एक बिहान रेडियो खोल्दा मीठो तर पुरानो स्वदेश गान बजिरहेको थियोः

गाउँछ गीत नेपाली
ज्योतिको पंख उचाली
जय जय जय नेपाल
सुन्दर शान्त विशाल… … ।

यसो विचार गरेँ, विश्व मानचित्रमा नेपाल विशाल होइन, सानो छ । विश्वले पनि साना देशहरूकै सूचीमा राख्छ, नेपाललाई । सुन्दर, यहाँ प्रकृतिबाहेक कमसेकम अहिले केही छैन । शान्त ? यो त अहिलेको नेपालको आर्थिक, राजनीतिक परविेशको खिल्ली उडाउने शब्द नै भएको छ । तैपनि, किन हो कुन्नि मलाई गीत सुनी रहौँ जस्तो लागिरह्यो । गीत बज्दै जाँदा मेरो शरीरमा काँडा उम्रिंदै थिए । मलाई कुनै पुरानो कालजयी गाना सुनिरहँदाको क्षणभन्दा पनि बढी आनन्द आइरहेको थियो ।

स्वदेश गान सुन्दा मलाई यसरी नै जीउभर िकाँडा उमि्रएको अनुभूति हुन्छ । साथीहरूसँग यो अनुभव बाँड्दा ‘सबैलाई त्यस्तो हुँदैन’ भन्ने भनाइ आयो । होला, त्यसैले त कतिपयले ‘ह्याऽऽ… नेपालमा के छ र ! अर्कै देशले लिए पनि हुन्छ’ भन्छन् । तर, त्यस्तो सोच्दा मात्र पनि मेरो मुटु ढुकढुक गर्छ । मानौँ कसैले मेरी आमाको हत्या गरेर उसकी आमा नै मेरी आमा हो भनेको होस् । कसरी मान्नु ? भरपेट खान दिन नसके पनि, संसारका सबै सुखसयल दिन नसके पनि आफ्नी आमा भनेको आफ्नै हुन् । कसैकी आमा सम्पन्न होलिन्, कसैकी विपन्न । कसैकी मायालु होलिन् त कसैकी अलि कडा मिजासकी । तर, त्यसो हुँदैमा हामी आफ्नी आमालाई अर्कैले लगेर सुधारी दिए पनि आनन्द हुन्थ्यो त भन्न सक्दैनौँ नि ! नेपाल आमाका सन्दर्भमा भने कतिपयले कपुतझैँ अभिव्यक्ति दिन्छन् । जननी अर्कैकी भएपछि हाम्रो पहिचानचाहिँ के त ?

त्यसपछि कुनै विज्ञापन या स्टेसन परचिय नआएर लगत्तै अर्को गान बज्योः

मेरो टोपी कैलाशको शिरजस्तो
मेरो टोपी हिमाली भीरजस्तो ऽऽऽ… … ।

अब मलाई अरू केही चाहिएन । समाचार आओस् कि जेसुकै, देशभक्तिका गीत मन पराउनु, त्यसमा आनन्द लिनु अचम्मकै अनुभूति रहेछ । कत्तिलाई यो ‘बोरडम’को अवस्था लाग्दो हो त कतिलाई ‘ओल्ड फेसन्ड’ । यद्यपि, स्वदेश गान मन पराउनु भनेको सामान्यतया अरू मायाप्रीतिका गीत वा गजल मन पराएजस्तो होइन रहेछ । अरू गीत प्रायः धुन र आवाजका कारण मात्र पनि मन पराइन्छन् । तर, स्वदेश गानमा शब्द र भावना महत्त्वपूर्ण हुन्छन् । सबैभन्दा ठूलो कुराचाहिँ सुन्नेको भावना नै हुन्छ । राष्ट्रलाई अरूको हातमा सुम्पदा हुन्छ भन्नेहरूमा सायद त्यस्तो भावनाको अभाव हुँदो हो । लगत्तै अर्को गाना बज्न सुरु भयोः

यो नेपाली शिर उचाली
संसारमा लम्कन्छ
जुनकीरीझैँ ज्योति बाली
अन्धकारमा चम्कन्छ… … ।

यो उत्साही गानले त ममा नयाँ ऊर्जा नै थपिदियो । मैले रेडियोको ‘भोल्युम’ अझ ठूलो पारेँ । लगभग दुई वर्षको छोरा नाच्न थाल्यो । आँगनमा उभिएका मेरा साथीले सोधे, “कुन एफएम रै’छ, हँ ?”

“खै कुन्नि, अहिलेसम्म नामै बजाएको छैन । खुरुखुरु गाना मात्र दिरा’छ । यस्तो गाना तपाईंलाई पनि मन पर्छ ?”

“कस्तो कुरा गरेको, मन परहिाल्छ नि !”

उनलाई झोँक चलेछ । मानौँ मैले उनको राष्ट्रप्रतिको भावनामाथि प्रहार गरेँ । बाध्यता र आवश्यकता पक्कै पनि एउटा पक्ष होला तर मैले रहर र आफ्नो देशमा धेरै खोट देखिएकाले विदेशिने नेपालीहरूलाई सम्झेँ । उनीहरूलाई यस्ता गाना सुन्दा कस्तो लाग्दो होला ? उनीहरूको शरीरमा काँडा उम्रन्छ कि उम्रँदैन होला ? यस्ता गाना आउँदा स्टेसन बदलिँदा हुन् या रेडियो नै बन्द गरििदँदा होलान् ?

यही क्रममा मैले एकीकृत नेपाल कम्युनिस्ट पार्टी माओवादी त्यागेर अघि बढेका मधेसी मूलका एक जना चर्चित नेता मातृका यादवलाई पनि सम्झेँ । केही दिनअघि एउटा रेडियो अन्तर्वार्तामा उनले जनताले चाहे देश टुक्रन पनि सक्ने अभिव्यक्ति दिएका थिए । कहाँका, कुन जनताले देशै टुक््रयाउन चाहेका होलान् ? त्यस्तो कुरामा साथ दिन्छु भन्ने यी कस्ता नेता होलान् ? विचार गर्दा कुरो फेर िराष्ट्रियताको भावनामै जोडिन आइपुग्छ । सबै नेपाली एकढिक्का हुनुपर्छ भन्ने राष्ट्रिय भावना नहुँदा देशै टुक््रयाउने अराष्ट्रिय भावनाले घर गर्छ ।

देशलाई संसारमै आमा मानिन्छ । नेपाल नेपालीकी अर्थात् हाम्री आमा हुन्, जो अहिले बिरामी परेकी छन् । यिनलाई एक होइन, अनेक रोगले आक्रान्त पारेको छ । यस्तो बेलामा यिनलाई छाडेर जाने, अरूको जिम्मा लगाउने, आफ्नो भाग खोसेर लानेजस्ता काम-कुरा गर्नु हुँदैन । बरु, हामी सबै सन्तान सँगै बसी उपचारमा जुट्नुपर्छ । एउटाले नभए अर्को उपाय अपनाउनुपर्छ । वैद्यले नसके विशेषज्ञ डाक्टर डाक्नुपर्छ । यिनलाई यसै मरून् भनी छोडिदिँदा हामी नै टुहुरा हुनेछौँ । व्यथा निको भई विश्वका सामु यिनी मुस्कुराइनन् भने हामीलाई आफ्नै आत्माले धिक्कार्ने छ ।

एफएम स्टेसनले समाचारअघि फेर िअर्को गाना बजायोः

नेपाली गौरव गर्छौं आफ्नैपनमा
घमण्डी त होइनौँ है
सबैलाई माया गर्ने बानी हाम्रो
पछौटे त होइनौँ है !

नेपाल साप्ताहिक ३३४

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *