नाउरा भिरमा बाह्र वर्षपछि

  • by


२०६५ साल माघ ४ गते अहिलेसम्म रहस्यमय जीवको रूपमा रहेको यति (हिउँमानव) सँग सम्बन्धित डकुमेन्ट्री छायाङ्कन टोलीको साथ म काठमाडौँबाट विदेशी पर्यटकका साथ म्याग्दी जिल्लाको मुरीतर्फ प्रस्थान गरेँ । यस टोलीले खासगरी धौलागिरी हिमालको पश्चिमतर्फ रहेको कुनावन खर्क, दोभान र सल्लाघारी आसपासका हिमाली एवं जङ्गली क्षेत्रहरूमा रहस्यमय जीव यति को खोजवीनलाई केन्द्र बिन्दुमा राखेर यस स्थानका रमणीय प्राकृतिक सुन्दरता जीवजन्तुहरू, वातावरण एवं रहस्यमय जीवबारे देखे सुनेका व्यक्तिहरूसँग छायाङ्कन गर्ने कार्यक्रम थियो । करिब १२ वर्षअघि धौलागिरी हिमालको वेसक्याम्पतर्फ पदयात्रा गर्ने क्रममा झण्डै झण्डै ज्यान गुमाएको हुँदा मलाई सो स्थानमा कस्तो परिवर्तन भयो होला भनेर जान्ने अभिलाषा जागेको थियो । त्यसैले पनि म त्यसतर्फ जान हौसिएको थिएँ ।

म्याग्दी जिल्लाको उत्तरपश्चिम क्षेत्रको अन्तिम गा.वि.स. मुरीमा पहिलेदेखि नै आवश्यक बन्दोबस्तीका सामान एवं भरिया र सहयोगी कर्मचारीका साथ बसेका सरदार मानबहादुर मगरलाई भेटेपछि झण्डै चार दर्जन मानिसहरूकमो टोलील अगाडि बढ्यो र सो दिन जुगेपानी भन्ने स्थानमा बास बसियो । माघ ५ गते धौलागिरी हिमालबाट बगेको स्वच्छ म्याग्दी खोलाको किनारै किनार अगाडि बढ्ने क्रममा नाउराको भीर कट्नै पर्दछ । अरू बाटो छैन । त्यसैले अलिकति उमङ्ग, अलिकति पहिलेको सम्झना, सँगै मनमा त्रास राख्दै पाइला अगाडि बढे । उकालोको मुखका ७१ वर्ष र ७४ वर्षका एक मगर दम्पत्ति सानो कटेरोमा बस्दा रहेछन् । बूढी आमैले भुटेको भट्ट -भटमास) र मकै पानीसँगै खायौ । त्यो जोडी त्यो भीरको फेदमा रहेको अनकन्टार स्थानमा गोठमा गाईवस्तु स्याहार्दै कमाउन गएको छोरालाई आर्शिवाद दिँदै उसकै प्रतिक्षामा बसिरहेका रहेछन् । बाजेसँग भरिया भई हिँड्दा हिउँमा अज्ञात जनावरको लामो लामो पाइला देखेको जसलाई अरू मानिसहरूले त्यो यति हिउँ मानवको पाइला हो भनेको साथै आफूले युवावस्थामा हिउँ मानवको बारेमा बूढा बूढीहरूबाट कथा सुनेको स्मरण गराए । यसरी बुढा बाजेसँगको गन्थनपछि उनको आर्शिवाद लिँदै म अगाडि बढेँ । क्रमशः नाउराको भीरको उकालो सुरू भयो ।

मलाई राम्रोसँग सम्झना छ, १२ वर्षअघि झण्डै ६ घण्टा लगाएर पार गरेको निक्कै ठाडो र साँघुरो त्यो उकालो, जसमा हिँड्दा हिँड्दै रात परेर केही भरियाहरू भीरको बीचमा रातभरी सुतेर उज्यालो भएपछि भोलिपल्ट मात्र भीर माथिको सानो गाउँ बगरा पुगेका थिए ।

धौलागिरी वेस क्याम्पतर्फ जाने क्रममा बाटोमा हिउँमाथि र हिउँ परिरहेको बेला सामान्य कपडामा, जुत्ता चप्पल र चश्मा बिना आँखामा अँगार दल्दै भरियाहरू छिटो छिटो अगाडि बढेको, भोकै हिउँमाथि एक आपसमा टाँस्सिदै सुतेको याद आइरहेछ । किन किन १२ वर्ष अघिको त्यो दयनीय अवस्थाबारे सम्झना भइरहेको छ । त्यसैगरी सल्लाघारीमा म्याग्दी खोलामा दुईवटा रूखका पथरा तेस्र्याएर बनाइएको पुल तर्नेक्रममाबीचमा पुग्दा डराएर र्फकन खोजेको र र्फकन नमिल्ने भएपछि ‘मर्ता क्या न करता’ भने झैँ जसोतसो आफूलाई सम्हालेर त्यो फड्के तरेको दिनको याद आइरहेछ । जहाँ म भन्दा पछि आएका अधिकांश भरियाहरू समेत भारीसहित तर्न नसकेकार कोही त घस्रेर तरेको एवं सोही फड्केबाट केही समय अघि भरिया खसेर जीवन गुमाएको कथा म भन्दा पछि आउनेेले सुनाएको घटना याद आइरहेछ ।

बाह्र वर्षअघि देशमा बहुदलीय व्यवस्था थियो र माओवादी जनयुद्धको भर्खरै बिजारोपण भएको थियो । यसबीच जनयुद्धको अवधिमा माओवादीको जनसाधारणको मन जित्न विकास कार्यमा जोड दिने नीति अनुरूप विविध विकास निर्माण कार्य गरेको सुनेको थिएँ जुन नाउरा भिरमा पुगेपछि प्रष्ट भयो । माथिल्लो भीरको बाटो अत्यन्त ठाडो र लामो भएकोले माओवादी कार्यकर्ताहरूको अगुवाइमा स्थानीय श्रम, सीप, साहस र अनुभव एवं प्रविधि र उनीहरूले जम्मा गरेको विष्फोटक पदार्थ समेतको प्रयोग गरी भीरमा डोरीको सहायताले झुण्डिएर प्वाल पारी विष्फोटक पदार्थ विष्फोट गराएर भीरको बीचबाट छोटो र सजिलो बाटो तल माथि दुवै तर्फबाट खन्दै झण्डै ५०, ६० मीटरबाहेक सम्पूर्ण बाटो निर्माण गरिसकेका रहेछन् । उनीहरूको यो विकास कार्य उच्च प्रशंसायोग्य छ । सामन्ती व्यवस्था अन्त भई जनताको हातमा सत्ता आएपछि खोजबिन र पुरस्कार भए नभएको त थाहा भएन तर युद्ध अन्तपछि निर्माण गर्दा गर्दै बाँकी रहेको अलिकति ५०/६० मिटर भीरमा भने बाटो बनाउन त्यत्तिकै रहेछ । जसले गर्दा झण्डै १०० मिटर जटि ठाडो, ४०/५० मिटर तेर्सो बाटो भीरमा डोरी टाँगेर डोरीको भरमा झुण्डिएर माथि चढ्ने र झर्नुपर्ने अवस्था रहेछ । जहाँबाट हात चिप्लिएमा वा डोरी फुस्किएमा वा छिनेमा झण्डै ७००/८०० मिटर तल म्याग्दी खोलाको किनारामा क्षत विक्षत अवस्थामा पुग्ने निश्चित छ । त्यहाँ हात्ती छिरेर पुच्छर अड्केको अवस्था छ । मेरो विचारमा २०, ३० लाखसम्ममा त्यो कार्य स्थानीय जनश्रम, सीप र प्रविधिबाटै केही महिनामा सम्पन्न हुनसक्दछ ।

विकास, अविकास र परनिर्भरताको कुरा गर्दा नेपालमा पर्यटन विकास, प्रबर्द्धन, पूर्वाधार विकास एवं आर्थिक सामाजिक विकासको क्षेत्रमा वर्षेनी सरकारी र गैह्रसरकारी क्षेत्रबाट अर्बौँ लगानी भइरहेको छ । पिछडिएको क्षेत्र, विकासको मूल प्रवाहबाट बाहिर रहेको क्षेत्र, वर्ग एवं गरिबीको चपेटामा परेका वर्गलाई उकास्ने कार्यक्रम, योजना र कार्यनीति पनि छन् । खासगरी पर्यटन विकासमा पर्यटन मन्त्रालय, पर्यटन विकास बोर्ड, नेपाल पर्वतारोहण सङ्घ, टान, हान, नाटा विभिन्न पेशागत सङ्घ सङ्गठन समेत सक्रिय छ । नेपालमा पर्यटन प्रवर्द्धन विकास र विस्तारका नाममा देश विदेश भ्रमण पनि भएकै छ । भीरमाथि रहेको अन्तिम गाउँ बगराका करिब ३०० वासिन्दाको सुख सुबिधा त परै जाओस् मुलुकको प्रसिद्ध हिमाल धौलागिरी आरोहण एवं परिक्रमा गर्न जाने प्रसिद्ध पदयात्रामार्गमा रहेको त्यो नाउरा भिरले हामी सबैलाई धिक्कारी रहेको छ ।

नाउरा भिर त उदाहरण मात्र हो समग्र अवस्थामा सुधारको खाँचो छ । पर्यटनको नाममा धेरैले चिल्ला कार चढेका छन्, बङ्गला ठड्याएका छन्, विदेशमा धन थुपारेका पनि होलान् तर किन त्यसबाट भएको आम्दानीको केही अंश पूर्वाधार निर्माणमा खर्चिदैनन् ? हो हिमाल आरोहण वा पदयात्रामा आउनेहरू पक्कै पनि केही कठिन र फरक अनुभवको अपेक्षा गर्दछन् । उनीहरूकै भनाइमा बरु हिमाल आरोहण गर्दा बेसक्याम्प माथि त अलि राम्रोसँग डोरी बाँधिएको हुन्छ व्यवस्थित किसिमले तर पदयात्रा मार्गमा सानो गौँडा फुटाउन नसकेर दिन दिनै ओहोर दोहोर गर्नुपर्ने महिला वृद्ध, वृद्धा, असक्त बालबालिका लगायत आमनागरिक र विदेशी एवं स्वदेशी पर्यटकको ज्यान धरापमा राख्दा कमसेकम ती अविस्मरणीय मनोरञ्जन लिन आएका पर्यटकहरूले र्फकने बेला पुनः त्यो मार्गबाट कुनै हालत नर्फकने कसम खाँदै चर्को मूल्य तिरेर भए पनि हेलिकोप्टर मगाउने निधो गर्ने थिएनन् होला । विश्वको शिर सगमाथा, शान्तिका दूत गौतम बुद्ध, प्राकृतिक मनोरम दृश्यावलोकन, अनेक प्रकारका जीवजन्तु, चराचुरूङ्गी, पुतली, फूल बिरुवा, वन जङ्गल, मनोरम हिम श्रृङ्खला र हंसमुखी, साहसी, सहयोगी एवं इमानदार नेपालीहरूले पार्ने प्रभाव त थियो साथै चमत्कारिक राज्य सत्ता परिवर्तनको ताजा इतिहास पनि । यति हुँदा हुँदै पनि त्यो कटु अनुभवको कारण उनीहरूले कसरी कस्तो वर्णन आˆनो देशमा गर्लान् र नेपाल जान उत्प्रेरित गर्लान् मनमा गम्भीर प्रश्न उब्जिएको छ ।

नेपाल सरकारले सन् २०११ लाई नेपाल भ्रमण वर्ष घोषित गरी १० लाख पर्यटक भित्र्याउने घोषणा गरेको छ । जसको प्रमुख उद्देश्य नेपाललाई अन्तर्राष्ट्रियस्तरमा उत्कृष्ट पर्यटकीय गन्तव्य स्थलको रूपमा चिनाउने, नेपालमा पर्यटकका पूर्वाधार विस्तार र विकास गर्न पर्यटकीय क्षमताको अभिवृद्धि गर्ने र आन्तरिक पर्यटन प्रबर्द्धनमा टेवा पुर्‍याउने केही सामग्रीहरू र नेपाल भ्रमण वर्ष २०११ सम्बन्धी केही सामग्रीहरू यो अन्तर्राष्ट्रिय पर्यटकको यो समूहलाई उपलब्ध गराई प्रचार प्रसार गराउने उद्देश्यले नेपाल पर्यटन बोर्डमा गई सामग्री माग्दा केही व्रोसियर र पोष्टरहरू त प्राप्त भयो तर नेपाल भ्रमण वर्षसम्बन्धी कुनै सामग्री उपलब्ध हुन सकेन ।

वास्तवमा पर्यटकसँगै विमानस्थल वा बसपार्कदेखि पदयात्रामा सँगै जाने गाइड भरिया नै नेपालका पर्यटन राजदूत हुन् । उनीहरूको बोली व्यवहार र शिष्टता उत्तिकै महìवपूर्ण छ जति पर्यटकको चाहनाबमोजिमको भौतिक पूर्वाधारको पर्याप्त र न्यायोचित उपलब्धता । हालैका वर्षहरूमा पर्यटन क्षेत्रले उद्योगको रूपमा स्थापित हुँदै आएको छ । मजदूरका सेवा सुविधा हकहित सम्बर्द्धनमा सुधारका प्रयास भएका छन्, जसको अनुभूति यसपल्टको पदयात्रामा संलग्न भरिया एवं अन्य कर्मचारीहरूको बिमा, जुत्ता, चश्मा, न्यानो कपडाको उपलब्धता एवं ज्याला वितरणसम्बन्धी जानकारीबाट भयो तर गर्नुपर्ने धेरै छ । यी सकारात्मक सुधारहरूलाई व्यवस्थित एवं संस्थागत ढङ्गले सबै निकायमा लागू गर्नुपर्ने अवस्था एकातिर छ भने अर्कोतर्फ पदयात्रा मार्गमा सुधार, नयाँ गन्तव्यको खोजी पदयात्रामार्गमा आवश्यक र सम्भाव्य स्थानमा भरिया एवं पर्यटनकर्मी आश्रयस्थल निर्माण, लामो बाटोमा भारी बिसाउने वा मिलाउने स्थानहरू ठाउँ ठाउँमा निर्माण, सम्भाव्य होटल, रेष्टुरेण्टहरूको स्थापना, पिउने पानी, पुल पुलेसा निर्माण सुधार, स्वास्थ्य चौकी, दुर्गम गाउँहरूमा सम्भाव्यताको क्षेत्रसम्म खच्चड वा याक जान सक्ने मार्ग निर्माण सुधार, हेलीप्याड निर्माण, वनजङ्गल, वन्य जीवजन्तुको संरक्षण, स्थानीय भाषा र संस्कृतिको संरक्षण र सम्बर्द्धन गर्नु पनि उत्तिकै जरूरी छ । जसको लागि स्थानीय निकाय वा स्थानीय आमा समूह, युवा समूह वा गैह्र सरकारी सङ्घ संस्था एवं राजनीतिक दलको सचेतना पनि उत्तिकै जरूरी छ ।

मित्रराष्ट्र चीनले तिब्बतमा रेलमार्ग बिस्तार साथै सम्भाव्य पर्यटकीय स्थानमा व्यवस्थित र सुबिधा सम्पन्न होटल निर्माण गरी नीजि क्षेत्रलाई आवश्यक अनुदान एवं सुविधा दिएरै भए पनि त्यस्ता स्थानमा होटल सञ्चालन गर्ने गरी अवलम्बन गरेको नीति हामीले पनि केही महìवपूर्ण र सम्भाव्य स्थानहरूमा अनुसरण गर्नुपर्ने हो की ? भारतको निर्जन र निरस स्थान जहाँ साईधामको निर्माण पछि ठूलो अन्तर्राष्ट्रिय पर्यटकीय स्थलको रूपमा विकास भएको छ भने राम्रोसँग मर्म ठम्याई कर्म गर्ने हो भने विश्वभरिका हिन्दूहरूको आराध्यदेव पशुपतिनाथ र बौद्ध धर्मालम्बीको आस्था केन्द्र गौतम बुद्धको जन्मथलो लुम्बिनीमा वर्षेनी लाखौँ अन्तर्राष्ट्रिय पर्यटकलाई आकर्षण गर्न असम्भव छैन ।

धवलागिरी पदयात्रा मार्गमा ठाउँ ठाउँमा पदयात्रीले जथाभावी छाडेर गएका शिशा, प्लास्टिक, क्यान लगायतका विभिन्न फोहोरको डुङ्गुरले प्रदूषण बढ्दै गएको छ । पर्यटन सम्बद्ध संस्थाले अनुमतिपत्र दिँदा वा पर्यटन क्षेत्रमा सक्रिय संस्थाहरूले उनीहरूको भ्रमण व्यवस्थापन गर्दा त्यस्तो फोहोर व्यवस्थापन गर्ने सम्बन्धी ठोस नीति अवलम्बन गरी कार्यान्वयन गर्न र त्यसको अनुगमन गर्नु आवश्यक छ । जथाभावी बेरोकतोक वन जङ्गल फँडानी गर्न, वन जङ्गलमा आगो लगाउने र अनियन्त्रित शिकार गर्ने गरेको अवस्था त्यस क्षेत्रमा देखियो जसबाट एकातिर वातावरणीय समस्या विस्तार हुँदै जानेछ भने अर्कोतर्फ कतिपय वन्यजन्य जीवजन्तुको अस्तित्व नै सङ्कटमा परेको छ । विश्वव्यापी तापक्रम वृद्धिको सर्वाधिक असर हिमाली क्षेत्रमा पर्ने र गरीब जनता नै त्यसको चपेटामा पर्ने निश्चित भएकोले पर्यटनको कुरा गर्दा स्थानीय जनताको आर्थिक, सामाजिक अवस्था सुधार गर्ने नीति अवलम्बन गर्दै वातावरण संरक्षणतर्फ सक्रिय र सचेत गराउने नीति अवलम्बन गर्नु जरूरी छ । पदयात्राको क्रममा झण्डै एक दर्जन शिकारी बाटोमा भेटिएका र ती मध्ये केही शिकारीहरूसँगको कुराकानीमा उनीहरूले शिकार गर्ने रहर नभएको तर बाध्यता भएको, शिकार गर्ने बाहेक अरू सीप नभएको र यसैबाट आय आर्जन गरी जीविकोपार्जन गर्ने गरेको बताएका थिए । स्थानीय वासिन्दाको उल्लेखित कथनको उचित व्यवस्थापन गरिनु पनि उत्तिकै आवश्यक छ ।

नेपालका कतिपय विश्वप्रसिद्ध पदयात्रामार्गमा धुले सडक निर्माण भई त्यसको महìवमा परिवर्तन आएको वर्तमान अवस्थामा १० लाख पर्यटक भित्र्याउने मात्र नभई यिनीहरूलाई देशका कुना काप्चासम्म पुर्‍याई दुर्गम गाउँ बस्तीका स-साना चियापसलसम्म त्यसको सकारात्मक प्रभाव पार्नको लागि नाउराको भिरजस्ता भिरहरू उच्चगतीमा आजैदेखि तोडिनु पर्दछ, फोडिनु पर्दछ र जोडिनु अर्थात आवश्यक पूर्वाधारहरू द्रुत गतिमा निर्माण सुधार गरिनु पर्दछ, कुटनीतिक निकायहरूलाई समेत परिचालन गरी अन्तर्राष्ट्रिय जगतमा नेपालको विशिष्ट सम्पदाहरूको प्रचारप्रसार गरिनु पर्दछ, हवाई यातायात, स्थल यातायात सर्वसुलभ गरिनुपर्दछ, शान्ति सुरक्षाको स्थितिमा सुधार गरिनुपर्दछ, पर्यटन क्षेत्रमा कार्यरत मजदुर, कर्मचारी, मालिक वा लगानीकर्ता बीच समूह भावनाका साथ कार्य गर्नुपर्दछ । यसो हुन सके १० लाख पर्यटक भित्र्याउने लक्ष्य महìवाकाङ्क्षी भए तापनि असम्भव भने छैन ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *