मृत्युसित लुकामारी


अस्तित्वप्रति आभारी छु; यसकारण कि पलपलमा मृत्युबोध गरी बाँच्न पाएको छु । शरीर रोगी छ र न मृत्युबोधको अवसर मिलेको छ । निरोगी र स्वस्थ शरीर हुन्थ्यो भने त्यो अवसर भेट्टाउन्नथेँ । टाउको नदुखुन्जेल मानिसलाई टाउको छ भन्ने कुरापनि बोध हुँदैन । टाउको दुख्न थालेपछि यसप्रति सचेत र बोधपूर्ण हुन थालिन्छ । यसैगरी आँखा छउन्जेल आँखाको महत्व थाहा हुँदैन मानिसलाई; दाँत छउन्जेल दाँतको महत्व र उपादेयता थाहा हुँदैन मानिसलाई; जब आँखा गुमाउँछ, दाँत गुमाउँछ ऊ खुनखुन गर्न थाल्छ । ती चिजको महत्व र गरिमालाई भित्रैबाट बोध गर्छ ।

रोग नलागुन्जेल शरीरको पनि बोध हुन्न । तर जब तन रोगी बन्छ, त्यसपछि शरीरको बोध हुन्छ, शरीरप्रति सचेत हुन्छ । त्यसको महत्व र गरिमा अनुभूत गर्छ । मलाई अहिले त्यस्तै भएको छ ।

मृत्युका नंग्राले मलाई धेरै चोटि चिथोरेर छोडिदिएको छ । कहिल्यै रक्ताम्य हुने गरी चिथोरेको छ, कहिले छाला खुत्तिने गरी दर्फर्याएको छ । कहिले अलिअलि दलदाल पारेर छोडिदिएको छ । थुप्रैचोटि मृत्युसित कुस्ती खेलेको अनुभूति छ मसित । मृत्युसित विगत पैँतालिस वर्षदेखि निरन्तर लुकामारी खेल्दै आएको छु । आखिर जीवन भनेको मृत्युसित संघर्ष गरेर जीवित हुनुको नाम न हो । प्रत्येक व्यक्तिले नै पलपलमा मृत्यु मुकाविला गर्नुपरिरहेको हुन्छ, कसैलाई सजिलो गरी कसैलाई अलि अप्ठ्यारो गरी ।

ंरोगी शरीर मृत्युबोधको एक अपूर्व अवसर बन्न सक्छ । जीवनका भयानक घटना दुर्घटना ती पनि मृत्युबोधका स्वर्णिम क्षण बन्न सक्छन् । बरुवाको भेलले बटारेर एकबाँस तल खँदार्दा मृत्युलाई नजिकबाट स्पर्श गरेको छु; बाल्यकालमा वीरेको डाँढमा ओढारले किच्ता मृत्युलाई मजासित आलिंगन र चुम्वन गरेको छु । त्रियुगाको बगरमा आँधीले लडाउँदा यसको भीमकाय रुपलाई नजिकबाटै दृश्यावलोकन गरेको छु । यसैगरी सवारी साधनका दुर्घटनाहरुमा यसको सुगन्ध नाकमा बोकेर फुर्किएको छु । तर यी सबै अनुभूतिहरू क्षणिक र सतही खालका छन् ।

यसभन्दा गहिरो र ताजगीपूर्ण अनुभूतिपनि छ मसित । मृत्युको क्षणिक होइन चीरकालीन अनुभवपनि बोकेको छु । जब सर्वाइकल एरियाको मेजर अपरेशन गर्न डाक्टरले अपरेशन थियटरभित्र हुले; त्यो घडी घण्टौँ घण्टा मृत्युसित साक्षात्कार गर्नुपर्यो । पछि आइसियू बेडमा सारेपछि पनि हप्तौँ जीवन र मृत्युको दोसाँधमा बसेर योसित संघर्ष गरेको छु ।
यसको कठोर आलिंगनबाट छुटकारा पाउन निकै ठूलो बल लगाएको छु । त्यस घडी मृत्युलाई सतहबाट होइन केन्द्रमै पुगेर हेरेको छु । यसको सतहबाट देखिने फेद र टुप्पोमात्र होइन, सतहमुनिका जराहरुपनि छामेको छु ।

अस्पतालबाट निस्केर सामान्य अवस्थामा फर्किँदापनि यो घरि न घरि मसित लुकामारी खेल्न आइरहन्छ । मलाई जिस्क्याउँछ, खिज्याउँछ, र तर्साउँछ । योसित छेलिन खोज्छु, छलिन खोज्छु, सावधान बन्छु । निरन्तरको सचेत सावधानीले यसलाई छक्याइराखेको छु । यो सितको खेलमा पूर्णरुपेण पराजीत नभएको कारणले अँझै पनि मेरो धुकधुकी चलिरहेको छ । अँझैपनि मेरा गोडा चलिरहेका छन् । योसितको सतत संघर्षमै छु निरन्तर ।

मेरै दामलीका केही साथीहरुलाई यसले सलसली निलिसक्यो । कसैलाई चपाईचपाई निल्यो । कसैलाई सलक्कै निल्यो । आखिर निलेरै छाड्यो । एकाध वर्षको अन्तरालमा कुमार अधिकारीलाई निल्यो । वर्जमोहन राई निल्यो । विनोद राउत निल्यो । शम्भु कटुवाललाई निल्यो । धुर्व घिमिरेलाई निल्यो । यादव कार्कीलाई निल्यो । पुष्कर बस्नेतलाई निल्यो । ऋद्धि भट्टराईलाई निल्यो । तिखे मगरलाई निल्यो । कमल कोइरालालाई निल्यो । मेरो ओरिपरिका मेरा समवयी साथीका नाम हुन् यी । अरु बूढापाका केटाकेटीहरू त कति निल्यो निल्यो ।

मेरा दौँतेरी साथी चपाइसकेपछि मुख मिठ्याउँदै आँखा फुकालेर यसले मलाई पिर्लिक्क हेरिरहेछ; म बुझ्छु उसका आँखा मौन भाषामा बोलिरहेछन् –“पख । तेरो पनि पालो आउन लाग्यो । तँलाईं पनि तेरै साथीलाई झैँ चपाउँछु ।” यसले मलाई निरन्तर धम्क्याइरहेको छ । यसले मलाई निरन्तर सताइरहेको छ । जन्मेदेखि नै मलाई निरन्तर खेदिरहेको छ । अहिलेसम्म छलिँदै छेँलिदै झुक्याउँदै, जिल्याउँदै बँचिरहेको छु । आखिर एकदिन त मैले यसको पाशमा जानैपर्छ, कुनै उपाय छैन ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *