प्रथम नारी गायिका मेलवादेवी गुरुङ

  • by


सवारी मेरो रेलैमा
सानु र सानु लैलै कुसुमे रुमाल बरिलै
ज्यान तिमीले पायौ कि बरिलै
झ्न् पर जान्छु लैलै झ्न् माया लाग्छ बरिलै
मोहनी लायौ कि बरिलै
सवारी मेरो रेलैमा!

(स्वर, सङ्गीत र शब्दः मेलवादेवी)

मेलवादेवी गुरुङ नेपाली आधुनिक गीतकी प्रथम नारी गायिका हुन्। सूबी शाहका अनुसार १९८५ सालमा भारत कोलकाताको हिज मास्टर भ्वाइस (एचएमभी)मा सवारी मेरो रेलैमा बोलको गीत रेकर्डिङ गराएकी उनी आफैँ गीत लेख्तै, धुन बजाउँदै गाउने गर्थिन्।

ज्ञानबहादुर लामिछाने गुरुङ र सप्तदेवी गुरुङकी जेठी छोरी मेलवादेवीको जन्म १९५६ सालमा भएको थियो। मेलवाकी भदैनी सिरीमाया गुरुङका अनुसार उनी ‘खलढुङ्गास्थित रुम्जाटारको काफलबोट गाउँमा जन्मेकी हुन्। त्यही ठाउँमा उनको स्मारक पनि रहने कुरा अर्का नातेदार सीताराम गुरुङले जनाएका छन्। पाँच वर्षको उमेरदेखि गाएर गाउँलेलाई छक्क पारेकी मेलवादेवीलाई राणाको दरबारमा भर्ना गर्न आमा सप्तदेवी गुरुङ र दिदी बलमाया गुरुङ १९६५ सालतिर काठमाडौँ पसे। चन्द्रशमशेरको दरबारमा दाखिला भएपछि उनको औपचारिक साङ्गीतिक जीवन आरम्भ भयो।

चन्द्रशमशेरको दरबारमा गीत गाउने मेलवादेवी दरबारको रङ्गमञ्च, सभा-समारोहका अतिरिक्त चन्द्रसँगै सिकारमा जङ्गल पुगेर समेत गीत गाउँथिन्। चन्द्रशमशेर पनि मेलवादेवीको स्वरका भक्त थिए। शुरुशुरुमा उनले चन्द्रकी रानी बालकुमारीदेवीबाट पनि बक्सिस पाउने गरेकी थिइन्। मेलवादेवीको कोकिल स्वरलाई विराट स्वरूप प्रदान गर्न मग्न चन्द्रशमशेरले उनलाई ख्यातिप्राप्त उस्ताद बालाप्रसाद शर्मा, गणपत, खेमचन्द्र आदिबाट शास्त्रीय सङ्गीत गायनको तालिम समेत दिलाए। त्यसपछि उनी झ्न् उत्कृष्ट स्वरकी गायिकामा दर्ज भइन्।

भनिन्छ, मेलवादेवीको स्वरले प्रकृतिलाई पनि पगाल्थ्यो। उनको स्वरका विषयमा छोरी विमला दीक्षितले धेरै अघि एउटा लेखमा भनेकी छन्, “मेरी आमाको स्वरमा महाराज चन्द्रशमशेरका साइँला छोरा हिजहाइनेस केशरशमशेर पनि भुतुक्कै हुन्थे। त्यसैले एक दिन टन्टलापुर घाम लागेको बेला केशरशमशेरले आमालाई भने अब यस्तो बेलामा गीत गाएर तिमी पानी पार्न सक्छ्यौ? त्यसबेला आमाको प्रत्युत्तर थियो पानी कति मात्रामा पर्छ म त्यो भन्न सक्तिनँ। तर आकाशमा बादल आउँछ र पानी पर्छ म यति भन्न सक्छु। अनि केशरशमशेरले आमासँग बाजी राख्तै भने लौ तिमीले भनेको कुरा पुग्यो भने म तिमीलाई पाँच हजार रुपैयाँ दिन्छु। आमाले डेढ घण्टा गीत गाएपछि आकाशमा क्रमशः बादल लाग्यो र पानी पर्न थाल्यो। अनि केशरशमशेरले स्याबास भन्दै आमालाई पाँच हजार रुपैयाँ बक्सिस दिए।”

चन्द्रशमशेरका पाहुनापासा आउँदा सिंहदरबारको बेलायती बैठकमा मेलवादेवीलाई झ्किझ्काउ पारेर उपस्थित गराइन्थ्यो। उनी अतिथिको रुचिअनुसार शास्त्रीय, आधुनिक, भजन, लोक र नेवारी गीत गाउँथिन्। उनको स्वर सुनेर चन्द्रशमशेर बराबर उनलाई धाप मार्थे। त्यसैले सिंहदरबारमा मेलवादेवीको ईर्ष्या गर्नेहरूको कमि थिएन। उनको स्वर बिगार्न रानी बालकुमारीदेवीकै इसारामा मेलावादेवीका शत्रुहरूले पानमा सिन्दूर राखेर खुवाए।

त्यसपछि उनको स्वर एक्कासि खस्क्यो, चन्द्रशमशेर अति दुखित भए। उनले मेलवादेवीको स्वरको उपचार गर्न बेलायतबाट चिकित्सक बोलाए। तर जति खर्च गरे पनि पहिले जस्तो हुन सकेन। तैपनि चन्द्रशमशेरले उनको स्वरको तारिफ गर्न छाडेनन्। मेलवादेवीको स्वर सुक्न थालेपछि पनि उनी भन्ने गर्थे “गा न गा, मलाई तेरो यही सुकेको आवाज नै मन पर्छ।”
चन्द्रशमशेरकी मन पर्ने गायिका भएकीले सिंहदरबारमा मेलवादेवीको औपचारिक सुरक्षा देखिन्थ्यो। त्यसबेला उनलाई पुरुषवर्गले प्रत्यक्ष सम्पर्क गर्नु, माया गर्नु वा स्नेह देखाउनु बाघसँग कुस्ती खेल्नुसरह मानिन्थ्यो। यति हुँदाहुँदै पनि चन्द्रशमशेरका छोरा बबरशमशेर मेलवादेवीप्रति प्रायः आक्रामक देखिन्थे भने तबलावादक भक्तकृष्ण मानन्धर उनको कला, रूप, यौवन र धनसम्पत्तिप्रति आसक्त थिए।

मेलवादेवी र चन्द्रशमशेरलाई एकअर्कामा समर्पित देख्दा रानी बालकुमारीदेवीलाई अति नै सकस पर्न थालेको थियो। त्यही परिवेशमा दरबारबाट मेलवादेवीको टिकट काटियो। चन्द्रशमशेरले उनलाई काठमाडौँको विजयश्वरीमा एउटा घर किनिदिए र २४ वर्षको उमेरमा उनी सिंहदरबारबाट निस्किइन्। उस्ताद भक्तकृष्ण मानन्धरलाई यो घटना ढुङ्गा खोज्दा देउता मिलेझ्ैँ भयो र उनी मेलवादेवीका पछिपछि लागे। मानन्धरले कैयौँ सपना-विपना देखाएर मेलवादेवीलाई दक्षिणकालीको मन्दिरमा लगी सिन्दूरपोते र चुरा धागोले सजाए। बिहेपछि भक्तकृष्णलाई सिंहदरबार छिर्न बन्देज लाग्यो, गुरुङसँग वैवाहिक जीवन गाँसेको कसुरमा उनी आफ्नो जातीय समाजबाट पनि वहिष्कृत भए।

पहिला पनि दुई वटा बिहे गरेर सन्तान जन्माएका भक्तकृष्णका मेलवादेवीका तर्फबाट दुइटी छोरी विमला र शान्ति जन्मिए। तर, भक्तकृष्णसँग बिहे गरेको केही वर्षमै उनको दाम्पत्य जीवन भङ्ग भयो। आखिर आफ्नो घरबार सस्तैमा बेचेर शुक्रराज शास्त्रीको सल्लाहमा कोलकाता जाने निर्णय गर्दै सुत्केरी भएको महिना दिनपछि नै दुई नाबालक छोरी च्यापेर रेलमार्गबाट कोलकातातिर लागिन्। त्यही यात्राको अनुभव सँगालेर उनले सवारी मेरो रेलैमा गाएकी हुन्। त्यस बेलासम्म नेपाली भाषामा नेपाली नारी स्वरको रेकर्डिङ भएको थिएन।

कोलकातामा मेलवादेवीको यात्रा स्वच्छन्दतावादी थियो। उनका खुट्टा रोक्ने न कुनै कल्ली थिए, न हात बाँध्ने बाईं। त्यसैले उनी साङ्गीतिक कार्यक्रमहरूमा प्रवेश गरिरहन्थिन्। घरी इलाहावाद सङ्गीत सम्मेलनमा पुग्थिन् त घरी रामगढ सङ्गीत सम्मेलनमा। जहाँजहाँ गएर आफ्नो गलाको कौशल देखाउँथिन् त्यहाँ त्यहाँबाट सुनका तक्मा पाउँथिन्। इलाहावाद सङ्गीत सम्मेलनले त उनलाई ठुमरीकी रानीको दर्जा नै अर्पित गरेको थियो।

मेलवादेवीले जीवनको उत्तरार्द्धमा आफ्नो नाउँ सुलभा राखिन्। त्यतिखेर आर्थिक रूपमा निम्नस्तरमै बामे सर्दै गरेकी उनी आफ्नो जीविकोपार्जनका साथै छोरीहरूको पालनपोषणका निम्ति कोलकाताकै मारवाडी बालिका विद्यालयमा सङ्गीतकी गुरुमा बनिन्। छोरीहरू पनि त्यही स्कूलमा भर्ना गरिए। त्यहाँको मात्र आयस्ताले नपुगेपछि आफ्नो कोठामा सङ्गीतको कक्षा समेत सञ्चालन गरेकी उनी शिष्यहरूलाई अध्यापन गराउने सिलसिलामा नेपाली, हिन्दी र बङ्गाली भाषामा बराबरी गीत गाइरहन्थिन्। दुःखसुख जीवन भोग्दै उनले दुवै छोरीको विवाह पनि गरिदिइन्।

छोरीको बिहेपछि डेरामा एक्लै बसेकी मेलवादेवी पहिलेझै एउटै कोठामा खाने-सुत्ने र विक्षिप्त मानसिक अवस्थामा घस्रँदै जीवन चलाउने गर्थिन्। २०१२ मङ्सिरको कुरा, खाना पकाइरहेका बेला स्टोभ पड्केर उनको शरीरमा आगो लाग्यो। भोलिपल्ट छिमेकीले कोठाभित्रै डढेको शरीर फेला पारे। कोलकाता मेडिकल कलेजमा लासको पोस्टमार्टम भयो। केही दिनपछि उनका धर्मपुत्र रामचन्द्र गुप्ताले लास बुझे। यो दुःखद् घटनाको जानकारी छोरीहरू विमला दीक्षित र शान्तिरानी आर्यले पछि मात्र पाए।

हिमाल खबरपत्रिका
वर्ष २१, अङ्क १०
पूर्णाङ्क २९४

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *