Skip to content

अँध्यारो प्रभात


जब !
प्रशासनको हरेक टेवलबाट
अपमानित भएर फर्कनु पर्छ तिमीले,
जब !
तिम्रो पसीनाको ज्याला
शीर निहुराई कुनै भिखारी झैं थाप्नुपर्छ तिमीले,
र, भर्खरै स्वतन्त्रताको मृत्यु भएजस्तो
तर स्वतन्त्रता र समानताका मुर्दा साइनवोर्डहरू साक्षी वसेको
कहावतको स्वतन्त्र शहरको मध्ये सडकमा
शँकाका काँडाहरूले घोचिनुपर्छ तिमीले ।

तव !
म ठोकुवा गरेर भन्छु
यो विरानो शहरमा
तिमी निदाएका हुदैनौ
मखमली सिरानीहरूमा,
अघाइरहेका हुदैनौ
महँगा केवाव वारहरूमा
र, झस्किरहेका हुनेछौ
खुल्ला आँखाहरूले देख्ने
पश्चतापका सपनाहरूमा !

त्यसै धावा बोल्दैनन् वैरीहरूले
तिमी कुँजिएको वेला
पूँजीवादको गल्लीमा पक्षघातको आक्रमणले थलिएको वेला
त्यसैले त
वीर छौ तर पराजीत छौ
कुनै युद्धै नगरी !

आमा !
बेस हुने रहेछ आज
तपाईहरूले खुशी र सुखीको सपना नदेखेको भए
आफ्ना सन्ततिहरूको,
थाहा छ नि तपाईहरूलाई
सतीको श्राप मेटिएको छैन अँझै !
तिम्रो आँगनमा मखमली, हजारी फक्रिदा
तिमी ओइलाइरहन्छौ यहाँ,
समयले परेड खेलिरहन्छ छातीमा
यो जघण्य तुफानी आँधीको मौसमी रातमा ।

माफ गर्नु आमा ! हामीहरूलाई
सकेका छैनौ हामीले
हजुरको छातीभित्र वलेको उज्यालो जोगाउन
कति निरीह, कति अमूक हामी, निःशव्द यो आपतमा !
घाम लागेकै छ यो क्षितिजभरी सम्भावनाका कणहरू फैलाएर
तर पनि कति अँध्यारोमा छौं यो प्रभातमा ।

दीपेन्द्र के.सी
बागलुङ, हाल लुभेन बेल्जियम ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *