अनलाइन प्रेम


घडीको सुई भित्तामा कहिले चढ्दै त कहिले ओर्लदै थियो । शुन्यतामा टिक् टिक् आवाज काफी थियो मुटुको धड्कन अझ तेज बनाउन । यस्तै ९ बजेको हुदोँ हो । एक्लै धुम्धुम्ती कोठामा बसिरहेकी मलाई नजिकैको स्योकेशमा राखिएको किताबका खातहरूले टोकुँला झैँ हेर्दै थियो । सुरज गएदेखि मेरो एकान्तको साथी बनेका ती किताबहरूलाई खै किन हो आज पल्टाउनै मन भएन । किन किन मन फुङ् उडेको मरुभूमि जस्तै हुदैंथियो ।

यस्तो त मलाई कुनै अपशकुन हुनु अगाडि हुने गर्दथ्यो । म निद्रादेवीको काखमा लुट्पुटिन आतुर थिएँ । तर आज निद्रादेवीले त्यति छिट्टै बोलाउलिन् जस्तो कुनै छाँटकाँट नै देखिन । आँखा उध्रेका बोरा झैँ खुल्लै रहिरहेथ्यो जति च्यापे पनि । अलि पर हेरें टेबलमा ल्यापटपले मलाई जिस्काईरहेको थियो ।

म जुरुक्क उठें । ल्यापटप सुम्सुम्याएँ । कता कता सुरजलाई नै सुसुम्याउँदै छु जस्तो भान भो । यही त सुरजले अष्ट्रेलिया जानुआघि “सानी म गएपछि एकान्तलाई टाढा गर्ने साथी यही हो ।”भनेर उपहार दिएको थियो । साँच्चै यही त हो मेरो बेचैन मनलाई केही छिन भए पनि राहत दिलाउने । वाईफाई कनेक्सन गर्‍यो । नेटवर्कको बिभिन्न साईट हेर्‍यो । मन भुलायो । मैले ल्यापटप खोले । मुसुक्क हाँस्यो ल्यापटप मानौ ऊ मेरो निकै पुरानो साथी हो र भर्खरै भेट बहेको थियो । म पनि बन्द ओठबाट अलिकति हाँसेँ ।

याहु, स्काईप, फेसबुक, मझेरी या अन्य कुनै? कुन खोलौं मन घुम्यो । मेरो रोजाईका साईटहरू थुप्रै छन् तथापि म प्राय फेसबुक र याहु खोल्न मनपराउँछु । हातहरू स्वत फेसबुक खोल्नतिर अगि बढ्यो । साईन ईन गरेँ । राता राता नम्बरहरू म्यासेज बक्स, फ्रेन्डरिक्वेस्ट र नोटिफिकेशनमाथि नाचिरहेको थियो । पहिलो प्राथमिकता म्यासेज बक्सलाई लौ जा त । बिजुलीको झट्का झैँ म्यासेज बक्समा किल्क गरेँ । खासै त्यस्तो म्यासेज देखिन । अब पालो नोटिफिकेसनको । साथीहरूले आफ्ना रचनामा मलाई टाँग्न भ्याउनुभएको रहेछ । हातहरू युनिकोड टाईप गर्न हतारिए । विस्तारै विस्तारै साथीहरूको प्रतिकृया बक्स भर्न थालें ।

मन यसै भुल्न थाल्यो । मौनता भने कायमै । जरै गाडेर बसेको । मेरा आँखाहरू कहिले साथीहरूको स्टाटसमा त कहिले नव सृजनाहरूमा गएर टाँसिन्थें । मन परिहालेमा लाईक बटम थिचिहाल्थें । यसो आँखा घुमाउँदै थिएँ कि म्यासेज बक्समा गएर टक्क आडियो । म्यासेज बक्समा म्यासेज तरलङ्गं झुण्डिएको रहेछ । म प्राय च्याटमा बस्न रुचाउँदिन । त्यसैले केही भन्न मन लाग्यो भने मलाई साथीहरूले म्यासेज नै गर्नु हुन्थ्यो । हतार हतार म्यासेज हेरें ।

“स्वीटी याहुमा आऊ न ।” यस्तो लेखिएको रहेछ ।

पठाउनेको नाम हेरें । पठाउने उही मेरी प्यारी सखा रेबिना थिइन् । झण्डै दुई महिना भएको थियो होला उनी नेटवर्कको दुनियाँबाट हराएकी । त्योभन्दा अगाडि हाम्रो भेट अनलाइनमा प्राय जसो दैनिक हुने गर्थ्यो । उसले खोलीकी ‘मुस्कान’ ग्रुप निकै चलेको ग्रुपहरू मध्यमा एउटा पर्दथ्यो । हामी बेलुकाको समयमा प्राय यही ग्रुपमा च्याटमा मस्त हुन्थ्यौं । उनी निकै मजाकिया कुराहरू गर्थिन् । धेरै फ्यानहरू थिए । त्यसरी ग्रुप च्याटमा बस्दा समय बितेको पत्तै हुन्नथ्यो । साह्रै खुसी देख्न्थिन् । उनको फ्रेण्डलिस्टमा फ्रेन्डमात्रै झण्डै पाँचहजार पुग्न लागिसकेको थियो । प्रोफाईल पिक्चरहरू असाध्यै राम्रा हुन्थे । उनको तस्वीरमा लाईक गर्ने मात्रै सय दुई सय हुने अनि प्रतिकृया त कति हो कति । सबैसँग खुलस्त भएर बोल्न रुचाउने भएकीले होला सबैको प्यारी थिइन् । खुला हृदयकी धनी मेरी सखालाई म मिस गर्दै थिएँ । खल्लो अनुभव गर्दैथिएँ । आज टुप्लुक्क अनलाइनमा भेट्दा मन फुरुङ्ग भयो । मैले पनि “ओके डियर”भनेर रिप्लाई गरेँ ।

हतार हतार याहु साईन इन् गरेँ । उनी अघिदेखि अनलाईमै रहिछिन् ।”सरी ।” भनें “इट्स ओके स्वीटी”उनले रिप्लाई गरिन् । उनले भ्वाईस कल गरिन् । मैले रिसिभ गरेँ ।

“स्वीटी कस्तो हेर्न मन छ प्लीज क्याम देऊ न ।” रेविकाको अनुरोध थियो ।

मैले ठट्टा गर्ने मनसायले “किन हो बिर्सिसक्यौ र मलाई? “भनें ।

तर उनी गम्भिर मुद्रामा पो पाएँ । स्वर कता कता भासिए जस्तो लाग्यो । मैले क्याम दिएँ । अनि भनें, “म चाँहि तिमीलाई नहेरुँ?”

फिस्स हाँसेँ जस्तै आवाज कानमा ठोक्कियो ।

क्याम खुल्यो । साँच्चै उनी हाँस्ने असफल प्रयास गर्दैथिइन् । ओहो! म जिल परें । म कोसित बोल्दै थिएँ? आफैलाई शंका लाग्यो । रेबिका त हैनन् । ए हैन रहेछ उनी त रेबिका नै पो थिइन् त । म पनि फिस्स हाँसेँ उनलाई हेरेर । कस्तरी झाँटिएकी? एकछिन अल्मलिएँ । गालाका हड्डीहरू बढेका थिए । आँखा खोपिल्टाभित्र पसेका । नाक सगरमाथा झैँ ठडिएको । कपाल उस्तै रहेछ । अगाडि निलम कट पछाडि काँध काँध झरेको सगरमाथाको आधार-शिविरबाट झरे जस्तै । हाँस्दा दाँतहरूमात्रै सेता देखिने ।

“हैन कता हराएकी आजभोलि?”

मेरो प्रश्न सोझैँ तेर्सियो ।

प्रतिउत्तरमा साविकमा झैँ “अलि बिजी थिएँ स्वीटी डकुमेन्टस बनाउन धाएको धायै छु ।” पाएँ ।

उनी पछिल्लो २ वर्षदेखि युकेमा स्टुडेण्टस भिसामा पढ्दै थिइन् । अझैँ भिसा थपेर करियर डेभलोप गरेर मात्रै फर्किने सुरमा थिइन् ।

“ए अझैँ मिलेको छैन?”

“उफ् मिल्ला जस्तो छैन ।” स्वर भासिएको थियो ।

म मौन थिएँ । उनी मसँग हाँस्ने असफल प्रयास गर्दैथिइन् ।

तर मेरो नजरबाट त्यो लुक्न सकेन । सोधें, “केही लुकाउँदैछौ? के भो? किन यस्तरी दुब्लाएकी?”

सन्नाटा छायो । एकछिनमा मेरा कानाहरू चिसा भयो । उनी जे भन्दै थिइन् त्यसमाथि म सजिलै विश्वास गरिहाल्ने स्थितिमा थिइन ।

“स्वीटी मेरो राजसँग ब्रेक अप भयो ।”

उफ्! सायद यही सुन्नलाई होला आज मलाई निद्रा परेकै थिएन । एकछिन म ट्वाल्ल परें । उनी मसँग बारम्बार भन्ने गर्थिन राजको बारेमा अनलाइनमा भेट्दा । भन्थिन् “हामी केही वर्ष पछि बिहे गर्छौ । ऊ मेरो धेरै केयर गर्छ । मलाई के मन पर्छ, कस्तो कपडा, कस्तो खाना मन पराउँछु सबै थाहा छ राजलाई ।”

घर छाडेर यु. के. गएपछि राजलाई उनले अनलाइनमै भेटेकी थिइन् । उसले भने अनुसार राज अष्ट्रेलिया गएको तीन वर्ष भएछ । उनीहरू घण्टौं च्याटमा बिताउने गर्दथे । कुनै दिन अनलाइनमा नभेटदा दुबैलाई छटपटी चल्थ्यो । फेसबुकमै चिनेको राजले भन्ने गर्थ्यो रे “रेबिका तिमी नहुदोँ हो त म अनलाइनमा पनि बस्ने थिइन ।”

आफ्नो नितान्त व्यक्तिगत कुराहरू सबै मसँग सेयर गर्थिन् रेबिका आखिर बाल्यकालदेखिकै साथी जो थियौं हामी ।

दु:ख होस या खुसी मसँग सेयर नगरी मनले नमान्ने रे उनलाई ।

कति हँसिली देखिन्थिन् । राज र रेबिकाबिचको मायाको झाङ फैलदैं थियो । उनी राजप्रति यति विश्वस्त थिइन कि एकदिन मैले रेबिकालाई अनलाइनमा देखेर “हाई डियर” भन्दा “म रेबिका हैन सरी ल म त राज हुँ ।” भन्ने रिप्लाई आयो ।

मैले हत्तपत्त च्याट क्लोज गरेँ । पछि थाहा पाएँ रेबिकाको फेसबुक राजले चलाएको रहेछ । उसलाई रेविकाको आई डी र पासवर्ड दुबै थाहा रहेछ । रेबिकाले नै दिएकी रे । राज बेलाबेलामा त्यसरी रेबिकाको आई डी चलाउँदो रहेछ ।

मैले “डियर यति धेरै विश्वास गर्नु पनि ठिक हैन आफ्नो सेक्रेट नै बताउनु त ।”

हाँस्दै उनले त्यतिबेला मलाई “स्वीटी आत्तिनु पर्दैन । ऊ त्यस्तो छैन म राजलाई राम्रोसँग चिन्छु ।”
यति धेरै विश्वास अनलाइन भेटिएको प्रेमीमाथि । म दङ्ग परेकी थिएँ र आफ्नो मनलाई उन सक्छ उनीहरूबिच धेरै प्रगाढ माया भएर होला यो हदसम्म गएको भनेर सान्त्वना दिएकी थिएँ ।

त्यसपछिका दिनहरूमा रेबिकाले नबोलाएसम्म मैले कन्भर्सेसन गरिन । जतिपटक हामी बीच च्याट हुन्थ्यो त्यतिपटक उनी राजको कुरा गर्न छुटाउँदिनथिन् ।

एकपटक भिडियोकलमा “स्वीटी हेर त यो ड्रेस कस्तो छ? राजले आज मातृ कुरियो गरेर पठाएको ।” हल्का निलो रङ्गको वान पिसमा उनी सुन्दर देखिन्थिन् । मैले नियालेर हेरेको थिएँ । गलामा सेतासेता मोतिका दाना झैँ देखिने मालाको गोलो घुमाउरो बुट्टा थियो ।

मैले “वाउ ईट्स सो ब्युटीफुल डियर ।” भनें ।

उनी पनि दङ्ग थिइन त्यसदिन ।

भन्दै थिइन् “मैले पनि १ हप्ता अगाडि राजलाई आई फोन पठाएकी थिएँ ।”

यसो भनिरहदाँ उनी निकै प्रफुल्लित मुद्रामा देखिन्थिन् ।

यस्तै यस्तै चल्दैथ्यो । त्यसपछिका दिनहरू पनि खुसीसाथ बित्दै थियो । झण्डै २ महिना भएको थियो । मैले उनलाई नसम्झेको त हैन तर उनी अनलाइनमा देखिन छोडेकी थिइन् ।

सोचें सायद ब्यस्त होलिन् । भन्दैथिइन “स्वीटी अब पढाई सकियो । अब हार्ड वर्क गर्छु । बैङ्क ब्यालेन्स जो बनाउनु छ । यतिका वर्ष यही बसियो । अलिकति भए पनि पैसा त घरतिर पनि पठाउनुछ ।

उनले त्यसपछि कहिले नाईट कहिले डे सिफ्टमा काम गर्न थालेकी थिइन् । मासिक डेढ लाखसम्म हुन्छ भनेकी थिइन् । सायद काममा निकै ब्यस्त भइन् ।

एकदिन मलाई वेभक्याममा हेर्दै भनेकी थिइन “स्वीटी तिम्रो कपाल कस्तो ड्राई देखिएको । म यहाँबाट स्याम्पु र कन्डिसनर कुरियो गर्छु । यहाँको प्रोडक्ट्को क्वालिटी राम्रो हुन्छ ।”

मैले मैले मुसुमुसु हाँसेर “भैगो अहिले हैन । कुरियो गर्दा महङ्गो पर्छ । तिमी आउँदा नै ल्याऊ न ।”भन्दा उनी खुलेर हाँसेकी थिइन् । दिलदार हाँसो । मैले जीवनमा सायदै देखिकी थिएँ उनको मुहारमा काला बादलका धर्साहरू । मानौ उनी हाँस्न कै लागि जन्मिएकी हुन् । पुक्क परेको गाला, हल्का निलो थियो त्यो चिम्सा आँखाको रङ्ग । ओठमा हरदम मुस्कान झुण्डिरहने झर्नै नमान्ने । लाग्थ्यो दन्त्यकथाको राजकुमारी यस्तै हुँदिहुन् ।

तर तर उफ् ! टाउको भाउन्न हुन थाल्यो । कपालको जरा जरा दुख्न थाल्यो । कन्ञ्चट कट्कट् खान थाल्यो । घडीको टिक् टिकले फेरि शुन्यता चिर्न थाल्यो । भावशुन्य भै ल्यापटमा म मेरी सखालाई एकहोरो हेर्दै थिएँ । मेरी सखा कस्ती थिइन् । सूर्यमुखी फूलजस्ती । तर त्यो टेक्नोलोजीले दिएको अनुपम उपहार सानो ल्यापट भन्ने बक्सभित्र मेरी सखी सिचाँई बिनाको ओईलेको बिरुवा झैँ लत्र्याक्क परेकी थिइन् । उनी अब म बाट कुनै पीडा लुकाउन नसक्ने स्थितिमा पुगेकी थिइन् । विस्तारै उनको आवाज भक्भकिन थाल्यो भर्सिन लागेको भातको सुक्न लागेको पानि जस्तै भक्भक् । नजिकै भए अंगालोमा भरेर “नरोऊ म छु ।” भन्न मन लाग्यो । एकछिनमा उनी टेबलमाथि घोप्टिईन् । सुँक्क सुँक्क आवाज एकहोरो मेरो कानमा माहुरीको भुन् भुन् जसरी । उनको चम्किलो केश लाईटले झनै टलक्क टल्किएको थियो ।

केही बेर पछि दुई हातले आँखाको चेपचेपबाट बगेको आँशु पुछिन् अनि फेरि फिसिक्क हाँसिन् । र भनिन् “स्वीटी मन हलुङ्गो भयो ।”

म पनि उनीसँगै एकमुठी हाँसेँ ।

बोल्न खोजें । आवाज म्युट थियो । बल्ल बल्ल भोलुम बढाएँ, “कसरी यस्तो भयो?”

खै कसरी भनुँ । राज विवाहित रहेछ । एउटा छोरा पनि छ रे । मैले थाहा पाएँ । अनि सोध्दा ऊ मसँग झर्किएर ‘तिमी मलाई विश्वास गर्छौ कि अरुको? यसरी ममाथि अहिलेनै अविश्वास गर्नेसँग मेरो जीवन कसरी निर्वाह हुन्छ”भन्यो रे । रेबिका केही बोल्न खोज्दैथिइन् रे राज अफलाइन भैहाल्यो रे ।

त्यसपछिका दिनहरूमा राजलाई अनलाइनमा भेटिन रेबिकाले । कहिलेकाहीँ आक्कल झुक्कल देखिहाले पनि रेबिकाले बोलाउँदा पनि नबोली अरु नै केटीहरूसँग च्याटमा ब्यस्त ।

उसको यस्तो अविश्वासनीय ब्यबहारले रेबिका मर्महात भैइन् । एक छोराको बाबुले आफू अविवाहित हुँ भनेर प्रेम प्रस्ताव राख्दा त्यसभन्दा अगाडि आएका थुप्रै प्रपोजहरूलाई लत्याएर स्वीकृति दिएकी थिइन् रेबिकाले । भन्ने गर्थिन् “स्वीटी मेरो म्यासेज बक्समा लभ प्रपोजका म्यसेजले टन्नै भरिएको छ । ह्याङ्ग होला भन्ने टेन्सन् । हि हि ।”
उनी मस्त हाँस्थिन् । हुन पनि किन नाओस । राम्री उस्तै त्यसमाथि थुप्रै प्रोफाईल पिक्चर राख्थिन् । घरपरिवारसँग बिछोडिएर गएदेखि न्यास्रो मेट्न फेसबुकको प्रयोग गर्न फ्रेण्डलिस्टमा झण्डै पाँचहजार त फ्रेण्ड पुग्न लागिसकेको थियो ।

सयौं प्रस्तावहरूलाई पछाडि राखेर राजलाई विश्वास गर्न थालेकी रेबिकालाई मैले सम्झाउने प्रयास नगरेको पनि त हैन । एकदिन मैले भनेकी थिएँ “डियर यस्तो अनलाइनमा भेटेको मान्छेको के भर? यति धेरै गहिरेर पनि नजाऊ है ।”

“हुन त हो स्वीटी । तर राज तीमध्ये हैन । म पनि पहिले यसै भन्ने गर्थें । समय बिताउन मात्रै हो जस्तो लाग्थ्यो यी सब । राज जस्ता हजारौं भेटिन्छन् । तर पनि खै किन हो मनलाई सम्हाल्न सकिन ।” यसरी मैले सम्झाउँदा पनि नमानेर एकहोरो विश्वासमा प्रेम बर्षाइरही उनले ।

आज उनै प्रिय रेबिकाको मुटु क्षतबिक्षत भएको थियो ।

मसँग बोल्ने शब्दहरूको अभाव भयो । मात्रै यति भनें “डियर अनलाइन प्रेममा यस्तो हुन्छ । छोडिदेऊ । धेरै गहिरेर पनि नजाऊ ।”

तर सायद उनी धेरै टाढा पुगिसकेकी थिइन् । भनिन् “राज एक छोराको बाबु हो भन्ने जानेपछि पनि किन यो मन मान्दैन उसँग टाढा हुन?दिमागको कुना कुनामा राजसँगको याद खोपिएको छ । सायद म राजलाई आज पनि उत्तिक्कै माया गर्छु । कुनै खेल खेलिरहेकी छुईन जहाँ जित्नु पर्छ नै भन्ने छैन ।”

म उनको यस्तो प्रतिकृया सुनेर स्तब्ध भएँ । त्यसो भए के त? रेबिका प्रेममा पक्का डुबिसकिन् त?

म भावशुन्य भएँ । कुनै दिन “स्वीटी यो अनलाइनमा हुने गफगाफ मात्रै टाईमपास हो । यसले मलाई एक छेउ पनि छुदैंन ।” भन्ने गर्थिन् । तर आज ख्याल ख्यालमै उनी कसैप्रति प्रेमप्रति आश्क्त भैसकेकी थिइन् ।

न रङ, न रुप, न परिवेश, न भविष्य हेर्छ यो प्रेमले । सच्चा मनले प्रेम गरेको छ भने त्यति सजिलै बिर्सन सकिँदैन भन्छन् । साँच्चै नै उनी पनि उस्तै हालतमा थिइन् । राजसँगको बिछोड पछि पनि उस्तै माय गर्दैथिन् । अविरल अनवरत । च्याटमा बोलाउँदा राज नबोल्दा उनको मुटु छिया छिया हुन्थ्यो । पल पल मर्थिन् । मन यसै मरिसकेको र बाँकी रहेको त्यो तन पनि सुकेर खङ्ग्रङ्ग परेको रुख जस्तै । यस्तो लाग्यो मानौ कुनै खेतको बीचमा कपडा बेरेर गाडिएको बुख्याचा हो ।

कस्तो माया हो यो? जस्ले एउटा सुन्दर बस्ती उजाड परिदिन्छ, जस्ले मगमगाउँदो फूलबारीलाई उजाड उजाड मरुभूमिमा परिणत गरिदिन्छ । उफ् ! यस्तो पनि माया ।
म यस्तै तरङ्गमा तैरिदैँथें ।

“स्वीटी मेरो ड्युटीको टाईम भयो । नेक्स्ट टाईम भेटुलाँ ल ।” कानमा रेबिकाको मधुर आवज गुञ्जियो । म झस्याङ्ग भएँ ।

“हुन्छ डियर पिर नगर ल । आफ्नो केयर गर । सुख दु:ख यस्तै हो । आउँछ जान्छ । कहिल्यै समाप्त हुन्न । के थाहा तिम्रो राजकुमार राजभन्दा पनि बढी माया गर्ने अरु नै कोही पो छ कि? ओके बाई, सि यु, टेक केयर ।” मेरो मुखबाट ह्वार्ह्वर्ती निस्किएका यी शब्दहरू सुन्ने कोही थिएन । रेबिकाले अघि कल काटिसकेकी थिइन् । म त अघिदेखि एक्लै पो फतफताउँदै रहेछु ।

लाज पनि लाग्यो आफैदेखि एकछिन त । टाउको जुरुक्क उठाएर वरिपरि हेरें । भित्ता मलाई हेर्दै जिस्काउँदैथ्यो । चुपचाप ल्यापटप बन्द गरेँ । अनि ओछ्यानमा डङ्ग्रङ पल्टिएँ । आँखा चिम्म गरेर सुरजलाई सम्झिएँ । ऊ गएको पनि तीन वर्ष भैसकेको थियो । मैले रेबिकाको ठाउँमा आफूलाई राखेर हेरें अनि राजको ठाउँमा सुरजलाई । कल्पना गरेँ । कतै सुरजसँग मेरो पनि त्यस्तै बिछोड भएको भए । म त ज्युँदै मँर्थे होला । कल्पना गर्न पनि डर लाग्यो । सुरजको अनुपस्थिति बिनाको जीवन कहाली लाग्यो । रङ्गहिन जीवनको सतहमा म एकछिन पनि उभिन नसक्ने थिएँ ।

हाम्रो पनि त डेढ वर्ष लामो लभ अफेयर पनि यही अनलाइन प्रेमबाट नै शुरु भएको थियो । हाम्रो दिनहुँको च्याटले नै हामीलाई यति नजिक ल्याको थियो कि हामी एक अर्का बिना एकपल पनि बाँच्न नसक्ने भएका थियौं । सायद सुरजको बेईमानी राजलाई उछिन्ने अस्त्र बनेको भए म आज यतिखेर सुरजलाई यसरी सम्झिराखेकी हुन्न थिएँ होला ।

अहो ! मुटु कसरी काँप्दै थियो परिकल्पनाले मात्रै पनि । उसको अनलाइन विवाह गर्ने प्रस्ताब, अनि मेरो सहमतिले गरेको कोर्टम्यारिज । यी सब कुराको अहिले कुनै अहिमियत रहन्न थियो होला यदि राजकै बाटो सुरजले अपनाएको भए । यस मानेमा म भाग्यमानी रहेछु । अझ भन्नु पर्दा मैले रोजेको व्यक्ति गलत परेनछ । जति म इमान्दार थिएँ उति नै सुरज पनि ।

प्रेममा विश्वासको डोरी बलियो हुनु जरुरी हुन्छ । अझ गाँठो बलियो भयो भने कहिले चुडिदैंन । यस्तै मायाको बलियो डोरीमा हामी बाँधिका थियौ । अब मलाई सुरजप्रति असीम माया, स्नेह पलाएर आयो । किन किन मलाई सुरजको उपस्थितिको मीठो सपना देख्ने अनौठो रहर जागेर आएको थियो त्यसैले म छिट्टोभन्दा छिट्टो निद्रादेवीको काखमा लुट्पुटिन हतारिएँ । सुरजलाई सम्झदै न्यानो सिरकभित्रबाट दलिन गन्न थालें ।

बिना तामाङ ‘सुनगाभा’

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

5 thoughts on “अनलाइन प्रेम”

  1. धन्यवाद बिनाजी!
    “याहु, स्काईप, फेसबुक, मझेरी या अन्य कुनै? कुन खोलौं मन घुम्यो । …”

    मझेरीलाई पनि उल्लेख गरिदिनुभएछ । धन्यवाद छ । मझेरीको नियमित पाठक – “म” पात्र – पनि कृतज्ञताको पात्र छिन् है! 🙂

    1. किन किन मीठो लाग्छ मझेरिको सुगन्ध।
      धन्यवाद सर प्रतिकृयाको लागि।वास्तवमै भन्नु पर्दा म मझेरीको नियमित पाठक हुँ र हरेक पटक अनलाईमा बस्दा म मझेरीको सयर गर्छु।किन किन मीठो लाग्छ मझेरिको सुगन्ध।

  2. purna chhiring lopchan

    bina g sahi lagyo tapaaiko yo
    bina g sahi lagyo tapaaiko yo katha .ani thanks dina chahanchhu majheri.com laai kinaki yo samajiksanjaal bata yasto ramro ramro kathaharu padne maauka dinu bhayekoma.

    1. धन्यवाद हजुरलाई पूर्ण जी
      धन्यवाद हजुरलाई पूर्ण जी यति सुन्दर शब्दहरुमा प्रतिकृया दिनुभएकोमा।

Leave a Reply

Your email address will not be published. Required fields are marked *