमा लसुनपानी बनाइदिएका थिए, त्यो छिनछिनमा खाइरहने र क्याडवरी पनि खान बोकेका थियाँैं ।

टङ्की मनाङ अर्को गाविस, बीस-बाइस घरको होला । त्यहाँ पुग्नुअघि मैले ज्याकेट, पन्जा र गलबन्दी फुकालिसकेको थिएँ गर्मीले ।

आज हरेक दिनजस्तै भीष्म, मणि, ठाकुर, बाबाहरू अगाडिअगाडि नै छन् । माइल्दाइलाई साम्बजी र मैले हामीभन्दा अगाडि बढ्न दिएका छैनौँ । गोविन्दजी हिजो हिँड्नै सक्नुभएको थिएन तर आज मजाले हिँडिरहनुभएको छ । यस क्षेत्रको भूगोल र हिमालहरूको बारेमा सबै ज्ञान छ उहाँलाई । उहाँसँग हिँड्दा हिमालको उचाइलगायत त्यस क्षेत्रको बारेमा जानकारी गराइरहनुहुन्थ्यो । किरणजी राष्ट्रियस्तरको फुटबल खेलाडी र प्रशिक्षक पनि यात्राभरि असाध्यै सहयोगी देखिनु भो । साम्बजी अरूभन्दा लगभग पछि पर्नु हुन्थ्यो र म पनि उहाँसँगै हुन्थे ।

टङ्की मनाङबाट केही समथर जस्तो बाटो हिँडिरहेको बेला राता चुच्चा भएका कागहरू देखिए । रोकिएर हेर्छाैं । त्यहीबेला गोविन्दजी उत्तेजित भएर गङ्गापूर्ण हिमालमा गएको हिमपहिरो देखाउनुहुन्छ । यस्तो पहिरो जाँदा हिउँका बाफहरू पनि रोचक देखिँदोरहेछ । चारैतिर सेतै खुलेका सुन्दर हिमालहरू । वरपर भने नाङ्गा डाँडाहरू । एक प्रकारको रातो फुल्ने काँडाका झाँङहरूबाहेक केही नभएका । त्यस्तै झाँङमा डाँडामाथिसम्म चरिरहेका चौरीहरू खुरले खोस्रेर केही खोजिरहेका देखिन्छन् ।

हिँड्दा निस्केको मुहारभरिको पसिना पुछिरहने मायालु हिमाली हावाको साथ थियो हामीसँग । हामी धेरै अग्लो ठाउँमा हिँडिरहेका थियौँ । तिलिचो ताल (५२०० मिटर) तिर गइरहेका विदेशी पर्यटकहरू सानो बाटोमा लहर लागेर हिँडिरहेका स-साना देखिन्छन् हवाइजहाजबाट देखिएका घरहरू जस्तै ।

घडीमा ठीक दस बज्दा थोराङला हिमाल देखिन्छ । पहिलो भेटको अभिभादन गर्छु म थोराङलालाई । ‘तिमीलाई भेट्न निकै दुःख गरेर आइरहेको छु कुनै अप्ठेरो नपुर्याउ है’ भन्ने अनुरोधसहित । हामी थकाइ मार्दै, लसुनपानी पिउँदै अगाडि बढिरहेका थियाँै । अकस्मात् हामीभन्दा केही अघि एउटा ढुङ्गा खस्यो । भारी बिसाएर आराम गरिरहेको भरियादाइ अलिकतिले मात्र बच्नुभो । सबैजनाले मास्तिर हेयौँ । माथि च्याङ्ग्राहरू हिँड्दा त्यतैबाट खसेको रहेछ ।

घुन्साङ गाउँमा आइपुग्दा एघार बज्न खोज्दै थियो । यहाँ विदेशीहरू केही समय आराम गर्ने, खाने पिउने गर्दा रहेछन् । तीन हजार नौ सय मिटरमा रहेको घुन्साङको एउटा थुम्को जस्तोको पसलमा चुइगम किन्यौँ हामीले । उच्चशिखरको यात्राले नथकाएको होइन तर जति थाक्दा पनि हिमाली शृङ्खलाहरूले थाक्न दिएको थिएन । धेरै डाँडाहरू उक्लिसकेका थियौँ, अब भने गेन्जुङ खोला तर्नुपर्ने भएकोले केही तलसम्म झर्नुपर्ने छ तर यही ठाउँमा पैह्रो गएकोले पाइताला मात्र टेक्न मिल्ने त्यो डरलाग्दो बाटो भएर पुलमा पुग्छौँ । अगाडि जाने साथीहरू हिँडेर हल्लिरहेको पुलमा रमेशजी, साम्बजी र मैले एकसाथ तर्यौँ ।

हिँडेको साढे चार घण्टामा हामी चार हजार मिटरमा रहेको याकखर्कमा पुग्यौँ । यहाँसम्म आइपुग्दा हिमाली हावाले निकै चिसिइसकेको थिएँ म । अक्सिजन पनि कम भएको थियो मलाई । यहाँ विदेशीहरू खानपिन गर्ने मात्र नभएर एक रात यही बिताउँदारहेछन्, कोही होटलमा, कोही टेन्ट गाडेर । त्यस्तै चहलपहल देखिन्थे यहाँ ।

वरपर जतासुकै याकहरू चरिरहेका थिए । साम्बजी र मैले नजिकै भएको याकसँग फोटो पनि खिच्यौँ । केही अगाडि डाँडामा एक हूल नाउरहरू पानी पिइरहेका थिए । देखेपछि मैले क्यामरा तेर्साएँ । उनीहरू पनि लौ खिच भनेजस्तो गरी टाउको उठाएर हेर्न थाले । मैलेभन्दा रमेशजीको राम्रो क्यामेराले निकै नजिक तानेर खिच्नुभो फोटाहरू ।

हाम्रो खानाको व्यवस्था त्यहाँबाट आधाघण्टा टाढाको होटलमा रहेछ, हिमालयन भ्यु होटलमा । मनाङमा हामी होटल थोराङलामा बसेका थियाँैं, मिचुङ दाइको होटल । प्रसिद्ध र निकै धनी रहेछन् उनी । हुम्दे विमानस्थलमा मन्त्रीको बिदाइमा आएका थिए । त्यहीँ भेट भएको थियो हाम्रो । हामी हिँडेको केही समयपछि घोडा चढेर मनाङ आइपुगेका थिए । अबको खाना खाने होटल मात्र नभएर थोराङलाको वेसक्याम्पमा भएको सबैभन्दा ठूलो होटल पनि उनैको रहेछ । खाना खाने ठाउँमा पुगेपछि सबै साथीहरू बाहिर घाम ताप्न बसँे । म भने सरासर भान्छामा गएर तातोपानी पिउँदै न्यानो गरेर बसेँ ।

खाना खाएपछि केही फूर्ति बढेको थियो तर लेदार कटेपछि भने निकै पहिरो गएको अप्ठेरो बाटोले निकै तर्सायो पनि र थकायो पनि । ‘एउटा नदी तरेपछिको बाटोमा सूचना राखिएको थियो, माथिबाट ढुङ्गा खसिरहन्छ सतर्क हुनुहोस् । पैह्रो गएको साँगुरो बाटोमा कहाँबाट ढुङ्गा खस्छ कि भनेर माथि हेर्न सक्नु ? हेर्न थाले झन् डर बढ्ने । तल आँखाले नदेख्ने खोँचबाट मस्र्याङ्दी बगिरहेको छ । न माथि हेर्नु न तल हेर्नु, भगवान् भरोसामा हिँड्ने बाटोभन्दा कतै हेर्नै सकिएन ।

साँझ झमक्क परिसकेको थियो, यामजी र ओमजी ‘अब आइपुग्यो, ऊ त्यो डाँडा कट्नासाथ आउँछ’ भन्दै हौस्याउँदै थिए । हामी घिसिँ्रद घिसि्रँदै जस्तै गरेर पौने ६ बजे थोराङलाको बेसक्याम्प होटलमा पुग्यौँ । चार हजार पाँच सय चालीस मिटरको उचाइको होटलमा विदेशीहरू निकै धेरै भएकाले राम्रो सुत्ने ठाउँ नपाइएला भन्ने डर थियो तर होटल स-साना कटेजहरूजस्ता धेरैवटा रहेछन् । हामी चार जनाले धन्य एउटा कोठा पाइहाल्यौँ भीष्म, मणि, ठाकुर र म । त्यो पनि मणिहरू केही अगाडि पुगेकोले ओगटिहालेका रहेछन् ।

खाना खानलाई डाइनिङ हलमा पुग्दा सयौँ विदेशीहरू टनाटन भएकाले हामीले केही बेर कुर्नु पर्यो । ठमेलको निकै ठूलो होटलजस्तै थियो त्यो । यहाँको महँगोको हिसाबै रहेनछ । भित्तामा लेखिएको थियो, एक थर्मस तातोपानीको एक सय पचास, हट ब्याग लिएको एक सय, टेलिफोन प्रतिमिनेट दुई सय, विदेशीहरूका लागि पाँच डलर । हामीलाई सादा खानाको तीन सय पचास, त्यो पनि मिचुङदाइले भनेकोले रे ।

टाउको एकनासले दुखिरहेको थियो । भिक्स र सन्चो दलेँ । भिटामिन खाएँ । पटक्कै निको भएन । टाउको फुट्लाजस्तो भैरहेको थियो । खाना खाएपछि स्वास्थ्य सहायक यामजीले थोराङ यात्रामा अपनाउनुपर्ने सतर्कताको बारेमा सबैलाई सुनाए । लेक नलागोस् भनेर एकएकवटा औषधि खान दिए । हिँड्दा हतार नगर्ने, बिस्तारै आराम गर्दै हिँड्ने, लसुनपानी पिइरहने र जतिसक्यो पिसाव फेरिरहने । त्यस्तो कसैलाई केही भएमा औषधिसहित आफू पछाडि बस्ने बताए ।

भोलि बिहान साढे तीनसम्म हामीले हिँड्न थालिसक्नुपर्ने पनि बताए । गोविन्दजीले भने पच्चीस सयमा घोडा चढ्ने व्यवस्था मिलाउनु भयो ।

कोठामा डबल सिरक भएकोले जाडो चाहिँ भएन तर रातभरि पटक्कै निदाउन सकिएन । हुन त यस्तो उचाइमा निदाउन गाह्रै हुँदोरहेछ । कोहीकोही त निदाएको निदायै पनि हुँदारहेछन् जीवनबाटै ।

बिहानै हाम्रो यात्राको महायात्रा सुरु भयो । रातभरि सुत्न नसकेकोले रारा चाउचाउ पनि पूरा खान सकिएन तर आजलाई हामी शारीरिक र मानसिक रुपमा तयार भएका थियौं, हुन त नभएर पनि के गर्ने ? साढे चार जति बज्दै थियो, अँध्यारो नै थियो, चिसो भने निकै उज्यालो भैसकेको थियो । हाम्रो समूहभन्दा केही अघि विदेशीहरूको समूह टर्च लाइट बालेर लठ्ठी टेक्दै हिँडेको देखियो । हामीमध्ये केहीसँग लाइट थियो । साम्बजी र मसँग भने थिएन । नाकै ठोकिने उकालो अँध्यारोमा एकातिर झोलाको भारी’ अर्कोतिर चिसोको भारी, सबभन्दा भारी त लेक लाग्ला भन्ने नै थियो । निकै गाह्रो गरेर सास बढाउँदा बढाउँदै एकघण्टा भन्दा केही समय लगाएर हाइक्याम्पमा आइपुगेको बेला मिर्मिरे बिहान हामीसँग हिँड्न थालिसकेको थियो । त्यसपछि त पूरै हिमाली टाकुराहरू हेरेर हिउँ नै हिउँ भएर हिँडेको हिँड्यै ।

सर्वत्र सेतै सेतो हिउँ र हिमालमा पदयात्राको लागि बनेको सानो बाटोमा विदेशीहरूको भीडमा हामी पनि कहिले मिसिन्थ्यौँ र कहिले छुटिन्थ्यौँ । विदेशीहरू कोही घोडाबाट उक्लिरहेका, कोही सिलिण्डरबाट अक्सिजन लिइरहेका, कोही मुखैमा पाइप जोडेर निरन्तर पानी पिइरहेका । हिमालको हावासँगै हिमाल हेरेर यसरी यात्रा गर्नु त्यो पनि चुनौतीपूर्ण । त्यसैले जीवनको एउटा विशिष्ट उपलब्धि नै हो भन्ने ठान्छु । यहाँ पुग्ने धेरैले जीवन र प्रकृतिलाई एकसाथ आत्मसात् गर्न सक्छन्, मलाई त्यस्तै लाग्यो । बाटोमा विदेशीहरू मात्र होइन, चर्नलाई उक्लिरहेका याकहरू, सेतो हिमालमा काला याक साना भए पनि टाढैबाट देखिन्थे । घोडाहरूको ओहोरदोहोर निरन्तर चलिरहेको थियो । जाने बेलामा यात्रु बोकेर र आउने बेलामा खाली घोडा, केहीचाहिँ ठूलो समूहको लागि कसैलाई केही हुन्छ कि भनेर उद्धारका लागि डोर्याएका खाली घोडाहरू पनि ठाउँठाउँमा भेटिन्थे । बेसक्याम्पबाट हाइक्याम्प नाघेपछि धेरै अप्ठेरो नभएकाले यस क्षेत्रको यात्रालाई विदेशीहरू बाल्कोनी ट्रेकिङ पनि भन्दा रहेछन् ।

कैयौँ ठाउँमा हामीले आफूलाई क्यामरामा छाप्यौँ । भीष्मजी अगाडि नै हुनुहुन्थ्यो । मणि, रमेश, ठाकुर, साम्ब र म भने सँगसँगै थियौँ । साम्बजीलाई ठाउँठाउँमा निकै कुर्नुपर्यो, आज उहाँ निकै सुस्त हुनुभयो ।

हिमाली यात्रामा साइकल चढ्ने सोख पनि गर्दारहेछन् विदेशीहरू । अप्ठेरो ठाउँमा भरियाले बोक्ने र सजिलो ठाउँमा हिउँमा साइकल चढ्ने गर्दा रहेछन् । एक ठाउँमा उनीहरू आराम गरिरहेको अवसर पारेर हामीले पनि साइकल चढ्यौँ र फोटो खिच्यौँ ।

करिब पाँच घण्टाको अनवरत हिमालको यात्राले आखिर हामीलाई थोराङलापास पुर्याइहाल्यो । यो पाँच हजार चार सय सोर्‍ह मिटरको उच्च शिखरमा पुग्नु कुनै दृष्टिले पनि सामान्य कुरा होइन । यो एउटा कीर्तिमान हो । त्यो पनि स्रष्टा भएर ।

यति उचाइमा कसैले कवि गोष्ठी गरेको छ भने त्यो हाम्रै अभिलेख हुनेछ । उच्चशिखरमा कविता पढ्ने कवि बन्यौँ हामी । सबै खुसी थिए त्रास समाप्त भएर सफलताको साथ पाएकोमा । शिखरमा हजारौँ तोरणहरू फरफराइरहेका थिए ।

यही शिखर नै मनाङ र मुस्ताङको सिमाना पनि बनेको रहेछ । शिखरको निधारमा अङ्ग्रेजीमा लेखिएको थियो, ऋयलनचबतगबितष्यल, म्य थयग खष्कष्त बनबष्ल ? थोराङको बधाइ स्वीकार गरेपछि फेरि आउने भनी गरेको प्रश्नको उत्तर दिन सकिन मैले । हाँस उठ्यो, दोहर्याएर आउने कुरामा ।

यहाँ धेरै बेर बस्न हुँदैन । लेक लागिहाल्छ, टाउको दुख्ने, वाक्वाकी लागेर बान्ता आइहाल्छ, भनिएको थियो । केही अगाडि पुगेर केही समय बस्ने साथीहरूले त्यो भोग्नु पनि पर्यो । हामीचाहिँ धेरै बेर बसेनौं र र्झन थालिहाल्यौँ ।

आज थोराङलाले गौरवको अनुभूति गरायो, बिजयको थाली थपेजस्तो लाग्यो । हुन पनि हो, दसौँ लाख खर्च गरेर आउनेहरू त्यत्तिकै आएका हुँदैन रहेछन् तर कतिपयले नसकेर फर्किएका, कतिले जीवनै समाप्त पारेका पनि रहेछन् । केही गाइड र पोर्टरबाहेक हामीजस्ताले घुम्न आउने नेपालीहरू अहिलेसम्म हजार पनि छैनन् होला भन्ने अनुमान भयो । जताबाट जसरी भने पनि कहिले खर्च नहुने जीवनको ठूलो कमाइ भयो यो ।

थोराङला पासबाट हामी झरेको झर्‍यै गर्छौं, बलौटे माटोको पहाडमा होसियारीपूर्वक झर्छौं, हतार छैन । आजै हामी मुक्तिनाथ पुगेर बासको लागि जोमसोम पुग्छौँ । अर्थात् ५४१६ मिटरबाट ओर्लेर २७२० मिटरमा पुग्नेछौँ ।

त्यत्रो शिखरमा पुग्दा केही नभएको मलाई मुक्तिनाथ पुग्नु केही समयदेखि वाक्वाकी लागेर हिँड्न निकै गाह्रो भयो । साथमा साम्बजी मात्र हुनुहुन्थ्यो, अरू साथीहरू सबै अगाडि बढिसकेका थिए । विस्तारैविस्तारै गरेर मुक्तिनाथ पुगियो । पछि थाहा भयो कसैकसैलाई हाइ अल्टिच्युट नलागे पनि लो अल्टिच्युट पनि लाग्दोरहेछ । उकाली जितेर ओराली हारेँं मैले ।

मुक्तिनाथबाट एकघण्टे जिप चढेर जोमसाम बास बस्न पुग्यौंँ । आजको वासले एकहप्ते हिँडाइलाई बिर्साएको थियो ।

घासासम्म जिपयात्रा भयो । दुई घण्टाको यात्राको लागि तीन सय पचास, महँगै हो । हुन त मुक्तिनाथबाट एक घण्टाको यात्रामा दुई सय पचास तिरेकै हो । पैसा दूरीको भन्दा पनि बाटो अप्ठेरोको होला । घासामा यति ठूलो पैह्रो गएको रहेछ कि झण्डै आधा किलोमिटर जति बाटोको नामोनिसान नहुने गरी डाँडो ओर्लिएकोरहेछ । निकै अप्ठेरो गरेर त्यो बाटो काटेपछि तेर्सोतेर्सो बाटैबाटो भएकोले अप्ठेरो भएन । हिँडेको ढेढ घण्टामा हामी रुप्से झर्नासँग फोटो खिच्न थालेका थियौँ । घासाबाट हिँडेको साढे तीन घण्टापछि हामी अँध्यारो भइसक्दा तातोपानी पुगेका थियौँ । तातो बाफ आइरहेको कुण्डमा नुहाउँदा सम्पूर्ण थकाइ पखालिएको अनुभूति गरायो । हुन पनि आठ दिन यात्राको पसिना पखाल्न कतै पाएका थिएनौँ हामीले ।

तातोपानीबाट बेनीसम्मको बसयात्राले सबैको सातो खाएको थियो । बाटो नाम मात्रको, बस गुड्न मात्र पुग्ने । बाटो हेर्दा त कहाली नै लाग्ने । सानो कच्ची बाटो, त्यो पनि ठाउँठाउँमा भत्किएर कालीगण्डकीमा खसेको छ । यस्तो बाटोमा सामान्य मान्छेले गाडी चलाउने आँट गर्न पनि सक्दैन होला । नदीमा डुङ्गा चलेजस्तो गरी बस अगाडि बढिरहेको थियो । साढे दुई घण्टासम्म हामी कोही कसैसँग बोलिनौँ भन्दा हुन्छ । चुपचाप त्रासदी यात्रा । सबैले मृत्युपत्रमा हस्ताक्षर गरेर चुपचाप बसेजस्तो । एक पटक रमेशजीले भन्नुभएको थियो, ‘त्यत्रो थोराङला चढ्दा डर लागेन, अहिले चाहिँ सात्तो गएको छ, छातीमा गोली थाप्दा मरिएन अहिले लामखुट्टेले टोक्दा मरिन्छ कि भन्ने डर ।’ हुन पनि त्यस्तै थियो । त्यसैले बेनी पुगेपछि मात्र थोराङला पास भएको खुसीमा हाँस्न थालेका थियौँ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *