जन्मदिनमा विद्यार्थीलाई मुना र युवामञ्च

20210123_LekhRamSapkota-News-01


मङ्गलबार, माघ ०६, २०७७
भरतपुर, ६ माघ ।

युवा कवि रामकृष्ण अनायासले आफ्नो जन्मदिन स्कुले विद्यार्थीहरूसँग मनाएका छन् । जन्मदिनमा फजुल खर्च गर्दै अनावश्यक तडकभडक गर्ने परिपाटीलाई पन्छाउँदै विद्यार्थीलाई पुस्तक दिएर रामकृष्णले आफ्नो जन्मदिन मनाएका हुन् ।

भरतपुर- ५ निवासी उनले स्थानीय कैलाशनगर माविमा अध्ययनरत विद्यार्थीहरूलाई कक्षा कोठामै पुगेर बालपत्रिका मुना र युवामञ्च उपलब्ध गराए । उनले कक्षा ५,६ र ७का विद्यार्थीलाई मुना र कक्षा ८,९ र १०का विद्यार्थीलाई युवामञ्च उपलब्ध गराएका हुन् । रामकृष्ण आफू पनि सोही विद्यालयका पूर्व विद्यार्थी हुन् ।

आजभोलिका विद्यार्थी मोबाईल र इन्टरनेटमा भुल्दै सिर्जनशील हुनुपर्ने समयलाई खेर फालेको देखेर विद्यार्थीलाई अध्ययनशील बनाउनुपर्छ भन्ने सोचले जन्मदिनमा पुस्तक बाँडेको रामकृष्णले बताए । विद्यालयका प्रधानाध्यापक रामजी अधिकारीले विद्यार्थीहरूलाई पुस्तक, पत्रपत्रिका दिएर पढ्ने बानीको विकास गराउन पहल गरेकोमा रामकृष्णलाई धन्यवाद दिए । मुना र युवामञ्च लगायतका पुस्तक, पत्रपत्रिका अबका दिनमा आफ्ना विद्यार्थीलाई नियमितरूपमा पढ्न दिएर उनीहरूलाई सिर्जनात्मक अभ्यास गराउन प्रेरित गरिने उनले बताए ।

लेखराम सापकोटा


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *