कुनै एक समय
बाख्रा बस्तु चराउने गोठालाहरुले
भारी बाेक्ने भरियाहरूले
मेलापात गर्ने खेतालाहरूले
एकै छिन बिश्राम पाएकाे बेला
एकान्त र शून्यतालाई तोड्दै पातको पिपिरी बजाउँदा
लोकभाकामा मुर्चुँगा, बिनायो र मुरली बजाउँदा,
मानिसहरू आफ्नो कामका थकानबाट मुक्तिको श्वास फेर्दथे,
एकछिन आफूलाई पनि दुनियाँबाट हराउँथे ।
सहनाई, नर्सिंगा, ट्याम्को र दमाहा
गाउँ टोलको कुनै एक कुनामा बजेको सुन्दा,
बच्छै बाजा, हार्मोनियम र मादल
स्कुलका कार्यक्रमहरुमा बज्दा,
पुराना दिनमा आकस्मिक घटनाको सूचना गर्न बिगुल बज्दा
सरकारी भाइभारदारहरू पटाँगिनिमा भेला भए जस्तै,
गाउँभरिका बुढाबुढी केटाकेटी सबै भेला भइन्थ्यो,
रेडियो बाजा लामो एरियल तन्काएर
घन्काउँदै घन्काउँदै बाटैबाट हिँड्दा
ससुराली र हाट बजार जाँदा
गाउँभरिका बच्चाहरू पछि पछि लाग्दथे ।
जन्ती, ससुराली र मेलापातमा
यसको कति खातिरदारी हुन्थ्याे ।
तर…
घडीकाे काँटा यसरी बदलियाे कि
आज मानिसहरुको स्वाद फेरिएको छ ।
आज मानिसहरुको धुन फेरिएको छ ।
आज मानिसहरुको मन फेरिएको छ ।
आज समयसंगै समाज फेरिएकाे छ ।