म गत २०६९ बैशाख ३ गते बिहान कोहलपुर मेडिकल कलेजको शिक्षण अस्पताल कोहलपुरमा थिए । त्यहाँ म त्यसै गएको होइन मलाई गत चैत्र २९ गते बर्दियाको गुलरियामा लायन्स क्लव अफ बर्दिया र सहिद गंगालाल हृदयरोग केन्द्र काठमाण्डौद्धारा संचालित हृदयरोग तथा मधुमेह सम्बन्धी एक दिने शिबिरबाट फिजियोथेरापी गर्न एवं रगतमा बिबिध जाँच गर्न भनी रिफर गरिएको थियो ।
बैशाख ३ गते बिहान ७.३० बजे त्यहाँ पुग्दा बहिरंग बिभागमा बिरामीहरूको ठूलो भीड थिएन किनभने बिहान चाँडै पुगेको थिएँ । मभन्दा अगाडि ५ जना लाइनमा थिए । त्यो दिन थरुहटको नयाँ मुलुक बन्दको कारणले पनि बाहिरबाट आउने बिरामीको संख्या कम थियो कि भन्ने अनुमान मैले गरेँ । वरपरका भुक्तभोगीहरूबाट जानकारी पाए अनुसार आज एक चौथायी बिरामी पनि थिएनन् । तर, अस्पतालका सबै कर्मचारीहरू थकित देखिन्थे। मानौँ सबै बिरामी छन् र आ आफ्नो स्वास्थ्य जाँच गराउन आएका हुन् । स्वास्थ्य प्राबिधिक एवं प्रशासनिक कर्मचारीहरूको पोशाक एउटै देखिन्थ्यो । कोही कसैसँग बोलिरहेका थिएनन् । कसैको अनुहारमा रौनक थिएन । प्रायः बिरामीहरूले अस्पतालका सबै कर्मचारीहरूलाई डाक्टर नै सम्झेका हुन्छन । भनिन्छ, चिकित्सकको असल व्यबहारले बिरामीको आधा रोग निको हुन्छ । तर यहाँ चिकित्सकको पोशाकमा ठाँटिएका सबैले बिरामीहरूसँग उचित व्यवहार गरेका थिएनन् । केही सोध्यो भने अत्यन्त रुखो स्वरमा झर्केर जवाफ दिने व्यवहार उनीहरूको मैले पाएँ । मानौँ यहाँ बिरामीहरू होइन अपराधीहरू सजाय काट्न आएका छन् । बिरामीहरूलाई लाइनमा उभिन गारो भैरहेको थियो । त्यहाँ कुनै बस्ने ठाउँको व्यबस्था थिएन । महिला र पुरुषको लाइन छ्ट्टा छ्ट्टै भएपनि बहिरंग दर्ता कर्मचारी अलग अलग थिएनन् । बिहान ९ बजे नाम दर्ता सुरु हुने भनी लेखिएका सूचनाहरूले आफ्नै खिल्ली उडाइरहेका थिए । पर्खिदा पर्खिदा १०.३० बजे बल्ल तल्ल बहिरंग बिभागको लागि नामदर्ता गर्ने एक जना कर्मचारी आईपुगे । महिला र पुरुषको लाइनमा करिव पचास जना नामदर्ताको पालो पर्खिरहेका थिए । कोही उभिनै नसकेर लाइन मै भुईँमा बसिरहेका थिए । अलिपरबाट हेर्दा यो लाइनमा लामबद्ध बिरामीहरू २।३ वर्ष अगाडि टिभि.को कुनै च्यानलमा हेरेको पाल्पाको कुनै ढुंगे धारामा खानेपानी भर्नका लागि लामबद्ध राखिएका रित्ता गाग्री, जर्किन र बाल्टी जस्ता देखिन्थे । वरिपरि बिरामी जाँच गर्ने कोठाहरू, औषधी तथा अति आवश्यकीय सामग्रीका पसल रहेको र ठूलै खुला ठाउँ भएको यो हलको बिच भागमा चार वटा सिलिङ पंखाहरू नाचिरहेका थिए भने त्यसको मुन्तिर बिरामीहरू होइन, स्वस्थ मानिसहरू आराम गरिरहेका थिए । यी आरामदायी आसनहरू बिरामीको नामदर्ता गर्ने स्थानमा प्रयोग हुनु पर्ने हो तर यस विषयमा जिज्ञासा राख्दा अस्पतालका प्रमुख प्रशासकले त्यसो गर्न नसक्ने र लाइनमा बस्न नसक्नेले यो अस्पतालमा सेवा लिनै नसक्ने रुखो बिचार व्यक्त गरे । आज नयाँ मुलुकमा बन्दको कारणले अस्पतालको चाप नहुँदा त यस्तो हालत छ भने अरु सामान्य दिनमा कस्तो हुन्छ होला सहजै अनुमान गर्न सकिन्छ । मलाई बर्दिया अस्पतालमा सम्पन्न लायन्स क्लव अफ बर्दियाद्वारा सञ्चालित हृदयरोग तथा मधुमेह सम्बन्धी एक दिने शिबिरबाट निशुल्क सेवा उपलव्ध हुने आश्वासन दिई रिफर गरी पठाएको भएपनि यहाँ पनि लाइनमा नै बसेर अरु सरह सशुल्क पर्चा काट्नु पर्यो । यस कोहलपुर अस्पतालको बारेमा बुद्धिसागर चपाईको कर्नाली ब्लुज भन्ने उपन्यासमा पहिले नै पढिसकेको थिए । उनले यहाँको अव्यवस्थाका बारे प्रशस्त टिप्पणी गरेका छन् । मलाई उनी अस्पताल प्रति पूर्वाग्रही हुन कि भन्ने लागेको थियो तर मैले आजे कोहलपुर अस्पतालमा आज जे देखेँ जे भोगेँ त्यसबाट कर्णाली ब्लुजमा उठाइएको प्रसंग सत्य रहेछ भन्ने लाग्यो । बिरामीको चाप थेग्न नसक्नेले किन निःशुल्क स्वास्थ्य शिविर गर्नु परेको ? कोहलपुर मेडिकल कलेज अस्पतालकै व्यानरमा निर्मित नामदर्ता एवं रिफर प्रिस्केप्सन लिएर गएको कुनै अर्थ नै भएन । त्यो शिविर त केवल व्यापार प्रर्वद्धन गर्न गरिएको रहेछ कि भन्ने मैले बुझेँ । होली डे को दिनमा त यस्तो चाप छ भने अरु यो दिनमा यो अस्पताल र बिरामीको हालत कस्तो हुन्छ होला सहजै अनुमान लगाउन सकिन्छ । शिविरबाट रिफर भै आएका बिरामीहरूलाई हरेक जाँचमा ५० प्रतिशत छुट दिने भनिए पनि त्यो छुट लिन अत्यन्त झन्झटिलो रहेछ । ‘बरु म छुट लिन्न, छिटो जाँच गरिदिनु पर्यो’ भन्नु पर्ने अवस्था सिर्जना गरिदो रहेछ यहाँ । म पनि छुट लिन सक्रिय रहेँ । फिजियोथेरापी सिक्नु पर्ने अनि रगतमा चिनीको मात्रा, युरिक एसिडको मात्रा र कोलेस्टरोलको मात्रा जाँच गर्नु पर्ने थियो । यसको लागि ‘च्यारिटी स्लिप’ माअस्पताल प्रशासन कै बिबिध व्यक्तिहरूको हस्ताक्षर गराउनु पर्ने रहेछ । उनीहरूलाई भेट्नु, जस्टिफिकेशन दिनु, कन्भिन्स गर्नु, जुन सामान्य व्यक्ति र जटिल रोग लिएर पुगेका बिरामीहरूका लागि एकादेशको कथा जस्तै रहेछ । मैले निक्कै मेहेनत र समय लगाएर च्यारिटि स्लिपमा सिफारिससम्म गराएँ । सबै जाँचको ८०० रुपैया लाग्नेमा मलाई रु.४०० लाग्यो । पैसा तिरेर रसिद लिएँ तर, त्यति बेलासम्म बेलुकाको करिव ५ बजिसकेको रहेछ । व्लड दिन, रिपोर्ट लिन र सम्बन्धित डाक्टरलाई देखाउन त्यो दिन सम्भव नै थिएन । यदि यो सेवा लिने नै हो भने १ रात होटेलमा बस्नु पर्ने थियो । यहाँका होटलहरू पनि अत्यन्त महंगा रहेछन् । मैले पैसा तिरेर पनि व्लड चेक नगराएरै घर फर्किएँ, किनभने त्यसको लागि थप समय र पैसा बरवाद हुने अवस्था मैले देखेँ । यो कुरा बेलैमा थाहा पाएको भए सायद मैले रु.८०० नै बुझाउने थिएँ र बेलैमा उपचारको सल्लाह लिएर आफ्नो घर फर्कने थिएँ ।
धन्य छ कोहलपुर अस्पताल अनि यसका रुखा र झिभयाहट महसुस गरिरहने कर्मचारीहरू एवं प्रशासन प्रमुखलाई । अनि धन्य छ अस्पतालको निमुखा र गरीव बिरामी जनता ठग्ने यो नयाँ काईदालाई । बिरामीको बढ्दो चापसँगै अस्पताल आफैमा बिरामी परिरहेको मैले अनुभव गरेँ । यस्तो ठगीको पराकाष्ठा भैरहने हो भने निःशुल्क स्वास्थ्यशिविर र छुटको यो नाटक किन ? हामी निमुखा जनता सधै ठगिएकै थियौँ र छौँ भने यसपटक लायन्स क्लव नामको एक सचेत र सेवा मूलक संस्था समेत कोहलपुर अस्पतालबाट ठगिएको देखियो ।
अनौठो प्रेम
कथा साह्रै मीठो, सरस र जीवन्त छ । यस्तो भोगाइ धेरैको हुन सक्छ । छिट्टै अर्को कथा पढ्न पाइयोस् । सफलताको शुभकामना ।