फुटाइएका चुराहरू



हास्न पाउने कथाहरू
बाच्न पाउने कथाहरू
यी चाउरिएका मनहरूमा
कसरी पो भर्लान यिनले
———————————

पन्नाहरू त अँझै खाली छन्
लेख्ने कलमहरूमा मसी खोइ
कसरी पो लेख्छन यिनले
मसी भर्दा निप भाचियो
कसरी पो कोर्छन यिनले

कति कति कथाहरू लेख्नु छ
कति कति कविताहरू कोर्नु छ
खोइ कसरी पो लेख्छन यिनले
खोइ कसरी पो कोर्छन यिनले
बन्दुकले कविता लेख्दैन
रगतको मसी बन्दैन
खोइ के भनौ
कसरी पो लेख्लान यिनले

धेरै कुराहरू लेख्नु छ
झुक्क्याएर लेख्न पाइन्न
हो नि बन्दुकले कविता लेख्दैन
रगतको मसी त्यो चल्दैन
अब कलममा मसी फेरेर
एउटा कथा लेख्नु छ
नया कथा हाल्नु छ
नया कविता कोर्नु छ
बाटोका गीतहरू छन्
जहाँ सुन्दर फूलहरू छन्
अबोध कोपिलाहरू
उज्ज्वल भविष्यको आगमनलाई
टोलाइरहेका आँखाहरू को
कथाहरू लेख्नु छ
कविताहरू कोर्नु छ
चित्रहरू पोतेर भित्ताहरूमा
रगतका टाटाहरू लिपेर
एउटा नक्सा छाप्नु छ
कुचीले रंग पोत्नु छ
कसरी पो कुँद लान यिनले
कसरी पो कोर्लान यिनले
अनि कसरी पो लेख्लान यिनले

फापरबारी तोरीबारी
खोलाकुलो को कविता छ
सीमानाहरूको कथा छ
भन्ज्यांग पौवा र पखेराको गीत छ
कसरी पो गाउछन यिनले
डम्फु मादल र सोरठिमा
मुर्चुङ्गामा
दमाहा ट्याम्को र नर्शिङ्गामा
ढोल ढोलक र तबलामा
कसरी पो नाच्छन यिनले

इतिहास पनि छ
धेरै काम भाको छ
कसरी पो लेख्छन यिनले
विचारका विम्बहरु
बेपत्ता भएको गाथा
भिंडमा मान्छे हराएको छ
त्यसको कथा
टायर बालेको ढुंगा हानेको
त्यो सेतो सारीको कथा
थातबात करेंसाबारिको
नून तेलको सिदा सामालको
कसरी पो लेख्छन यिनले

जडी बूटी ओखति मुलो
निको नहुने घाउहरूको
कसरी पो लेख्छन यिनले
कसरी पो गाउछन यिनले
कसरी पो लाउछन यिनले
छरिएका धेरै पीडाहरू छन्
अन्धकारमा
अब कसरी पो लेख्छन यिनले

हास्न पाउने कथाहरू
बाच्न पाउने कथाहरू
यी चाउरिएका मनहरूमा
कसरी पो भर्लान यिनले
यी चोइटिएका मनहरूको
फुटाइएका चुराहरूको
त्यो अँध्यारोमा
कसरी पो लेख्छन यिनले
कसरी पो देख्छन यिनले
धेरै कथाहरू लेख्नु छ
धेरै कविताहरू कोर्नु छ
मीठा गीतहरू गाउनु छ
बान्की मिलाई नाच्नु छ
खोइ कसरी पो गर्लान यिनले
==================
शान्तिराम ढकाल
क्यालिफोर्निया

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *