Skip to content

रानीवनमा चंखे फ्याउरोको एक जोडी बस्दथ्यो । फ्याउरा फ्याउरीले वनमा भएको एउटा ओडारलाई आफ्नो घर बनाएका थिए । उनीहरू दिनभरि वनमा पाइने चराचुरूङ्गी, चराका फूल वा जङ्गली फल खाएर आफ्नो गुजारा चलाउँदथे । वनमा आहारा नपाएमा उनीहरू साँझ सबेर नजिकको गाउँमा पसेर हाँस, कुखुरा, परेवा, बाख्राका पाठा समातेर आफ्नो ओडारमा ल्याई खाने गर्थे । समय बित्दै जाँदा फ्याउरीले एकजोडी (भालेपोथी) बच्चा जन्माई । बच्चाको स्याहार सम्भार गर्न पोथी ओडार वरिपरि घुमेर भेट्टाएको खानेकुरा बच्चालाई ख्वाएर बाँकी रहेकोमध्ये फ्याउरोको भाग छुट्याएर अनि आफू खाने गर्थी ।
उनीहरूको ओडार भएको वनको बाटोबाट पर-परका गाउँदेखिकाको सहर जाने बाटो पर्दथ्यो । बाटामा मानिसहरू ओहोरदोहोर भइरहने हुनाले बेला/बेलामा मान्छेसँग जम्का भेट हुँदा उनीहरूलाई ढुङ्गामुढा गरेर मान्छेहरूले लखेट्थे । त्यति मात्र होइन वरपरका वनबाट गाउँमा कुखुरा, हाँस, कुकुर, बोका, बाख्राको शिकार गर्न वन बिरालो, चितुवा, ब्वाँसो, हुँडार आदि पनि त्यही बाटोबाट ओहोरदोहोर गर्दथे । वन बिरालो, चितुवाहरूले लखेटेको बेलामा उनीहरूलाई ज्यान जोगाउन गाह्रो पथ्र्यो । उनीहरूका दुइटा बच्चामध्ये छोरी चाहिँलाई गाउँका कुकुरले लखेट्दै टोकेर मारेका थिए । त्यो दिन फ्याउराका जोडी रातभर रोएर खाना पनि नखाई भोकै सुतेका थिए ।
समय बित्दै गयो । फ्याउरोको छोरो पनि ठूलो भयो । उसले आफ्ना बाआमालाई शिकार गर्न सघाउन थाल्यो । जसले जे शिकार पाए पनि घरमा ल्याएर तीनैजनाले बाँडेर खाने गर्थे । एकदिन रानीवनमा ठूलो डढेलो लाग्यो । डढेलोले जमीनका घाँस, कीरा, फट्याङ्ग्रा, रूख, लहरा सबै सखाप भए । चारैतिर खरानी र धुव्ााँ मात्र देखिन्थ्यो । चक्रेका परिवारले ओडारभित्र धेरैदिन भोकै बसेर ज्यान जोगाए । वनमा भएका खरायो, मुसा, चराचुरूङ्गी सबै वन छाडेर भागेकाले उनीहरूलाई खानेकुराको समस्या पर्‍यो । त्यही समयमा वन वरपरका गाउँहरूमा लामो खडेरी परेर भोकमरी लाग्यो । पहिले जस्तो वनमा आहारा नपाएका बेलामा वरपरका गाउँमा पसेर आहारा खोज्दा पनि नपाइने भएर उनीहरूलाई प्राण बचाउनै गाह्रो पर्न थालेकोले जवान भइसकेको छोराले फ्याउरा फ्याउरीसँग सल्लाह गर्‍यो । छोराले भन्यो- “हेर बा, आमा अब हामी दुईबाट तीन भइसक्यौँ । जति परिवार बढ्छ, उति आहारा बढी चाहिन्छ । अब यहाँ आहारा पाउन गाह्रो भयो । ओडारमा कहिलेकाहीँ बढी भएको खानेकुरा भण्डारण गर्ने ठाउँ पनि नभएकोले हाम्रो बचत गर्ने बानी भएन । आज ल्यायो, आजै खायो । भोलिपल्ट भोकै भनेझैँ हाम्रो अवस्था छ । त्यसैले अब म परदेश गएर धेरै धन कमाई ल्याउँछु । वरपरका गाउँले फ्याउराहरूलाई बोलाई ओडारमा एउटा शीतगृह बनाएर खानेकुरा भण्डारण गर्‍यौँ भने शिकार नपाएका बेलामा त्यही आहारा खाई भोक मेटाउन पाइन्छ । मेरो योजना तपाईंहरूलाई कस्तो लाग्यो ?”
छोराको कुरा सुनेर फ्याउरीले कुकुरले मारेको आफ्नी छोरी सम्झदै आँखाभरि आँसु पादर्ैै भनी- “एउटा सन्तान कुकुरहरूले मारिदिए । तँ पनि विदेशिएपछि मैले कसको मुख हेरेर बाँच्ने ?”
फ्याउरोलाई भने छोराको कुरा ठीक लागेकोले फ्याउरीको आँसु पुछ्दै भन्यो- “तँ नरो न ! म छँदै छु नि ! छोराले कुरा ठीक त भनेको छ ।”
बाबुआमाको स्वीकृति पाएर छोरो धन कमाउन परदेश लाग्यो । दिन, महिना, वर्षहरू बित्दै गए । फ्याउरा फ्याउरी छोरो कहिले फर्किएला भनेर साँझ बिहान ओडारको मुखमा गई आँखा तान्दथे । उनीहरूले शिवपुरीको पल्लो वनमा बस्ने फ्याउराका परिवारकी चिटिक्क परेकी राम्री फ्याउरीलाई देखेदेखि त्यसैलाई आफ्नो बुहारी बनाउने अठोट गरेका थिए ।
चक्रेका बूढाबूढीले आहारा नपाएको तीन दिन भइसकेको थियो । रात परिसकेकोले सडक नजिकैको आफ्नो ओडारमा बसेर आहाराका बारेमा विचार गरिरहेका थिए । त्यहीबेला परदेशबाट र्फकँदै गरेको एउटा फ्याउरोले बास माग्न आयो । चक्रेले भन्यो- “परदेसी भाइ ! बास त दिन्छौँ तर हामीसँग खानेकुरा छैन नि !” घरबेटीको कुरा सुनेर “तपाईंहरूको जय होस् । साह्रै थाकेको थिएँ । म आफ्नै शिकार खान्छु । म रानीपौवाको वनमा बस्छु । भोलिबिहानै बाटो लाग्छु ।” भन्दै खान थाल्यो । खानेकुरा देखेर तीनदिनदेखि भोकै भएका चक्रेका बूढाबूढीको मुखबाट र्‍याल चुहिन थाल्यो । फ्याउरीले भोक खप्न नसकेर भनी- “ए बूढा ! अलिकति खानेकुरा मागेर ल्याउ न !” चक्रेले भन्यो- “यो अनिकालमा कस्ले दिन्छ र ? जान्न म त ।”
त्यत्तिकैमा परदेशी फ्याउरो आहार खाई बाँकी आहारा र धनको पोकोको सिरानी हाली सुत्यो । फ्याउरीले फेरि कचकच गर्दै भनी- “हेर ! यहाँ अरू कोही पनि छैन । त्यसलाई मारेर भए पनि खानेकुरा र धन लिएर आउ । कसैले देख्दा पनि देख्दैन । थाहा पनि पाउँदैन ।” भोकले ब्याकुल भएकोले बूढाबूढीको कुरा मिल्यो । दुवै मिलेर परदेशी फ्याउरोलाई मारी आहारा र धनको पोको गुफाभित्र थन्क्याएर लाश गाडिदिए । अब चक्रेको जोडीले यही पैसाले आफ्नो गुजारा चलाउँदै ओडारलाई पनि ठूलो र राम्रो बनाए ।
एकदिन एउटा जवान परदेशी फ्याउरो ठूलो पोको र खरायोको शिकार झुण्ड्याउँदै त्यही बाटोबाट आउँदै गरेको फ्याउरा फ्याउरीले देखे । उनीहरूले आफ्ना पुरानै योजना कार्यान्वयन गर्ने अठोट गरे । परदेशी फ्याउरो नजिक आउनासाथ चक्रेले बडो आदरपूर्वक उसलाई ओडारमा बस्न अनुरोध गर्‍यो । परदेशी फ्याउरोले अँध्यारो भए पनि टोल्हाएर चक्रेको जोडी र ओडारलाई हेर्दै थियो । परदेशी फ्याउराको मनमा अर्कै कुरा भए जस्तो मानेर चक्रेको जोडीले परदेशीलाई जोड गरी गुफामा बास बसाए । रात गहिरिएपछि परदेशी निदाएको बेला पारेर चक्रेको जोडीले उसलाई मारेर धन र आहारा गुफामा थन्क्याए । चक्रेले ठूलो धन र शिकार फेला पारेकोले दङ्ग पर्दैभन्यो- “अब त छोराको बिहे गरेर पनि धन नसकिने भयो । बचेको धनले बाँचुञ्जेल छोरा बुहारीको मुख हेरेर आनन्दले दिन बिताउन पाइने भइयो ।”
भोलिपल्ट परदेशी फ्याउरोको लास गाड्न चक्रेले खाल्डा खन्दै थियो । फ्याउरी सकी नसकी लासलाई खाल्डोतर्फ घिसार्दै थिई । त्यत्तिकैमा उसको आँखा लासमाथि पर्‍यो । त्यो मारेको परदेशी त उसले सपनाको महल बनाएर बसेको आफ्नै छोरोको थियो । फ्याउरी कोकोहोलो गर्दै ‘मेरो छोरा’ भन्दै लास माथि ढली । त्यहीँ उसको प्राणपखेरु उड्यो । चक्रे फ्याउरीको आर्तनाद सुनेर दौडिँदै आएर उठाउन खोज्यो । उसले लासतर्फ हेर्‍यो । आाफ्नो छोरो चिन्यो । ऊ पनि भुक्लुक्क त्यहीँ लड्यो । उसको पनि प्राण उड्यो । गाउँलेहरूले मृत्युमा विलाप गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *