शिवनारायणको व्यथा


ऊ र ममा कुमार र नारायणको फरक थियो । ऊ कृषि पेशामा थियो । म भने प्रहरी सेवामा थिएँ । ऊ सप्तरीको दक्षिणी भागको यादव थियो । म उत्तरी भेगको यादव थिएँ । नाम पनि उस्तै थियो । एक समय हाम्रो मन पनि उस्तै थियो । जिल्ला एउटै भए पनि आफू बस्ने समूदाय फरक पर्दा र अपनाएको पेशा अलग हुँदा विचारमा अलिक फरक पर्दै जाँदै थियो । यद्यपि म भनेपछि शिवनारायण यादव हुरुक्क हुन्थ्यो ।

मैले शिवनारायणको मोवाइल वार्तालाई पूरापूरी बेवास्था गरेको थिएँ । तर उसले बरोबर फोन गरेर भेट गर्न आउन अनुरोध गरेपछि मौका मिलाउने वचन दिएको थिएँ । फोनमा विराटनगरको न्युरो अस्पतालमा भर्ना भएको बताएथ्यो शिवनारायणले । ऊ राजविराज नगरीको साँधको गोरगाम्मा गाउँमा बस्थ्यो । म काठमाडौँमा प्रहरी सेवामा काम गर्थें । म पनि पक्षाघातको दीर्घरोगबाट क्रमशः छुटकार हुँदै गएको सुनेर ऊ निकै खुसी भएथ्यो । त्यसैले पनि भेट गर्न आउन उसले भनिरह्यो ।

उसले यसरी जिद्दी गर्यो, मानौँ म विल्कुलै फुर्सदमा छु, मेरो टाउकामा कुनै बोझ छैन । आफ्नै उपचारमा काठमाडौँ र दिल्ली धाउँदाधाउँदा वर्षभरिमा प्रहरीले पाउने बिदा सकेर पेश्कीमा चढिसकेको थियो । यद्यपि उसको जिद्दीमा शौहाद्र्रता थियो, विवशता थियो, कृत्रिमता भने विल्कुलै थिएन । अन्तिममा भनेको थियो– “म आफैँ तपैँभन्दा बेसी हलचल गर्न नसक्ने भएर अस्पताल भर्ना भएको हुँ । यद्यपि तपैँ र ममा फरक छ ।”

“के भएर भर्ना हुनुभो ?” मेरो प्रश्नको जवाफमा उसले केवल यत्ति भनेको थियो, “सबैभन्दा प्रिय मित्र तपाईंलाई ठानेर फोन गरेको ! आफन्तसँग भेटघाट र गफसप भयो भने पनि शरीर र मनको दर्द कम हुन्छ भनेर जिद्दी गरेको !”

यत्ति भनेर उसले फोन राख्यो । मैले खोजेको उत्तर उसले दिएन तर उत्तरभन्दा बढी आत्मीयता पोखिएको अनुभूतले मन रन्थनिरह्यो ।

००००

शनिबारको दिन आउने प्रतीक्षा गर्न पनि पाइनँ । शिवनारायणको आग्रह मान्न विराटनगर पुग्नुथियो । काठमाडौँ–विराटनगरको अम्बे यातायात नामको बस सडकमा तुफानसँग गुडिरहेको थियो । म पनि त्यसमै गुड्दै थिएँ । ऊ भएको अस्पताल नजिक उत्रिएँ । अस्पताल परिसरमा पुग्नासाथ शिवनारायणको जेठो छोरो विनोद देखापर्यो ।

उसले मलाई अस्पतालको वरपर उभिएका आफन्तसँग भेट गरायो । सामान्य भलाकुसारी भयो तर कसैले पनि शिवनारायण अस्पताल भर्ना हुनुको जरोसम्म पुग्न चाहेन । त्यहाँ जम्मा भएका रामकुमार, वीरेन्द्र, विनोद, शंकर, ममता, बबिता, भुटनीदेवी, जिरियादेवी, अडहुलियादेवी सबै सबै मेरै अनुहार मात्र हेर्थे । सत्यको नजिक लग्दै लग्दैनथे । । म अस्पतालभित्र छिर्न चाहन्थेँ । शिवनारायणका कथाव्यथा बुझ्न चाहन्थेँ । र, म आफ्नो मनको जिज्ञासा शान्त पार्न चाहन्थेँ । ऊ पनि आफ्नो बह विसाएर मन हलुको पार्न खोज्दो हो । यद्यपि मौका मिलेको थिएन । उससँग भेट गराउन कोही तयार थिएन ।

मैले कृत्रिमता दर्शाउँदै भनेथेँ, “किन मेरो मित्रलाई यो प्रलय आयो ? मित्रसँग भेट कहिले गराउने ? अहिले उहाँ कहाँ हुनुहुन्छ ? भेट गर्न मेरो मन तुलबुल भइरहेछ ।”

एकले अर्कालाई केही नबोल्न संकेत मात्र गरे । मानौँ, म आफन्त हैन, शुभचिन्तक हुँदै होइन । म केवल सत्रुपक्षको सीआडी हुँ । म उनीहरूको भेद खोलेर छताछुल्ल पार्छु र अप्ठ्यारोमा जाक्छु । म मित्रको खोल ओडेको सच्चा सत्रु हुँ ।

सोच्दासोच्दै मन अमिलो भयो । पक्कै पनि यहाँ उभिएका आफन्तले नै कुटपिट गरी मेरो मित्र शिवनारायणलाई सख्त घाइते पारेका छन् । आफ्नो कर्तुतको पर्दाफाँस भएमा मेरो नजरबाट पनि गिर्ने छन् । अँझ मित्र हुनुको नाताले मैले प्रहरीमा खबर गरेँ या निवेदन दिएँ/दिलाएँ भने सबका सब खोरमा थुनिने छन् ।

झट्टै मन फेरियो– हैन, हैन ! यस्तो कुरो हुँदै होइन । आफैँले पिटेर आफैँ उपचार गराउन कोही पनि आउँदैन । फेरि सधैँ एकअर्काको भेद खोलाखोल गर्ने गाउँले यी सोझा प्राणीहरू आज निरीह मुहारमा शान्त छन् । सबै दाजुभाइ, सबै छोरा–छोरी र आमा तथा श्रीमती एकैपटक शत्रु हुन सक्तैनन् । म आउँदा अँझ भयभित छन् । पक्कै मप्रति यिनीहरूमा भ्रम छ । भ्रमका कारणले मलाई शिवनारायणसँग भेट गराइरहेका छैनन् ।

निकैबेरको मनोद्वन्द्वपश्चात् मैले मन खोलेथेँ, “तपैँहर्को विचार के हो, मैले बुझिनँ । म शिवनारायणले बोला‘कोले आएको ?”

विनोदले छोटो जवाफ फर्काएको थियो, “ए त्यसो हो भने म हेरेर र सोधेर आउँछु है ?”

“कोसँग किन सोध्नुपर्ने !” मैले जिज्ञासा राखेथेँ ।

“बुवा बोल्न मात्र सक्नुहुन्छ । राजविराजबाट बेहोसी हालतमै न्यूरोमा भर्ना गरेको ! टाउकोमा गहिरो चोट लागेको छ । हातको बाँया पाटो चल्दैन ।” उसले अर्कै कुरा भन्यो, मैले सोधेको जवाफ दिन चाहेन । र, चुपचाप अस्पतालको माथिल्लो तलातिर हानियो ।

“साँच्ची के छ हँ खास कुरो ? अनुमतिबेगर शिवनारायणसँग भेट गर्न किन नहुने नि ।” मैले दाह्री सुम्सुम्याउँदै र आँखा मिच्दै दाजु रामकुमारलाई सोधेको थिएँ ।

केही क्षण सन्नाटा छाएथ्यो । रामकुमारको अनुहार पनि मलिन देखिएथ्यो । उसकी आमा जिरियादेवीको अनुहार पनि अँध्यारिएथ्यो । शिवनारायणकी कान्छी छोरी बबिता त रुन थालेको देखेँ मैले । उसको रुवाइले सबैको आँखा आँसुले भरिएथ्यो । चुप रहनुमा नै सबै शान्त रहने ठानेर म समेत चुप रहेथेँ । त्यो बेला मलाई लागेथ्यो, मैले शिवनारायणका बारेमा सबैका अगाडि सायद सोध्नु हुँदैनथ्यो । मेरो बोलीले उनीहरूको खाटा बस्न लागेको घाउ बल्झाउँछ । म चुपचाप टोहोलाइरहेँ ।

मेरो अनविज्ञतामा प्रश्न गर्दै लामो श्वास फेरर रामकुमारले भनेथ्यो, “शिवनारायणले कत्ति बात र लात पाएको छ, हजुरलाई थाहा छैन र ? ऊ त धन्न श्वास फेर्दै छ, म भएको भए ठाउँको ठाउँ नै शहीद हुनेथिएँ । किनभने मसँग अरूले दिएको बात सहन सक्ने मानसिक सामर्थ्य भए पनि, अरूको लात सहने शारीरिक क्षमता विल्कुलै छैन ।”

०००००

त्यसबेला मेरो मनले मिश्रीलाल यादवले सुनाएको पारिवारिक कथा सम्झन पुगेको थियो– साविकको इटहरी विष्णुपुर गाउँ पञ्चायत–९, र अहिलेको विष्णुपुर गाउँपालिका–६, सप्तरी निवासी रामी मडरका ज्येष्ठ पुत्र लखन यादव र कान्छो देवलाल यादव थिए । देवलालका तीन छोरा थिए– जेठो मिश्रीलाल यादव, महिलो रामेश्वर यादव र कान्छो दुर्गी यादव । म मिश्रीलालका रामकुमार, शिवनारायण र वीरेन्द्र गरी ३ छोरा भए । भुटनीदेवी र रामपरी गरी २ छोरी थिए । अज्ञात रोगको शिकार भएर १२ वर्षमै रामपरीले धर्ती छाडी ।

निकै सालसम्म हाम्रो संयुक्त परिवार थियो । अर्थात् भाइ–बुहारीहरू सहितको २० जनाको परिवार थियो । सबै मिलेरै खेतीपाती गर्ने गर्थ्यौं । म र कान्छो दुर्गी सामान्य लेखपढ गर्न मात्र जान्दथ्यौँ । माहिलो भाइ रामेश्वर भने पढेलेखेको थियो । झापा जिल्लामा शिक्षक भएको पनि थियो । २०४९ सालको आसपासमा म रोगी भएँ ।

मेरी ठूली छोरी भुटनीदेवीको बिहेमा दाइजो दिनुपर्ने हुन्थ्यो । मेरो परिवारको लालनपालन र लेखपढ गराउन ठुलो धनराशी खर्च हुने गर्थ्यो । काम गर्ने म थला परिहालेँ । यस्तै सम्झेर रामेश्वर र दुर्गी छुट्टिएर गए । पाँच सन्तानको जिम्मेवारी पत्नी जिरियादेवीको काँधमा आयो । मेरो पलायनसँगसँगै परिवारमा दुःखका दिनको उदय भयो ।

जिरियादेवी सोझी र अनपढ भएकीले जेजसरी अंशबण्डा गरे पनि कुनै आपत्ती जनाइन । उसको कथन थियो, “यो तेरो भो भनेर देवरहरूले छुट्याएर दिएको भागमा खेतीपाती गर्न तयार छु । दुःख गर्ने ठाउँ चाहियो । जसरी भए पनि असहाय छोराछोरी हुर्काउँछु ।”

जेठो छोरो रामकुमार पढ्न तेज थियो । ऊ पढ्दै गयो । माहिलो शिवनारायण भने सानैदेखि कामकाजमा सिपालु थियो । काकाहरूको प्यारो थियो । किनभने ऊ पढाइमाभन्दा काममा जोतीन मन पराउँथ्यो । माहिलो अनपढ भएर गोबरगणेशमा परिणत हुँदै गएकाले विद्याको महत्त्व बुझेको दाजुको चित्त कुडिएछ । उसकै पहलमा शिवनारायणलाई एकै पटक गोरगाम्मा स्कुलमा कक्षा ४मा भर्ना गरियो । कान्छो वीरेन्द्र भने सानैदेखि लेखपढमै जोतिन्थ्यो ।

दुर्गी टाएर गाडीमा समानहरू ढुवानी गर्ने गर्थ्यो । उसलाई शिवनारायण सघाउँथ्यो । संयुक्त परिवार भएकाले मेरा छोराछोरीहरू रामेश्वरर सकलदेवले नै हुर्काएका हुन् । भाइ बुहारीहरूको योगदान पनि कम छैन ।

“तिमी शिवकुमार रहेछौ । नामजस्तै काम गर्नू ! तिमी जन्मले नै यादव रहेछौ । अब पढेर पनि कृष्ण यदुवंशी जादवजस्तै बन्नू ! शिवनारायणलाई दुःख–सुखको साथी बनाउनू !” अन्त्यमा मिश्रीलालले भनेका थिए, “जहिल्यै जे सहयोग माग्छ, पूरा गरिदिनू । मनको कमलो छ । बाटो अल्मलिए झोक्राउँछ । साथ दियो भने, सहास थपिन्छ । गुनको सधैँ कदर गरिरहन्छ ।”

अहिले आएर शिवनारायण मृत्युसँग जुधिरहेको थाहा पाएर मन भारी भयो ।

महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस पढेर बाहिरिएका ठिटाठिटीहरूको कोलाहलले राजविराज–कुनौली भरिएको थियो । मलाई पछाडि बसाएर एक सिकुटे ठिटो साइकल हाँकिरहेको थियो । ठिटाठिटीहरू ढेप्पिँदै साइकलमा ठोक्किन लाग्दा हत्त न पत्त ब्रेक दाब्दै घन्टी बजाउँथ्यो । साइकल रोकिएपछि पनि कोही ठोक्किन आइपुग्थ्यो ।

“अरे, आँखा छ्रैन कि क्या हो ! यत्तिका मान्छे हिँडेको देखिँदैन कि क्या हो ।” विवाद झिक्ने मनसायले साइकलमा ठोक्किन आएको ठिटो भन्थ्यो, “सरी भन्ने हो भने भनी हाल, नत्र त्यत्तिकै छाड्दिनँ ।”

“सरी, हमरा से गलती भेलै !” आफ्नो गल्ती नहुँदा नहुँदै पनि गल्ती स्वीकारोक्ति गर्दा ठिटोको अनुहार रातो हुन्थ्यो ।

“ठीकै छ, जाँदा हुन्छ ।” दोष लगाउने चुपचाप फर्कंदै गर्दा भन्थ्यो, “सन्केको भए, बत्तीसटा दाँत गन्न हुन्थ्यो ! माफी मागेपछि के गर्नू !”

साइकलमा मलाई डोहोर्याउने ठिटो नै शिवनारायण थियो । मसँगै आई.ए.मा पढ्थ्यो । मैले भने नेपाली, अर्थशास्त्र र इतिहास लिएको थिएँ । उसले ऐच्छिक हिन्दी, गणित र राजनीतिशास्त्र लिएको थियो । भुनेश्वर राउत र पञ्चदेव यादव पनि हिन्दीतिर नै थिए । मणिराज खडका, अशोक अधिकारी र दिलिप अधिकारी नेपाली साहित्यकै विद्यार्थी थिए । हामी अनिवार्य विषयहरूमा हामीसँगै पढ्थ्यौँ । ऐच्छिक विषयहरूमा त आ–आफ्नै पारा र भाकामा रहन्थ्यौँ । यदाकदा ऊ ऐच्छिक नेपाली कक्षामा पढ्न आउँथ्यो ।

“आज पोलिटिकल सर कक्षामा आएन ।” ऊ स्पष्टीकरण दिँदै भन्थ्यो, “फोकटमा सम्य खेर गैगा‘को मलाई मन पर्दैन ।”

ऊ मसँग भने जानिनजानिकन पनि नेपालीमै गफ गर्न मन पराउँथ्यो । अरू अपरिचितसँग भने लजाउँथ्यो र मैथिलीमै बोल्थ्यो ।

एक पटक आकाश गड्याङगुडुङ गर्दै थियो । क्याम्पसको फिल्डमा म साइकल कुदाउने प्रयास गरिरहेको थिएँ । शिवनारायणले पछाडि पक्रेर लड्नबाट बचाइरहेको थियो । म असिनपसिन थिएँ । ऊ पनि मसँग दौडँदा दौडदै थाकेको थियो ।

“आज तपाईंलाई साइकिल दौडाउन सिक्नु नै पर्छ ।” ऊ हिम्मत दिँदै र नेपाली शिक्षकको भनाइ उल्लेख गर्दै भन्थ्यो, “आदमीले आँट गरे सगरमाथा पनि काँधमा उचाल्न सक्छ रे ।”

मलाई भने आई.ए. पढुञ्जेल पनि साइकल कुदाउन नजानेकोमा लाज लागिरहेको थियो । कतै पछारिएर हातखुट्टामा चोटपटक लाग्ला कि भन्ने त्रास उत्तिक्कै थियो । अर्कातिर सिकिसकेपछि पनि आफ्नो साइकल नभएकाले विर्सिहाल्ने हुँ कि भन्ने भय थियो ।

म उसकै कान्छो काका दुर्गी यादवकहाँ डेरा लिएर बस्थेँ । कोठाभाडा र तिउनतरकारी जुटाउन पनि गाह्रो परिरहेको थियो । घरबाटै चामल, आलु र गुन्दु्रक ल्याएको हुन्थ्यो । कहिलेकाहीँ शिवनारायण घरबाट लुकाएर हरियोपरियो तरकारी ल्याइदिन्थ्यो । कहिलेकाही मसँगै खाना पनि खान्थ्यो ।

“उत्तरतिर बस्ने सप्तरीया यादवको खाना अर्कै स्वादको हुन्छ, अर्कै गन्ध हुन्छ । पहडियाको संगतले चालचलन नै केही न केही फरक हुन्छ ।” गुन्द्रुक र भात मुछेर गाँस हाल्दै भन्थ्यो, “मन पर्नेलाई यो खाना अमृत हो, स्वाद र गन्ध मन नपराउनेलाई वाक्कलाग्दो हुन्छ ।”

सधैँ मैकहाँ खाना खान आउनू भन्न त भन्थेँ तर ऊ नै मान्दैनथ्यो । क्याम्पस नलागेको दिन कहिले हलो जोतेर, कहिले कोदालो खनेर त कहिले गोडमेल गरेर थकाइ मार्न ऊ मकहाँ आइपुग्थ्यो । उसका हातखुट्टामा धुलोमैलो टाँसिएकै हुन्थ्यो, शरीरबाट पसिनाको नमीठो गन्ध टाढैबाट आउँथ्यो ।

हातखुट्टा धोएर र नुहाइधुवाइ गरेर आउन भनूँ भने ऊ गर्मी–जाडो जुनसुकै याममा पनि सधैँ नुहाउँथ्यो । काम गरेर घर गएपछि विना सरसफाइ घरभित्र छिर्दैनथ्यो । उसलाई पाठ पढाउनुभन्दा उसबाटै मैले पाठ पढ्नु जरुरी छ भन्ने लागेर म चुप रहन्थेँ ।

“मदेखि नतर्सनुस्, म किसान भएरै जन्मेको हुँ, मलाई किसान हुन र भइरहन जुरेको छ ।” कहिलेकाहीं मैले नाक खुम्च्याउँदा र पर्तिर सर्दा ऊ गर्वका साथ भन्थ्यो, “म गन्हाएको हैन, परिश्रमको सुवास हो । मेरो हातखुट्टाको थाल (हिलो) प्रगति र प्राप्तिको प्रतिक हो ।”

यहाँसम्म आइपुग्दा उसको नेपाली भाषिक स्तर र जीवनबोधको गहिराइ निकै फराकिलो भइसकेको झलक मिल्थ्यो ।

कहिलेकाहीं तौलीमा एक पोको धान ल्याएर सुटुक्क मेरो कोठामा राख्थ्यो । र, चुप रहन संकेत गर्दै मसिनो स्वरमा भन्थ्यो, “साँझमा ६–९ बजेको सिनेमा हेर्न कि शिवशंकर कि कनक सिनेमा हलमा जानुपर्छ । तयार भएर रहनुहोला !”

हामी सिनेमा हेरेर फर्कंदा रातको दश बज्न लागेको हुन्थ्यो । च्युराभुजा खाएरसँगै सुतिन्थ्यो । ऊ विहान झिसमिसेमै कुट्टी काट्न र भैँसी दुहुन भनी घर पुग्थ्यो । म भने सिनेमामा देखेका कुरा सम्झीसम्झी विहानभरि कल्पना लोकमा विचरण गर्नमै मस्त हुन्थेँ ।

०००००

विनोदले मलाई ‘अंकल ! अंकल !!’ भनी झकझक्याएको थियो । म पनि झल्याँस्स भएको थिएँ । त्यसपछि उसले मलाई शिवनारायणकहाँ जाने अनुमति दिएको थियो ।

“विनोद ! मकहाँ जानू ? तिमीहरूसँग भेट भए पछि मकहाँ खोज्दै जाऊँ ?” मैले आफ्नो विवशता पोखेको थिएँ र शंकरतिर फर्केर भनेको थिएँ, “बरु शंकर, भए पनि हिँड, भेटेपछि फर्क !”

शिवनारायणको कान्छो छोरो शंकर मलाई पुर्याउन तयार भयो । मेरा गोडा चल्न गाह्रो मानिरहेका थिए । किनभने निकै समय म एकै ठाउँमा बसेको थिएँ । मेरो शरीर कक्रे पनि मन तुलबुल भइरहेको थियो । बलैले उठेँ । शंकरले सहरा दियो । पक्षाघातको पीडा हेर्न म स्वय म पीडित भएर गइरहेको थिएँ ।

सिढीँ उक्लँदै गर्दा मैले सोधेको थिएँ, “शिवनारायणलाई कसले हिर्कायो ? किन हिर्कायो ?”

“तेह्र दिने दाजुभाइले गाउँलेहरूसँग मिलेर हिर्काए । बुबालाई धेरै लाग्यो । हामीहरू सबैले मार खायौँ । बाबा, आमा, दादा, दिदी, दादी सबैले दुई/चार डन्डा त भेटेकै छौँ । सिर्फ प्रहरीको जागिरमा हुनुभएकाले काकाले भेट्नुभएन । नत्र उहाँले पनि कुटाइ खानु नै हुन्थ्यो ।” उसले घटनाको अंश कोट्याउँदै भन्यो, “हामीलाई मार्ने योजनामा थिए, क्यार । सकेनन् । पचासी वर्षकी दादी (हजुरआमा)लाई त नछाड्ने निर्दयीले हामीलाई के छाड्थे ।”

धेरै कुरा त शंकरले खुस्कायो । मेरा हरेक प्रश्नको जवाफ भने दिएन । मैले पनि दिनका लागि जिद्दी गरिनँ । किनभने ऊ घटनाक्रम सुनाउँदा पनि शंकरको रौद्ररूपमा आइरहेको थियो । मेरो मनमा पर्यो– त्यस ठिटोले पनि दुई/चार जनाको करङ सोध्याएकै हुनुपर्छ । किनभने भर्खर १२ कक्षाको जाँच दिएर बसेको उरन्ठेउलो ठिटो न पर्यो ।

मलाई शिवनारायण रहेको स्थान देखाउँदै शंकर कतै अलप भयो । सेवासुसारमा रहेकी शिवनारायणकी पत्नी पनि मलाई देख्नासाथ घुम्टो ओड्दै दायाँबाँया लागिन् ।

००००

शिवनारायणलाई देख्नासाथ म द्रवीभूत भएर एकोहोरिएँछु ।

“नमस्ते है, शिवकुमार यादवजी ! तपाईंको २०७४ कार्तिक १० को कालो दिनझैँ भयो मलाई पनि । तपाईंलाई दैवले ठग्यो, मलाई आफ्नै मान्छेले ठहरै पारे ।” उसले नमस्कारका लागि दाहिने हात उठायो तर टाउको उठाउन सकेन, “तपाईंलाई दुःख दिने नियत त होइन । यद्यपि दुःख देखाउने इच्छा भने अवश्य हो । किनभने तपाईं लेखक हो, दुःख देखे लेख्न मन लाग्ला । अन्याय भेटे समेट्ने चाह जाग्ला !”

“नमस्ते, मलाई लेख्ने विषयवस्तु चाहिएको छैन, मेरो मित्रलाई यस दुर्दशामा पुर्याउनको नाम र घटनाको विवरण चाहियो ।” छक्क पर्दै मैले थपेँ, “सत्य तपाईंको साथमा छ, तपाईंलाई केही हुन्न, शिवनारायणजी !”

मैले यसो भनिरहँदा उसको आँखा टिलपिल थिए । अनुहारको देब्रे पाटो सुन्निएको थियो । देब्रे खुट्टा तन्नक्क तन्काएको थियो । उसले सबथोक सुतेरै गर्नुपर्थ्यो । सधैँ एक ठाउँमा हलचल नगरिरहनै नसक्ने प्राणी आज दुई हप्तादेखि कोल्टे नफेरिकन कुँजिएको थियो । उसका शुभचिन्तक भनाउँदाहरू आउने, शुभेच्छाका शब्द ओकल्ने र फर्कने गरेको पाइयो । कसैले पनि तँलाई न्याय दिलाउँछौँ भनेनन् ।

अस्पतालमा ओहोरदोहोर गर्ने मान्छेहरूका आ–आफ्नै पीडा थिए । पीडा बटुलेर राख्ने भाँडो पनि थिएन । राख्छुभन्दा राखिने कुरा पनि होइन । तर आज यो विराटबृक्षको जीवनमै धावा बोल्ने काम कसले र किन गरेछ ?

अनुत्तरित प्रश्नको वरपर मन दगुरिरह्यो ।

०००००

मनमा जे भए पनि म चुपचाप थिएँ । ऊ पनि मनको बाढी कहाँबाट फुटाऊँ भन्ने दाउमा रहेछ ।

“मलाई के भन्न बोलाउनुभएको ?” आफू सामान्य भावमा रहेको स्वाङ पार्दै भनेँ, “सबै आउँछन्, ‘बिचरा !’ भन्छन् । म आफैँ बीचरोपन भोगेर यत्तिको भएको मान्छे भएकाले म ‘बिचरा’ पनि भन्दिनँ र आफू पनि सुन्न चाहन्नँ ।”

“उहिल्यै २०५१ सालमा गरेको अंशबण्डामा अहिले आएर आमाको नामको जग्गा काकाको, काकाको नामको जग्गा आमाको नाममा आयो ।” उसले प्रष्ट्याउँदै भन्यो, “काकाहरूले आधाउधी जग्गा बेचेर खाइसकेका थिए । हामीले बचाएर राखेका थियौँ ।”

मैले कान ठाडा बनाएँ । जिज्ञासु नेत्रले हेरेँ । उसले मेरो मन पढ्यो क्यारे । एकोहोरो लागेपछि लागिरह्यो । म सुनिरहेँ–

कुनौली सडकमा टाँसिएको जमीनमा विवाद परेको हो । आमाको नाममा लालपुर्जा बनेर आएपछि पहिले हामीलाई दिन स्वीकार गरेका थिए । हामीले घर पनि बनायौँ । दुई/चार वर्ष भोगचलन पनि गर्यौँ । केही गाउँले वकिल र दलालहरूको उक्साहटमा दुवै काकाहरूले घर कब्जा गरे । हाम्रो बरोबरको बिन्ती भाउलाई ठाडै अस्वीकार गरे । दाजु माष्टरीमा जाने भाइ प्रहरीमा जागिरे हुने भएकाले घरमा म एक्लै परेको थिएँ । मलाई नाना तरहले पीडा दिने काम गरे ।

सानामा हात समाएर लुखुरलुखुर हिँड्न सिकाउने पनि तिनै । पौडी खेल्न नजान्दा डुबेको अवस्थाबाट उद्धार गर्ने पनि तिनै । साथीहरूसँग लहैलहैमा लागेर वर्षे भेलमा माछा मार्न जाँदा बाढीले बगाएर बेपत्ता पार्दा बाह्र बजे राती दुई कोस टाढाबाट भेटेर बचाउने पनि तिनै ।

यस पटक तिनैको निर्देशन र संलग्नतामा हामी स–परिवारलाई दर्जनौँले आक्रमण गरे । कत्ति लाठी भाँचिए, कत्ति फट्टा तोडिए । कत्ति क्रन्दन र चित्कार गुन्जिए । ती हिजोका रक्षक हातहरू आज भक्षक भए । हामी जवान भाइभतिजा र नातिनातिनालाई त पिटे पिटे, आमासरिकी आफ्नी भाउजू अर्थात् मेरी आमालाई पनि छाडेनन् ।

ऊ आक्रोश पोखिरहेको थियो । म भने मधेशमा अंशका नाममा ज्यान समेत तलमाथि हुने गरेका अरू घटनाहरू समेत सम्झी विरक्तिरहेँ ।

-शिवकुमार यादव
विष्णुपुर गाउँपालिका–६, सप्तरी ।
मोवाइल नं.९८२४७१७१४९
अध्ययन– आई.ए.
आध्यात्मिक लेख लेखन र अध्ययनमा विशेष रूचि

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *