दिलमायाको अधुरो सपना


पहाडै भने पनि समतल फाँटमा जन्मेकी दिलमायाको विवाह माइतीघर नजिकैको ओसेपिलो खोचमा भएको थियो । उनको जन्मेताका छोराछोरी पढाउने चलन थिएन । उनको श्रीमान भने लाहुरेको छोरा थियो । संयोग भनौ उसले एनकेन प्रकारेण गरेर एसएलसी कटाएर नेपाल आएको थियो । उसलाई नेपालको बारेमा त्यति थाहा थिएन तापनि पढेलेखेका मानिसको कमिको कारणले गर्दा शिक्षक जागिर सहजै प्राप्त गरेको थियो । यही यौग्यताको भरले उसले दिलमायालाई विवाह गर्ने सौभाग्य पायो । विवाह भएयता दिलमायाको घरमा दिनदुना रात चौगुणा प्रगति हुँदै गए तापनि घरको आम्दानीले खानलाउन पौल थिएन । घरको काम कर्रो थियो । संयुक्त परिवारमा काम गर्नु पर्ने। आजको जस्तो मिलको सुविधा थिएन । गाउँमा एउटामात्र पानीघट्टा थियो त्यो पनिनिकै टाढा भएकाले जाँदा आउँदा समयलाग्ने अनि पिसेको ज्याला पनि लाग्ने भएकाले घरकालाई घट्टमा जाने कुरा मन पर्दैनथ्यो । माइतीले दिएको दाम पैसा भए मिल जान पाइयो नत्र भने घरको एउटा कुनामा भएको जाँतो घुमाउँनै पर्दथ्यो । रातदिनकामै काम, काम नसकिए टोकासो आदि आदि थिए दिलमायाका संयुक्त परिवारसँगका व्यथा ।

हाम्रो समाजमा पहिला पहिला संयुक्त परिवारको चलन भए पनि यस पालीको दशैंमा आफ्ना आफ्ना चुला आफै जलाउने भन्ने परिवारको सल्लाह भयो । चुला फोरिए तर अंशवण्डा भने राम्रोसँग भएन । घर झगडा भइरहँदा त्यहाँ बसेर आफ्नो घर व्यवहार सुध्रने र बालबच्चाको भविष्य उज्यालो हुने कुरा दिलमायाको मनमा ज्योति बलेन । श्रीमान सरकारी कर्मचारी भए पनि घर व्यवहारमा दिलमायाले कुनै सहयोग पाउने आशा नै थिएन । जन्मथलो छाड्ने कुरामा श्रीमान श्रीमती बीच सहमति भयो ।कौडी न सौडी पसलतिर दौडी भने जस्र्तै उनका हातमा एक रुपियाँ पनि थिएन । पाएको अंश पनि घरकाले बाहेक कसैले नखाने घरकाले जग्गाको भाउ नदिने र यदि कसैले खाइहाले पनि हकदावी लाग्ने भएकोले कसैले किन्न नचाहने । जटिल अवस्थामा पनि दिलमायाले आँट गरिन् ।सातु सामल बोकेर छोराछोरी च्यापेर, आँखा भरीका आँसु झारेर देउराली डाँडामा आएर जन्मघर कर्मघरलाई हेरेर नाउडाँडातिर लागिन् ।

उनको कठोर परिश्रमले गर्दा आज दिलमायासँगके छैन, सबै चिज छ । उनी पढे लेखेकी छैनन् तर छोरा छोरी बुहारी समेतले एम ए पास गरेका छन् । सबैलाई समयमै अंशवण्डा गरिदिइन् । राम्रा राम्रा ठाउँमा छोराले अधिकृत लेभलको जागिर खाएका छन् । कोही सरकारी तथा कोही निजीकार चढ्छन् । सबैले अब आरम गरौं भन्छन् । दिलमायाको उमेरले डाँडो काटेको छ तर मनको तिर्सनाले सोह्रवर्षे उर्जा भरेको छ । उनले तराईमा आएर एउटा बुढी भैंसी किनेकी थिइन् । त्यसैको बगालले गोठ भर्यो र आज पनि त्यही भैंसीको सन्ततिको रूपमा एउटा भैसी पालेकै छिन् ।

आज गोठमा वल्लापल्ला घरे जम्मा भएका छन् । दिलमायाको मुखबाट भैसीले मरेको पाडो फाल्यो भनेर आवाज निस्कन्छ ।

पल्लाघरे ठुलाले सान्त्वनादिन्दै भने –‘‘भाउजू सबैले भन्छन् दिलमायाले छोइ भने माटो पनि सुना हुन्छ तर तपाईंको यो भैंसी दुई वेत वियायो दुवै वेतमा पाडी पायो तर दुवै वेतका पाडी मरे । भाउजू तपाईंले बेचेर लाख रूपियाँ पार्छु भन्ने सपना अधुरो रहने भयो ।’’

सदानन्द अभागी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *