स्मृतिग्रन्थ प्रकाशन एन्ड कम्पनी लिमिटेड

कुरा अलिक हाँस उठ्तो हुन सक्ला । तर हाँसो उठ्तो भए पनि कुरा यथार्थै हो । त्यसै यथार्थ कुराबाट म यहाँका कुरा थाल्छु । केही वर्ष अघिको कुरा हो । मेरो चिनाजानीका मित्र जसलाई म अहिलेसम्म पनि दाजु भन्छु उहाँबाट मलाई फोन आयो । मैले उहाँको फोन उठाएँ । उताबाट कुरा आए— ‘भाइ, तपाईंले प्रधान सम्पादकका रुपमा बसिदिनुपर्ने भो, भ्याउदिनँ भन्न पाउनुहुन्न है ।”
“के छाप्न लाग्नु भो दाइ ?’
“तपार्इंकी भाउजूका बारेमा एउटा स्मृतिग्रन्थ प्रकाशन गर्न लागेको । त्यही ग्रन्थको प्रधान सम्पादकका रुपमा तपाईंले बसिदिनु पर्ने भो । सबै काम यतैबाट हुन्छ । तपार्इंंको खालि नाम मात्र राख्न लागेको ? हुन्छ भन्ने अनुमति पाऊँ ।’
मैले उहाँलाई हुन्छ भन्नै प¥यो । ग्रन्थको सबै काम सबै मेरा मित्रबाटै तमाम भयो । मैले दुःख गर्नै परेन । त्यो स्मृतिग्रन्थमा के कस्ता सामग्रीहरुले प्रवेश पाए र ती कस्तो मूल्यका छन् तिनका बारेमा र तिनको अनुहार पनि मैले पाण्डुलिपिका रुपमा देखिनँ देख्नै परेन । एकैचोटि सम्पादकीय ता लेखिदिनु नै पर्ने विषयमा फेरि फोन आयो । फोनमा सबै लेखहरु राम्रा छन् भनेर अनि झाटझुट पारेर सम्पादकीय लेखिदिनु होस् न भन्ने उर्दी दाजुबाट आयो । उहाँले त्यस्तै अराउनुभो । मैले त्यसै गरिदिनु पर्ने भो । धरै पाइनँ गर्दिन भन्न । गरिदिएँ ।
लेखिदिएँ । पछि आयो एउटा किताब ……. स्मृति ग्रन्थ भनेर । निकै भव्य थियो । अमेरिकातिरबाट छोराहरुले डलर पठाइदिएको कारणले राम्रो गाता, कागज, चित्रहरु देखेर मलाई पनि त्यस्तो असल ग्रन्थको प्रधान सम्पादक हुन पाएकोमा खुसी पो लाग्यो । मैले लेखिदिएको सम्पादकीयलाई यसो हेरें । मैले बठ्याइँका साथ लेखिदिएँछु । अन्धकारमा हानेको ढुङ्गाले झन्डै ता कागलाई नै लागेछ भनेजस्तो भयो ।
यो सबै यथार्थ हो । त्यस ग्रन्थका सम्पादकमण्डलका साथीहरुलाई पनि यो कुरा थाहा छ । गोप्य कुरा खोल्नु राम्रो नहुने भएको कारणले यहाँ मैले त्यस विषयमा केही बचाउका लागि नाम नभनेको हो ।
यसबाट स्मृतिग्रन्थ प्रकाशन गर्ने होडबाजीको तमासाको केही झलक मिल्छ । वास्तवमा अहिले देशका विभिन्न पाटाहरुमा कृतिविमोचन र स्मृतिग्रन्थ प्रकाशनको होडबाजी नै चलेको छ । जे कुराको पनि अस्वस्थ प्रतिश्पर्धाले देशलाई आक्रान्त बनाएको बेला यो पनि एउटा तडकभडकका रुपमा विकास हुन थालेको अनुभव गरिंदै छ । यसलाई शतप्रतिशत गलत त भन्न नमिल्ला, तर यसको गरिमा र महिमालाई आज हामीले खुम्च्याइरहेको छौं । यस कामबाट भाषा साहित्यको विकासको कुनै पाटोमा कति बल पुग्छ त्यो भविष्यले नै देखाउला तर यो पनि एउटा लहडबाजी र तडकभडकका रुपमा समाजमा आएको कुरा अनुभव गरिन थालेको छ । मरेपछिको पहिलो वार्षिकीको अवसरमा मृतकका नाममा सप्ताह पुराण लाउनु पर्ने कुराले हाल देशमा बाध्यात्मक स्थिति पारेजस्तै भएको छ । त्यसै गरी स्मृतिग्रन्थ प्रकाशनको पनि बाध्यता नआउला भन्न सकिन्न । यस्ता ग्रन्थ प्रकाशन गरेर नातागोताका मान्छेहरुलाई किन्न भिडाउने परम्परा पनि चल्न थालेको छ । चाहेर होस् वा नचोहेर त्यस्ता स्मृतिग्रन्थ किनिदिनुपर्ने बाध्यता मैले समेत बेहोरेको छु । तपाईं जस्तो नेपालीको प्रोफेसरले नकिने कसले किन्ने त ? मैले अलिक अनकनाउँदा उत्तर पाउने गरेको छु ।
‘मेरो अभिनन्दन ग्रन्थ छापिएको छ । त्यता एउटा कार्यक्रम राखेर परिचर्चा भए पनि गराइदिनु प¥यो । खर्चवर्च त्यतैबाट प्रायोजित गरिदिनु प¥यो ।’ एक विद्वान्को लोभ ममाथि कुनै बेला खनिएको थियो । वास्तवमा विशिष्ट विद्वान्हरुकै बारेमा र स्मरणयोग्य पुरुष नारी वा संस्थाकै बारेमा मात्र प्रकाशन भएको ग्रन्थहरुमा चर्चा गर्न पाए वा लेख्न पनि ता हँुदो हो भनेजस्तो पनि लाग्छ । समाज भित्र जुनसुकै व्यक्तिका पनि कुनै न कुनै पाटोमा हैसियत हुन सक्लान् वा होलान् तर तिनै व्यक्तिका बारेमा जोसुकैलाई जाने पनि नजाने पनि लेखाउने र लेख्नै पर्ने काम भने पटक्कै चित्त बुझ्दो होइन भन्ने ठान्छु ।
‘मेरी माता श्रीमती …… का बारेमा केही लेखिदिनुप¥यो नि सरले, स्मृतिग्रन्थ निकाल्न लागेको’ आग्रहको उरुङ आएको थियो । जसलाई मैले एक झलक पनि देखेको थिइनँ उनका बारेमा पनि मैले लेख्नु पर्ने भो । के लेख्नु होला, नचाहिंदो फुर्काफुर्की जोडेर ? सोचें, अनि लेखिदिएँ बडो महान् नारी विदूषी भनेर जसले अक्षर मात्र चिनेको थियो भन्ने मलाई नै थाहा थियो ।
बरु एउटा लेख मेहेनतसँग लेख्न सक्या भए प्रमोशनका लागि केही बल पुग्थ्यो । सोचें । बरु अलिकति पारिश्रमिक पनि आउँदो हो अलिक मेहनत गरेर लेख्या भए, सोचें । तर के गर्न‘ बाध्यता छ । नलेखी धर छैन ।
‘आज स्मृतिग्रन्थको विमोचन हुँदैछ । निम्ता आयो आएन ?’ फेरि कतैबाट उर्दी आयो । विमोचनमा गएँ । निकै ठुलो मन्त्रीसन्त्रीका हातबाट विमोचना गराउनु अनि लेखकलाई चाहिं एउटा किताब भिडाउनुका साथै आउरेबाउरेलाई अघाउँजी ख्वाउनु नै विमोचनमा तुजुक देखाउन थालिएछ, यहाँ पनि त्यही भयो ।
‘पढ्नु भो ?’ अर्काे प्रश्न आयो पछि ।
‘पढें ।’ ढाँटेरै भनिदिएँ । बरु आफ्नो उन्नतिको लागि केही पढ्न पाए पनि ता हुने नि । यिनैका गथासा कति पढ्ने ? सोचें ।
वास्तवमा स्मृतिग्रन्थ भनेको कुनै महत्वपूर्ण व्यक्तित्व वा संस्थाकै पनि स्मृतिमा उसको मृत्युपछि वा स्मृतिमा निकालिने महत्वपूर्ण कृतिहरुको सँगालो हो । यस्तो ग्रन्थ कुनै महापुरुष वा साधकको जीवन छँदै पनि निकालिन्छ तर त्यसलाई अभिनन्दनग्रन्थ भनेको देखिन्छ । अभिनन्दन वा स्मृति जस्ता यी दुवै ग्रन्थहरु जुन व्यक्तिका बारेमा प्रकाशन गर्ने योजना हुन्छ तिनमा निजहरुका विशिष्ट योगदानको चर्चा वा स्मृतिहरु समेटिएका हुन्छन् । यस्ता ग्रन्थहरुमा जुन व्यक्ति जीवित अवस्थामा समाजभित्र आदरणीय रहेका हुन्छन् तिनका योगदानहरुको महत्वलाई झल्काउने, चिरस्थायी बनाउने, तिनसँगको सम्पर्कमा आएका तिनका मित्रहरुको स्मृति र अनुभव समेट्ने काम हुन्छ र हुनु पर्ने हो । तर अहिले मैले माथि भनेस्तै जुनसुकै व्यक्तिका पनि अभिनन्दन ग्रन्थ र स्मृति ग्रन्थ लेख्ने लेखाउने धन्दा भएको छ । यो धन्दा गर्नेहरुले खेती गर्न थालेका छन् । लेखकलाई लख्याउन थालेका छन् । जो पनि यही काममा लागेको देखिन्छ । व्यक्ति महान् होस् कि नहोस् सराद्धे गरेझैं स्मृतिग्रन्थ लेखाउने लहर चलेको छ । यसले इतिहासलाई कता पु¥याउला विज्ञले जान्लान् ।
जसले जीवन कालमा चार ओटी ता स्वास्नी बटुल्यो त्यसका बारेमा लेखिएको स्मृतिग्रन्थका थाप्लामा प्रेरणा पुरुष लेखिएको देख्छु । के चार पाँच ओटी महिलाहरु भित्र्याउनु नै प्रेरणापुरुषका लक्षण हुन्् ? स्मृतिग्रन्थको यो भन्दा ठुलो दुरुपयोग अरु के हुन सक्छ ? जसले जीवनमा गरीब र दुःखीलाई गोरु झैं जोत्यो त्यसका बारेमा ता मैले नै महान् व्यक्ति भनेर लेखिदिनु परेको छ । जसले बेइमानीको धन्दा गरेर मौजाका मौजा हडप्यो त्यसका बारेमा त्यसैका छोराहरुले महापुरुषका रुपमा गाना गाउनेहरुका गाना संकलन गरेर स्मृतिग्रन्थ छापेका छन् । अनि त्यो मैले किन्नु परेको छ । मानौं हामी लेखकहरु पनि तोता मैना हौं, यी समाजका स्मृतिग्रन्थ लेखाउनेहरु भनेका बालुवाको चारो छर्ने मालिकहरु हुन् जो हामी जस्ता लेखकहरुलाई चारोको भ्रम देखाएर बालुवा छरिरहेका छन् । हामी भने राम राम भनिरहेका छौं । उनीहरुले हामीलाई गोपीकृष्ण बोल भनाइरहेका छन् हामी भने गोपीकृष्ण को भनिरहेका छौं स्मृतिग्रन्थहरुभित्र । जय होस् स्मृतिग्रन्थ निकाल्नेहरुको !

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *