परमपदका लागि रचनादान

परमपदका लागि रचनादान
बुहारीले राती आठ बजेतिर ससुराबालाई तातो दूध लगिदिएको बेला पनि बूढा मान्छे आइप्याडमा केकेजाति लेखिरहेका छन् ।
“कति लेखिरहनु भएको हजुरले ?”
“हैन त्याँ एक जनाले लेखिदिनु भनेका छन् अनि पो ।”
“एक जना भनेको को हो नि । कताका हुन् ?”
“नेपालकै हुन् ।”
“अनि उनका लागि उनै लेख्तैनन् र ?”
“लेख्ने उति ढङ्ग पुर्याउँदिनन् तिनले ।”
“लौ कुरा खुस्किगो नि । महिलालाई पो लेखिनुभएको रहेछ ।”
अब कुरा खुस्किगएपछि उनले पनि के ढाँटिरहनु भनेर सोझै भनिदिए- “उनी कनिकुथी लेख्छिन् । केही राम्रो सामग्री भए पुरस्कृत गरिने कुरा छ अरे अनि एक दुई ‌ओटा रचना हिजो लेखेर पठाइदिएँ अब आज तिन ‌ओटा पठाइदिन्छु । पाँच ओटा भएपछि पुग्छ अरे ।”
“को हुन् चेली हुन् बुबा ?”
“हैन यसै चिनाजानी मात्रै भएको हो ।”
“अनि हजुरलाई के दिन्छिन् र यसरी मरिहत्ते ।”
“रचनादान हो । अब अरु दान गर्न सकिएन अनि के गर्नु त । कतिले केके दान गर्छन् । मेरी त यही भए पनि यसो पुण्यको काम नि !”
‘अनि अस्ति पनि लेख्दिनु भएको जस्तो लाग्छ । त्यो कसलाई थियो ?”
“त्यो पनि अर्की चेलीका लागि नै थियो ।”
“अनि उनले के पाइन् ?”
“उनी ता भारतको एक ठाउबाट पुरस्कृत नै भइन् नि ।”
“बाह ! कति पुण्यको काम गरिरहनु भएको रहेछ । हस हस लेखिदिनू । तर आफ्नो स्वास्थ्य हेरेर मात्र नि !’
“हुन्छ । अब सुतिहाल्छु नि ।”
यति भनेर उनी लेख्न थाले । दूध खाँदै लेखिरहे । लेखिसकेर उनले जसलाई दान दिनु थियो उसलाई पठाए । “उताबाट हस हजुर धेरै धेरै धन्यवाद !” भन्ने सन्देश आयो ।
“पुरस्कृत हुन्छ्यौ भन्ने मेरो विश्वास छ ।” उनले भने ।
“मेरै आफन्त हुन् । भरसक मलाई नै दिने कुरा छ ।”
“ए लु गजब भएछ ।”
“पुरस्कार पायौ भने मेरो पनि चित्त बुझ्छ नि ।”
“बरु म गुरुदक्षिणा के टक्र्याउनु ?”
“म निःस्वार्थ दान गर्छु नानी । केही पर्दैन ।”
बाको उदारता देखेर दान लिने नानी गदगद भइन् उनले पनि त्यही रात सपनामा पुरस्कार पाएको देख्न थालिन् । बाले पनि रचनादानबाट आफू परमपदको बाटो अलिकति भए पनि खुलेको अनुभव गर्न थाले र घुप्लुक्क सुते ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *