सञ्जीवनी बुटी


आज म बिहे गर्दै छु
हो, आज म भित्र्याउँदै छु जीवनसङ्गिनी
एउटी हैन, एकै पटक, एउटै लगनमा
तीन, तीनवटी बेहुलीहरू
जग्गेमा मेरा वरिपरि हुन्छन् उनीहरू
सरस्वती, लक्ष्मी र दुर्गा

सुहागरातको पहिलो प्रहरमा
गर्नेछु सम्भोग सरस्वतीसँग
अनि दिनेछिन् नौँ महिनामा उनले
सरस्वतीपुत्र ज्ञानवीर

सुहागरातको दोस्रो प्रहरमा
गर्नेछु सम्भोग लक्ष्मीसँग
अनि दिनेछिन् नौँ महिनामा उनले
लक्ष्मीपुत्र धनवीर

सुहागरातको तेस्रो प्रहरमा
गर्नेछु सम्भोग दुर्गासँग
अनि दिनेछिन् नौ महिनामा उनले
दुर्गापुत्र शक्तिवीर

सरस्वतीपुत्र ज्ञानवीरको बुद्धि र विवेकको कमाल
हुनेछ खोज, अनुसन्धान अनि पत्ता लाग्नेछ
लक्ष्मीपुत्र धनवीरको धन र सम्पत्तिको कमाल
किनिनेछ सारा अनि सुरक्षित गरिनेछ
दुर्गापुत्र शक्तिवीरको बल र सामर्थ्यको कमाल
बाँढिनेछ संसारैभरि त्यो सञ्जीवनी बुटी

पाएर सञ्जीवनी बुटी, खाएर सञ्जीवनी बुटी
संसारका सारा मानिस हुनेछन् कोरोनामुक्त
संसार बन्नेछ कोरोनाविहीन
दुनियाँ बन्नेछ नरकविहीन
धरती बन्नेछ स्वर्ग
प्रकृति बन्नेछ स्वर्ग
जय वीर, जय वीर, जय वीरा ।

डम्बर बिकेल

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *