परिवर्तनका सोचनीय स्वरहरू

NandaLalAcharya-07


यत्तिखेर परिवर्तनको आभास जताततै छ । सबै वर्ग र समुदायका कुनै न कुनै संगठनहरू छन् । हाम्रो पनि संगठन छ तर अँझै पूरातन विचारधारा र दासमनोवृत्तिले युक्त छ । हो, म पनि त्यही मनोवृत्तिले ग्रसितमध्येको एक हुँ । तर कत्ति दिनसम्म हजुर, हजुर र ज्यू,ज्यू गर्ने ? कम्तीमा आफ्नो हकअधिकार वारे त सचेत बनौँ भन्ने विचार मनमा केलाइरहेको थिएँ । एउटा विचार मनमा आयो र त्यही विचार तिमीलाई बाँडूँ, राय सल्लाह लिऊँ, सहयोग एवं सद्भाव पनि बटुलूँ भनेर चिठी लेख्न बसेको हुँ । कुरा कताबाट सुरू गरौँ भनेर अलमलाइरहेको छु ।

छोरीसँगका वातचितका प्रसङ्गबाट नै कुराकानी अघि बढाउँछु । मेरो हातमा बाँसका चोया देखेर, नजिकै तयारी अवस्थाका कोनिया, पङ्खा, ढाकी, नाङ्लो, ठेक (भकारीजस्तो), वेदही (बिरूवा घेर्ने वस्तु), चाल्नी आदित्यादि देखेर उनी छक्क परिन् र म धनी भएको जिकिर गरिन् । कुरैकुराका क्रमका उनले लामो कुरा गरिन् ।

“यत्ति धनी भएर पनि कस्तो दरिद्रता झल्काउनुभएको तपाईँहरूले ! म सानी छँदा यहाँ खरको झुप्रो थियो । चारैतिर फोहोरै फोहोर मात्र थियो । कतै मन अड्याउने ठाउँ नै थिएन । अहिले परिवर्तन त देखिरहेकी छु । टिनको छानो खडा भएछ । छेउछाउमा बोटबिरूवा हुर्केछन् । सिँगाने बालबच्चाहरू हातमा मोवाइल नलिइकन सुँगुर चराउन नजाने भएछन् । कुरा गराइमा पनि परिवर्तन भएछ । तर सफासुग्घर रहनुपर्छ भन्ने विचार चाहिँ ल्याउन भुसुक्कै विर्सेछन् । राम्रा काम गर्ने संस्कार पक्रिएछन् यो डोम समाजले भनेको त । मूल कुरामा चाहिँ उही पुरानै चलन रहेछ । आखिरमा यो डोम समाज किन अघि नबढेको ?” उनलाई बोल्न दिइराख्ने भए त उनी केके बोल्थिन कुन्नि ? मैले मनका कुरा उनलाई नबुझाइकन भएन भनी बुझाउन थालेँ, “हेर नानी, जसले जे देख्छ, त्यसले त्यही भन्दछ । परिवर्तन जुन दिशामा भइराखेको छ, त्यसले अनिष्ट त निम्त्याएको छैन तर सकारात्मक दिशावोध गराउन भने सकेको छैन । पढेर परिवर्तन हुनुपर्नेमा यहाँ हामीझैँ परेर संसार थाम्न खोजिँदै छ । आम्दानी चाराना छ तर खर्च भने बाराना छ । बचतमा कसैको रूचि छैन । आज गोजीमा ढौवा छ भने मज्जाले दारूपानी र जुवातास चल्यो । ढौवा रित्तियो कि हत्त न पत्त उधारोमा बाँस ल्यायो र सामग्री बनाउन थाल्यो । भोलिको दिनको लागि चिन्ता नहुनु हाम्रो ठूलो कमजोरी देखिरहेको छु ।”

मेरा कुराले उनी केही उत्साहित भइन् र मलाई नै व्यंग्य गर्दै भन्न थालिन्–“तपाईँ कुरा बुझ्ने मान्छे पर्नुभएछ । धन कमाउने निक्कै उपाय र आधार देख्छु । अनि जताततै किन फोहोर तपाईँको घरमा ? किन सुँगुर र मान्छे बस्ने एउटै घर ? छोराछोरीलाई किन नपढाएको, किन जागिर खान घर बाहिर नपठाएको ? किन तपाईँको समाजमा यत्ति विघ्न झैँझगडा र कोलाहल ? थोरैमा पनि मान्छे सुखी भएका छन्, खुसीरहेका छन् । तर यहाँ भने मन नै हराएझैँ लाग्छ ।”

एकाएक प्रश्नमाथि प्रश्न तेर्सिए । कतिपय प्रश्नले मन छोए । कतिपयले मेरो सुद्धि र बुद्धिमा नै बिक्रो लगाइदिने काम गरे । जवाफ नदिइकन पनि हुन्नथ्यो । दिनै पर्यो । शिवचरणको पोता (नाति) भएकोमा अहिले भने लज्जित बोध भयो । उनको सप्तरीको पूर्वी भागमा २२ विघा जमिन थियो रे । उनी बेला बेलामा विशाल भोजको आयोजना गर्थे रे । त्यस भोजमा सुनसरी, मोरंग, उदयपुर, सिराहा, धनुषाका डोमहरू आमन्त्रित हुन्थे रे । भोज पनि हप्ता दिनसम्म चल्थ्यो रे । भोज खानका निम्ति निम्तालुहरू सुँगुर सहित आउँथे रे । एक पटकको भोजमा निम्तालुका सुँगुरले छिमेकी गेना मडरको ८ विघा जग्गाको अन्नबाली नष्ट गरिदिएछन् ।

त्यस बेला गेना रिसले मुर्मुरिँदै कुर्लिएछन्–“हौ शिवचरण ! तोहर पाहुनासभक सुग्गरसभसँ नास केलाह अन्नबालिक हर्जनातिर । नै त ठिक नै हेतै ।” (ए शिवचरण ! तेरा पाहुनाका सुँगुरले नष्ट पारेको अन्नबालीको अर्मल तिर् । नत्र ठिक हुने छैन ।)

मेरा हजुरबाले पनि पाखुरी सुर्कँदै भनेछन्–“देखियौ गेना मडरजी ! ई सामाजिक आ सांस्कृतिक चलन छियैक । हमरासभक सुग्गर बाली नास केनै अछि त भोजके आयोजना करू । तखन अहाँक पाहुनासभक घोडा, बरदसभ किया हमरा बाली नास केलक कहिक हम एक शब्द नहि पुछब । हम यतैक बुझै छी ।”(हेर्नुस् गेना मडरज्यू ! यो सामाजिक र सांस्कृतिक चलन हो । हाम्रा सुँगुरले बाली नष्ट गरेकै हुन् त भोजको आयोजना गर्नुस् । त्यसबेला तपाईँका पाहुनाका घोडा, गोरूले किन मेरो बाली नष्ट पारे भनेर म एक शब्द पनि भन्दिनँ । म यत्ति मात्र जान्दछु ।”) त्यसपछि गेनाले पनि भोजको आयोजना गरेछन् । त्यसबेला हाम्रो हजुरबाको १२ विघा बाली नष्ट भएको थियो रे । यसरी तैँ चुप मै चुप भएछन् । यसको अर्थ हामी धन नभएका मान्छे होइनौँ । अचाहिँदो मन भएका मान्छे भने अवश्य हौँ ।

अर्को कुरा, सफासुग्घर रहने मन कसलाई हुन्न र ? हामी पनि मनुष्य नै हौँ । मन त सबैको एक नासकै हुन्छ । वाध्यता पनि उस्तै उस्तै हुनसक्छन् तर ती सब जीवन चलाउनका लागि । मैले भने–“गरिमा नानी ! हामीझैँ समाजबाट बहिष्कृत भयौ भने तिमी पनि फोहोरी नै हुन्छ्यौ र देखिन्छ्यौ । हामी कत्रो अन्यायलाई मुटुभित्र दबाएर बाँचेका छाँै, त्यो त हामीलाई नै थाहा छ । यो छुत समाजले हामीलाई अछुत भन्छ । हामीले गाउँ बाहिर बस्नुपर्छ । हाम्रा केटाकेटीले उनीहरूका केटाकेटीसँग हाँसखेल गर्न सख्त मनाही छ । नयाँ सोच जन्माउन पनि असल संगत चाहिन्छ । त्यस्तो संगत हामीले कहिल्यै पाएनौँ । हामी प्रति समाज कहिल्यै उदार भएन । हामी जन्मदै कुठाराघात लिएर जन्मियौँ । दासमनोवृत्तिलाई हुर्कायौँ । आजसम्म हरेक समाजका मनमस्तिष्कमा हामी एक सदस्य हैन एक अभिसाप सावित भएका छौँ । पछि बस्नुपर्दो रहेछ भन्ने व्याकरण मात्र हामीले घोक्यौँ, घोकिरहेकै छौँ । कत्तिञ्जेल धोक्नुपर्ने त्यो भने अज्ञात छ । त्यही अज्ञातलाई ज्ञातमा बदल्ने अभियानमा म लागेको छु ।”

मित्र प्रकाश, मैले स्कुलको मुख देखिनँ । छोराछोरीलाई पठाएकै हुँ । दुईचार दिन गए । फेरि जान बन्द गरेँ । कर गरेँ तर मानेनन् । बरू सरक्क सुँगुर चराउन जान थाले, कोही चारो खोज्नतिर लाग्न थाले । एकएक वटा लगनी पक्रेकोमा खुशी लाग्यो । हामी पतिपत्नीले पनि ढुक्कले यिनै बाँसका चोयासँग लाप्पा खेल्न पाउने प्रसस्त समय पायौँ । दुईचार पैसा भए पनि आम्दानी बढ्न थाल्यो । ‘पढीगुनी के काम हलो जोती खायो माम’ भन्ने उखान हाम्रै लागि बनेको रहेछ भन्ठानेर चुपचाप बसेँ । पछि पो थाहा पाएँ । मेरा नानीहरूलाई माष्टरहरू नै भेदभाव गर्दा रहेछन् । सुँगुर चराउने जातले पढ्न खोज्नु भनेको सरस्वतीलाई रूष्ट पार्नु हो, लक्ष्मीलाई लत्याउनु होभन्दा रहेछन् । यसखाले हेपाहा प्रवृत्तिलाई पचाउन नसकेर नानीहरूले स्कुल छाडेका रहेछन् । त्यस बेला मेरो मन कस्तो भयो होला ! तिमी आफैँ महसुस गर्न सक्छौ । अरू के भनूँ र ! झगडाको कुरामा चाहिँ म पनि हैरान छु । यहाँ पनि म त समाजको हात नै देख्छु । जहानपरिवारले कसैको संगत गर्न पाएनन् । बनिबुतोमा जाँदा पनि खुरूखुरू काम गर्यो, बनी लियो फर्कियो । हामीसँग धेरै बोलचाल गरेमा नरककै वास होलाझैँ गर्छन् । अनि जे जति कुरा हुन्छन्, आ–आफूमै सीमित हुन्छन् । झगडाको मुख्य कारण सुझबुझको कमी नै हो । यी गन्थनका प्रसङ्गलाई यहीँ विश्राम दिँदै अब भने मूल मुद्दामा प्रवेश गर्न खोज्दै छु ।

प्रिय मित्र प्रकाश, हप्ता दिन अघि गाविसमा गाउँसभा थियो । सबै डाकिए, मलाई कसैले वास्ता गरेन । दलितका कुरा आउँदा पनि निर्णय गर्ने आफैँ र पेट भर्ने पनि आफैँ गर्ने गरेको कुरा थाहा पाएँ । हाम्रो जातीको नाम बेचेर किन पैसा कु्म्ल्याउँछौ भनेको त मैले मुखभरिको जवाफ भेट्टाएँ । सबैले एक मतका साथ मलाई वाक्युद्धमा पराजीत गरे तर म मानसिक युद्धबाट भने पराजीत भएको छैन । कुरा सुन्न चाहान्छौ, प्रकाश ? तिमीले पनि सुन्नैपर्छ । सुन्न सक्यौ भने मात्र तिमी मेरो विचारसँग निकट हुनसक्छौ ।

त्यस वेला सबै मिलेर मलाई उल्लीबिल्ली पारे । सभ्य मेरो छिमेकी आनन्देले ठूलै स्वरमा भन्यो–“के बुझैछी रै लक्ष्मणमा, तोरा राजनीति के सिखेलकौ ? तोरा भाँतीभाँतिके गन्थन कक आखिरमे कि भेटतौ ? चुपचाप जी,जी कक रही न ।” (¬के ठान्छस् ए लक्ष्मणे, तँलाई राजनीति कसले सिकायो ? तँ नानाभाँतिका गन्थन गरेर आखिरमा के पाउँछस् । चुपचाप हजुर, हजुर भनेर बस् न ।)

अर्को घनश्याम कुर्लियो–“अपन औकातसँ उपर उठैलासभ हरदम खसले अछि । तोँ किया आफतमे परैल चाहैछ ? दलित वस्तीमे खानेपानी’क व्यवस्था केलगेल अछि । बच्चासभके पढैल स्कुलोँके दरबज्जा खुल्ले छोडल अछि । आब कि ताकै छी, लक्ष्मणमा ?” (आफ्नो औकातभन्दा माथि उठ्नेहरू सधैँ लडेका छन् । तँ पनि किन भड्खारामा पर्न चाहन्छस् ? दलित वस्तीमा खानेपानीको व्यवस्था गरिदिएकै छ । बच्चाहरूलाई पढ्न स्कुलको ढोका खुल्ला छाडेकै छ । अब के खोज्छस्, लक्ष्मणे ?)

पुराना विचारका धुथर बूढाले समेत नयाँ कुरा गरे–“रौ लक्ष्मणमा ! दलित विकासक लेल आएल बजेट जगहजगहमे लगाए देने अछि । तोहर परिवारक बरतनमेँ चाउर राखिदैल सरकारी बजेट अलग केनै नहि अछि ।” (अरे लक्ष्मणे ! दलित विकासका लागि आएको बजेट ठाउँठाउँमा लगाइदिएकै छ । तेरो परिवारको भाँडोमा चामल हालिदिन भनेर सरकारी बजेट छुट्याएको पनि त होइन ।)

युवा नेता कहलिएको हरिचनले अँझ कड्किँदै भन्यो–“बेसी नहि बुझैबलाके बकबक केनाई मनासिव नहि होइछै । चुपचाप अपन काज करैल, निकनिमन खाइल आ देह झापैल व्यवस्था होइके स्थितिक हमसभ सिर्जना कैयैदेने छी । गाउँबासीसभक काज केनार्ई, गाउँबासीसभके खुशी बनेनाई आ आनन्दसँ रहनाईमे मात्रे तोरासभके जय छौ, बुझलिही लक्ष्मणमा !” (धेरै नबुझ्नेले बकबक गर्नु मनासिव छैन । खुरूखुर आ–आफ्नो कर्म गर्न, मीठोमसिनो खान, आंग ढाक्ने व्यवस्था हुने स्थिति हामीले सिर्जना गरिदिएकै छ । गाउँलेको काम गर्नु, गाउँलेलाई रिझाउनु र आनन्दले रहनुमै तिमेरूको जय छ, बुझिस् लक्ष्मणे !)

त्यत्रा गाउँलेले मान्दै आएका अशोक माष्टरले समेत मेरो मनमा आँधी ल्याउने कुरा गरे–“लक्ष्मणमा ! दोसरके बहकाउमे लागलिही आ दलित उत्थान कहिक छुतक सोच विपरीतक कोनो काज केलहि त तोरा टिकट ई गाँमसँ मात्रे नहि ई जगहेसँ कैट जेतौ ।” (लक्ष्मणे ! अर्काको बहकाउमा लागिस् र दलित उत्थान भन्दै छुतको सोच विपरीतका कुनै काम गरिस् कि तेरो टिकट यो गाउँबाट मात्र होइन यस ठाउँबाटै कट्छ ।)

लौ भन त प्रकाश, मेरो भाँडामा छिमेकी भनाउँदा ती अशोकेहरूले दालचामल त हालिदिएका छैन नि । म र मेरो परिवारको इज्जत ढाक्न कपडा किनेर दिएका त छैन नि । बरू उल्टै मानसिक दबाब दिएर बाँच्न बाध्य पारेका छन् । मलाई मात्र हैन पूरै दलित वर्गलाई मान्छे नै नगन्ने सोच हो यो । के म गलत भन्दै छु ? हामीले काम नगर्दिने हो भने तिनीहरू भोकभोकै पर्ने थिए । हलो जोत्छन् श्रमजीविहरू, पेट भर्छन् अशोकेहरू । ‘दूध दिने गाईको लात पनि सहनुपर्छ’ भन्ने उखान व्यर्थमै बनाइएको रहेछ । भन त, यी मान्छेहरू कत्तिसम्म अत्याचार गर्छन् ? मैले बनाएको कोनिया, ढाकी पूजाआजामा नभई हुन्न तर म भने मन्दिर पस्न पाउँदिन । मैले लगेको, फूलप्रसाद भगवान्लाई चल्दैन रे । यी धर्मका ठेकेदार र भगवान्का पिए भनाउँदाहरूले आफूलाई ठूलो बनाउन कत्रो जाल रचेका छन्, भ्रमको खेती लगाएका छन् ।

हेर प्रकाश ! भगवान् मेरा पनि हुन् । मैले पनि फोटा ल्याएर घरमा टाँसेको छु । नुहाईधुवाई सफासुग्घर बनेर विहान बेलुका पूजाआजा गर्छु । खै, मसँग देवता बेखुशी भएका छैनन् त ! ट्वाइलेट सफा गर्ने काम हामीबाट गराउँछन् । उचित पारिश्रमिक दिने बेलामा भने दाँतबाट पसिना चुहाउँछन् र सामलखाजा लिएर दलाली गर्न बस्छन् । हामीले हजुर, हजुर भने पनि अशोकेहरू तँ, तँ र म, म भन्न छाड्दैनन् । आखिरमा हामीलाई किन मान्छे गन्दैनन् ? हरेक काममा हामीलाई सरिक गराउने तर समाजको एक अभिन्न अङ्गको रूपमा स्वीकार्न नसक्ने यी मान्छेलाई निमकहराम नभनेर के भन्ने त ?

प्रकाश, तिमी मान या नमान । समाजका यी घिनौला कर्तुतहरूको पर्दाफास गर्न मैले अहिले कम्मर नकसेपछिल्ला पुस्ताले मलाई सराप्छन् । मेरो मनपेट दिएँ तिमीलाई । हुन त मैले पनि तिम्रो मनपेट छामेको छु । तिम्रो हृदयको भावना बुझेको छु । तर अहिले तिमी परिवर्तन भयौ कि भन्ने त्रास मनमा छँदै छ । अब भने म आखिरी कुरा भन्दै छु । आउँदो स्थानीय चुनावमा म एक स्वतन्त्र उम्मेद्वार हुनेछु । राजनीतिका नाममा जनता ठग्ने दलहरूले मलाई टिकट दिने होइनन्, दिए पनि म लिने होइन । त्यस वेला तिमीले मलाई चुनावमा सहयोग गर्नुपर्छ । हामी दलितलाई पनि समाजमा मान्छे भएर बाँच्ने हैसियत दिलाउनुपर्छ । मेरा केही शुभेच्छुक मित्रहरू दिलोज्यानले सहयोग गरिरहेका छन् । म यी समाजका बाठा मच्छडहरूलाई तह लगाउन चाहन्छु ।

‘लक्ष्मणमाके ई सभ बकबास गन्थनसँ माथ दुखैलो ।’ (लक्ष्मणेका यी बकवास गन्थनले टाउको दुखायो ।) तिम्रो मुखबाट यस्तो वाक्य निस्केला कि भन्ने त्रास पनि छ ।

ल त मित्र, अब भने मैले मन रित्याएँ । जे गर्छौ, त्यो तिम्रो खुशी र जे भन्छौ त्यो सुन्ने मेरो काम हुनेछ तर प्रतिक्रिया पाउन भने ढिलो नहोस् भन्दै पत्रान्त गरेँ । धन्यवाद !

नन्दलाल आचार्य
तपेश्वरी–१, गल्फडिया, उदयपुर,
मो. नं. ९८४२८२९२०६÷९८१४७०००९९

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *