सोह्र वर्षअघि आफू बेलायतकै बासिन्दा भएको बेलामै मलाई स्ट्याटफोर्ड अपन एभन जान मन नलागेको त कहाँ थियो र ! तर विद्यार्थी दीपकजीलाई एक त त्यति बेला फुर्सद पनि थिएन । दोस्रो यताउति घुम्ने उहाँलाई उस्तो चाख पनि छैन । अनि तेस्रो मूल कुरो चाहिँ- आफूसँग भएको सीमित पैसाबाट अधिकतम सन्तुष्टि लिनका लागि हामीले पैसा खर्च गर्ने सूचीमा सके लफबराभन्दा टाढाको त्यो शहरले आफ्नो महìव देखाउन सकेन । त्यही भएर त होला नि त्यो शहरलाई त्यतिखेर मैले देख्न पाइनँ, चिन्न पाइनँ ।

तर अहिलेको परिस्थिति फरक छ । अहिले म सबैतिरबाट निस्फिक्री भई देश दर्शनका लागि निस्केकी एउटी पर्यटक भएकी छु । ठूला भएर आफ्नो हेरविचार आफैँ गर्नसक्ने भइसकेका सन्तानकी आमा हुँ । त्यसैले त घर छोडेर आफूलाई मन लागुन्जेलसम्म बाहिर बस्न पनि म सक्ने स्थितिमा छु ।

दीपकजीलाई धेरै दिनसम्म आफ्नो कलेज छोडेर बाहिर बस्न मिल्दैनथ्यो । त्यसैले उहाँ पन्ध्र दिनको युरोप घुमाई सकेर काठमाडौँ फर्की पनि हाल्नुभयो । मलाई त के छ र, ढाक्रे मान्छे जहाँ बसे पनि मलाई केही फरक पर्दैन । केही दिन अरू बेलायतमा बसे एकातिर आफ्नी ठूली छोरीसँग बस्न पाइन्छ । फेरि यही बेलामा बेलायतका अरू शहरहरू पनि त घुम्न पाइन्छ नि, पछि फेरि आउने भनेको के हो के ।

सन २००६ को अगस्ट ३ तारिख आज म स्ट्याटफोर्ड अपन एभन जानको लागि मेरिलिबोन स्टेसनमा पुगेकी छु । यहाँबाट चिल्टन कम्पनीको रेलद्वारा मैले स्ट्याटफोर्डसम्मको दूरी छिचोल्नुपर्छ । यहाँ अनेकौँ रेलहरू एकपछि अर्को गरी आइरहेका छन् तर स्ट्याटफोर्ड अपन एभन जाने मेरो रेलको अझ आउने बेला भएको छैन । “अगुल्टोले हानेको कुकुर बिजुली देख्दा तर्सिन्छ” भनेझैँ बेलायत आएको दोस्रो दिनमै आफ्नो टिकटमा तोकिएको समयकै रेल चढ्नुपर्छ भन्ने कुरो बुझिसकेकी छु । त्यसैले म फेरि पनि जुन पायो त्यही टे्रन चढ्न कहाँ सक्छु र ?

खाली टे्रनमा आनन्दले बसेपछि अहिले बल्ल मेरो बे्रकफास्ट सुरु भएको छ ।

जीवनमा पहिलोपल्ट, म एक्लै पर्यटनमा निस्केकी छु । सात समुद्रपारिको त्यो पराई देशमा म एक्लै रेल चढेर टाढा कता हो कता जान लागेकी छु । यतिखेर मेरो मन डरले भुतुक्क हुनुपर्ने हो । अत्यासले लप|mक्क भिज्नुपर्ने हो तर मेरो मन अत्तालिएको छैन । बरु स्वतन्त्रताको आनन्दले रोमाञ्चित भइरहेको छ । आखिर आज म आफ्नै भरमा कता हो कता टाढा न टाढाको अपरिचित देशको महìवपूर्ण भूमिको दर्शनमा जाँदैछु । एउटा नवीन परिवेश चिन्न जाँदैछु । आफूले आफैँलाई अरूको दृष्टिमा सक्षम सावित गर्न जाँदैछु ।

कसोकसो स्वतन्त्रताको, आत्मविश्वासको, आनन्दको, गर्वको अनि खुसीको मभित्र एउटा नूतन भाव अटेसपटेस हुन थालेका छन् । आज मैले आत्मविश्वासको नयाँ आयाम छुनुपर्छ । जीवनलाई नयाँ ढङ्गले अनुभूत गर्नुपर्छ ।

रेलबाट देखिइरहेका छन् परका खेत, चरन, वन, गाउँ र शहर । ती सबै नियाल्दै मन आल्हादित भइरहेको छ । एकातिर मनमा प्वाँख उमारेर अनन्त आकाशमा निर्बन्ध उडानको अनुभूतिले मन प्रफुल्ल छ । अर्कोतिर विश्वले मानेको त्यस्तो विशिष्ट व्यक्तिको जन्मथलो हेर्न म हिँडेकी छु । त्यस्तो मौका पाउन लागेको तथ्यबोधले पनि मनलाई घमाइलो पारिदिएको छ । मन सिमलको भुवा भइरहेको छ । सिरसिर चलेको वतासमा आनन्दले हलुकासँग उड्दै धरासँग मितेरी गाँस्नलाई ललायित छ । म पनि त आनन्दी मनले एउटा नौलो धरालाई चिन्न जान लागेकी छु । एउटी नौली वसुन्धरासँग साइनो लाउन अघिसरेकी छु ।

न्ाौलो शहरमा एक्लै जानको लागि आँट गरेर निस्किएकी त छु । धक मनमा बास बस्न नआएको त कहाँ छ र, नौलो शहर, स्टेसन शहरबाट कति टाढा छ कुन्नि ? शहरबाट सिटी सेन्टरसम्म जान बसै पो चढ्नुपर्छ कि ? घुम्ने कताकता होला ? हेर्ने केके होला ? सबै हेरेर बेलामै स्टेसन फर्किन भियाइने हो कि होइन ? फेरि टे्रन छुटे के गर्ने होला ? अत्यास धेरै छ ।

हुन त कक्षा दसलाई त्यतिका वर्षसम्म ताना शर्माको “विलियम शेक्सपियर”अध्याय पढाएकी थिएँ । त्यहीँबाट मलाई त्यो सानो शहरबारे केही कुरा थाहा भएको थियो । तरै पनि अल्प ज्ञान आखिर अज्ञान नै त हो । त्यसैले म पनि अहिले अन्योलमै छु ।

केही घन्टाको गुडाइपछि रेल रोकिएको स्टेसन नै स्ट्याटफोर्ड अपन एभन हो भन्ने कुरो बुझ्न कुनै गार्‍हो भएन । पहिले त देखेकी थिइनँ तर अहिले देख्दैछु, बोगीको भित्तामा सिटको माथि दुई/तीन ठाउँमा रेलको सुरुको स्टेसनदेखि गन्तव्यको स्टेसनसम्मको नाम लेखिएको रहेछ । आफ्नो गन्तव्य आयो कि आएन थाहा पाउन कसैलाई सोध्नै नपर्ने, स्टेसनको नाम स्ट्याटफोर्ड अपन एभन देख्नेबित्तिकै मन आनन्दले विभोर नै भयो । आज मलाई भाग्यले कहाँ ल्याइपुर्‍यायो, एक दिन यहाँ पनि आइपुगुँला भनेर मैले कहिले चिताएकी थिएँ र ?

बेलायतका रेलवे स्टेसनहरू खासै ठूला हुँदैनन् । हुन पनि मिनेटको हिसाबले चल्छ बेलायती जनजीवनमा । मिनेट-मिनेटको गणना हुने समयमा कुनै पनि व्यक्तिले घन्टौँघन्टा प्लेटफार्ममा सिट ओगटेर बस्दैन । त्यस्तै पाँच/दस मिनेटभन्दा बढी प्लेटफार्ममा बसिरहने फुर्सद रेललाई पनि हुँदोरहेनछ । अनि त किन चाहियो ठूलो स्टेसन, किन चाहियो ठूलो प्लेटफार्म, त्यही भएर त्यत्रो नाउँ चलेको ठाउँको स्टेसन पनि साह्रै सानो र साहै्र साधारण रहेछ तर यो शहर शेक्सपियरको हो । यो स्टेसनले पनि उनैलाई आफ्नो पुर्खा मान्छ होला । त्यसैले त पुर्खालाई मान दिन त्यहाँको मूल ठाउँमा उनको मुखाकृतिलाई भित्तामा स-सम्मान उत्कीर्ण गराइएको रहेछ । त्यही भित्ताको शेक्सपियरको मुखाकृतिले त्यो साधारण स्टेसनलाई सम्मानित तुल्याएको छ । स्टेसन परिसरबाट बाहिर निस्किएकी छु । अब सडकमा गएर बसस्टपको चिन्ह हेरेर बसमै चढेर शहर पुग्नु पर्ला, शहर पुग्न कतिबेर लाग्छ कुन्नि ?

सडकमा पुगेँ । पेटीमा देखिएको सङ्केतपाटीमा सिटी सेन्टरलगायत त्यहाँका विभिन्न ठाउँहरूको दूरीका साथै त्यहाँसम्म पुग्ने समय पनि लेखिएको रहेछ । कत्ति सजिलो भने सिटी सेन्टर हिँडेरै दस मिनेटमा पुगिँदोरहेछ ।

लौ म त सात/आठ मिनेटमै सिटीसेन्टर पुगिसकिछु । कति सजिलो शहर, पाइलैपिच्छे सङ्केतपाटीमा त्यहाँका मुख्य ठाउँहरूको जानकारी दिइराखिएको छ । मलाई त सबैभन्दा पहिले शेक्सपियरकै जन्मथलो पुग्नु छ । त्यही भएर सङ्केत चिन्हलाई पछ्याउँदै म अघिअघि पाइला चाल्दैछु । घामको प्रशस्त उज्यालो पाएर दिन झलमल्ल छ । मन आनन्दित हुने घाम जतासुकै पोखिएको छ । फूलको बास्ना हो कि आफ्नै मनको आनन्दको सुगन्ध हो ? म छुट्याउन सक्दिनँ । वातावरणमा मीठो सुगन्ध व्याप्त रहेको भने पक्कै हो । हुन त यहाँ फूलको कुरै के गराइ भो र ! जता हेरे पनि फूलैफूल । परितृप्तिको विशेष संचेतनामा बाँचिरहेका छन् क्यार यी बेलायतीहरू । जीवनका मूलभूत आवश्यकता पूरा भएपछि बल्ल मानिसको मनमा सौन्दर्य चेतना जाग्दो हो । ऊ जीवनमा सौन्दर्य खोज्दो हो । आफ्नो वरिपरि सौन्दर्य, कोमलता र सुगन्ध रोज्दो हो । त्यही भएर त यिनीहरू आफ्नो वरिपरि यतिविधि रङको सौन्दर्यको अनि कोमलताको उत्खनन् गर्दैछन् । आफ्नो वरिपरि कला र सौन्दर्य सिर्जना गर्दैछन् । त्यही भएर त यिनीहरूले सिमेन्ट, फलाम आदिजस्ता नीरस र निर्जीव वस्तुहरूबाट पनि कलाको बेजोड नमुना बनाउन सकेका छन् ।

हाम्रो यहाँ त गाँस, बास र कपासकै टन्टा छ । त्यसकै परिपूर्तिमा जीवनै सुम्पिनु परेको छ । अनि कहाँबाट रूप, रङ, कोमलता र बासनाको विलास खोज्नु ? सधैँ केके कुरा किन्न लाममा बस्नुपर्नेले कुन बेला फूल फुलाउनु ? पानी खान नपाउने जनताले कहाँबाट ल्याएर फूलमा पानी हाल्नु ? ग्यास र तेलजस्ता आधुनिक जीवनका आवश्यकताको निम्ति दिनभरि घामपानी केही नभनी लाइनमा जीवन गुजार्नुपर्ने हामी नेपाली । आफ्नो वरिपरि फूलको सौन्दर्य कसरी खोज्न सक्नु र ? गाँस, बास, कपास, ग्यास र तेलको चिन्तामा जीवन खपाउनुपर्ने हामी बबुराहरूको मस्तिष्कमा कला र कोमलता कहाँ अटाउनु र ?

आफ्नो पुर्खालाई यति माया गरेर हेर्न आउने पर्यटकहरूलाई दुःख दिनु हुन्न भन्ने सोच्यो क्यार यहाँको मौसमले । त्यही भएर दिन घमाइलो भैदिएको छ । घामको चहकमा फूलहरू अरू बढी चहकिला भैदिएका छन् । रङको त कुरै के गरुँ ! प्रकृतिका सबै रङहरूलाई फागु खेल्ने सुरमा कसैले यहाँ ल्याएर थुपारेको पो हो कि ?

एउटा मोड काटेर झ्यापझ्याप्ती पाइला टेक्न पुगेको ढुङ्गा छापेको त्यो फराकिलो सडक नै मेरो गन्तव्य रहेछ । लामो सोतो परेको चोक हो कि सडक भनौँ “गिल्ड स्ट्रिट” सडक, त्यही रहेछ महान् शेक्सपियरको जन्मघर भएको ठाउँ । त्यो ठाउँभरि मानिसको घुईंचो लागेको छ । सयौँ मानिसहरू छन् त्यहाँ । सडकभरि मानिसहरू छरिएका छन्, हिँडिरहेका छन् । बसिरहेका छन् । अनि धेरैजसो उत्सुक भएर फोटो खिचिरहेका छन् । दिन घमाइलो छ, तैपनि सिरसिरे बतासले एउटा पातलो स्विटर लाउन बाध्य पारेकै छ ।

यसो सर्सर्ती हेर्दा यहाँ के नै छ र ? किन त्यतिविधि मानिसहरू झुम्मिएका होलान् त्यहाँ ? एउटा पुरानो थोत्रो घरलाई किन सबैले त्यतिविधि महìव दिएर फोटो खिचेका होलान् जस्तो लाग्नुपर्ने होला तर कला साहित्यलाई त्यतिविधि महìव दिइने त्यो देश, त्यो समाजमा त्यत्रो विख्यात साहित्यकारलाई देउताझैँ पुजेको देख्नु असमान्य पनि त होइन नि ।

तिनै शेक्सपियरको जन्मथलो भएको भएर आज स्ट्याटफोर्ड अपन एभनले संसारमै ठूलो नाम कमाएको छ । त्यही थलो आफ्नो देशमा भइदिएको भएर आज बेलायतको छाती गर्वले फराक भएको छ । त्यही शेक्सपियरलाई आफ्नो भन्न पाएर बेलायतको शिर गर्वले उचालिएको छ ।

साहित्यकार र कलाकारलाई महìव नदिइएको भए के आज शेक्सपियरको नाममा बेलायतमा आउने त्यत्रो भीड आउँथ्यो होला ? स्ट्याटफोर्ड अपन एभनलाई संसारले यसैगरी चिन्थ्यो होला ? आफ्नो देशकाले महान् भनेकोले पो संसारले पनि उनको महानता बुझ्यो । आफैँले आफ्नो कुराको महìव बुझ्न गाह्रो मानेपछि संसारले त्यसलाई किन महìव दिइराख्छ र ? हामीले हाम्रा अग्रजहरूको मान्यतालाई खोई कदर गर्न सकेको ? अहिले आएर त झन् बिखन्डनलाई अँगाल्दै छौँ । आज हामी झन्झन् टुक्रिँदै पो जान थालेका छौँ । यसले हाम्रो चिनारीलाई आउँदा वर्षहरूमा कहाँ पुर्‍याउने हो कुन्नि ?

बाहिर सडकदेखि नै एक टुक्रो पनि जमिन नछोडी बनेको रहेछ, शेक्सपियरको त्यो पुरानो, होचो तीनतले घर । घरको बाहिरपट्ट ित सडकै छ । थुके पनि सडकमै पर्छ । घरको पछाडिको भागमा भने काँटछाँट गरेर मिलाइएको मनमोहक बगैँचा रहेछ । आहा, स्वर्गको नन्दन कानन नै होलाजस्तो मनमोहक बगैँचाले शेक्सपियरको जन्मघरलाई मानौँ निकै शान्ति, स्वच्छता र पवित्रताको अनुभूति गराइरहेको छ । शेक्सपियरले प्रयोग गरेका प्रायः सबै वस्तुहरू अहिले पनि उनी अझै पनि ती वस्तुहरू प्रयोग गरिनैरहेका छन् कि भन्नेजसो गरेर सरक्क मिलाएर राखिएका छन् ।

तिनको घर होचो रहेछ । कोठाहरू साना रहेछन् । त्यो थलो हेर्न जानेहरूको मन साँगुरिएको छैन । ती धेरैजसो विदेशी नै भए तापनि तिनीहरूको मनमा शेक्सपियरप्रति आदरको श्रद्धाको भाव टम्म भरिएको छ । त्यसैले त त्यत्रो भीड पनि व्यवस्थित भएर उनको घरलाई मन्दिरमा गएझैँ गरी श्रद्धापूर्वक अवलोकन गर्दै अघि बढिरहेको छ ।

उसो त स्ट्याटफोर्ड अपन एभनमा सबै कुरा नै शेक्सपियरसँग सम्बन्धित छन् तर पनि उनीसँग सम्बन्धित पाँचवटा घरहरू रहेछन् । त्यो शहर हेर्न जाने व्यक्तिले हेर्ने कुराहरू पनि मुख्यरूपमा तिनै पाँचवटा घरहरू रहेछन् । पहिलो त उनी जन्मेको गिल्ड स्ट्रिटमा अवस्थित उनको जन्मघर, दोस्रो सन १५९७ मा शेक्सपियरले किनेका उनको नातिनी ज्वाईंको सँगै साँध जोरिएको घर रहेछ । त्यो घर त अहिले भत्किइसक्यो, तर पनि त्यसको भग्नावशेष अझै पनि उनको नातिनी ज्वाइर्ं “सर थोमस न्याश”को शेक्सपियर ट्रस्टले किनेको घरबाट देखिन्छ नै । अर्को घर शेक्सपियरकी जेठी छोरी सुसन्ना तथा ज्वाईं डा. जोन हलको घर रहेछ ।

हुन त शेक्सपियरको मृत्युपछि तिनीहरू “न्यु प्लेस”मा नै सरेका रहेछन् । तिनै घरहरू देखाउन त्यहाँ प्याकेज टुरको बन्दोवस्त गरिएको हुँदोरहेछ । ती सबै घर डुलेको रकम पच्चीस पाउन्ड रहेछ ।

आफूले पहिला थाहा नपाएर उनको जन्मघर हेर्न त्यतिका तिरिसकिएको थिएँ, अब फेरि बाँकी रकम तिरेर ती सब हेर्न मनले मानेन । अरू घर हेर्ने मलाई चाख पनि छैन । जस्तोसुकै भए पनि, शेक्सपियरलाई जीवनभरि साहै्र दुःख दिए पनि याना हाथ्वेको उपस्थितिलाई उनको जीवनबाट मेटाउन सकिँदैन । त्यही भएर शेक्सपियरकी अर्धाङ्गनिीको घर पनि हेरौँ न त भनेर म नक्साले देखाएको बाटोको पछि लागेर शेक्सपियरसँग अलग्गिएर आफ्नो माइतीमा बस्ने गरेकी याना हाथ्वेको घर हेर्न भनी हिँड्दै छु ।

नक्सा हेर्दै म मूलसडकमा पुगेकी छु । अगाडि बढ्दाबढ्दै दाहिनेपट्ट िएउटा साँगुरो गल्लीमा “याना हाथ्वे कटेज” लेखेर तीरको चिनो बनाएको देखियो । लौ नक्सामा देखाएको भन्दा निकै वर कसरी यो चिन्ह ? यो बाटो हो भने नक्सामा किन नदेखाएको होला ? छक्क पर्छु ।

“छोटो बाटो होला यो । यताबाट उनको घर नजिकैजस्तो छ” त्यही लागेर म गल्लीभित्र छिरेकी छु र एउटा मान्छे मात्र अटाउने त्यो गल्लीमा डराँउदै अघि बढ्दै छु ।

आखिर त्यस्तो लामोलामो तीनवटा सुनसान गल्लीहरू पार गरेपछि बल्ल मूलसडक भेटियो । “यतै कतै त होला नि घर,” तर उनको घरको सङ्केत कतै पनि देखिएको छैन । अगाडि एउटा मान्छे आउँदैछ । उसैसँग सोध्नु पर्ला ।

ओहो उनको घर आउन अझै हाम्रो रत्नपार्कदेखि सहिद गेटसम्मको टुँडिखेल जत्रो विशाल चौर काट््नुपर्ने रैैैछ ।

त्यत्रो ठूलो चौर सुनसान छ । अलि पर दुई/चार जना किशोरहरू बल खेल्दै छन् । त्यत्रो चौरमा मानिस देखिएको त्यति हो । चौर पार गरेँ । फेरि एउटा साँगुरो सानो गल्ली छिचोलेँ । रूखैरूख भएको झ्याम्म हरियालीले ढाकेर बगैँचाजस्तै लाग्ने बाटोमा केहीबेर हिँडेँ । अब बल्ल म याना हाथ्वेको घर पुगेकी छु । बेलायतीहरूको बानी पनि नेपालका गाउँघरतिरकाहरूको बानीजस्तै रहेछ । जति टाढाको ठाउँ सोधे पनि “अब एक कोसको बाटो होला” भन्छन् तर प्रायजसो दिनभरि हिँडे पनि त्यो एक कोस आइपुग्न गार्‍है हुन्छ । त्यसै गरी याना हाथ्वेको घर कति पर छ भनेर मैले तीन/चार जनालाई सोधेँ । सबैले “यि नजिकै छ ” भनिदिएका थिए ।

म गल्लीबाट एउटा पार्कमा छिरेकीजस्ती भएँ । “होइन यो मूलसडक हो कि, कुनै पार्क ?

भित्रको बाटो हो ? मन साँच्चिकै अलमल्लमै पर्‍यो । दुवैतिर अग्लाअग्ला झ्याम्म परेका रूखहरू छन् । तिनीहरूले घाम छेकिदिएका छन् । सेपिलो छाँयाले त्यो परिवेशमा एउटा नजानिँदो पाराले रोमान्सको आकर्षण थपिदिएको छ । त्यसलाई पूर्णता दिएको छ यानाको घरले । उनको घरअगाडिको सडकको पारिपट्ट िभएको क्याफेमा फुलाइएका इम्प्यासन, जेरेनियम, बिगुनियाँ, प्यान्जी, पिटुनियाँका साथै अरू पनि केके मौसमी फूलका बोटहरूले । याना हाथ्वेलाई इतिहासले जस्तोसुकै खलपात्र मानुन् । मलाई वास्ता छैन तर पनि बारी, बगैँचा र घर सजाउन असाध्यै जान्ने जाँगरिली महिला रहिछन् ती । त्यस्तीले मन सजाएर सुन्दर पार्न किन नजानेकी होलिन् ?

आजको दिन बराला भइदिएकी छु म । त्यही भएर यो शहरमा पसेदेखि नै म एक्लैएक्लै स्ट्याटफोर्डको कुनाकाप्चामा पुगेँ । मनलाग्दी हिँडेँ । मन लाग्दी खाएँ । एभन किनारमा लाजै नमानी डङ्ग्रङ्ग पल्टिएँ । त्यही चौरमा एउटा जोकरले देखाइरहेको स्किट हेरेँ । सबैसँग हाँसेँ । पसलपसल डुलेँ । आफ्नो अन्तर्मन नियालेँ । दोस्रो दर्जाकी नागरिकबाट क्षणिक रूपमै भए तापनि उन्मुक्ति अनुभूत गरेँ । म आजको दिन मात्र आफ्नै लागि बाँचे ।

“आजको एक दिन मात्र त हो नि, अब फेरि फर्केर म यो शहरमा कहिले पो आउँली र ” भन्ने भावनाले अभिभूत भई म बारम्बार शहरको कुनाकाप्चा चहारिरहेकी छु ।

नौ बजेको चिल्टन कम्पनीको मैले चढ्नुपर्ने रेलले लन्डन फर्किनको लागि मेरो बाटो हेर्नेछ । त्यसैले त्यसलाई नकुराउनको लागि अझ आकाशमा माथिमाथि नै रहेको घामको मधुरो न्यानो सँगै मुटुलाई पनि न्यानो पार्दै फर्कीफर्की यो शहरलाई हेर्दै यससँग बिदाबारी हुँदैछु ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *