आज पनि मलाई निद्रा परेन! अनेक थरी कुराले मनलाई बिथोली रह्यो! नजिकैको टुकी बत्ती हातले छाम-छुम गर्दै बालें। त्यो अन्धकार रात निष्पट्ट चारैतिर कालो फैलेको छ। मात्र यदा-कदा टाढा-टाढाबाट कुकुर भुकेको आवाज आइरहेको छ। अरू कुरा सारा रात जस्तै चक्कमन्न छ। बत्ती बालेर केही बेर टोलाएर सोचें। भित्तामा टाँगिएका निर्दोश तस्बिरलाई निहालें। अहँ, ती मौन छन्; बिना जवाफ!
चमेलीको लेग्ने, सानेको घर आउने बेला हुँदैछ। ऊ सधैं झैं आफूलाई नशामा चुर्लुम्म डुबाएर बिना होश घरमा आउँछ। चमेलीका दिनभरिका थकानले आँखा लागेछन क्यारे! हुन पनि बिचरा चमेली साह्रै दुखी छ। के गरोस्, लोग्नेको सधैंको उही पारा। साना-साना चार वटा छोरा-छोरी छन! लोग्नेको कमाइले उसैलाई रक्सी खान पुग्दैन। त्यसैले चमेली यसो गाउँलेको घर घरमा गएर भाडा माझेर गुजारा चलाउँछे। लोग्ने साने स्कुलमा पालेको काम गर्छ। बल-बल्ल एक महिना बिताएर तीन वटा सय आउँछ। त्यो पैसा पनि उसैलाई रक्सी खानलाई ठीक हुन्छ।
साने आज पनि आधा रातमा घर आएर ढोकामा ढकढकाउँदै बोलाउँछ। “ए चमेली! चमेली!!” ऊ फत-फताउँछ, “यी आईमाईका जात पनि साह्रै निष्ठुरी? आफूले खान पाए, तातो गरी घुरघुर घुरेर निदाउँन पाए, बडो आनन्द। ए बा! यो दिनभरि गोरु जस्तै जोतिएर आउने लोग्नेको त कुनै मतलबै नै छैन।”
झल्याँसै चमेलीका आँखा खुलेछन्। ऊ ढोका उघारिदिदै भन्छे, “हैन बुढा! तिम्रो सधैं यस्तै पारा हो भने चाँहि अब म तिमीलाई रुँघेर बस्दिन। बुढेसकालमा कुकुरले नपाएको दु:ख पाउँदा अनि थाहा पाउँछौ। सदाको उही रँडाको। मान्छे भएपछि त बुझ्नु पो पर्छ त?”
“ए, अब त मभन्दा बाठी? हाम्रा बाउ-बाजेले भनेको घरकी आईमाई धेरै बाठी भै’ भने लोग्ने मान्छेले दु:ख पाउन्छन रे।” यसरी फेरि रँडाको मच्चाउँछ साने। धेरै बेरसम्म ऊ आफ्नो नशा त्यो निर्दोश चमेलीमाथि खन्याउँछ! धेरै बेरको एकहोरो कराइपछि, सायद थाकेर होला, ऊ चुपचाप हुन्छ। म पनि आफूलाई त्यो मौनतासँगै निदाउने प्रयासका साथ नजिकैको टुकी बत्ती निभाएर बिस्तारामा पल्टिन्छु!!
कथा मार्मिक छ। तर नेपाली
कथा मार्मिक छ। तर नेपाली साहित्यमा यस्तै भावका कथाहरू थुप्रै कथाहरू निस्किसकेका हुनाले, केही पृथक घटनाहरू थपेर अन्य कथाभन्दा अलि फरक देखाएको भए झन बेस हुन्थ्यो।
गीताजी, लघुकथा मन छुने छ र अझ
गीताजी, लघुकथा मन छुने छ र अझ मन छुने तपाईको साहित्यमा अनवरत साधना रहेको छ । फरक परिवेश र शायद फरक पेशामा आबद्ध भएपनि साहित्यमा तपाईको संलग्नता प्रशंसनीय छ। उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।