‘काम गर्न त सक्छ हजुर, खुबि नभएकै त हैन ।’ ‘खुबि भएर के गर्नु, बेवकुफ छ ।’ आफ्नो सहायक अधिकृतप्रति सचिवको सकारात्मक धारणा नभएको विदूर सजिलै बुझ्छन् । यतिखेर प्रेम विदूरको बैठकमा बसिरहेका छन् । कोठामा एक्लै भएकाले उनी सरसर्ती बैठकमा आँखा घुमाउँछन् । कोठाको चारै कुनातिर एक एक वटा ठूला पित्तलका गमना छन् । एउटा गमलामा रबरको बोट छ अर्कोमा मनीप्लान्ट । त्यो हाँगा हालेर डोरीमा टाँसिँदै झ्यालमा पुगेको छ । अर्कोमा अफ्रिकन भ्वाइलेटको बोट छ । त्यो ढपक्क फुलेको छ । चौथोमा क्याकटसको बोट छ । त्यो बाँसको मोाटो कप्टेरो गाडेर अड्याइएको छ । एकापट्टी भित्तामा अन्दाजी पाँच फिट उचाइ तीन फिट चौडाइको एउटा काठको दराज छ । काठको ढोका भएको तल्लो खण्ड बन्दछ । माथिल्लो खण्ड काँचको ढोका भएकोले भित्रको सबै वस्तु देख्न सकिन्छ । त्यस खण्डमा खेलौनाहरू छन् । आफूले विदेशबा ल्याएको (दम दिएपछि रुँदै बामे सर्ने) पुतली पनि बामे सर्ने अवस्थामै त्यहाँ अवस्थित छ । त्यो पुतली देखेर प्रेम अहिले आफ्नी छोरी सम्झन्छन् । पाँच वर्षे छोरी कम्ता रोएकी हैन । त्यै पुतली चाहियो भनेर । छोरीको रुवाइले उनको मन नकुँडिएको पनि हैन । विदेश जानेबेलामा निर्देशकले बामे सर्ने पुतली नै फर्मायस गरेको हुनाले छोरीलाई ल्याइदिएको अर्को पुतली लगिदिन पनि त भएन नी । सुरुमा त छोरीलाई पछि ल्याइदिने प्रतिज्ञा गरेर नफुल्याएको पनि हैन । तैपनि नमानेपछि बालक छोरीलाई रुवाएर उनले त्यो पुतली निर्देशक कहाँ याइदिएका हुन् । छोरीको विनित रुवाइ अहिले पनि उनको कानमा गुञ्जन्छ । उनलाई नरमाइलो लाग्छ । अब फेरि विदेश जान पाए त्यस्तै पुतली छोरीलाई ल्याइदिने अठोट गर्छन् उनी ।
यसैबेला विदूर कोठामा प्रवेश गर्छन् । प्रेमले चाल पाउँदैनन् । ‘के छ प्रेमजी?’ विदूरले भनेपछि उनी झस्कन्छन् र झटपट उठेर नमस्कार गर्छन् । विदूर बसिसकेपछि उनकै इशाराबमोजिम प्रेम पनि बस्छन् ।
‘तपाईंको कुरा गरेको थिएँ मैले सचिवज्यूसँग’के मर्जी भो सचिवज्यूले हजूर ?’
‘खै तपाईंको चाकडी पुगेजस्तो लागेन ।”म त गैरहेको छु । सचिवज्यूले मर्जी भएको रिपोर्ट पनि धेरैपल्ट लेखिदिसकें । अस्ति मात्र पनि एउटा बुझाएको छु ।”त्यतिले भएन प्रेमजी ! कम्ता गाह्रो छ र रिझाउन । फेरि तपाईंको चाहना पनि त ठूलै छ नी’ । प्रोजेक्ट प्रमुख पाउने किसिमको चाकडी पुगेजस्तो छैन ।’प्रेम एकछिन ट्वाल्ल परेर निर्देशकको अनुहारमा हेरिरहन्छन् । त्यतिखेरै दुई कप चिया आइपुग्छ । चियाको एक घुटको पिएर विदूर भन्छन् ‘हेर्नुस् त्यो बामे सर्ने पुतली मेरी छोरीले यति मन पराइ कि भनेर साध्य छैन । ऊ मामाघर गएको हुनाले मात्र दराजभित्र राख्न पाएको नत्र त ऊ एकछिन छाडि्दन ।
विषयान्तर गर्दै प्रेम सोध्छन् ‘अब के गरौ त हजुर ?”चाकडीको तरिका फेर्नुपर्‍यो होला । मैले के भन्नुपर्छ र तपार्यं आफै बुझिहाल्नुहुन्छ नी ।’ घरमा लोग्ने स्वास्नीबीच छलफल हुन्छ सचिवकहाँ सौगात लैजाने विषयमा ।
‘के छ र खै लानलाई ?’
प्रेम सोझै नाम लिन सक्दैन् । भन्छन् ‘एक दुई चीन पुर्‍याउन सके प्रोजेक्टप्र मुख हुन पाइन्थ्यो त्यसपछि सामान त हामीकहाँ पनि कति आउँथ्यो कति ।’
‘के गर्ने त खै ? बजारबाटै केही किनेर लगिदिने कि !’
‘के लग्नु ? जथाभावी सामान लगिदिन भएन । गहकिलो सामान किन्दा दश, पन्ध्र हजार गैहाल्छ ।’
स्वास्नी चै सोच्न थाल्छिन् । लोग्ने प्रोजेक्ट प्रमुख भएपछि त भने जस्तो सोख गर्न पाउने लोभ पनि छ उनमा । विदेशबाट लोग्नेले ल्याइदिएको मन परेका दुईवटा साडी नलगाइकन राखेकी छन् उनले । त्यो दिन मन मान्दैन । लोग्नेले तिनै साडीलाई लक्ष्य गरेजस्तो लाग्छ उनलाई । मनमनै सोच्छिन् ‘भैगो नी त, अहिले त्यही पठाइदिऊँ, पछि अझै राम्रो किन्न पर्ला ।’
उनी लोग्नेलाई हेर्छिन् । लोग्ने उनलैलाई हेरिरहेका हुनछन् । गहु्रड्ढो मन लिएर भन्छिन् ‘तिनै साडी लगिदिनुस्न त अहिले ।’
प्रेम खुसी हुन्छन् । तैपनि मनको भाव प्रष्ट्याउन चाहादैनन् । भन्छन् ‘कति रहर गरेकी तिमीले, कसरी अरूलाई दिनु, भैगो ।’
‘हैन, आफ्नो काम बनेपछि अरू किनौलानी त । अहिले मलाई त्यति खाँचो पनि छैन ।’
प्रेम सम्हाल्न सक्दैनन् आफूलाई । स्वास्नीको गाला मुसार्छन् । ‘छ्या के गर्नुभा’ यो !’
‘साँच्चै कादु ! तिमी कति जाति छ्यौ ।’ ‘भो, भो, स्वाङ पार्नुपर्दैन ।’ भोलिपल्ट दुईटा साडी लिएर प्रेम सचिव कहाँ जान्छन् । धेरैबेर कुरेपछि पहिलोपल्ट सचिवले उनलाई पहिलोपल्ट बैठकमा बोलाउँछन् । ‘हजुर, यसपाला खास केही ल्याउन सकिन । सचिवनीज्यूलाई भने यति ल्याएको ।’ ‘ए ! किन दुःख गर्नुपथ्र्यो सचिव जवाफ दिन्छन् र स्वास्नीलाई बोलाउँछन् । ‘हेर । प्रेमजीले साडी ल्याइदिनु भएको । तिमीलाई मन पर्छ कि ।’
साडीको पोको फुकाउँदै सचिवनी भन्छिन् ‘आहा ! कति राम्रा रहेछन् । साडी छनौटमा तपाईं त पोख्त हुनुहुँदोरहेछ ।’प्रेम दङ्ग पर्छन् तारिफ सुनेर । स्वास्नीलाई ल्याइदिएको साडी दिनु परेर उनको मनमा किञ्चित खेद पनि छ । तैपनि भन्छन् ‘एउटा तुच्छ भेट हजुर ।’ सचिवनी साडी लिएर मास्तिर उक्लिन्छिन् ।
केही दिनपछि प्रेम फेरि सचिव कहाँ जान्छन् । उनको हातमा एउटा ठूलो झोला छ । झोलामा चारवटा ठूला सिसी छन् । सिसी मासुको अचारले भरिएको छ । सचिव मासुको अचार हेरेर भन्छन् ‘आहा, मेरो मन पर्ने कुरा ल्याउनुभो ल ! एकछिन अडेर उनी फेरि भन्छन् -‘तर दुःख किन गर्नुभएको ?’
‘हैन हजुर त्यति जाबोमा के दुःख भयो र ! यो घरैमा बनाएको मेरी श्रीमतीले ।’ सचिव दङ्ग पर्छन् । आज त प्रेमको निम्ति चिया पनि आउँछ । उनी आफ्नो अहोभाग्य ठान्छन् । चिया पिउञ्जेल फाट्टफुट्ट अरुनै विषयमा कुरा हुन्छ । चिया सकिएपछि सचिव भन्छन् ‘अँ, डाइरेक्टरले तपाईंको विषयमा कुरा गरेका थे । खुब रिझाउनु भएको जस्तो छ ।’ ‘खै, हजुर । अरू त के गर्नु ! कामले गर्दा त हो नि हजुर ।’ डाइरेक्टरका दुई छोरालाई वर्षौसम्म फोकटमा पढाएको कुरा उनी ढाँटछन् ।
‘हेर्नोस्, काम त सजिलो छैन नी !’ ‘हजुर, मौका पाए काम गरेर देखाउने थिएँ ।’ ‘हुन त मैले मात्र गरेर हुने हैन, तैपनि हेरौं ।’
सचिव घडी हेर्छन् । नौ बजिसकेछ । उनी उठ्दै भन्छन् ‘ल त अबेर भैसक्यो, अहिले जानुस् ।’ स्कारोक्तिमा टाउको हल्लाएर नमस्कार भन्दै प्रेम र्फकन्छन् । सचिवले आफै कुरा कोट्याएका र सकारात्मक लवज निकालेकाले आफ्नो चाहना पूरा हुने धेरै प्रतिशत निश्चित लाग्छ प्रेमलाई हुनत सचिवले ‘मैले गरेर मात्र हुने हैन’ भनेका हुन तर त्यो नाट्कीय वाक्य भएको बुझेका छन् उनले । उनले धेरैको मुखबाट सुनेका र केही त आफैले देखेका छन् यी सचिवको शक्ति । ‘यी आफू सचिव भएपनि मन्त्री बनाउँछन् यिनले सचिवसँग परिचय गराइदिन लग्दाखेरि निर्देशकले आफूलाई भनेका कुरा उनले अहिलेसम्म बिर्सेका छैनन् । अब आफ्नो राम्ो दिन आउन लागेको आभाष पाउँछन् उनी ।
एक हप्तापछि एक एक किलो काजु, पेश्ता, दाख र छोडाएको ओखर बजारबाट किनेर प्रेम सचिवकहाँ जान्छन् । यसपाला सचिव सोध्छन् ‘हैन, प्रेमजी । यहीं किन्नु भएकोले हो कि क्या हो ?’ प्रेम ढाँट्छन् ‘हैन हजुर, भाइ कलकत्तातिर गएके थियो । थुप्रै ल्याएको रहेछ । अलिकति चाख्न ल्याइदिएको ।’ ‘ए, यहाँ किनेको त हैन ?’ ‘हैन हजुर, यो भाइले ल्याएको हो ।’ सचिव टाउको हल्लाउँछन् । अचेल सचिव कहाँ प्रेमको भाउ अलि बढेको छ । उनी खुसी छन् त्यसैले । अब सचिवको चोकमा कुर्नुपर्दैन उनले । न त बरण्डामा नै उभिरहनुपर्छ । अनुमति नलिकनै सरासर बैठकसम्म जान पाउँछन् । निर्देशकसँग त कहिले बिहान कहिले बेलुकी भेट भैहाल्छ प्रेमको कहिले कामको निहुँले कहिले दर्शन गर्ने निहुँले निर्देशको घरमा उनी सधैँ पुग्छन् । निर्देशकले उनलाई अरू कर्मचारीभन्दा बढी माया र वास्ता पनि गर्छन् । निर्देशक भन्छन् ‘तपाईंको काम मिल्ला जस्तो छ प्रेमजी ।’ के भन्ने निक्र्यौल गर्न नसकेर उनी ‘हजुर !’ मात्र भन्छन् । निर्देशक पुनः भन्छन् ‘हिजो सचिवज्यूले भन्नुभयो प्रेम वास्तवमा निकै ट्यालेन्टेड छ ।’ प्रेम खुसी हुनछन् र उनको मुखबाट निस्कन्छ ‘हो र हजुर ?’ निर्देशक मुस्काएर टाउको हल्लाउँछन् ।
सचिवको कुरा सुनेदेखि छिट्टै आफ्नो चाहना पूरा गराउन प्रेम उत्ताउलिन्छन् । त्यसैले तीन, चार दिनभित्र सचिवकहाँ अर्को सौगात पुर्‍याउने व्यवस्था मिलाउन थाल्छन् । एकाबिहानै उनी भोटाहिटी पुग्छन् । एक डोको सुन्तला ट्याक्सीमा हालेर सोझै सचिव कहाा पुग्छन् । ‘आज म अलि बेफुर्सदी छु प्रेमजी केही कुरा छ ?’ ‘खास केही हैन हजुर । पहाडबाट रात्रि बसमा बिहान सबेरै चार पाँच डोका सुन्ला लिएर केही मानिस आएका रहेछन् । आफ्नै बारीको हो हजुर, हजुरलाई नट्क्र्याइ खान मन लागेन र एक डोको लिएर आएको ।’ ‘ए .. ल ठीक छ । म व्यस्त छु हगि, अँ ए, साँच्ची तपाईंको फाइल हिजो म कहाँ आइपुगेको छ । हेर्न त हेरेको थिएँ । फुर्सद नभएर हिजो केही गर्न पाइएन । अरूको नाम पनि परेको रैन । जोड पनि निकै परेको छ ….।’ ‘अब हजुरको निगाहा हजुर । मेरो त हजुर बाहेक को छ र ?’ ‘ठीक छ, अरूले जति जोड लगाए पनि के भो र ? निश्चित भएर बस्नुस् । तपाईंकै नाम निर्णय गरेर आज पठाइदिन्छु । ल, अहिले जानुस् ।’ सचिव मास्तिर उक्लिन्छन् उनी नमस्कार गरेर र्फकन्छन् । आज उनको मन उत्ताउलिएको छ । आफ्नो चाहना पूर्ण हुने भएर उनी असीम खसी छन् । सम्हालिन मुष्किल भए जस्तो छ । त्यसैले घर पुग्नेबित्तिकै स्वास्नीलाई बोकेर उनी फनफन घुम्छन् ।
प्रोजेक्ट प्रमुखमा नियुक्ति पाएको दिन उनी कम्ता खुसी हुँदैनन् । चिठी बुझ्नेबित्तिकै हस्याङ फस्याङ गदैए घर पुग्छन् । नियुक्ति पत्र पढेर स्वास्नीलाई सुनाउँछन् । स्वास्नी पनि निकै खुसी हुन्छिन् । खुसी खुसीमै ठट्टा गर्दै स्वास्नी भन्छिन् – ‘योपाउन पनि कति गाह्रो रहेछ हगि । कम्ता कुरा सुम्पन परेन ।’ सुरुमा यो कुरा सुनेर उनी दड्ढ नै पर्छन् । तर एकछिनमै झल्याँस्स भएर सोच्न थाल्छन् – ओ हो, हो नी वास्तवमा मैले कति कुरा गुमाउनु पर्‍यो यहाँसम्म पुग्नलाई । हुन त स्वास्नीले लक्षित गरेको आफूले गुमाउन परेको दुइवटा साडी थियो तर उनको ध्यान त्यतातिर गएन । केही आफ्नै तर्कनापट्ट िलागे ।
एकछिन मै आफूलाई सम्हालेर सोच्न थाले – केही पाउन केही त गुमाउनैपर्छ नी, केही त सुम्पनै पर्छ नी । यो भौतिक संसारमा सुख, सुविधा र सन्तुष्टी नै मुख्य कुरा हो । अलौकिक कुराले कसलाई कै दिएको छ । विनासित्तीका कुराको जगेर्ना गरेर नटोक्न हुन्छ न बोक्न । त्यस्ता कुराको जगेर्ना गर्न दुहाइ दिनेहरू त प्रगति गर्न नसक्ने मान्छे मात्र हुन्छन् । म त्यस्तो कि सोचुँ ? को छन् मेरा नातेदार र दौंतरीहरूमा म जति माथि ? मनमनमा तिनीहरू भुटभुटिएर मर्छन्, मरुन् । मलाई के चासो । मर्यादा मेरै हुन्छ क्यार र ! सन्तुष्टिको लामो सास तानेर उनी पलङमा पल्टिन्छन्, मख्ख पर्छन्, मुस्कुराउँछन् । तर पनि किन हो कुन्नि मनको कुनाबाट उनलाईक सैले भनेजस्तो लाग्छ ‘धिक्कार तलाईं’ ।

गोरखापत्र
शनिबार

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *