कसले फाँड्यो जङ्गल
कसले लुट्यो फाइदा
रामकहानी लाग्ने यसको वास्तविकता
मलाई थाहा छ
तपाईलाई थाहा छ
थाहा पाएर पनि
थाहा नपाएको अभिनय गर्ने को हो ?
त्यो मलाई पनि थाहा छ
तपाईलाई पनि थाहा छ ।

बन मासिएपछि
जनावर बेघर भएका छन्
मान्छेले दुःख गर्नै पर्दैन
अचेल जनावर आफै
धमाधम चिडियाखानामा पस्न थालेका छन्
सानो चिडियाखानामा धेरै जनावर छन्

अटाई नअटाई छन्
भोक धेरै छ, भोजन थोरै छ
चिडियाखानाको फलामे बारलाई टोक्दाटोक्दा
जनावरका दाँत झरिसकेका छन्
नङ्ग्रा भुत्ते भइसकेका छन् ।

जङ्गलमा हुँदा जनावरसँग मान्छे डराउँथ्यो
तर चिडियाखानामा मान्छेसँग जनावर डराउँछ
याचकका आँखाले हेर्छन् जनावरहरू मान्छेलाई
मान्छेदेखि जनावरहरू त्राहीमाम त्राहीमाम छन्
समय साँच्चै छिटो दगुर्दोरहेछ
समयको गतिसँगै करुणा र हिंश्रकको
परिभाषा अनि वर्ग पनि परिवर्तन हुँदारहेछन्
कुन दिन हो, कुन रात हो पत्तो छैन
आफन्त र पराईको कुनै भेद छैन

विवेकी को हो र अविवेकी को हो ?
अब कसले भनिदेला
नैतिकता नालीमा बगिसकेका छन्

स्वाभिमान झरेर थोतेगिंजामात्र बाँकी छन्
हिंश्रक जनावरहरू चिडियाखानामा थुनिएपछि
बन्धनभित्र आफै पसेपछि
विवेकहीन मान्छे विवेकहीन भएको छ
हिंश्रक भएको छ, पशु भएको छ ?
पतीतभन्दा पनि महापतित भएको छ
ऊ भ्रष्ट भएको छ
अँझ उसको श्वार्थीपनको त कुरै नगरौं
व्यक्तिश्वार्थको खाडलमा भासिएर
उसले जन्म दिने आमा बिर्सिसकेको छ
जननी जन्मभूमि पनि बिर्सिसकेको छ
केवल श्वार्थ सम्झेको छ
मान्छे भएर मान्छे खान उद्यत ऊः
के मान्छे नै रहेको छ त ?
त्यसैले त ऊ बस्ने घरको गेटमा
जनावरहरूले सुटुक्क
एउटा बोर्ड झुण्ड्याइदिएका छन्
‘मान्छेदेखि सावधान’ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *