Skip to content

पर्दा पछाडिको संसार


पर्दा पछाडि छोपिएका अदृश्य सर्जकहरू
लय र शब्दको गुच्छा गुँथेर संगीताञ्जली अर्पिन्छन्
मृदुल झङ्कारहरू सांगीतिक नाङ्लोमा निफन्दै
ब्यथितका वेदनाहरुमा मलमपट्टी गर्छन्
पर्दा पछाडि लुकेका कर्मठ बादकहरू
मधुरता मथेर मोहिनी अत्तर छर्किन्छन्
डबलीका सदृश्य कलाकारहरू
छोपिएका सर्जकका पकवानहरुलाई
आफ्नै झोलीको डाडुपुन्यु झिकेर
दर्शकको आँखा र कानमा पस्किन्छन्
गुप्त भान्सेद्वारा ओइरिएको जीवन्तताले लठ्ठिएर
दर्शकदीर्घाको भोकप्यासलाई तृप्तता मिल्छ
डाडुपुन्यु बोक्ने वितरकहरुको स्तुति गरिन्छ
पकवान पस्किनेहरू लोकप्रिय बन्छन्
प्रत्येक्ष कलाकर्मीहरू प्रशंसाका उपहारहरू बटुल्दै
श्रोता र दर्शकको दिलमा डेरा जमाउन पुग्छन्
देन भएर पनि दुत्कारिएका
चिंगार भएर पनि चाउरिएका
र दम भएर पनि दाउरिएका
बेनाम र गुमनाम पर्दा पछाडिका सर्जकहरू
बेवास्ता र अपरिचितताका पुतला बनाइन्छन्
लाश जलाएर पखालिएको चिता झैं
यी पखालिएका उत्प्रेरक प्रतिभाहरू
लाशको खरानी र चिताको कोईला झैं
नदीमा बगेर बेपत्ता हुन्छन्

पर्दा पछाडि लुकेका अदृश्य हातहरुले
अर्काको काँधमा बन्दुक भिरिदिएर
आफ्नो शिकार ढाल्न लगाउँछन्
पर्दा पछाडि छिपेका पटाक्ष पाखण्डीहरुले
बाहिर लामो र सुकिलो दाह्रा प्रदर्शन गर्छन्
तर आफ्नो जबडाभित्र छुपेको लुप्त दाँतले
समाजका मर्म र मान्यताहरू चपाउँछन्
चश्मे पर्दा पछाडि लुकेका धुर्त चक्षुहरू
हेर्नै नहुने गुप्ततालाई चिहाई चिहाई हेरिदिन्छन्
छातीको पर्दा पछाडि लुकेका बेलगाम दिलहरू
मर्यादा र नैतिकताको पर्खाल नाघ्दै नाचिदिन्छन्
ढोंगको पर्दा पछाडि लुकेका सकुनी हातहरू
प्रणामी हात जोड्दै आत्मीयकै गला थिच्न पुग्छन्
स्वार्थको पर्दा पछाडि लुकेका कपटी कानहरू
कटुसत्यता सुन्दैनन् मधुझुठहरू सस्वाद सुनिदिन्छन्
रजाइँको पर्दाभित्र लुकेका भ्रष्ट झ्याले जीव्राहरू
ब्रह्मलुट र परधन प्राप्तिमा हर्षित भइदिन्छन्
वासना र बासनाका पर्दा पछाडिका दुराचारी नाकहरू
गुलाबमा दुर्गन्ध आँक्दै गन्धहीन पलाँसमा रमाइदिन्छन्
पर्दा पछाडि चलखेल गर्ने अदृश्य नियन्त्रकले
जिन्दगीहरुलाई रंगमंचमा कठपुतली बनाइरहेको हुन्छ
नाच्ने र नचाउने डबलीको परिधिभित्र पिल्सिएर
जन्मदेखी मृत्युपर्यन्त जीवनहरू जिइरहेका हुन्छन्

इति

Leave a Reply

Your email address will not be published. Required fields are marked *