हारेको अमिलो मनस्थिति लिई लागें स्वय म मासिन
सिङ्गो देश रुवाउँदै किन पुगें यो ठाउँमा भासिन
टाढा छु घरमै छ चित्त किन हो माया उतै गाँसिनँ
मेरो देश भनी नुहेर शिरमा माटो कतै टाँसिनँ ।।
जोडा ढुक्कुरका बसेर गुँडमा कुर्लिरहेका हुनन्
झर्ना सुन्दर जो निरन्तर उता उर्लिरहेका हुनन्
गोठाला वनमा पवित्र मनले माया लगाए हुनन्
खेतालाजनले सुरम्य धुनमा सङ्गित गाए हुनन् ।।
नौलो बैंस उदाउँथ्यो वनवनै ऐंसेलु खाएपछि
साथैमा नवयौवना मधुरिमा मायालु पाएपछि
मानौ स्वर्ग त्यतै छ झैं भ्रम हुन त्यो म्वाइँ खाएपछि
मायाबाट रिझाउँदै तरु चढी यो गीत गएपछि ।।
खोलाको रसिलो र शीलत मिठो पानी नपाएपछि ।
चौतारी नजिकै बसेर मुटुमा माया पलाएपछि
त्यो सम्झी मन उर्लियो बतलको झन् पानी खाएपछि
देखेका सपना सुके झरिसके यो ठाउँ आएपछि ।।
खाडीको सपना लिएर म यहाँ आएँछु व्यर्थै किन
तृष्णा त्यो मनभित्र उठ्छ किन हो केही म यो जान्दिनँ
सिङ्गै देह जले सरी हुन गयो सुक्तै छ सुक्तै छ कि
मेरो देश विदेशीसामु अहिले झुक्तै छ झुक्तै छ कि ?
हावा मन्द चलेर नागपुरमा गर्थ्यो बडो ढल्पल
धाराको रसिलो पिएर मुटुमा हुन्थ्यो बडो शीतल
पानीरुप पियूष आज स्मृतिमा उर्लन्छ जो झल्झल
जस्मा हुन्छ पवित्र इन्द्रपुरको मन्दाकिनीको जल ।।
छोरीका मृदु प्रेमका विरहमा यो आँसुको भो भल
छोराको अनुहार हेर्न मन यो सारै भयो चञ्चल
बाबाको रसयुक्त स्नेह मनमा सारै हुने झल्झल
पत्नीको विरहाग्निले मन जल्यो के हुन्छ झन् शीतल ?
टल्कन्थ्यो हिमशैल उत्तर दिशा अग्ला चुलीमा जब
के भुल्थें किन भुल्नु त्यो विपिनमा क्रीडा गरेको अब
टिक्नै जीवन यो धराप हुनगो कस्ले यहाँ तग्नु र
आए हुन् कि चहाडका दिनहरू सम्झी कहाँ सक्नु र ।।
आफैं माथि ठगेर यो मुलुकमा मैले गरें अल्मल
तिर्खा लाग्दछ शुष्क घाँटी छ हरे मैमाथि के भो छल
पाके हुन् रसदार ज्यामिरहरू सम्झन्छु त्यो झल्झल
झन् सम्झन्छु विदेशीका घर बसी नारायणीको जल ।।