गम्भीरबहादुर थापाले कहिलेकाहीँ गुन्गुनाउने गीतको गेडाले भन्छ

‘घर त लेले हो ।
मयल धुने साबुन
साबुन धुने पानी
यो मनचाहिँ केले धुने हो ।’

यो गीतको विषयमा जिज्ञासा राख्ता उहिल्यै नै एकदिन ललितपुरको कछाडतिर घुम्न जाँदा असारे रोपाईंको बेला त्यहाँका ग्रामीण महिलाहरुले गाइरहेको गीत सुन्नुभएको थियो अरे । काठमाडौँको काँठतिर उवेला गाइएको यस लोकगीतले हामी मान्छेसामु एउटा प्रश्न गरेको छ –तिमी मनलाई कसरी धुन्छौ ? तिम्रो मनको फोहोर कसरी बगाउँछौ ? कि मनमा फोहोरमैलाको डङ्गुर थुपारेर बस्छौ ? अनि थापाले यो गीतलाई जोड दिएर गाउनुको कारण हामी मनमा फोहोर पाल्ने मान्छेलाई मन सफा गर्नपर्छ भनेर भनेका रहेछन् ।

आज म यति भन्नसक्छु, जुनदिनदेखि आफ्नो चित्तदशालाई नियालेर हेर्न थालेँ; त्यो दिनदेखि म अरु सकसपूर्ण अवस्थामा फँसेको छु । आफ्नो मनलाई साक्षी भएर अवलोकन गर्नु कति अप्ठ्यारो छ; भनी साध्य छैन । मनमा चल्ने नानाधरी विचारहरुलाई निरीक्षण गर्न थालेपछि मैले पाएँ, मेरो मन त धुलै धुलाको पत्रले ढाकिएको रहेछ । मनभित्र मयलै मयलले कट्कटिएको सात बाक्सी छाला रहेछ । त्यो मयलदार छालाले मलाई आङ जुरुङ्ग बनाएको छ ।

मन धुने, मन माझ्ने, मन सफा गर्ने, मन चम्काउने कार्य कति कठिन छ ? मनको मयल देखेपछि तर्सिन थालेको छु । लुगा धुन सजिलो छ । शरीर धुन अँझ सजिलो छ । अङ्गप्रत्यङ्गको फोहोर सफा गर्न अलग अलग विधि र प्रविधिको आविष्कार भएको छ । तपाईको कानमा मयल जम्यो भने कानकोर्नो प्रयोग गर्न सक्नुहुन्छ । कपालमा सेम्पु, दाँतमा टुथब्स, जीव्रोमा जीव्री, जिउँमा साबुन आदि आदिको प्रयोग गर्न सक्नुहुन्छ । यसैगरी घरका भाँडा धुन सजिलो छ । भाँडा धुनमात्र थथिरिका साबुन, पाउडर र मस्केउटाहरू जन्मिएका छन् । घरका भित्ता, भूइँ र सिलिङ्ग सफा गर्न, बढार्न अँझ सजिलो छ । साबुन पानी वासिङ्गपाउडर, कुचो, झाडु, खरेटो आदि इत्यादिको ठाउँमा अरु राम्रा वैज्ञानिक वस्तुहरू आविष्कार भएका छन् । निकैदिन ननुहाएर शरीर मयलले कट्कटिँदा घिरौँलाको जालो, खस्रो ढुङ्गा आदिको प्रयोगले बाहिरको मयल सिनित्त पारेको छु । अँझ कहिलेकाहीँ त नजिकै छोरो, छोरी, श्रीमती उपलब्ध छन् भने उनीहरुलाई आङ्ग मिच्न लगाएर पनि सफा भएको छु ।

शरीरको मयल फाले जस्तो सजिलो छैन मनको मयल फ्याँक्न, घरको फोहोर बढारे जस्तो सजिलो छैन मनको मैलोमा झाडु लाउन, न साबुनपानीले, न सेम्पु र कुचोले, न खरेटो र अन्यचिजले नै अन्तर मनको फोहोर धुन, बढार्न र सोहर्न सक्छ ? मनभित्रको फोहोर सफा गर्न मनभित्रकै कुचो प्रयोग गर्नुपर्छ । बाहिरको कुचोले केही गर्न सक्तैन । भित्रकै आत्मजागरणको कुचोले मनलाई बढरिराख्नुपर्छ । होशको कुचोबाट भित्रको फोहोरलाई बिस्तारी बिस्तारी मिल्काउन सकिन्छ । आत्मचिन्तन, आत्ममन्थन, आत्मसमीक्षा, आत्मआलोचना, आत्मजागरण, आत्मबोध, आत्मअनुभूति आदिआदिको कुचो खरेटोबाट मन धुन सकिन्छ । बुद्धले आजभन्दा पच्चीस सयवर्ष अगाडि दिएको मार्ग मन धुने मार्ग न हो । चित्तशुद्धिका अनेकौ वैज्ञानिक र वस्तुवादी वीधि, तरिका र ध्यानसूत्रहरू दिनु भएको छ । यसरी नै मनको विकार रेचन गरेर फाल्न ओशोले अनेकौँ रेचनविधिहरू सिकाउनु भएको छ । बुद्धपुरुषहरुले अवलम्बन गरेका वीधि र तरिका धेरै त मनको मयल फाल्ने विधि हुन् । मन सफा राख्ने विधिहरू छन् । मनुष्यभित्रको रुग्णतालाई विक्षिप्ततालाई, पागलपनलाई विरेचन गरी स्वस्थता प्राप्त गर्न दिएका उपाय कति हितकारी छन् । त्यो आजको मनुष्यले अँझै बुझ्न सकेको छैन । आफूभित्र कति फोहोर कुँडाकर्कट थुप्रिएको छ; त्यसको ज्ञात नभै मानिस त्यसबाट उन्मुक्तिको बाटो पहिल्याउन सक्तैन । तर आजको मान्छेले आफैँ भित्रको रोगलाई ठम्याउन सकेको छैन । शरीरको रोग थाहा पाउछौँ हामी; तर चित्तको रोग खुट्याउन पनि सक्दैनौँ । चित्त रोगी भएको छ । मनमा अनावश्यक मयलको डङ्गुर थुपारेर त्यो मनलाई धुने उपायहरू नबुझेर, नजानेर, बुझेकाले पनि त्यसको सही सही सदुपयोग नगरी दुरुपयोग गरेर हामी दिनदिनै चित्तका रोगी बनिरहेका छौँ । मनमा फोहोर थुपारेर बाहिर सफेदधारी कपडामा परफ्यूम झर्किरहेका छौँ ।

आज दुनियाँमा शरीर विज्ञानले कत्ति ठूलो प्रगति हासिल गर्यो । औषधी विज्ञानले मानवले सहज ढङ्गले पत्याउनै नसक्ने गतिमा दिनप्रति दिन नयाँ नयाँ चमत्कारहरू गर्दैछ । शरीरका एक एक अङ्गहरू फेर्न र प्रत्यारोपण गर्न सक्षम बन्दैछ दुनियाँ । यसरी एक्काइसौं शताब्दीको मान्छेो शरीर स्वस्थ बन्दो छ, तर उसको मन भने दिनदिनै रागी बन्दै गएको छ । त्यसैले त बिकसित देशमा शरीर रोग डाक्टरभन्दा मानस रोगका डाक्टरको माग बढ्दै गएको शरीरलाई स्वस्थ बनाउने विषयमा धेरै धेरै खोज अनुसन्धानहरू भएका छन् । आविष्कार र अन्वेषणको यात्रा निरन्तर अगाडि बढिरहेको छ । सायदै अन्य विषय र विधामा यति धेरै खोज अनुसन्धान र प्रयोग नभएको होला जुन अहिले शरीर विज्ञानको क्षेत्रमा भएको छ । मानिस शरीरले स्वस्थता हासिल गर्नु बहुर्त सुन्दर काम हो । मानव जातिको स्वास्थ्य आदिमकालको तुलना अहलिे हजारौँ समृद्ध बन्नु ठूलो गौरव र सौभाग्यको कुरा हो ।

तर मान्छेको मानसजगत भने पहिलेको तुलना अरु रुग्ण र जर्जर बन्दो छ । अरु अस्वस्थ र अविवेकी बन्दो छ । मानव मनको कहाली लाग्दो विक्षिप्तावस्थालाई देख्ता शरीरविज्ञानले केवल बाहिरी सतह चिल्याउने काम गरेछ । केबल बोक्रो टल्काउने काम गरेछ । बाहिरी बोक्रो भित्रको मनोरोगलाई छुनै सकेनछ । तनको स्वास्थ्यले मात्र मानवजाति पूर्ण स्वस्थ्य बन्न सक्तैन । उसको मनपनि त्यत्तिकै स्वस्थ सुन्दर र सन्तुलित बन्नु पर्ने रहेछ । मनको स्वास्थ्यको लागि पहिलो शर्त मनका दुर्गन्धहरुको पहिचान अनि ती दुर्गन्धित चिजहरुलाई मनबाट हटाउने संकल्प, प्रतिबद्धता र साधना । त्यो साधना होशको साधना । सुषुप्तिबाट पूर्ण जागरणमा आउने साधना । कदमकदममा जागरुक बनेर मनको निरीक्षण परीक्षणबाट फोहोरहरुमा कुचो झाडू लगाउन सकिन्छ । अँझै म त एउटा स्वैर कल्पनामा रमाएको छु । कपडा र जिउको मयल धुन साबुन जस्तो मनको मैलो धुने साबुन आविष्कार गर्न पाए, कति जाति हुन्थ्यो होला । सबै फोहोरी मनका मानिसहरू सफा मनका मानिसमा परिणत हुन्थ्यो होला ।

गाउँघरमा कहिलेकाहीँ कुरा गरेको सुन्छु, फलानो त सफा मनको मान्छे । उसबाट कुनै बिगार हुन्छ भन्ने सोच्नु नै बेकार हो । अनि फलानोको चाहिँ सफा मन छैन है । उसको बारेमा त यसै हो भन्न सकिन्न । यो घटना उसैले घटाएको पनि हुन सक्छ । सफा मनको मानिस र फोहोरी मनको मानिसको बीचको तुलना हेर्दा सबैले सफा मनको मान्छेलाई रोज्दा रहेछन् । सफा मनले कसैको हान्ती गर्दोरहेनछ । कसैलाई चोट पुर्याउने, दुःख पुर्याउने काम गर्दोरहेनछ भन्ने कुरा बुझ्छु । यदि त्यस्तो मनको मयल धुने साबुन आविष्कार गर्न सकेदेखि म प्रत्येक फोहोरी मनलाई धुन एकएक डल्ला साबुन उपलब्ध गराउने थिए ।

अस्तु !!!

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *