हर्क र बिस्मातसँगसँगै (सुरुसुरुमा कविता छापिँदाको प्रभावहरू)

  • by


हर्क र बिस्मातसँगसँगै
(सुरुसुरुमा कविता छापिँदाको प्रभावहरू)

२०३३ सालमा मेरो कविता ‘एउटा पुजारीको सुझाव मन्दिरको देवीलाई’ महाराजगन्ज क्याम्पसको मुख-पत्र ‘अङ्कुर’ मा उत्रिएको सबभन्दा पहिलो (ऐतिहासिक घटना) भएता पनि म पोक्किनँ । किनकि कविता पेस्ने सबै विद्यार्थीहरूको कविताहरू स्वतः त्यहाँ उत्रिएको थियो । २०४३ सालमा मेरो अर्को कविता ‘मेरो हेराइको मतलब’ हेटौडाबाट प्रकाशित प्रगतिशील साहित्यिक पत्रिका ‘प्रयास’ मा उत्रिँदा खुब रमाएँ । तर मेरो शब्दहरू बदाल्दिएकोले त्यतिखेर म रिसाएँ पनि । अन्दाज २ दशकपछि एकै चोटि १३ फागुन २०६३ को ‘राष्ट्रिय जनमञ्च’ वर्ष ६ अङ्क ३० मा र १४ फागुन २०६३ को ‘तरुण’ मा ‘मर्द मौसुफप्रति’ भटाभट छापिँदा निकै हौसलाले उचालिएँ । ‘राष्ट्रिय जनमञ्च’ मा भन्दा ‘तरुण’ मा उत्रँदा धेर स्वाद मानेँ । किनकि स्तरीय साप्ताहिक अखबारमध्ये ‘तरुण’ पनि एउटा हो भन्ने मेरो सोच छ । ‘तरुण’ म निकै रुचाउँछु ।

फ्याक्सबाट पठाएको रचना छाप्दैन भन्ने ज्ञान मलाई थिएन । एकै कविता ‘गरिमा’, ‘मधुपर्क,’ ‘शारदा’, मा इमेल, फ्याक्स र हुलाक तीनै माध्यमबाट पेल्दैछु । प्रत्येक हप्ता एकै कविता ‘कान्तिपुर’, ‘राजधानी’, ‘अन्नपूर्ण’, ‘जनधारणा’, ’जनआस्था’, ‘जनादेश’, ‘घटना र विचार’, ‘तरुण’, ‘राष्ट्रिय जनमञ्च’, ‘छलफल’, ‘बुधबार’ ‘नेपाल समचारपत्र’ र ‘जनमत’ मा इमेल ठेल्दैछु । ‘मर्द मौसुफप्रति’ जस्तो राजालाई तीखो व्यङ्ग्यले घोचेको कविता छापिएको बुझ्दा लोकतन्त्र लागेको महसुस गरेँ । २० जेठ २०६४ मा तीन महिनाको शून्यता चिर्दै ‘राष्ट्रिय जनमञ्च’ मा ‘शाही स्पष्टिकरण (इतिहास उधिन्ने हो भने) छापियो । राजा ज्ञानेन्द्रको पक्ष लिएर लेखिएको ठानी नछापिएला कि भन्ने शङ्का निवारण भएकोले निकै मक्ख परेँ । ‘राष्ट्रिय जनमञ्च’ पनि म रुचाउँछु । ‘तरुण’ को १३ असार २०६४ को अङ्क र ३१ असार २०६४ को ‘राष्ट्रिय जनमञ्च’ मा ‘इन्द्रविनाको नेपाल’ उत्रियो । म खुसीमा बाँचे । तर यस्तो गणतान्त्रिक कवितासमेत एमाले (कम्युनिस्ट ) सर्मथक पत्रिकाहरू ‘छलफल’ र ‘बुधवार’ ले नछापेको देख्दा मलाई बिस्मात लाग्यो । त्यसपछि ती दुवैमा कविता पठाउन त्यागेँ ।

आफूलाई नराम्रो लागेको (अरुको कविताहरू) उत्रिएको देख्दा आफ्नो कविता छापिएको मजा हराउँछ । “त्यस्तो ढङ्गको कविता कसरी लेख्ने वा लेख्न सके पो मैले पनि” भन्ने खालको (डाहलाग्दो र प्रेरणीय) अरुको कविताहरू छापिए पो आफ्नो छापिएकोमा पनि पोक्किएको सार्थक हुन्छ । जसरी अरुको कविता छापिएकोमा म असन्तुष्ट र असहमत हुँदै नाक चेपर्याउछु त्यसरी नै मेरो कविताहरू छापिएको देख्दा अरुले पक्कै त्यसै गर्छ । आफ्नो मात्र राम्रो र उचित लाग्ने मानव स्वभावै घटिया छ ।

आशा टुट्ने बेलामा २० असार २०६४ को ‘घटना र विचार’ मा ‘प्रसवपीडा भोगिरहेको मुलुक’ (देश सङ्कटकालबाट गुज्रिरहेको) उत्रिएको पाउँदा औधी रमाएँ र मेरो आत्मविश्वास उक्सियो । किनकि साप्ताहिक खबरपत्रिका मध्येमा बेसी मैले रुचाउने नै त्यो छ । त्यसको समचार लेखन र विश्लेषण निकै घतलाग्दो, केही निष्पक्ष र विश्वासिलो लाग्छ साथै स्तरीय खबरपत्रिकामा त्यो पनि पर्ने मेरो धारणा छ । त्यसले गिरिजाविरोधी ढाँचाले समाचार विश्लेषण गर्ने भएकोले पो मैले रुचाएको हो कि ? तर त्यसलाई सन्तुलित गरी मैले पिउने गरेको छु । समसामयिक भएर पनि त्यो कविता छापिएको होला ।

मैले २०६४ पुस १२ बाट कविताको २ वटा शीर्षक (एउटा पाखा र अर्को कोष्ठकले छेकेर) राख्ने चलन थालेँ । यो मेरो नयाँ थालनी हो र मेरो कविताको पहिचान होस् भन्ने मेरो चाहना छ । नयाँ कुरा थालेँ भनेर मक्ख परिरहँदा देवकोटाले दुई वटा कविता ‘गैँडा पासना (अथवा यस अर्थ व्यङ्कटे युगको ध्वनि)’ र ‘आर्यघाटतिर (विषादिका)’ मा दुई वटा शीर्षक देख्दा खिस्रिक्क परेँ । तर उनले त्यसलाई निरन्तरता नदिएकोले त्यसको औचित्य भएन । मैले निरन्तरता दिनु सकेँ भने त्यसले मेरो आफ्नो पहिचान बन्न कर लाग्ने मेरो धृष्टता छ ।

दुवै शीर्षक कविताभित्रको हरफ सिधै (हुबहु) हुन नहुने, दुवै शीर्षकको अर्थ भरसक बेग्लै हुनु पर्ने र कम्तीमा दुई शब्दको शीर्षक हुनु पर्ने मेरो मान्यता छ । त्यसो गर्नु भनेको शीर्षक जन्माउँदा निधार खुम्च्याई मिहिनेत गर्नु हो भन्ने मलाई लाग्छ । एक शब्द र कवितामा भएको हुबहु शब्द वा शब्दहरू क्रमशः शीर्षक राख्नु भनेको अल्छी काम वा सिर्जनशीलता टाक्सिनु हो भन्ने मेरो मान्यता छ ।

९ साउन २०६४ ‘घटना र विचार’ मा ‘पाउनुभन्दा सम्हाल्नु चुनौतीपूर्ण (क्रमवेलको दुगर्ति भोग्नबाट जोगिने) छापिँदा खुब सन्तोष लाग्यो । किनकि खबरपत्रिका भए पनि मैले शीर्षस्थ ठानेको पत्रिकामा मेरो कविता दोहोरिएर उत्रिएको थियो । तर शीर्षक फेरेर छापेकोमा भने मलाई खल्लो भयो । ‘नौलो चुनौती’ भनेर शीर्षक फेरेछ । यो शीर्षक बेठीक नभएको भए पनि निजत्वमा हस्तक्षेप भएकोले मलाई अन्याय भयो । सोही कविता १३ साउन २०६४ को ‘राष्ट्रिय जनमञ्च’ मा र ३ भदौ २०६४ को ‘तरुण’ मा छापिई ह्याट्रिक गर्यो । त्यसरी तीन वटा पत्रिकामा भटाभट एउटै कविता उत्रँदा म रमाउने र उत्साहित हुनुको साटो बेमतलब भएको जस्तो हुन थालेँ । जे कुरा पनि धेरै भए पछि महत्व घट्ने कुरा मनोवैज्ञानिक प्रकृया नै हो ।

‘विविधताको निम्ति हुर्केकाहरू (न्यूनतम प्राप्तिको कोसिस) ५ भदौ २०६४ को ‘घटना र विचार’ मा फ्याट्ट छापिएको पाउँदा खुब स्वाद पाएँ । तर शीर्षक ‘प्रयास कम्सेकम’ बदाल्ने हस्तक्षेपकारी काम भएकोले मलाई खेद पनि साथै हुँदै थियो । म सिकारु कवि ठानेकोले यस्तो कार्य भएको ठान्छु । ‘घटना र विचार’ जस्तो मैले रुचाउने समचारप्रधान पत्रिकामा मेरो ३ वटा कविताहरू उतारिएकोमा र यस्तो दार्शनिक कविता पनि उतारिएकोमा मलाई छुट्टै सन्तोष थियो ।

‘बौलाउन नडराउनु पर्ने मैले (एकोहोरिनु नै बौलाउनु)’ जस्तो अराजनीतिक कविता १६ भदौ २०६४ को ‘राष्ट्रिय जनमञ्च, ३१ भदौ २०६४ को ‘तरुण’, ३१ भदौ २०६४ ‘जनमत’ र ‘गरिमा’ साहित्यिक मासिकको कार्तिक अङ्कमा भकाभक उत्रियो । ४-४ ठाउँ त्यही कविता छापिँदा वाक्क पनि लाग्दो रहेछ । तर ‘किन त्यसरी धेरै ठाउँमा छापियो त’ भनेर मलाई सोच्न बाध्य पार्यो । धेरै वटा कारणहरूमध्ये महाकविको बारे लेखिएको हुँदा छापिएको एक प्रमुख कारण हुन सक्छ । महाकवि देवकोटाको भर्याङले ४-४ वटा पत्रिकाहरूमा म उक्लिएँ ।

छापिएको मेरो कविता मैयाँलाई देखाउँदा बाख्रीलाई कविता देखाएझैँ बेवास्ता गरी । २ वटा कविता देखाउँदा पनि तिनले बेवास्ता गरेपछि मैले देखाउन छाडेँ । कविताले पैसा फलाउँदैन भन्ने तिनलाई विश्वास भएकोले त्यसो गरी भन्ने मेरो सोच । तिनलाई साहित्यको महत्व थाहा छैन । मलाई विश्वास छ- पाठ्यक्रमको साहित्यबाहेक तिनले फाल्टो साहित्य पढेर रोमाञ्चित, दुःखी, साहसी वा व्याकुल हुनबाट तिनी वञ्चित छे । मेरो अनुमानमा तिनले अनुभूतिहरू कलमको चुच्चोबाट छाद्दै सन्च हुने र कसैलाई प्रेमपत्र कोर्दै बैँस मनाउने काम नगरेकीले तिनीलाई साहित्यप्रति रुचि जागेन ।

२०६४ साल कातिक

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *