नेपालको सङ्गीत क्षेत्र र सिर्जन अविरलको पुस्तक

  • by


पुराना सम्झना केलाउँदा सङ्गीत क्षेत्रका मेलवादेवी, मित्रसेन, तथा नेपालका आदि गायक सेतुराम बारे सम्झना हुन्छ । यी तिनै जना प्रसिद्ध गायक गायिकाका कलकत्तामा रेकर्ड गरिएका ग्रामोफोन रेकर्डहरू हाम्रो घर गहिरीधारा र विशालनगरमा बज्ने गर्थे र म आनन्दसाथ सुन्ने गर्थें । नेपाली सङ्गीतका पहिलो गायक भारतको भाक्सुका नेपाली गायक माष्टर मित्रसेनको अवसान भइसकेको थियो । त्यस्तै मेलवादेवी काठमाडौं छोडेर कलकत्तामा बस्ने गरेकी थिइन् । यो अवधिको बीचमा मेरा जेठा पितृव्य श्री राममणि आचार्य दीक्षितले आफ्नो घरमा सङ्गीत र सितार वादन सुन्ने कार्यक्रम आयोजना गर्नुभयो । त्यो आयोजनामा उस्ताद साहिंला भन्ने अष्टमान श्रेष्टलाई बोलाइएको थियो । ३६-३७ वर्षका ती उस्ताद काठमाडौंको देव पाटनमा बस्दथे । म ६ वर्षो थिएँ हुँला, तिनले गाएको ”कालो ठेकी नारन काली काठको” लाई अझै पनि राम्रोसँग सम्झन्छु ।
तिनताक काठमाडौंका मन्दिरहरूको प्राङ्गणबाहिरका ढोकाछेउका सत्तलमा गायकहरू गीत र भजन गाउने
गर्थे । मित्रसेन भारतका भए । मेलवादेवी चन्द्र शमशेरकी दरवारिया केटी भइन् । उस्ताद साहिंला सत्तलमा बसेर भजन गाउन र कसैले बोलाएको खण्डमा निजको घरमा गएर सङ्गीत सुनाउने गर्थे । संवत् १९९१-९२ को कुरा हो । बारा जिल्लाको आफ्नो मौजा बहुअरिया रहँदा त्यहाँका युवक -जेठ रैयत) वैजनाथ अहिर उत्तरप्रदेशमा शास्त्रीय सङ्गीतको शिक्षा र तालिम लिएर प्रसिद्ध गायक भई फर्किएका थिए । तिनका गीत मैले सुन्ने गरेको थिएँ । त्यस्तै, पछि गएर मेरो विवाह भएपछि (संवत् १९९५) मैले ससुराली पिपरा विर्तामा रामप्रसाद रायका सङ्गीतहरू संवत् १९९८-९९ तिर सुन्ने गरेको हुँ । तराईका यी दुवै गायक सितार बजाउनेमा पनि विख्यात रहेका थिए ।
प्रधानमन्त्री जङ्गबहादुर राणाको समयमा वा तिनीपछि रणोद्दीपको समयमा नेपालमा गीत गाउने के प्रथा थियो भन्ने बारे मलाई थाहा छैन । तर पछि गएर राणा प्रधानमन्त्रीहरूलाई जाडोको समयमा शिकार खेल्न पर्ूव वा पश्चिम तराईतिर जाँदा शिकार क्याम्पको ठूलो पालमा बनारस, लखनउबाट बोलाइएका गायिका वेश्याहरू र तिनका साजिन्दाहरूका शास्त्रीय संगीत झण्डै हरेक वर्षनै सुन्ने गर्थे भन्ने कुरा मैले बाल्यकालमा नै आफ्ना पितृव्यहरूबाट सुन्ने गरेको थिएँ । ती गायिकाहरू ठूमरी र शास्त्रीय संगीतहरू गाउने गर्थे । नेपालभित्र तिनका नृत्य वर्जित रहने गर्‍यो-भारदारहरूको नैतिकतामा विचलन नहोस् भन्ने हेतुले होला । बनारसमा संवत १९९५ मा मेरो विवाह हुँदा भारतप्रसिद्ध तवलावादक कण्ठे महाराजले ”प्रभु चन्द्र शमशेरको आवाज यो तवलाबाट निकालेर सुनाउँ कि” भनि विष्णु शमशेरसित सोधेका थिए । तिनले सुनाए र बकस पनि पाए । त्यस्तै बनारसका विख्यात नृत्यकार चौबे महाराजका पिता, तारा, अलकानन्दा र सितारा-अभिनेतृ र नृत्यकारहरू तथा तिनका दाजुका पिताले मेरा पिताकी फुपुकी वालविधवी छोरीसित गोप्य विवाह गरी काठमाडौंबाट वाराणसी लगेका थिए । तिनकी माइली छोरी ताराले वनारसबाट काठमाडौं आएर”राजा त्रिभुवनको दरबारमा मैले गाना गाएर नाचेकी थिएँ, ती राजाले मलाई आफ्नो काखमा बस्न बोलाएका थिए तर म गइन” भनी मैरै सामुन्ने भनेकी हुन् ।
श्री वालकृष्ण समको ”प्रेम-पिण्ड” भन्ने नाटकमा पनि दरवारमा सुसारे केटीहरूलाई नाच्ने गाउने र नाटकमा अभिनय गर्ने तालिम दिइन्थ्यो र धेरैजसो नाटक पारसी भाषामा लेखिन्थे र खेलिन्थे भनी उल्लेख गर्नुभएको छ ।
चितवन नारायणगढका सिर्जन अविरलको ”आदि गायक सेतुरामदेखि दिलमाया खातीसम्म” भन्ने १०६ पेजको पुस्तक केही दिन अघि मेरो हात पर्‍यो । त्यसमा भूमिका लेखकको लेखले नेपाली भाषामा संस्कृत शब्दका साह्रै अशुद्ध रूप प्रयोग गरेको वाहेक सिर्जन अविरलका लेखहरू भने शोधपरक र विचारोत्तेजक देखिए । पाएकै दिन मैले आद्योपान्त पढें । नेपालको सांगीतिक इतिहासमा यो पुस्तक आफ्नो खालको पहिलो हो कि भन्ने मेरो शंका छ ।
सेतुरामको ‘जता हेर्‍यो उतै मेरा नजरमा राम प्यारा छन्’ को सङ्गीत नसुनेको मेरो उमेरका काठमाडौंका को नै हालान् र – साह्रै जनप्रिय गीत थियो त्यो । उस्ताद साहिंलाको ‘हातमा बाला नारान् कानमा सुन । माइतीले लाउँदैन । गएको जोवन बहेको पानी फर्केर आउँदैन’ अथवा मित्रसेनको ‘तिमीसित प्रीति लाउन कानै पक्रें बाबा । मलाई खुत्रुक्कै पार्‍यो जेठान त्रि्रो बैनीले’ जस्तो झयाउरे गीतको प्रयोग ती सङ्गीतकार, गायकले गरेका थिए ।
”झन् पर जान्छु लै, लै
झन् माया लाग्छ वरी लै
मोहनी लायौ कि सवारी मेरो रेलैमा” भन्ने गीत त्यसवेला ग्रामोफोन र रेकर्डर भएका घरमा बज्ने गर्दथ्यो । यी मेलवा देवीलाई मैले ६ वर्षो उमेरमा नवरात्रको नवमीको दिन सिंहदरबारमा चन्द्र शमशेरकी पत्नीले कन्या पूजा गर्दा कुमारी भएर गएको देखेको र सुनेको थिएँ, पछि सन् १९४० मा वाराणसीमा चन्द्रशमशेरकी कान्छी पत्नी वालकुमारी देवीले कोटी हवन गर्दा मेलवा मंगल गीत गाउन आएकी थिइन् मैले सुनेको थिएँ । त्यसपछिका गायक गायिकाहरूमा सिर्जन अविरलले र्सवश्री उर्मिलादेवी श्रेष्ठ, मास्टर रत्नदास प्रकाश, धर्मराज थापा, हर्रि्रसाद रिमाल, अम्बर गुरुङ, नारायण गोपाल र दिलमाया खातीसम्म गरी आफ्नो पुस्तकमा सबै गायकका परिचय र तिनका गीतका टुक्राहरूवारे निकै राम्रो चर्चा गर्नुभएको छ ।
लोक गीतमा वा दोहोरी गीतमा नेपाल प्रसिद्ध छ । पोखरा र पश्चिम नेपालको रोदी घरमा हुने दोहोरी गीत पहाडका बासिन्दाहरूको जीवनकै अंग जस्तो बनेको छ । विहान साँझ बनमा घाँस काट्न जाँदा युवक युवतीहरू वीच गीतहरू चल्दछन् । रातमा अवेरसम्म रोदीघरमा गीतहरू चल्दा युवक र युवतीवीच माया र प्रीतिका गीत्यात्मक आदानप्रदान भई पति पत्नीमा परिणत हुने पनि गर्दछन् । सिर्जन अविरलले यो पक्षमाथि ध्यान दिनुभएको छैन तर जे जती लेख्नुभएको छ, समष्टिमा हर्दा त्यसलाई गायन क्षेत्रको राम्रो उपलब्धि भन्नैपर्छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *