त्यस दिन बुचाइ पण्डित र लोढाशङ्करबीच भयङ्कर जुहारी चल्यो। बुचाइ पण्डित रिसले बुरुक्क-बुरुक्क उफ्रिरहेका थिए। तर लोढाशङ्कर पनि पछाडि हट्नेवाला थिएन, लँगौटा कसेर पण्डितसँग भिडेको थियो। हामी रमिते बनेर दुवैका कुरा सुनिरह्यौँ।
बुचाइ―जस्तो तेरो नाम छ लोढाशङ्कर, करनी पनि त्यस्तै छ।
लोढा―के छ र मेरो त्यस्तो करनी?
बुचाइ―तिमेरु पाखण्डी हौ।
लोढा―पाखण्डी हामी हैनौँ, तपाईंहरू हुनुहुन्छ।
बुचाइ―तँ उल्टो भाषा बोल्छस्!
लोढा―मैले के उल्टो बोलेँ र?
बुचाइ―अनि म कसरी पाखण्डी भएँ?
लोढा―हेर्नुस्; बाँस काट्ने किसना, घर बनाउने किसना, छानो छाउने किसना, टाट लगाउने किसना, टालटुल गर्ने किसनाकी स्वास्नी र लिपपोत गर्ने उसकी छोरी रामरत्ती।
बुचाइ― यो काम त उनीहरू गर्दै नै आइरहेका छन्, कुन ठूलो कुरो भयो र?
लोढा― किन भएन ठूलो कुरो? त्यत्तिका काम उनीहरूले गरुञ्जेल तपाईंको घर छोइएन। हिजो किसना तपाईंको दैलोमा टेक्न मात्र के लागेको थियो, अनर्थै हुन लागेझ्ैँ तपाईंले उसलाई रोक्नुभएछ। तपाईंले यस्तरी धामन सर्पझ्ैँ रन्केर उता न जा, मेरो घर छोइन्छ भनेर भन्नुभयो रे!
बुचाइ― लौ, अनि घर छोइन्न त?
लोढा― अँ घर बनुञ्जेल छोइएन, बनेर तयार हुनासाथ बनाउनेबाटै छोइन थाल्यो!
बुचाइ― ए मूर्ख, त्यतिखेर त मैैले घरवास लिएको थिइनँ, त्यसैले छोइएन। तर अब मैले घरवास लिइसकेको छु। अनि छोइने नै भयो नि!
लोढा―खै, कसरी कुनै कुरा छोइन्छ कुन्नि! हैन उनीहरूको जीउमा विष्ठा-सिष्ठा लागेको हुन्छ कि कसो?
बुचाइ― जसको खप्परभित्र गिदी हुन्छ, त्यसले पो कुरा बुझ्ोस् त! गिदी नै नभएको मानिसले कहाँबाट कुरा बुझनु?
लोढा― के भन्नुभो? अलि प्रस्ट भन्नुस् त।
बुचाइ― के प्रस्ट्याउँ? तँलाई थाहा छैन उनीहरू अछूत हुन् भन्ने कुरा?
लोढा―उनीहरू कसरी अछूत भए?
बुचाइ― यो पनि सोधिराख्नुपर्ने कुरा हो? भगवानले नै उनीहरूलाई अछूत बनाएर पठाएपछि कसको के लाग्छ?
लोढा―भगवानलाई दोष नदिनुस् पण्डितजी। यो सब तपाईंहरूको षड्यन्त्र हो। अम्बेडकरले शूद्रों की खोज भन्ने पुस्तकमा यो कुरा स्पष्ट रूपले भनिसकेका छन्।
बुचाइ― हिजोको अम्बेडकरले भनेका कुरा ठीक, प्राचीन कालदेखि चलिआएका शास्त्र-पुराणहरू गलत भए हैन?
लोढा―मैले पुराना कुरालाई गलत कहाँ भनेको छु र? ती कुरा आफ्नो समयमा ठीक थिए। तर अहिले तिनमा परिवर्तन ल्याउनु जरूरी छ। र, सबैभन्दा मह140वपूर्ण कुरा त के छ भने शास्त्र-पुराणहरूको रचना हुनुभन्दा अघि हामी सबै एकैनासका थियौँ।
बुचाइ― थियौँ एकैनासका! यो सृष्टिको रचना हुँदैखेरि शास्त्र-पुराणको पनि रचना भएको हो।
लोढा― ल एउटा कुरा भन्नुस् त।
बुचाइ― के कुरा?
लोढा―किसनाले हात र लोटा सफासँग धोइपखाली गरेर तपाईंलाई पानी दियो भने त्यो छोइन्छ, किनभने पानी जति पनि पाइने हुनाले किसनाले नल्याए पनि तपाईंको काम चल्छ। तर त्यही किसनाले मैला हातले गाई-भैँसीको दूध दुहेर दिए पनि त्योचाहिँ छोइन्न, किनभने तपाईंहरू गाई-भैँसी नपाल्ने हुँदा उसले दूध ल्याइदिएन भने तपाईंको काम चल्दैन।
बुचाइ―हरे शिव! दूध र फूल छोइन्न भनेर थाहा छैन तँलाई?
लोढा―किन छोइन्न?
बुचाइ―किनभने दूध र फूललाई पवित्र मानिएको छ। त्यसलाई जहाँसुकै जसरी राखे पनि पवित्र नै रहन्छ।
लोढा―अनि गङ्गाजल भनिने पानी चाहिँ अपवित्र हो र छोइन्छ?
बुचाइ― भइगो, मलाई तँसँग मुख लाउनु नै छैन।
लोढा―कसरी लाउनुहुन्छ? सत्य कुरामा झ्ूठको तर्क चल्दैन नि! अँ, एउटा कुरा भन्नुस् त!
बुचाइ― के?
लोढा―किसनाले तपाईंको पुरीको डालोमा छोइदियो भने त्यो छोइन्छ। तर त्यही किसनाले बस, रेल, नाउ जस्ता सवारीमा छुँदाचाहिँ छोइँदैन। यस्तो किन हुन्छ? कसैबाट कुनै वस्तु छोइन्छ भने त्यो त सबै ठाउँमा छोइनुपर्ने हो नि!
बुचाइ― भनिहालेँ नि, म तँसँग कुरै गर्न चाहन्न।
लोढा―के गर्नुहुन्थ्यो कुरा? जहाँ र्‍याङठ्याङ मिल्ने देख्यो त्यहाँ छुवाछूतको नियम लगाइदिनुभयो, जहाँ काम चल्ने देखिएन त्यहाँ हटाइदिनुभयो।
बुचाइ― मैले गरेको हो कि प्राचीनकालदेखि चलिआएको रीति हो?
लोढा― यो सब तपाईंहरूले गर्नुभएको हो। किनभने प्राचीनकालमा रेल, बस थिएनन्, ती त यता आएर भएका हुन्।
बुचाइ― तिमेरू सब गतिछाडा भएका छौ। त्यसैले यस्ता वाहियात कुरा गर्छौ।
लोढा―एउटा कुरा भन्नुस् त। मान्छे मरेपछि १२ औं दिनमा गरिने श्राद्धमा बाछा किन डामिन्छ?
बुचाइ― किनभने बाछालाई डाम्दा उसले कराएको आवाजसँगै मृतकको आत्मा स्वर्ग पुग्छ।
लोढा―त्यसोभए त सबै पापीजति बाछालाई डामेर स्वर्ग पुग्ने भए, पुण्य गरिराख्नै परेन।
बुचाइ― पाप र पुण्य तिमेरूको दिमाखभन्दा बाहिरका कुरा हुन्। त्यसैले यस्ता कुरा गर्छौ।
लोढा―म साँचो कुरा भन्दैछु पण्डितजी। कृषियुगमा प्रवेश गरेपछि मानिसहरूले सबै बाछालाई नारेर हलो जोत्न थाले, गौ वंश वृद्धिमा ठूलो समस्या उत्पन्न भयो। त्यसैले श्राद्धसँग जोडेर बाछालाई साँढेका रूपमा छाड्न थालियो। तर आज साँढेले पनि गाउँ-देहात, शहरबजारमा ठूलै समस्या ल्याउन थालेको छ।
बुचाइ― किन, के समस्या ल्याएको छ र साँढेले?
लोढा― गाउँ-देहातमा यसले कसैको गहुँ खाइदिन्छ त कसैको मकै। गाउँलेहरूले लखेटेर शहर पुर्‍याइदिन्छन्। शहरमा आएर माझ् सडकमा गजधम्म परेर बसिदिन्छ। कसैले जतिसुकै धपास् वा हर्न बजास्, केहीले छुने होइन! साँढेहरूकै कारणबाट कस्ता-कस्ता दुर्घटना भएका छन्। कुनै ठाउँमा मानिसहरू बसेर कुरा गरिरहेका छन् भने त्यहीँ गएर ढेस्सिन आइपुग्छ। केही महिनाअघि मेरो एउटा साथीलाई हान्दिएर दुई महिना अस्पताल बस्नुपर्‍यो। सभा-समारोह भएको ठाउँमा गएर उधुम मच्चाइदिन्छ। सडकमा फ्वाँ फ्वाँ र फूँ फूँ गर्दै भुइँ कोतरेर सबलाई चुनौती दिन्छ। कुनै पसलेको फल खाइदिन्छ, त कसैको तरकारी। जथाभावी घर-घर पस्दै मानिसलाई दुःख दिन्छ…। अब भन्नुस्, अझ्ै पनि बाछा डामेर साँढे छोडिरहने?
बुचाइ― त्यसोभए तेरो विचारमा वृषोत्सर्ग श्राद्ध नै बन्द गर्नुपर्‍यो, हैन?
लोढा― मैले त्यस्तो कहाँ भनेको छु र?
बुचाइ― अनि?
लोढा―अनि के? नियम र कानून मानव-कल्याणका लागि बनाइन्छन्। जब त्यसले कल्याणको साटो हानि गर्न थाल्छ, त्यतिखेर त्यसलाई परिवर्तन गर्नुपर्छ।कुनै एउटा युगमा उपयुक्त नियम वा कानून अर्को युगमा आएर अनुपयुक्त हुन सक्छ।
बुचाइ― तँ जस्तो मानिससँग मुख लाउनु नै मूर्खता हो।
लोढा―तपाईंहरू विद्वान् नै कहिले हुनुभयो र मूर्खता हुन! समय र परिस्थितिले के भन्दैछ त्यो आजसम्म बुझने प्रयास त गर्नुभएको छैन!
बुचाइ― ए मूर्ख! समय र परिस्थितिले भन्यो भन्दैमा आफ्नो धर्मै छाडिदिने?
लोढा―धर्मले फलानोसँग घिन मान्न र ढिस्कानोलाई टाउकामै उचालिराख्न कहाँ भन्छ? तपाईं रामको पूजा गर्नुहुन्छ, तर रामले भिलनी (शबरी) प्रति जुन स्नेह देखाए, त्यसलाई अपनाउनु हुन्न। उनले वनवासमा दिवङ्गत पिताका लागि के दान गरेका थिए र, यता तपाईंहरूले दानका वस्तु दिनानुदिन बढाउँदै लानुभएको छ। अस्ति मैले सुखाइ पण्डितजीसँग यो नयाँ साइकल कहाँबाट ल्याउनुभयो भनेर सोध्दा श्राद्धमा यजमानबाट पाएको बताउनुभयो। अब हाम्रा पितृलाई चढ्न साइकल पनि चाहिन थाल्यो?
बुचाइ― मृतकले जुन युगको भोग गरेको हुन्छ, त्यस युगका सारा वस्तु उसको नाममा दिन सकिन्छ।
लोढा― लौ ठीक छ, मेरा पितृलाई पकाइ-तुलाइ गर्न भाँडा-कुडा चाहियो। सुत्नका लागि पलङ्ग र च्छ्यान चाहियो। लामखुट्टेले नटोकोस् भनेर मच्छरदानी चाहियो। कतै बाहिर घुमघाम गर्नका लागि छाता, जुत्ता र छडी चाहियो। तर मेरा बाजे असी वर्षको उमेरमा बित्नुभयो। उहाँ आफ्ना कामधाम आफैं गर्न सक्नुहुन्नथ्यो। त्यसोभए त उहाँलाई एउटा नोकर पनि चाहिने भयो हैन! यसैगरी सोमनाथको भाइ पच्चीस वर्षकै उमेरमा गयो। उसलाई आफ्नो पारिवारिक जीवन बिताउनका लागि एउटी श्रीमती पनि चाहियो हैन!
बुचाइ― हैन, तैँले भन्न के खोजेको, हँ? हरे शिव! कुन भगवानले तँलाई जन्म दिए कुन्नि!
लोढा―मलाई जुनसुकै भगवानले जन्म दिएका होउन्, तर ती दुवैजनालाई नोकर र श्रीमती कसरी प्राप्त हुने हो मलाई भन्दिनुस्। के पण्डितजीलाई दान गरिदिएमा उनीहरूलाई प्राप्त होला?
बुचाइ― चूप लाग् फटाहा! जे मन लाग्यो त्यही जथाभावी बोल्छ। तँ जस्ताले त नर्कमा पनि वास पाउँदैनन्।
लोढा―मैले कुनै पाप गरेको भए पो नर्कमा वास खोज्नुपर्थ्यो। नर्कमा बस्नेबारे त तपाईंहरू विचार गर्नुस्।
बुचाइ― तैँले मलाई चैनसाथ बस्न दिने भइनस्।
लोढा―त्यो त ठीकै भन्नुभो, तपाईंहरूले आफूमा परिवर्तन नल्याएसम्म म तपाईं जस्तालाई चैनसँग बस्न दिन्न।

मैथिलीबाट अनुवादः धीरेन्द्र प्रेमर्षि

(मैथिली नाटक लेखन-निर्देशनमा कहलिएका महेन्द्र मलङ्गियाले लोढाशङ्कर नाउँको पात्र खडा गरेर धारावाहिक रूपमा लेख्दै आएको विनोदवार्तामध्ये एउटाको सम्पादित अंश।)

हिमाल खबरपत्रिका
१६-३१ भदौ २०६६
पूर्णांक २४९

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *