बालुवामा अल्झिएको जीवननदी


आज म एउटा सूफी कथाको नदीसँग आफ्नो जीवन तुलना गर्दैछु । सूफी कथाले भन्छ, एउटा सानो नदी सागर भेट्न हिँड्यो । आखिर नदी सानो होस् यो ठूलो सागर भेट्ने चाहना सबैको बराबर हुन्छ; चाहे त्यो मेरो घर आँगनको सिमखोलो होस् या सप्तकोशी दुवै सागर भेट्ने प्यास बोकेर लगातार कुदिरहेका छन् । नदीको अभिष्ट लक्ष्य र अस्तित्व नै सागरसँग मिलन हुनुमा छ ।

यसरी सागरसँगको मिलनमा हिंडेको नदी एकदिन एक बिशाल रेगिस्तानमा पुगेर अल्झिन्छ । त्यो वालुवै बालुवाको मरुस्थल नदीको निम्ति घिचलीलनसक्नुको समस्या बन्यो । आफ्ना सागर छुने आकाँक्षाहरू सेलाए । अगाडि बढ्न अनेक कोसिस गर्यो; उसका सारा प्रयासहरू निरर्थक सावित भए । नदीको प्राण ठूलो संकटमा परेको थियो । नदी मुस्किलले घस्रिन खोज्थ्यो; दुईचार कदम अगाडि बढ्न खोज्थ्यो । बालुवा भने आँ मुख बाएर नदीको सम्पूर्ण पानी पिइदिन्थ्यो । नदीको एउटा जीवन्त अस्तित्व त्यस रेगिस्तानमा पुगेपछि समाप्त भयो ।

नदीले हार खाएर निराशाको सुस्केरा काढ्यो । आत्तियो, हड्बडायो, रोयो अनि आखिरमा कुनै उपाय नलागेपछि रेगिस्तानसँग आँसु चुहाँउदै सोध्छ – मरुस्थलजी यो अनन्त मरुभूमिमय बाटो मैले कसरी छिचोल्ने होला ? हेर्नुस् तपाईका बालुकणहरूले मलाई सातसुत पिइदिए । मेरो जीवन यसरी सुक्यो कि अब म सागर छुन नपाउने भएँ । सागरसँग मितेरी गाँस्ने मेरो कतिठूलो अभिलाषा थियो, त्यो अभिलाषालाई तपाईले खरानी तुल्याइदिनु भयो । तपाईले मलाई धोका दिनुभयो । अब तपाईले एउटा उपाय दिनुपर्छ । म के गरुँ ?

बालुवाको पुकारा सुनेपछि बालुवाले भन्छ – तिम्रो सागरसम्म जाने एउटै उपाय छ, एउटै बाटो छ । पहिले आँखा उठाएर आकाशतर्फ हेर, त्यहाँ हावाका ववण्डर झोक्ँकाहरू सागरतिर हुँइकिँदैछन् । तिमी हावा जस्तो भएर, हावासँग मिलन गाँसेर सागर पुग्न सक्छौ । तिमी मेरो छाती टेकेर अर्थात, यो अनन्त बालुवाको थुप्रो छिचोलेर सागर पुग्न असंभव छ । हजार हजार साल तिमीले यहीवाटो सागर पुग्छु भनेर कोसिस गरेपनि तिमी असफल बन्छौं । तिमीले जति कोसिस गरेपनि मेरो प्यासी मुखले तिमीलाई अगाडि बढ्न दिंदैन; हद भए तिमी एउटा सानो दलदल सिवाय केही हुने छैनौ । त्यसकारण तिम्रो लागि उत्तम मार्ग आकाशमार्ग नै हो । हावाको साथबाट सागर पुग्नुको बिकल्प छदैछैन । बालुवाको कुराले नदीलाई झोँक चल्यो – पागल बालुवा ! म त जमिनमा बग्ने नदी हुँ, आकाशमा कसरी उड्न सक्छु र ? मेरो स्वभाव नै बग्नु हो । तिमी मेरो निम्ति असंभव हुने बाटो किन देखाउछौं ?

बालुवाले बोल्छ – मुर्ख नदी ! सागर छुने हो भने तिमी आफू मेटिन राजी हुनुपर्छ । आफू मिट्न राजी हुँदा आकाशमा उड्नपनि सक्छौं । पहिले तिमी तप्त हुनुपर्छ । बाष्पिभूत हुनुपर्छ । अनि वाफ बनेर हावामा सवार हुनसक्छौ । त्यति खेर हावा तिम्रो लागि उपयुक्त बाहन बन्न सक्छ । अनि तिमी सजिलै सागर पुग्न सक्छौं ।

बालुवाको कुराले नदीलाई चित्त बझ्दैन । नदी सन्देह जनाउँछ – म नदी हुँ कसरी मिट्न सक्छु र ? म स्वयं सागरको खोजमा निस्केको छु । आफ्नो जीवन्त अस्तित्व कायम राखेर सशरीर म सागरसँग मिल्न चाहन्छु, आफू मिटेर होइन । मेरो सबैभन्दा ठूलो चाहना आफू नामेट भएर होइन कि आफू भएरै सागर छुन चाहन्छु । तिमीले भने अनुसार तप्ताग्निमा जलेर आफू वाफ बनेर सागर भेट्नुको के अर्थ; मैले त नदीको रुप गुमाइसकेको हुन्छु ।

यसरी बालुवाको सुझाब अस्वीकार गरेर नदी मरुस्थलमै लाखौं वर्षदेखि भट्किरहेको कुरा सूफी बोधकथामा पढ्न पाइन्छ । मेरो मात्र होइन सरदर सबै मान्छेका सागर भेट्ने आकाँक्षाहरू मरुभूमिमा पुगेर भट्किएको पाउँछु ।

सूफी कथाको सानो नदीका सपनासँग धेरै मान्छेका सपनाहरू मिल्छन् । वालबयपछि उमेरका खुट्किलाहरू उक्लिदैं जाँदा उसका आकाँक्षाहरू बढोत्तरी हुँदै जान्छन् । वसन्तका मुजुरा जस्तो मान्छेका आँखामा सपनाका मुजुराहरू मुजुराँउछन् । अभिलाषाको साँगुरो संसार फराकिंदै जान्छ । चाहनाका शखिर चुलिन्छन् । वासनाको बिस्तृति असीम गतिमा फैलिन्छ ।

नदीको गन्तव्य सागर बने झैं मान्छेपनि निश्चित गन्तव्यका निश्चित किला ठोकेर यात्रामा बग्न थाल्छ । झोरखोल्सी छिचोलेर अगाडि बढ्ने क्रममा स्वास्नी, छोराछोरी, नातागोता, आफन्त, घरसंसार, रोजीरोटी, भबिष्यको बन्दोबस्ती र सुरक्षण आदिइत्यादि कुराको एउटा अटब्य मरुभूमिमा पुगेर जीवन नदी बिलाउने गर्छ ।

त्यो मरुभूमिमा आफू हराउन थालेपछि, हिजोसम्म छङ्छङ्गाएको नदी बिलाउन थालेपछि ऊ रुन थाल्छ, कराउन थाल्छ, चिच्याउन थाल्छ । याचना र पुकार गर्न थाल्छ आफूभित्र भित्रै पाक्छ, क्रोधित हुन्छ, क्षुब्ध हुन्छ, छट्पटाउछ अनि आफ्नो यात्रा बिथोल्ने मरुमुमि उपर आक्रोश फाल्छ । हामीलाई अल्झाउने मरुभूमिले मौन सिफारिस गर्छ – तिमी सागर छुने हो भने, तिमी सागर भेट्ने हो भने आफ्नो स्वरुप बदल । बाटो परिवर्तन गर । तरलताको बग्ने बाटो छोडेर हावालोकमा वायविक उडान भर । तिमी तप्त हुन सक्नुपर्छ, वाष्पिभूत भएर वायूलाई घोडा चढ्न सक्नुपर्छ । हावा एउटा सुन्दर घडीमा परिणत भएपछि मात्र गन्तव्यका सागर भेट्न सक्छौ । यसको लागि पहिले तिम्रो जलीय स्वरुप मिट्न तयार हुनुपर्छ ।

तर दुर्भाग्य परिवेशको मरुमूमिले हाम्रो कस्मिक बडीलाई कुँज्याइसकेको हुन्छ । वायविक उडान भर्न सक्तैनौं । हाम्रा पखेटा कि त काटिएकाछन्, कि त भुत्ला चुँडाइएका छन् कि त कुँज्याइएकाछन् । हामीले आफ्नो उडानक्षमता गुमाइसकेको छौं । फलस्वरुप मरुमूमिमा भट्किनुको विकल्प केही छैन । सयमा पन्चानब्बेको जीवनगति नै यस्तो भएको दृष्य देखिरहेछु ।

बालुवामा अल्झेको नदीले हद्द गरे केही मीटर जमिनलाई चीसो वनाउन सक्छ; अलिकति जमिनलाई दलदलमा रुपान्तर गर्न सक्छ तर त्यहाँभन्दा अगाडि लम्केर सागर ताक्न सक्तैन । सागर भेट्ने सूत्र बहुत गहिरो छ । एक त आफ्नो रुप परिवर्तन गर्नु पर्ने अर्को बिद्यमान बाटो परित्याग गरी नयाँबाटो अबलम्बन गर्नु; यी दुईटै कुरा ज्यादै महत्वपूर्ण छन् । तर मान्छे करौंतीमा रेती नलाई छिटो छिटो मूढो गिंड्न खोजिरहेछ । नरोपी नगोडी बाली टिप्न चाहने मान्छे नपौडी नदी तर्न खोज्छ ।

ठोस हुनु जम्नु, तरल हुनु बग्नु र वायविक हुनु उड्नु एउटै पानीमा भिन्न भिन्न रुपका आयामहरू हुन् । मान्छे बढी जम्न मनपराउछ, ठोस हुन मन पराउछ, एकठाउँमा स्थिर भएर आयू फाल्न चाहन्छ, बग्नलाई कन्जुसी गर्छ, तरल भएर लचिलो, गतिशिल, सकृय जीवनदेखि पनि ऊ टाढा भाग्छ अँझ उडान भर्ने कुरामा त ऊ टाढा रहन्छ तर मेरो जम्नुसँग बिरोध छ, स्थिर हुनुसँग प्रतिरोध छ, म बग्न चाहन्छु, अबिरल प्रबाहमा दौडिन चाहन्छु तर दौढमा मरुस्थलले बाधा पार्दा म तप्त हुन तयार छु, वास्पीभूत हुन जागा छु, भौतिक शरिरलाई आकाश सरिरमा तन्काउन तत्पर छु किनकि बालुवामा अल्झिन चाँहदैन मेरो जीवन नदी स्याँगीले छिमल्न सकेन भने समस्याको गर्धन खुकुरी कट्टी तरवारसँगै गिलोटिन सम्मै जानु पर्छ भन्छु म । जमिनको बाटो साँगुरो अफ्ठेरो र अवरोधमय हुँदा आकाशे वाटोमा उड्न तयार हुनुहुन्छ तपाई पनि, आउनुस् वायविक उडानमा सामेल होउँ ।

पुन्य कार्की
२०६२/४/२६

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *