नपुजेको देवी र देवता


हपक्क गर्मीमा रामप्रसाद र फुलमाया खेतमा चपरी फोड्दै थिए । ज्यानबाट खलखली पसिना वगाउँदै गरेका दुवैलाई घामको कुनै पर्वाह थिएन । हरियो डाँडाको फेदको टारी खेतमा परैदेखि उफ्रदै कान्ला नाघ्दै एउटा किशोर आयो ।

‘बा, आमा आज एसएलसीको रिजल्ट भयो, मैले त डिस्टिङ्गसन ल्याएछु’ स्याँ स्याँ गर्दै उसले मुस्कुराउँदै भन्यो–‘फस्ट डिभिजनभन्दा पनि राम्रो भएछ ।’

‘स्यावास छोरा’ निधारको पसिना पुछ्दै रामप्रसादले खुसी व्यक्त गरे । फुलमाया पनि खुसीले दङ्ग पर्दै भनिन ‘राम्रो गरिस सन्ते, सधै यस्तै गर ।’ वर्षौदेखिको सपना साकार हुँदा रामप्रसाद र फुलमायाले चर्को घाममा शितल महसुस गरे ।

साँझसम्म खेतमा काम गर्ने उनीहरू छोरासँगै चाडै नै गाउँतिर उकालो लागे । बाटामा कसका छोराछोरी पास भए ? को फेल भए ? कुरा गर्दै घरमा पुगे । झमक्क रात परिसकेको थियो । डिढो र दालभात पाक्ने भान्सामा आज छोरा सफल भएको खुसीमा खीर पाक्यो । सबैले मिठो मानेर खाएर सुत्न गए ।

आकासमा ताराहरू चम्किरहेका थिए । सन्तेको मनमा अनेक सपना सल्वलाए । ऊ शहरमा धेरै पढेर जागिर खाएर आमा, बालाई सुख कटाएको सपना वुन्न थाल्यो ।

उता रामप्रसाद र फुलमाया पनि पटक्कै निदाएनन । छोरा हाकिम बनेको, राम्री बुहारी ल्याएको, बुढेसकालमा नाति नातिना खेलाएर आनन्दसँग बसेको, तीर्थधाम पुगेको । कल्पनामा डुवुल्की मार्दा मार्दै कतिखेर निद्राले छोप्यो दुवैले पत्तै पाएनन । विहान व्यूझेर ढोका खोल्दा बाहिर झलमल्ल घाम लागिसकेको थियो ।

चिया पसल, चौतारा र मेलापात सन्तेकै चर्चा चल्यो । सबैले वा, आमा, गाउ र विद्यालयको ईज्जत राख्यो भनेर प्रशंसा गरे । यो सुनेर रामप्रसाद र फुलमाया फुरुङ्ग बने ।

सन्ते पढन शहर झर्यो । खेतीपाति गरेर गुजारा गर्दै आएका दम्पतिले पढाई खर्च जुटाउन कठोर मेहनत गरे । आधा पेट खाएर र आधा सरो लगाएर छोरालाई मिठो खान र राम्रो लगाउने खर्च पुर्याए । दम्पति नै मरिमेटेर काम गरेको देख्दा गाउँलेहरू ‘ज्यानको पनि ख्याल गर है,’ भनेर सम्झाउँथे । तर दुवैले हाँसेर टारिदिन्थे ।

राम्रोसँग पढ्न पाएकोले सन्तेले सजिलै उच्च शिक्षा हासिल गर्यो । लोक सेवा आयोग पास गरेर सरकारी कार्यालयमा अधिकृतमा नाम निकाल्न सफल भयो । गाउँमा चौतारा, चियापसल, खेतबारीमा सन्तेकै चर्चा चल्यो । सबैको तारिफ सुनेर दम्पति मख्ख परे ।

तीन कक्षामा पढ्दै गर्दा दश वर्षकी हुँदा फुलमायाको रामप्रसादसँग बिहे भएको थियो । जिन्दगीका उकाली र ओराली गर्नेक्रममा उनले चार सन्तान जन्माइन । तीन खेर गए । ओखतीमुलो गरेर बचाएको सन्तेले कुलको ईज्जत राख्दा दुवैले भगवानलाई धन्यवाद दिए ।

हाकिम बनेपछि सन्तेको ध्यान धन कमाउनतिर गयो । गाउँमा रामप्रसाद र फुलमायालाई बुढ्यौलीले छोप्दै गयो । सेतो केस र छाउरी परेको अनुहारमा तैपनि सन्तोष झल्कन्थ्यो ।

सन्तेको सफलता सुनेर छोरी दिएर नाता जोड्न टाढा टाढाबाट आफन्त र ईष्टमित्र आउन थाले । कोही दाइजो त कुनै केटी र खान्दानको वखान गर्थे । रामप्रसाद भने छोरा के भन्छ भन्दै टारि दिन्थे । कहिले छोरा गाउ फर्कला र विवाहको कुरा गरौंला भनेर बाटो हेर्न थाले । एक दिन पण्डित बाजेले पारी भञ्याडका मुखियाको छोरीको प्रस्ताव ल्याए । केटी सुन्दर र सुशील थिइन । पढेलेखेकी बुहारी र राम्रो घरानाको प्रस्ताव छाड्नु हुदैन भन्ने उनलाई लाग्यो । छोरासँग सल्लाह गर्न शहर जाने निधो गरे ।

श्रीमतीले ठिक्क पारिदिएको खिर र घयू झोलामा च्यापेर कुखुराको भाले नवास्दै उनी शहरतिर हिडे । नदीको तिरैतिर उकालि ओराली गर्दै उनी पाँच घण्टा हिडेर बस स्टेसन पुगे । नागवेली पर्दै सडकमाथि कुद्दै वस साँझ शहरको बस अड्डा पुग्यो । नजिकैको पसलबाट टेलिफोन गरेर उनले छोरालाई लिन वोलाए । आधा घण्टामा सन्ते गाडि लिएर आईपुग्यो र खुट्टा ढोगिदियो । रिष्टपुष्ट, सुकिलो भएको छोरा देख्दा उनलाई सुखको अनुभूति भयो ।

गाउँघरतिरको हालचाल सोधेपछि खाना पकायो र खाए । रामप्रसादले विवाहको कुरा राखे । सन्तेले वेवास्ता गर्दै आलटाल गर्यो । बिहे उसैले गर्ने हो भनेर केही वोलेनन । पर्सिपल्ट निराश हुदै गाउँ फर्किए । दुई महिनापछि सन्तेले गाउँ फर्किर आमा, बालाई भन्यो ‘बिहे गर्न केटी खोजेको छु लिन आएको ।’ बुहारी धनी घरकी जागिरे रहिछिन । आफ्नो कमाई र ससुरालीले दिएको रकमले सन्तेले शहरमै घडेरी किनेर घर बनायो । अफिस, श्रीमती र पैसामा ऊ व्यस्त भयो । गाउमा वेला वेलामा आमावालाई खर्चको लागि रकम पठाएपनि उतिसारो चासो दिएन ।

जवानीमा मरिमेटेर काम गरेकोले फुलमाया कमजोर वन्दै गइन । खोकिरहने उनलाई अलिकति हिडे कि स्या स्या भैहाल्थ्यो । गाउँमा धामी, झाँक्री र वैद्यको ओखतिले विसेक भएन । व्यथा वड्दै गयो । छिमेकीले शहरमा डाक्टरलाई देखाउन सल्लाह दिए ।

विरेलाई भैसी बाख्रालाई हेर्न अनुरोध गर्दै दैलोमा ताल्चा ठोकेर दुवै शहर झरे । गाडीको कर्कश आवाज, धुँवाको मुस्लो र मान्छेहरूको भीड थियो । रामप्रसादले छोरालाई फोन गरेर वोलाए । आधा घण्टामा सन्ते गाडि लिएर आईपुग्यो । फुलमाया खोक्दै लोग्नेसँगै गाडिमा चढिन । मानिस, मोटरको भीड छिचोल्दै गाडि एउटा घरको गेट अगाडि पुगेर रोकियो । चिटिक्कको दुई तले पक्की घर । दुवो र फुलहरू सजाईएको । वैठक कोठामा सोफा टिभी, खाना पकाउने र सुत्ने छुट्ट छुट्टै कोठा । छोरा, बुहारीको पौरख देखेर दुवै मख्ख परे ।

भोलिपल्ट आमालाई अस्पताल लग्दा डाक्टरले दम भएको छ भनेर औषधी लेखिदिए । चिसो चिल्लो नखान र धुवाँधुलोबाट वच्न सल्लाह दिए । एक सातामै फुलमायाले खोक्न छाडिन । छोराबुहारीको सुसार पाउँदा आफूलाई धन्य सम्झिए ।

दुई सातापछि सन्तेले आमाबुवालाई शहरका प्रसिद्व मन्दिर र हेर्न लायक स्थानमा लगेर देखायो । शहरमै वस्न आग्रह गर्यो । बिस्तारै समय वित्दै गयो । बुहारीले नाति पाएकोले दुवै मख्ख परे । फुलमायाले नातिलाई तेल घस्ने, नुहाउने गर्थिन । काख काखमा राखेर नातिलाई हुर्काएकोले विद्यालय जाने पनि भयो । नाति आमाबुवाभन्दा हजुरआमा र बुवासँग झ्याम्मिन्थ्यो ।

सयम वित्दै गयो । छोराबुहारीको माया पहिलाभन्दा पातलिदै गएको दुवैले महशुस गरे । शुरुमा ‘के खानुहुन्छ ? के लाउनुहुन्छ ? के गरौं कसो गरौं ?’ भन्ने बुहारीले चासो दिन छाडिन । खानपीन विग्रिदा फुलमायालाई फेरि खोकीले सताउन थाल्यो । ठसक्क परेर हेला गरेको देख्दा बुढाबुढी खिन्न हुन्थे ।

एक रात खाना खाएर सुत्ने तरखर गर्दै थिए । पल्लो कोठामा छोराबुहारी चर्को चर्को स्वरमा बोलेको सुनियो । ‘बुढीले रातभर खोकेर सुत्न पनि दिने हैन । खकार जताजतै थुकेर फोहोर भयो । कहिले घर फर्कन्छन हँ ? तिम्रो बा आमा ।’ बुहारीले छोरालाई ख्याप ख्याप्ती पारेकी थिई ।

सन्तेले श्रीमतीलाई सम्झाउदै थियो । तर बुहारीले पटक्कै मानिन । बुढाबुढी दुवैले झगडाको कारण वुझे । भोलि विहानै गाँउ फर्कने निधो गरे । मनभरी चिन्ताको आँधिवेहोरी मच्चिएकोले आँखा झिमिक्क नगरी बिहान छर्लङ्ग भयो । सवेरै उठेर सुतिरहेका छोराबुहारीलाई कुरे । रेडियोमा विहान सात बजेको समाचार बजिरहेको थियो ।

‘हामी जान्छौ वावु, घर लथालिङ्ग भयोहोला सम्हाल्नु पर्यो’ रामप्रसादले भने ।

‘अँझै केहीदिन बस्नुहोस न’ सन्तेले आग्रह गर्यो । बुहारीले पनि त्यसै भनिन ।

बुढाबुढीले मन राख्न मात्र भनेको कुरा वुझिसकेकाले घर फर्कने अडान लिए ।

हिड्ने वेलामा दुवैले झोला च्यापेर छोराबुहारी र नातिलाई हेरे ।

‘हजुर आमा र बुवा कहाँ जान लाग्नुभएको म पनि जान्छु नि’ आशिष जिद्दी गर्दै थियो ।

छोराबुहारीको अनुहारमा विछोडको पीडा थिएन । वरु पहिला ठुस्सिने बुहारीको अनुहारमा चमक देखिन्थ्यो । आँसु पुछ्दै बुढाबुढी गेटबाट निस्किए ।

धुँवाधुलो, गाडि र मान्छेहरूको भीड छिचोल्दै दुवैजना बसपार्कमा पुगे । फुलमाया खोक्दै वसमा चढिन । छोरो पछ्याएको छ कि भनेर वाटातिर हेरिन । मान्छेहरूको भीडमा सन्तेको अनुहार देखिएन । एकैछिनमा बस कुदयो । शहरको कोलाहल बिस्तारै पातालिदै गयो । यात्रुहरू आ–आफ्नै धुनमा मस्त देखिन्थे । फुलमाया छोरालाई सम्झेर टोलाउन थालिन । सन्ते सानो छदा आमा, वा भन्दै एकछिन छाड्न मान्दैनथ्यो । अघिपछि हिड्न नपाए रुने कराउने र झगडा गर्दथियो । तर आज विछोड हुँदा उसले पछ्याएन । फुलमायाका आँखा भरिए । उता रामप्रसाद मलिन देखिन्थे ।

उचालिदै थेचारिदै अनेक घुम्ती पार गर्दै बस भञ्याङ्गको बस स्टपमा रोकियो । झोला वोकेर यात्रुहरूसँगै बुढाबुढी पनि ओर्लिए । डाँडापारि क्षितिजमा घाम डुव्दै थियो । दुवैले उतैतिर पाईला वढाए ।
घरपुग्दा झमक्क साँझ परेको थियो । रामप्रसादले छामछुम गर्दै ढोका खोले । फुलमायालाई च्यापेर बिस्तारै भित्र लगे । मनभरी पीडा गुम्सिएपनि दुवै जनाले ओठ खोल्न सकेनन ।

‘भोक लाग्यो होला भात पकाउँ है’ सन्नाटा भंग गर्दै फुलमायाले भनिन ।

‘दिउँसो खाजा खाएको छैन, म पकाउँछु नि’ रामप्रसादले भने ।

छोरा, बुहारी र नातिसंगको विछोडले मन भरिएकोले पेट खालि भएपनि भोकै सुत्ने निधो गरे ।

ओछ्यानमा पल्टिए । पटक्कै निद्रा परेन । गड्याङ्ग गुडुङ्ग गर्दै एकैछिनमा मुसलधारे वर्षा भयो । दुवै छोरालाई जन्माएको, हुर्काएको, पढाएको, शहर पढन पठाएको, हेला भएर घर फर्केको सम्झिए । वलिन्द्रधारा आँसुले सिरानी चप्लक्क भिज्यो ।

‘कुकुरी काँ’ भालेको डाँको सुनियो । फुलमाया सकि नसकि खोक्दै उठिन । घर नजिकैको रुखमा चराहरू चिरवीर चिरवीर गर्दै विहानीको गीत गाइरहेका थिए । पीढिमा कसिगंर थुप्रिएको थियो । आँगन झारपातले भरिन लागेको थियो । कुचो निकालेर फुलमायाले बडारिन । मझेरिमा गइन । निलो भइसकेको तामाको गाग्री डोकोमा हालेर पधेरातिर हिडिन । ‘ओ हो कहिले आईपुग्नुभएको बज्यै ?’ छिमेकी पर्धेनीले सोधे । ‘हिजो राति आईपुग्यौ’ खोक्दै फुलमायाले भनिन ।

‘झिलिमिलि शहर किन छाडेर आउनु भयो त नि उतै छोराबुहारीसँग नवसेर ?’ जिज्ञासा राखे । खोकेको देखेर कसैले सन्चो छैन कि भनेर सोधे ।

फुलमायाले शहरमा धुवाधुलोले खोकी वडेकोले गाउतिरको सफा हावापानी खान फर्किएको वताइन ।

गाग्री भरिएपछि सकि नसकि वोकेर घरतिर हिडिन । फरासिली फुलमायाको उदास अनुहार देखेर पधेर्नीहरूले वेठिक भएको लख काटे ।

फुलमाया पानी लिएर पुग्दा रामप्रसादले दोकानबाट दाल, चामल, मसला ल्याएर आँगनमा खुर्पाले दाउरा ठुन्काउदै थिए । धेरै वर्षपछि चुल्होमा आगो वल्यो । खाना पाक्यो । फुलमायाले खाना पस्किन । ‘कसरी खानु हो यो बुढेसकालमा यति धेरै खाना’ थालभरी खाना देखेर उनले भने ।

‘हिजो पनि केही खानु भएको छैन सन्तेको बुवा’ उनले कर गरिन ।

सन्तेको नाम सुनेर फेरि दुवै मलिन भए । यही घरमा पहिला फुलमाया हाँसी हाँसी खाना पस्कन्थिन । बाउ छोरा मिठो मानी मानी खान्थे । कति खुसीयाली थियो परिवारमा । आज सन्ते नहुँदा घरवार नै उजाड बन्न पुग्यो । अतित सम्झेर फुलमायाका आँखा भरिए । सुक्क सुक्क रुदै उनले पछ्यौरीले आँसु पुछ्नि । ‘नरो, के गर्छेस हाम्रो कर्ममा यस्तै लेखेको रैछ’ आधा खाना थालमा छाडेर रामप्रसाद उठे । हात चुठन बाहिर निस्कदा उनको आँखाबाट आँसु वगिरहेका थिए ।

गाउमा फेरि यही परिवारको चर्चा चल्यो । सबैतिर ‘बुढाबुढी किन फर्किए ?’ भनेर निधिखुदी हुन थाल्यो । ‘छोरा बुहारीले हेरेनन होला, छोरा पाए बुहारीलाई, छोरी पाए ज्वाईलाई, बुढालाई बुढी र बुढीलाई बुढा चाहिने रैछ’ अनेक गन्थन सुनिए । हितैसिले दुःख मनाउ गरे । शत्रुहरू खिस्सी गर्दै हाँस्न थाले ।

समय वित्दै गयो । सन्तेले वर्षमा दुई तीन पटक गाउँलेसँग अलिअलि खर्च पठाई दिन्थ्यो । सानैदेखि पुलपुलाएर पालेको छोराको उज्वल भविष्य वनाउन ऊ सम्पति कमाउने धुनमा मग्न भयो । ।
यसैले दशैंमा पनि गाउँमा टीका थाप्न जाने फुर्सद पाएन ।

आशिस १६ वर्ष पुग्यो । उसले एसएलसी पास गरेर क्याम्पस जान थाल्यो । छोरालाई क्याम्पस आउन जान सजिलो होस भनेर सन्तेले मोटरसाईकल किनिदियो । पढन् पुगेको केही महिनामै उसको संगत खराव साथीहरूसँग भयो । घुमफिर गर्ने, फिल्म हेर्नेक्रममा उसको एउटी युवतीसँग प्रेम बस्यो । पढाईमा पटक्कै ध्यान नदिदा फेल खायो । प्रेममा पागल भएको उसले युवतीलाई भगाएर घर ल्यायो ।

राम्रो डिग्री लिन पठाएको छोराले बुहारी ल्याएको दुवैलाई पटक्कै मन परेन । केटीलाई फिर्ता गरिदे भनेर सम्झाउदा नस्वीकारे मर्ने धम्कि दिएकोले चुपचाप बस्न बाध्य भए । केटी दिनभर टिभि हेर्दथिई । डिस्को जाने, वियर खाने, तास खेल्ने उसको दिनचर्या थियो । छोरा लन्ठु भएकोले केही कुराको जिम्मेवारी महसुस थिएन । छाडा चाला देखेर सन्ते र सपनाले एक दिन बुहारीलाई सम्झाउन खोजे । नमानेपछि हकारे । रोकतोक गरेको बुहारी सुस्मितालाई सैह् भएन । रिसको झोकमा राति अवेर रक्सीले टिल्ल परेर आउने । अग्रेजीमा नचाहिने नचाहिने गाली गर्न थाली । अति भएपछि एक दिन सपनाले बुहारीको गालामा चड्काइन । त्यसपछि बुहारी रुदै कोठामा गई र आशिसलाई घुर्कि देखाउदै भन्न थाली ‘कि म छैन कि तिम्रा बाउ आमा छैनन ।’ श्रीमतीलाई आमाले पिटेको सुनेपछि आसिस आगो भयो । आमा बाले सम्झाउन खोजे । उल्टै त त र मुख लगायो । अपमान गरेको देखेर सपनाले छोरालाई पनि थप्पड लगाइन । रक्सीले मात्तिएको आशिसले आमाबुवालाई हात र लातिले भर्कुन थाल्यो । बुहारी पनि हातपातमा उत्रिई । लुछाचुडि मच्चिएपछि छिमेकी आएर छुट्टाए । सन्ते र सपनाको शरीरमा चोटको निलडाम थिए । आशिसले सम्पतिमा हक खोज्दै मुद्दा हाल्ने र छुट्टिएर बस्ने निर्णय सुनायो । तनभरी देखिने र मनभरी नदेखिने चोट वोकेर सपना र सन्ते उपचार गर्न अस्पताल पुगे । त्यहाँ गाउँको साथी रमेस पनि छोराको उपचार गर्न आएको रहेछ ।

सन्चोविसन्चो सोधेपछि रमेशसले सन्तेलाई ‘तिम्री आमा सिकिस्त छन । खाली तिमीलाई मात्र सम्झिन्छीन’ भनेर खवर सुनायो । आमा वाको सम्झनाले ऊ छांगाबाट खसेजस्तै भए । सपनाले पनि सासूससुरालाई सम्झिइन ।

सन्तेले गाउँ नटेकेको पाँच वर्ष वितिसकेको रहेछ । बुढेसकालमा आमा, बाले कसरी दिन गुजारे होलान ? सम्झदा उनलाई रिंगटा लाग्यो । घरपुगेपछि रातभर सुत्न सकेन । झिसमिसेमै उठेर गाँउतिर जाने सुर कस्यो । श्रीमती पनि जान्छु भनिन । दुवै गाँउ जान ठिक्क परेको देख्दा छोराबुहारी खुसीले दङ्ग परे ।

बसमा चढेर गाँउमा पुगेर घर नजिकै पुग्दा परैबाट मानिसहरूको भीड देखियो । मनभरी चिसो वोकेर ऊ भीड छिचोल्दै अघि वड्यो । पीढिमा हाड छाला मात्र भएकी फुलमाया लम्पसार परेर सुतिरहेकी थिइन । आडैमा गाला चाउरी परेका धुलो मैलो देखिने बृद्व टुक्रुक्क बसेका थिए । ‘उ सन्ते आयो । बाटो छाडिदियो’ भीडमा सुनियो । ‘सन्ते आयो’ भनेको सुनेर लम्पसार परेर सुतिरहेकी फुलमायाको अनुहार धपक्क वल्यो । ‘भित्र गडेका आँखा, सेतै फुलेका कपाल, मैलो टालेको चोलो र गुन्यु । फोहोर कम्वलमा गुटमुटिएर सुतिरहेकी थिइन उसकी आमा । यस्तो विचल्ली देखेर सन्तेले मन थाम्न सकेन ।
‘आमा मलाई माफ गर्नुहोस, मैले हजुरहरूलाई हेला गरे’ ऊ अंगालो हालेर क्वाँ क्वाँ रुन थाल्यो ।

‘तिमी आयौ वावु, तिम्रो अनुहार हेर्न यो सास रोकेर राखेकी थिए’ वररर आँसु झादै फुलमायाले सन्तेलाई सुमसुमाउदै भनिन–‘भगवानले मेरो इच्छा पुरा गरिदिए ।’ उनले बुहारीलाई पनि मन नदुःखाऊ भन्दै हात समातीन । आडैमा बसेका रामप्रसाद ‘त्यसो नभन फुलु त भइनस भने म कसरी बाच्छु’ भन्दै सुक्क सुक्क रुन थाले ।

‘आमा त्यसो नभन्नुहोस, बुवा त्यसो नभन्नुहोस म आए सबै ठिक हुन्छ । म शहर लगेर उपचार गराउछु फेरि राम्रो भईहाल्छ नि ।’ सन्तेले रुदै भन्यो । उसको कुरा सुनेर निलो भइसकेको ओठ खोल्दै फुलमाया फिस्स हाँसिन । ‘मेरो कलेजीको टुक्रा तिमी मलाई हेर्न आयौं मलाई केही चाहिदैन, बुवाको ख्याल राख्नु । मेरो दानापानी सकियो । स्वर्गमा वोलाई राखेका छन । एक पटक तिमीलाई हेर्न यो प्राण अड्याएर राखेकी । पीर नमान सधै हासीखुसी बाच’ फुलमायाले सन्तेको टाउकोमा हात राखी । एकछिन पछि ट्वाल्ल परेर एकोहोरो हेरिरही । सन्ते आमा भन्दै डाँको छाडेर रुन थाल्यो । रामप्रसाद पनि माया माया भन्दै रुन थाले । सपना पनि भक्कानिदै रुन थाली । घरमा रुवावासी मच्चियो । श्रीमतीलाई अंगालो हालेर रुदै गरेका रामप्रसाद एकछिनपछि चलमल गर्न छाडे । यो देखेर सन्तेको मनमा चिसो पस्यो उसले ‘बुवा बुवा’ भन्दै वोलायो । रामप्रसाद चिसो भइसकेका थिए । उसलाई टेकेको धर्ती नै भासिएजस्तो लाग्यो । रुदा रुदै आफूलाई सम्हाल्न सकेन र वेहोस भयो । आधा घण्टापछि होस खुल्दा आफूलाई रुदै गरेकी श्रीमती र आफन्तले घेरिएको पायो । सबैले उसलाई सम्झाए । ‘के देख्नु पर्यो यस्तो विजोग’ भन्दै महिलाहरू रोइरहेका थिए । ‘लास राख्नुहुदैन लैजानुपर्छ’ भीडमा छिमेकीहरू भन्न थाले । सन्ते आमाबुवालाई अंगालो हाल्दै ‘म पनिसँगै जान्छु’ भन्दै रोइरहयो ।

हेर्दा हेर्दै फुलमाया र रामप्रसादलाई गाउँलेले हरियो बाँसमा राखेर कात्रोले वेरे । शंख वजाउदै घाटतिर सोझिए । सन्तेपछि पछि लाग्यो । पहिला यही घरबाट वा र आमासँग निस्कदा सन्ते जहाँपुगेपनि साँझ हाँसखेल गर्दै टुप्लुक्क घर आईपुग्थ्यो । सानोमा कहिले आमाको पीठ्यूमा त कहिले बुवाको काँधमा चढेर घर फर्किएको हुन्थ्यो । तर आज वा, आमासँग घर छाडेको ऊ एक्लै फर्कनेछ । बुवाआमा कहिल्यै नफर्कने गरी जादैछन । उसले मन थाम्न सकेन । बरवरी आँसु झार्दै ऊ घरी आमा त घरी बालाई काँध दिएर नदीको घाटतिर मलामीसँगै ओराली लाग्यो ।

नदीमाथि बनाईएको चित्तामा सन्तेले आगो झोस्यो । बिस्तारै फैलिएको आगोको लप्काले लास जलाउन थाल्यो । नदी किनारामा कपाल र दाह्री खौरिएर टुसुक्क बसेको सन्तेले आमाबुवाले खुवाएको, हुर्काएको पढाएको सम्झियो । आफूले छोरालाई जसरी माया गर्दथियो उसका वा, आमाले पनि उसलाई त्यसरी नै माया गरेका थिए । आफूले आमा, बालाई जसरी हेला गर्यो ठिक त्यसरी नै उसलाई पनि छोराबुहारीले हेला गरे । उसको मनभरी पीडा भरियो । भोक लाग्दा आमाले खाना दिन्थिन । बाले दोकानबाट विस्कुट किनेर दिन्थे । कसैले कुटपीट गरे हप्काएर जोगाउथे । उसको मनमस्तिष्कमा अतित झल्झली छाउँछ ।

उसका लागि जन्माउने, हुर्काउने, पढाउने, बाँच्न सिकाउने उनै आमा र वा नै त थिए । देउता भनेपनि, गुरु भनेपनि, साथी भने पनि उनी नै थिए । जीवन दिने देवतालाई उसले समयमै चिन्न सकेन । पवित्र मनले पूजा गर्न सकेन । उसैको सुखको लागि जिन्दगीभर अनेक सास्ती खेपेका देवी र देवताको आत्मा टाढा धेरै टाढा गइसकेको थियो । बाँकिरहेको देह पनि चितामा जलेर खरानी वन्दै थियो ।

सुख, सम्पति र सन्तान मोहको पछि कुददा कुददै आफ्नो कर्मदातालाई विर्सेर हेला गरेकोमा ऊपश्चातापमा जल्छ । पीडा र वेदनाको भूमरीमा फसेको उसको मनले भन्छ ‘आमा, बा एकपटक उठनुहोस न । म सेवा गरेर प्रायश्चित गर्न चाहन्छु । गल्ती सुधार्न चाहन्छु ।’ तर उसको मनको पीडा वुझिदिने, सुनिदिने यतिखेर कोही हुदैनन । मलामीहरूको भीडमा ऊ एक्लो हुन्छ । केही समयमा उसलाई सबैभन्दा धेरै माया गर्ने आमा र वाको शरीर जलेर अस्तुको थुप्रो बनिसकेका थिए । मलामीहरूले अस्तुलाई नदीमा बगाई दिए । अस्तु नदीको भेलमा वगेर कता कता विलायो । फेरि कहिल्यै नफर्कने गरेर ।

प्रेम नेपाली
पोखरा ५ मालेपाटन

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *