Skip to content


सूर्यमुखी फूलले तपतप
आँसु खसाल्ने छैन
बन्दुकको नालसँगै बतासिएर
उड्ने छैनन्, हूलका हूल चराहरू
सुनिनै छैन बस्तीहरूमा
बारुद गर्जिएको आवाज
बेमौसममा फडफडाउने छैनन्
लडाकु विमान र नाइटभिजनहरू
आकाश खुला हुनेछ र शान्त हुनेछ ।
रगत बग्ने छैन पानीझैँ नदीमा
न पानी बग्नेछ रगतमा
लासको दुर्गन्ध बोकेर होइन
सुवासित भएर बहनेछ हावा
तर्सिएर उड्ने छैनन्
पि्रय बचेरा छाडी चराहरू
स्वतन्त्रताको गीत गाइरहेका हुनेछन् ।
स्वःस्फुर्त नाचिरहेका हन्छन् ।
रगतको आहाल जम्ने छैन
बरु निर्मल पानीका सुन्दर कुवाहरू हुनेछन्
बलात्कृत हुने छैनन् चेलीहरू
बेवारिसे बन्ने छैनन् नानीहरू
बस्नुपर्ने छैन नब्बे वर्षे बाबुले
वीस वर्षे छोरोको क्रियाकर्म
रुने छैनन् बाबुको मृत्युको खबर सुनेर पनि
कमाण्डरको आदेशले घर जान नपाएका सैनिकहरू
बस्नुपर्ने छैन कोही आँसुको सागर बनाएर
वर्षौं भेट्न नपाएको पतिको बाटो हेरेर
हाँसिरहेको देशसँगै नाचिरहेका बालकहरू हुनेछन् ।
बिहानी लालीझैँ खेलिरहेका नानीहरू हुनेछन् ।
इतिहासको व्याज खानेहरू पाखा लाग्नेछन्
हुर्कने छैनन् सेता बुकीहरू सयपत्री, मखमलीझैँ
मेरी पि्रया
एकदिन यस्तो आउनेछ
चारैतिर खुसी नै खुसी छाउनेछ
कलङ्कित इतिहास भेट्टाएर
वीर पुर्खाहरूको गौरवगाथा
पढिरहेका हुन्छन् नानीहरू
तिनले बदल्नेछन्- हत्यारो बलात्कारी इतिहास
प्रत्येक सहिद दिवसमा
विजयोत्सव मनाउने छन् मानिसहरू
सहिदहरू पुजिनेछन्
सपनाहरू फुलिरहेका हुनेछन् ।
र एक दिन
हत्याराहरू इतिहासको
कहालिलाग्दो भीरमा मिल्क्याइनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *