देशमा लकडाउन लागिरहेछ।
ज्यान जोगाउनको लागि
आज म एउटा बन्द कोठालाई आफ्नो संसार मानिरहेछु।
घरपरिवारको सम्झना मात्र यो
हात्केलामा भएको मोबाइलले पूरा गरिदिएको छ।
मामको लागि कामको खाचो पर्ने यो शहरमा
काम नहुदा पेटले पनि माम नखोजिदिए हुन्थ्यो जस्तो लाग्छ।
शहर शान्त छ आमा ,बिल्कुलै गाउँ जस्तै
तर यो मनमा अशान्तिको दियो बलिरहेकोछ।
पैसाले सबथोक किन्न नसकिने भएपनी
आज मलाई अलिकति मानवता किन्न मन छ।
तर आमा मेरो आवाज त भाडा,नगद,गरिब सुन्दैमा मथ्थर
हुन्छ ।
सकभर नहिड्नु
बाहिर हिड्दा माक्स लगाउनु भन्छन्,
तर के गर्नु!
एक किलो चामल बराबरको पैसा दुईदिन माक्स लगाउदा जाने रैछ ।
कपडाको मास्क बाडेका थिए धन्न त्यो पाएको छु।
यताको चिन्ता धेरै नगर दुखम सुखम पालिने कोशिस गर्नेछु।
साँझ बिहान
खरानिको मस्को लगाउन कसौंडी समातेकि मेरो आमाले
फोनमा
बाबु ग्यास छ छैन?
सरकारले आधी सिलिन्डर ग्यास बितरण गर्छ रे बेलैमा बुझ है भन्छिन्।
आफू फुफु गर्दै आगो बाल्ने मेरि आमा रेडियोबाट भनेका खबरको ख्याल गर्छिन ।
बारीमा साग उम्रेकाछन , कान्लाको सिप्लिगान पलाएको छ।
गुन्द्रुक र ढिडो खाएर भएपनी यताको जीवन त कट्छ बाबु तलाई पो गारो हुने भो भन्छिन् ।
बिहान अनि साझको गाँस भन्दा उनलाई मेरो चिन्ता छ।
बुबाले; पिर नगर जानेबुझेको छ ,आफ्नो ख्याल गर्छ भनी आमालाई सम्झाउनु हुन्छ छेउबाट।
मोबाइलमा पैसा हाल्ने कार्ड पाइएको छैन।
ल राखे है!
फोन गर्दै गरेस।
आफ्नो ख्याल गर्नु है भनी हर बिहान अनि साझ भन्ने गर्छिन।
साइँलोले पनि फोन गरेको थियो ।
यहाँ हरकोहि क्वारेन्टाइन भन्छन्,
आफ्नो देश फर्किने भन्छन् ।
मलिन अनुहारको जमातमा
आमा! तिम्रो छोरो जस्तै यहाँ सयौ आमाका छोराहरु
मातृभुमी आइ क्वारेन्टाइनमा बस्न पाए ,
टाइममा खाना खान त पाइदो हो भन्दै आफुले तिरेको रेमिटेन्सको कुरा गर्छन् ।
देश सम्झिन्छन गाउँठाँउ अनि बाध्यता
चाहाना देश फर्कने नै छ तर
अब आशामात्र बाकी छ भन्दै थियो।
कान्छो बोर्डर पारीबाट “बाध्यता थियो नि यहाँ आउने
तर अब गाउँमा जाने एउटा रहर बुन्दापनि
आउने बाटो पाइएको छैन।
पारी पट्टी देखिएको गाउँलाई हेरेर मन भारी हुन्छ ।
आफ्नो देशको दशगजालाई नियालिरहेकोछु ।
गाउँमा आए त ठेट्ना मकै खाएर भएपनी गुजारा चलाइन्थ्यो।
यहाँ चाउचाउ र चिउरा पाउन पनि मुस्किल छ।
खै चेकजाँच गर्ने कुरा छ आमा गरेसी आउन देलान् नि भन्छ।
हरदिन आमाको बोली बाबु खाना खाइसबाट
आफ्नो ख्याल गर ,बाटो खुलेपछि आइज है भैरहेको हुन्छ।
समाचारसङ्गै मनमा आउने त्रासले
हरकोहिको मन त बहकाउन सक्छ
तर खै मानवताको मुल्यसुची बन्छ बन्दैन ।
पिँजडामा थुनिएको छ मानवजाती ,
हर मठ,मन्दिर,मस्जिद ,चर्च अनि गुम्बाहरु आज शान्त छ ।
तर मनको अशान्ति
हिजो बित्यो आज सकिन लाग्यो साँझको सुर्यास्त र भोलिको सुर्योदयसंगै त्यो भिडभाड सडकको दायाँबायाँ ठक्कर खाई
हिड्ने बाताबरण चाडै आउनेछ।
कलंकीबाट ओरालो लागेको बसमा झ्यालबाट पुष्टकारिको मोलमोलाइ गरि अनगिन्ती यादहरुको भारी,
र खुसी बोकि अवस्य आउनेछु आमा!
(* तिमि शब्दको प्रयोग भावना र आशयसङ्ग जोडिएको )
*स्वस्थ रहौँ, सुरक्षित रहौँ र सजग बनौँ।