भूकम्प एक विम्ब अनेक


वारपाकलाई केन्द्रविन्दु बनाएर गएको महाभूकम्प ; बहत्तर साल, ऋतुराज वसन्तको वैशाख शनिवारको, बाह्र बजे, नेपालका लागि कालोदिन, विपद मडारिएको विपरित समय, सङ्कटको विद्रुपक्षण, यस क्षेत्रमा बस्ने यस पुस्ताको मानवका लागि सबैभन्दा भयानक र दर्दनाक दिन । करिव आधिकारिक रुपमा नौ हजार मान्छेको ईहलीला समाप्त भएको र वीसौहजार व्यक्तिहरू घाईते बनाएको शक्तिशाली भूकम्पको पीडादायी कम्पनबाट नेपालका एघार जिल्ला प्रत्यक्ष प्रभावमा परि क्षतविक्षत बन्नपुगे भने करिव २५ जिल्ला प्रभावित हुनपुग्यो ।

भूईँचालोको हल्लाइको जोड नेपालका सबै भुभागमा महसुस भयो । यसको धक्का छिमेकी मुलुक भारत र चीनका केही प्रान्तहरूसम्म पुगे । मानवीय क्षतिका हिसाबले यो क्षति यसभन्दा अघिका विश्वका अन्य स्थानमा देखा पर्ने विशाल भूकम्पको तुलनामा ज्यादै ठुलो होइन भनी कल्पना गर्न सकिएला तर यसको भौतिक क्षति र भुईँचालोको कम्पनको समय र बारका हिसाबले प्रकृतिले नेपालीका लागि भारी छुट वा साथ दिएको मान्नुपर्दछ । यदि यो स्तरको शक्तिशाली र भयानक भूकम्प रातको मध्ये वा अन्य बारका मध्यान्ह पारेर जान्थ्यो भने सयौँ गुणा मानवीय क्षती नव्यहोरि धरै थिएन ।

भनिन्छ भूकम्पले आफै मान्छे मार्दैन, मान्छेले बनाएको भौतिक संरचनाका कारण मानवीय क्षति हुने हो । यस भूकम्पमा यो कुरा सत्य बन्न पुगेको छ तर अपवादमा भने हिमाल चढ्न गएका व्यक्तिहरू हिमपहिरामा पुरिन पुगेका, हिमाली वा उच्च पहाडी भेगका व्यक्तिहरू पुरै डाँडो बगेर पुरिएका वा आँशिकरुपमा पहिरोहरू बगेर सानाठूला गरी धेरै पहिरोको जोखिममा परेर मृत्युवरण गर्न वाध्य वा गम्भीर घाईते हुन पुगेका छन् । मानवले बनाएको अव्यवस्थित कमजोर र भद्दा संरचनाका कारण मानिसमात्र होइन मानिसले बन्धनभित्र राखेका वा पालेका पचासौं हजार निरिह पशुपन्छीले पनि यस भूकम्पमा आफ्नो जीवन गुमाएका छन् ।

मर्ने त मरेर गैगए एकै झड्कामा वा पुरिएको केही समयपछि तर यहाँ वाँच्नेका लागि संघर्ष गर्नुपर्ने दिनहरू अत्यन्त कष्टपूर्ण र विपरित बनेका छन् । महाकम्पन पछिपनि ठूलाठूला कम्पनका साथमा मझौला कम्पनले मानिसमा मानसिक तनाव उत्पन्न गरेको छ भने दैनिकीमा व्यवस्थित फर्किन अँझै केहीलाई समय लाग्लाजस्तो छ । आफन्त गुमाएकामा बाबुआमा छोराछोरी वा अन्य हितैषी गुमाउनुको पीडा त छँदैछ थप घरवार र अन्नपात समेत सखाप भएकाले जीवन गुजाराका लागि आगामी दिन अन्धकारमय बन्नगएको छ । जस्ले आफन्त गुमाउनु परेन तर घरवास ढलेका छन् ती पनि निराशामा छन् कतिका त घर नै सबथोक थियो रोजगारी, आयश्रोत, वासस्थान वा जीवीकोपार्जनको मुहान र अब ती व्यक्तिहरू पनि करोडपतिबाट एकैचोटी रोडपति वा सर्वहारा बन्न पुगेका छन् सपरिवारका साथ जसले सीधारुपमा देशको गरिबीको प्रतिशतलाई ह्वात्तै माथि तान्नेछ । जसको घरवास ढलेन न परिवारका सदस्य गुमाउनु पर्‍यो तर शहरमा विशाल, अव्यवस्थित र अवैधानिक भवनका नजिकका तिनीहरूका वास पनि सुखद रहने अवस्था रहेन किनकि ढल्किएका, कोल्टिएका र चिरिएका ती भव्य भवनले कुनवेला उनीहरूका घरसँगै प्राणपनि माटोमा मिलाउने हुन् भन्ने जोखिममा परेका छन् । काठमाण्डौमा पछिल्लो समय भित्रिएको हाउजिङ्ग तथा अपार्टमेन्ट संस्कृतिले लगानी गर्नेहरूको त नींद हराम गरेकै छ वीमा र सम्वन्धित भोगचलनकर्ताका घडेरी नभएका घरको मुआवजा नपाउने वा चिरिएका पिल्लर र विम फाँटेका ती गगनचुम्वी भवनमा वैशाख १२, १३ र २९ गतेका कम्पन पराकम्पनको सम्झनामा जिन्दगीभर त्रसित भै वाँच्नु न मर्नुको अवस्थाबाट गुज्रनुपर्ने भएको छ । गोरखा भूकम्पको नाम दिइएको भुईँचालोबाट केन्द्रविन्दु वारपाकसँगै सिगों गोरखा र अन्य जिल्लाका भूभागहरूमा थप गएको ठूलो पराकम्पनमा ध्वस्त बनेका सिन्धुपाल्चोक, दोलखा, रसुवा तथा नजिकका सबै वा आँशिक गाऊँवस्तीहरू यसरी सखाप किसिमले खण्डहर बनेका छन् कि तिनका पुननिर्माणमा मात्र पनि खरबौं लगानीको आवश्यकता पर्छ । कतिपय गाऊँवस्तिरहेका स्थानहरू पहिरोको भीमकाय जोखिममा परेका छन् र आगामी मनशुन अत्यन्त भयभित हुनसक्ने देखिन्छ । यातायातका साधनहरू गुड्ने अधिकाँश सडकहरू माथिबाट पहिरो जाने वा सडक नै भासिएर पहिरोगएमा परिस्थिति अँझ दुखद बन्नजानेछ ।

महाभूकम्पका पूर्णझट्का र पराकम्पनपछि मानिसहरू सन्त्रासमा जिइरहेछन् । जसका घर भत्किए ती व्यक्तिहरू खुल्ला आकाशमुनि आउनु स्वाभाविक भएपनि जसका घर भत्किएका छैनन् त्यस्ता व्यक्तिहरूले पनि विपदपछिका चरणमा त्रिपालमै बस्ने संस्कृतिलाई मलजल गरिदिंदा यहाँ राहत वितरण पुननिर्माण तथा पुनर्स्थापना अत्यन्त कष्टकर हुने देखिन्छ ।

सामाजिकरुपमा पाल संस्कृतिबाट महिला तथा वालिकामाथि यौनशोषण र वलात्कार जस्तो निकृष्ट कार्यमा बढोत्तरी भएको देखिन्छ भने चोरी, लुटपाटमा पनि ठूलो गिरोह वा समूह,व्यक्तिहरू समावेश रहनसक्ने चित्र सतहमा आएको छ ।

यस भूकम्पले केही नयाँ सन्देश भने अवश्य दिएको छ, यसले सम्पन्न र ठूलाघरे ठालुहरूलाई सानाघरका वा झुपडीका मानिसहरूलाई हेप्ने हेपाहा प्रवृतिमा कमि ल्याएको छ, यस भूकम्पले शहर खासगरी काठमाण्डौमा मौलाएको घरवेटी, डेरावाला र छिमेकी वीचको अन्जान सम्वन्धलाई तिक्तता कमगर्दै नजिक ल्याएको छ, जथाभावी घरमा तलाथप्ने र देखासिकीमा कसको घर कति ठूलो र राम्रो देखाउने भन्ने विगतको सोच गलत भएको र आगामी दिनमा भूकम्पको सम्वेदनशीलक्षेत्र नेपालमा कसरी भूकम्प प्रतिरोधी, वलियो, छरितो घर बनाई मानवीय जोखिम कमहुने निर्माणतर्फ लाग्नेभन्ने विषयमा बहश शुरुभएको छ । विदेशमा गएर कमाएको सम्पत्ति होस् कि स्वदेशमा दुइनम्वरी काम वा राम्रो व्यवशाय जुनसुकैरुपमा प्राप्त पैसाको सदुपयोग भनेको शहरमा भव्य शानदार, राम्रो आम्दानी दिने महल खडागर्नु हो भन्ने प्रचलनमा भूकम्पले दरो झापट हानेको छ आगामी दिनमा यसमा पुनर्विचार समाजले पक्कै गर्नेछ ।

भूकम्प, पराकम्प पछि समाजमा अपांग, अशक्त, मानसिक विरामीको चाप थपिएको छ जुन राष्ट्रकालागि थप चुनौतीका रुपमा रहनेछ । राहतमा भर परेर विदेशीले, राष्ट्रले वा अन्यले आएर मेरो घर बनाइदिन्छ या आर्थिक सहयोग गर्छ कि भन्ने सोचाइका कारण नेपाल हाईटीकरणको जोखिमतिर पनि छ भन्नेहरू प्रशस्त भेटिएका छन् । तर हामीले सोच्नै पर्छ, हामीले अहिले नगरे कहिले गर्ने ? विपदमा देश नउठाए कहिले उठाउने ?? डुव्नदिने ??

हाम्रो आर्थिक अवस्था ज्यादै कहालीलाग्दो र विकास निर्माण पछौटे ढर्राको थियो, भुईँचालोले यसकै मर्ममा प्रहारगरेको छ । कृषि निर्वाहमुखी, जीविकोपार्जनमा सहयोगी मात्रै थियो यसलाई भूकम्पले थिलथिलो पारेको छ । पशुपालन घरायसी संरक्षणमा सीमित थियो,भूकम्पले मानवीय क्षतिको तुलनामा कैयौंगुणा बढीमात्रामा भौतिक रचनाका चेपुवामा पारेको छ । सीमित उद्योगधन्दाहरू कमसल संरचनामा सन्चालनमा थिए, तिनीहरूको जग भूकम्पले भत्काएको छ । सडकहरू खाल्डाखुल्डी परेका कच्ची, अवैज्ञानिक र कमजोर थिए त्यसलाई डरलाग्दा कम्पनहरूले तलमाथि पारेर चिरेको छ । त्यतिमात्रै होइन हाम्रा मनहरू पनि चोईट्यादिएको छ । सर्वदलीय सत्ता वा राष्ट्रिय सरकारको वहश पनि जोडतोडसँग चल्दैछ । सहमतिबाट एक दशकमा एकथान सम्विधान बनाउन नसक्ने राजनैतिक दलहरूले नयाँ सम्विधान त देलान् तर उत्कृष्ट हुनेछैन ।

भूकम्पका विम्बहरू अनेक छन् जस्तै मानसिक रोगीको संख्या वृद्धि हुनेछ भने विधुवा, टुहुरा र अपाङ्ग जनशक्तिलाई राज्यले हेर्नुपर्नेछ । अनिकाल भित्रिनेछ वर्खामा कयौँ ठाऊँमा पहिरो बग्ने सम्भावना छभने महल वा अपार्टमेन्टमा लगानी गरेका, ढलेर खण्डहर भै उदाएका नव—गरिब जो शारीरिक परिश्रम त्यति गर्न सक्दैनन् त्यस्ता जनताले राज्यलाई थप समस्यामा पार्नेछ मूल्यवृद्धि हुनेछ तर कृषिजन्य उत्पादकत्व घट्नेछ । पुनर्स्थापनाले समाजमा असहजता निम्त्याउनेछ, जातीय, सामुदायिक सद्भावलाई विथोल्न सक्नेछ । समस्याले समाधानसँगै ल्याएको हुन्छ यदि चुनौती र आपतलाई व्यवस्थित गरेर राज्यले अवसरका रुपमा अघि बढ्न सक्योभने ठिक यहीबेला हामी विकासका सिढीं चढ्न सक्छौँ र समुन्नत राष्ट्र निर्माण गर्न सकिन्छ किनकि जुनसुकै कालो बादलमा चाँदीको घेरा हुन्छ ।

चूडा निर्भिक

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

1 thought on “भूकम्प एक विम्ब अनेक”

Leave a Reply

Your email address will not be published. Required fields are marked *