निबन्धमा शङ्कर लामिछानेको विम्ब

  • by


‘मान्छेले एउटा किरो पनि सिर्जना गर्न सक्तैन तर दर्जनौँ देवता बनाउन सक्तछ ।’ – मिसेल डे मोन्तेँ

१. विषयप्रवेश

शङ्कर लामिछाने (वि.सं. १९८४-२०३२) आधुनिक नेपाली निबन्धक्षेत्रमा लक्ष्मीप्रसाद देवकोटापछिका माइलस्टोन हुन् । उनका निबन्धले लेखकीय चेतना र चिन्तनको विविधता एवम् व्यापकतालाई प्रभावकारी विम्बका माध्यमबाट प्रस्तुत गरेका छन् । उनको प्रथम रचना २००३ सालको साहित्यस्रोत पत्रिकामा प्रकाशित ‘हाम्रो समाजमा नारीको मूल्य’ शीर्षकको प्रबन्ध हो । आत्मप्रकाशनका दृष्टिले यसको खासै मूमिका देखिँदैन । उनको साहित्यिक गुणवत्ताले भरिपूर्ण रचना २०१० सालको प्रगति पत्रिकामा प्रकाशित ‘लक्ष्मीप्रसाद देवकोटा’ हो । यो रचना नै नेपाली साहित्यको प्रथम निवार्ता वा नाटकीय निबन्ध पनि हो । लक्ष्मीप्रसाद देवकोटासितको वार्ता र अनुभूतिलाई सँगालेर तयार पारिएको यस निवार्तामा शङ्कर लामिछानेको चिन्तन र चासोमार्फत उनको व्यक्तित्व पनि अभिव्यक्त भएको छ । त्यसपछि उनका निबन्धहरू प्रगति, धरती, रूपरेखा, गोरखापत्र, मधुपर्क, अभिव्यक्ति, प्रतीक, त्रिफला, गुनकेशरी, रेशा आदि पत्रपत्रिका तथा अन्य सामयिक सङ्कलनहरूमा प्रकाशित भएका पाइन्छन् । उनका पाँचओटा निबन्ध कृतिहरू प्रकाशित

छन् ः एब्स्ट्रयाक्ट चिन्तन ः प्याज (२०२४), गोधूलि संसार (२०२७), विम्ब-प्रतिविम्ब (२०२८), शङ्कर लामिछाने (२०३२) र शङ्कर लामिछानेका निबन्ध (२०५९) । यीमध्ये विम्ब-प्रतिविम्ब नाटकीय निबन्ध र शब्दचित्रहरूको सङ्कलन हो भने शङ्कर लामिछानेका निबन्धचाहिँ शिव रेग्मीद्वारा सम्पादित नयाँ-पुराना छुटपुट निबन्धहरूको सङ्ग्रह को । शङ्कर लामिछाने कृति जीवनका कटु अनुभव अभिव्यक्त गरिएको शङ्कर लामिछानेको छोटो आत्मकथात्मक निबन्ध हो । शङ्कर लामिछानेका यिनै पाँचओटा कृतिहरूमा सङ्कलित रचनाहरूका आधारमा उनको निबन्धकारिताको स्वायत्त विम्ब पहिचान गर्नु यस लेखको उद्देश्य रहेको छ ।

२. चरणगत प्रवृत्ति

शङ्कर लामिछाने अध्ययन र अनुभूतिबाट निसृत विकीर्ण चिन्तनलाई अनौपचारिक शैलीमा उनेर निबन्ध रचना गर्ने बौद्धिक निबन्धकार हुन् । त्यसो भए पनि उनको उनन्तीसबर्से निबन्धयात्रामा विभिन्न विचार, शैली र रचना प्रक्षेपणका मनोवृत्तिहरू देख्न सकिन्छ । यसै सन्दर्भलाई स्पष्ट गरी उनको निबन्धकारिताका मूल विशेषताहरू पहिल्याउनका लागि यहाँ सम्पूर्ण लेखनयात्रालाई चार चरणमा बाँडेर विश्लेषण गरिएको छ ः

पहिलो चरण ः वि.सं. २००३-२०१९, दोस्रो चरण ः वि.सं. २०२०-२०२४, तेस्रो चरण ः वि.सं. २०२५-२०२७, चौथो चरण ः वि.सं. २०२८-२०३२

२.१ पहिलो चरणका निबन्ध र प्रवृत्ति

पहिलो चरणमा शङ्कर लामिछानेले वस्तुनिष्ठता ज्यादा प्रकट गरेका छन्, जसले गर्दा उनका निबन्धमा यथार्थ चेतनाले बोलबाला जमाएको छ । यस चरणमा जम्मा एघारओटा निबन्ध रचिएका छन् । नेपाली समाजमा नारीको मूल्य खोज्नु, देवकोटा, सम, कोइरालाबन्धु आदिसितको निवार्ता लिनु, यात्रा र फूललाई बाहृय यथार्थकै लाक्षणिक परिधिमा राखेर हेर्नु अनि कहिलेकाहीँ अन्तर चियाउन खोज्नुले उनका निबन्धमा आत्मप्रकाशनभन्दा बाहृय धारणा नै प्रबल भएको देखिन्छ । ‘चखुँतिति बखँुतिति’ जस्तो यात्रानिबन्धमा पनि उनले आत्मप्रकाशनको खास मिठास दिन सकेका छैनन् । ‘फूलहरूसँग प्रेम’ को सुरु र अन्त्यमा एउटा बोधो निर्देशन यसरी दोहोरिएर व्यक्त भएको छ ः

सुरु ः ‘एउटा चिनी उखान छ-एक दिनको आनन्द हो भने रक्सी खाऊ, तीन दिनको आनन्द हो भने विवाह गर र जिन्दगीभरि आनन्द पाउन चाहन्छौ भने फूलको बिरुवा लाऊ ।’

अन्त्य ः ‘जिन्दगीको आनन्द पाउन चाहन्छौ भने फूलको बिरुवा लाऊ ।’

एब्स्ट्रयाक्ट चिन्तन ः प्याजको भूमिकामा लामिछानेले लेखेका छन् ः ‘यिनै ताक मैले अध्ययन पनि गरेँ विभिन्न विषयका । वेद, दर्शन, इतिहास, साहित्य, कामकला जेजे हाथ पयो, जेजे सहजसँग उपलब्ध भयो । केही बुझेँ, धेरै बुझिनँ होला, तर तिनले सामूहिक रूपमा एक कुराको बोध गराए मलाईर् । त्यो के भने, नेपाली साहित्यका लागि प्रशस्त सम्भावना अझै उपलब्ध छन् । प्रशस्त विषय छन्, जो छोइएका छैनन् र पर्खिरहेछन् कलमको कोराइलाई । र भाषा हाम्रो यति सुन्दर, मलिलो र मीठो छ, यसबाट के उपलब्ध गर्न सकिन्न र ?’

यसले पहिलो चरण लामिछानेको निबन्धयात्राको प्रारम्भिक प्रयासको द्योतक वा आभ्यासिक अवस्था भएको प्रमाणित गर्दछ । यस चरणको अन्त्यमा अर्थात् २०१९ सालमा ‘शङ्कर लामिछाने’ र ‘भूपि शेरचन’ निबन्ध प्रकाशित देखिन्छन्, जसमा अनुभूतिको तीव्रता प्रकट हुन थालेको पाइन्छ । यसबेला उनले कथामा आफूलाई निकै अब्बल प्रतिभा प्रमाणित गरेका छन् । स्वभावैले कथामा संरचना मिलाउनुपर्ने, यथार्थ चरित्र, परिवेश र शृङ्खलामा ध्यान दिनुपर्ने हुन्छ । २०२८ सालमा प्रतीकमा प्रकाशित ‘कथाकार आफ्नै दृष्टिमा’ निबन्धभित्र उनी भन्दछन् ः ‘कथाकार म थिएँ हुँला कुनै ताक, अब म छैन । कथाका लागि जुन आयोजना, नियोजन र परियोजना, गर्नुपर्छ- त्यसबाट म वाक्क भइसकेँ ।’ यसबाट उनी जीवनको तारतम्यताका सदैव विरोधी र विद्रोह देखा पर्छन् । त्यसैले यस चरणमा लामिछानेले अध्ययनको विस्तार र लेखनको धार माझ्ने काम मात्र गरेका छन् तर नेपाली साहित्यमा निवार्ताको प्रारम्भ र विकास भने उनको यस अवधिको विशिष्ट प्राप्ति हो । यस दृष्टिले ‘लक्ष्मीप्रसाद देवकोटा’, ‘फूलहरूसँग प्रेम’, ‘शङ्कर लामिछाने’ र ‘भूपि शेरचन’ जस्ता निबन्ध महत्त्वपूर्ण छन् ।

२.१ दोस्रो चरणका निबन्ध र प्रवृत्ति

दोस्रो चरणमा शङ्कर लामिछानेले निबन्धमा अस्तित्वचेतना प्रकट गरेका छन् । आत्मप्रकाशनको भोकको प्रबलताका कारण यस अवधिमा उनको अनुभूतिको अभिव्यक्ति अत्यन्त तीव्र बनेको छ । यसलाई समेट्न उनले चेतनाप्रवाह पद्धतिलाई आफ्नो उपयुक्त मार्ग बनाएका छन् । यसले गर्दा उनका निबन्धमा आत्मयात्राको विराटता प्राप्त गर्न सकिन्छ । यसकै कारण लामिछाने शब्दका अमूर्त चित्रकार पनि बनेका छन् । लेखकको मानसिक द्वन्द्व चरममा पुगेको यस चरणमा पन्ध्रओटा निबन्धहरू रचिएका छन् । २०२० सालकै ‘सम्झनाको लयमा विलीन हँदै’ उनको सबैभन्दा अमूर्त निबन्ध हो । यसमा भनिएको छ- ‘जीवन त आश्चर्यले भरिएको एउटा वेदना हो ।’ उनको हृदयको धड्कन कति तीव्र छ भने ‘चुर्लुम्म । झ्वाम्म । (विस्फोट ?)’ ले त्यसको अभिव्यञ्जना गर्दछ । अनुभूति र अभिव्यक्तिका बीचको रिक्तताले जन्माउँछ निबन्धमा यस्तो अमूर्तता ‘तारापुञ्ज ः अन्धाको बे्रल ।’ निबन्धमा उनी प्रकट गर्दछन् ः ‘औँलाको प्रत्येक चोटले के मनको चोटको तीव्रता उत्तिकै मात्रामा ओसार्छ ? त्यसरी नै जसरी प्रत्येक शब्दले भावनाको तीव्रता र वास्तविक अनुभव अवतरित गर्छ ? आह । अवतरणमा मूलको रूप, मूलको सौन्दर्य, मूलको सत्यता रहन्छ र ? अवतरणमा, जो शब्दको माध्यम छ, जो एक घेरा छ, के त्यसले अन्तरद्वन्द्वीय र अनेक शक्तिका सङ्घर्षयुक्त व्यक्तित्व पकडिन सक्छ र ?’ अनुभूति र त्यसलाई शब्दमा अभिव्यक्त गर्दाका बीचको भिन्नताका बारेमा उनले बेनेडिट्टो क्रोसेको अभिव्यञ्जना सिद्धान्तलाई व्यावहारिक ढङ्गले पुष्टि गरेका छन् ।

जवानीले छाड्दै गरेको आक्रोश र जिम्मेवारीको बोधले नुहाउँदै गरेको पीडाको लेखकीय झङ्कार छ उनका यस चरणका निबन्धमा । यसमा पिताको व्यक्तित्वबाट विमुक्ति भएर पनि आफू पिताको अवस्थामा पुग्न नचाहनुको विद्रोह छ । यो व्यक्तित्व निर्माणको युद्ध हो, लेखनको आत्मस्वीकृति हो ः ‘यदि साथसाथ बस्ने दुई व्यक्तिको अस्तित्व पनि अलग एक-एक व्यक्तित्व हो भनी हामीले हृदयदेखि मानेको दिन एक नयाँ गोरेटो कोरिन्छ । गोरेटाहरूको अलमलिने जङ्गलमा त्यही गोरेटो म पैलाउँदैछु । स्वयम् म प्रथम पाइला सार्न सक्छु सक्दिनँ जान्दिनँ ।’ यो कन्ट्रोभर्सी लामिछानेका निबन्धमा प्रकटित छ । यसैले नै उनी नेपाली निबन्धमा नयाँ गोरेटो कोर्ने प्रतिभा पनि बनेका छन् ।

आत्मप्रकाशनको अमोघ भोक भएकाले लामिछाने लेखनमा लेखकीय इमानदार आत्मप्रकाशनको अपरिहार्यता आहृवान गर्दै ‘एक पत्र सम्पादकलाई’ निबन्धमा समाजका सम्पादक मणिराज उपाध्यायलाई भन्छन् ः ‘… के यस्तो हुँदैन, कहिले त साँढे र वषर्ाको सम्पादकीय त्यागेर तपाईं आफ्नो सच्चा कथन भन्न सक्नुहोस् ? के यस्तो हुन सक्तैन, कहिले आफैँलाई चिरेर आफ्नु महत्त्व छाप्नुहोस् ?’ लेखनको बारेमा उनको कथन ‘एब्स्ट्रयाक्ट चिन्तन ः प्याज’मा यसरी आएको छ ः ‘यसकारण म बाँचिरहेछु, किनभने मैले आजसम्म अरूलाई र आफूलाई नै रियलिस्ट चित्रण गरेको छु । रियलिस्ट चित्रणमा त, म एउटा प्याज हुँ- रङ्गहीन, पत्रै पत्रले मोडिएको, अनन्त दुर्गन्ध र गहिर्याइ ।’ यसैलाई निबन्धमा लेखकीय इमानदारिताको उत्कृष्ट विम्ब मान्न सकिन्छ ।

इमानदारीपूर्वक लेख्न स्वतन्त्रताको आवश्यकता पर्दछ । परिवार, इष्टमित्र, राजनीति, समाज र स्वयम् आफैँप्रति तटस्थ नभई त्यस्तो लेखन आकाशको फल नै भइरहन्छ । लामिछाने बोली र अभिव्यक्ति दुवैमा खुल्ला छन् । पिता राणाको चाकर भए पनि सामन्ती अवशेष उनको लेखनमा पाइँदैन । लेखकीय स्वतन्त्रताबारे उनको धारणा ‘साहित्य- आलुबखडा कि आउँ ?’ निबन्धमा तीव्रतासाथ आएको छ ः ‘… आजको मनुष्य पढ्छ, लेख्छ, सुन्छ, र अगाडि बढ्छ । वाद अपनाउनासाथ उसको प्रगतिमा घेरा लाग्छ । ऊ चाहन्छ स्वतन्त्र हुन, ठीक हो, कामुको अस्तित्ववाद उसको किताब पढुञ्जेल मेरा लागि ठीक छ । अन्तिम अक्षर नाघेपछि म समाप्त त हुन्नँ, ममा स्थिरता ढ्याम्मै त व्याप्त हुँदैन, त्यसभन्दा पर पनि सोच्नुपर्छ मैले, अनि पर जो म सोच्छु नि त्यो निश्चय पनि ‘अस्तित्ववाद’ को घेरामा बाँधिन सक्तैन ।… आउँदो साहित्य, प्रथमवचनमा लेखिएको व्यक्तिको आफ्नो अनुभव हुनेछ र त्यसमा दिन परदिन असत्यवादिता कम हुँदै गएको हुनेछ ।’ आत्मप्रकाशनप्रतिको यो समर्पण नै लामिछानेको पाठकमाथि विश्वास जगाउने सबैभन्दा बलियो हतियार हो । आफूलाई सबैसामु उदाङ्गो पार्न सक्नेले अरूका पक्षबारेमा भन्न कुनै कसर बाँकी राख्तैन । वास्तवमा प|mान्सेली निबन्धकार मोतेँले भनेजस्तो निबन्धमा आफ्नो व्यक्तित्वको खुला किताब बन्न शङ्कर लामिछाने सक्षम देखिन्छन् ।

चेतनाप्रवाहमा शङ्कर लामिछानेको अनुभूति यति तीव्र, भयावह र विसङ्गत छ, त्यस्तो क्रूर यथार्थपरक अभिव्यक्ति नेपाली निबन्धमा अन्यत्र पाउनु सम्भव छैन । ‘एब्स्ट्रयाक्ट चिन्तन ः प्याज’ निबन्धमा यस्तो जटिल प्रवाह छ, एक सासमा नअडीकन पढ्नुपर्ने ः ‘रोज मेरो प्रातःकाल तरकारी किन्न पैसा चाहियो – बाट प्रारम्भ हुन्छ, रोज मेरो मध्यान्ह पैसा आउने बाटो खोज्नमा खर्च हुन्छ, रोज मेरो सन्ध्या अति बढ्ता थाकेर आएछु-मा समाप्त हुन्छ । रोज मेरो परिचित कतै मर्दछन्, तिनको मृत्यु भुल्नुमा भविष्यको रेखाङ्कन गर्दछु, रोज अलि वर्तमानको मूल्याङ्कन गर्दछु । रोज मोल-मोलाइ, खरिद-विक्री, बन्धक-ब्याज गर्दछु- आफ्ना आस्थाको, आफ्ना विश्वासको आफ्ना इच्छा-आकाङ्क्षाको ।…’

व्यावहारिक जीवनका क्रियाकलाप र परिघटनामा मान्छेको अस्तित्व मृत्युका छेउमा कति निरीह छ भन्ने तथ्य चरम निराशा उत्पन्न गर्ने किसिमले ‘एक पत्र- सम्पादकलाई’ निबन्धमा प्रकट भएको छ ः ‘म बुझ्दिनँ त्यो जुम्रा जन्म्यो नै किन जब उसलाई लँगौँटीको कापमा दुईओटा औँलाका नङले पिसिएर मर्नु थियो ।… त्यो तरुनी केटी जो अग्रवालको थ्योरी अफ इकोनोमिक्स बोकेर कलेज जाँदै छे, किन त्यो पढ्छे जब उसलाई विधवा हुनुपर्ने छ, सायद पोइल जानुपर्ने छ, सायद वेश्यावृत्ति अपनाउनुपर्ने छ, सायद… त्यो बच्चा केको आशामा अरूले छापेका विश्वासहरू बोकेर स्कुल जाँदै छ, जब एक दिन उसलाई रानीपोखरीमा डुुब्नु नै छ, व्यर्थ बनी बेकार बनी, दुई-तीन छोराछोरीको पिता र एउटी स्वास्नीको पोइ र कैयन् अरू केटाहरूको प्रतिस्पर्धी बनेर ?…’ यी अभिव्यक्तिमा अनेकौँ विपर्यासहरू छन्, यसको अन्तरमा लेखकले भोगेको असहनीय वेदनाको छाप पनि स्पष्ट देखिन्छ ।

निबन्धमा अन्तर्कला चेतना शङ्कर लामिछानेको मौलिकता हो । साहित्यलाई चित्रकला र सङ्गीतसित जोडेर उनले निकै निबन्ध लेखेका छन् । त्यसबाहेक विज्ञान र व्यापारसँग पनि साहित्यको सम्बन्ध देखाउने अन्तर्विषयक अध्ययनमा पनि उनको रुचि देखिन्छ । ‘विथोविन तिमी आऊ’, ‘एब्स्ट्रयाक्ट चिन्तन ः प्याज’ वा ‘अम्बर गुरुङ’ जस्ता निबन्धमा साहित्यसित कलाका अन्य क्षेत्रको सम्बन्ध देखाइएको छ । यसबाट उनले शब्दबाट पनि अमूर्त चित्र खिच्न सकिने तथा सङ्गीतका लागि शब्दलाई भाँच्न नहुने विचार व्यक्त गरेका छन् । जीवनलाई, यसका विभिन्न फेसलाई वास्तविक चित्रण गर्दा त्यो अमूर्त हुन्छ भन्ने उनको धारणा अत्यन्त चित्तबुझ्दो छ । त्यसैले शाब्दिक सिम्फोनी बनाएर निबन्धमा आफ्नो र अरूको प्रभावकारी विम्ब सिर्जना गर्न उनी सक्षम पनि देखिएका छन् ।

लेखनका बारेमा आफ्नो नयाँपनलाई सङ्केत गर्दै उनले भनेका छन् ः ‘हुन सक्ला, कुनै कुनै लेखमा म विदेशी झल्किउँला तर मेरा सभ्य समालोचकले मलाई त्यस्तो प्रवासी ठाने हुन्छ, जो विदेशमा पनि नेपाली संस्कृतिको झन्डा बोकेर हिँडेको छ, लुगा उसले सुट नै लाएको किन नहोवोस् ।’ उनी मिश्रण हुन्- मिथ र विज्ञानका, ऋषि र विश्वकर्माका । त्यसैले उनी निबन्धमा दार्शनिक पनि हुन् र शिल्पी पनि हुन् । उनले निबन्धमा विचार र व्यवहारको फरक प्रस्ट पारेका छन् । व्यापारको व्यवहार र आस्थामा देखिने फरकपनको चित्रण गर्दै उनी ‘देउताको काम’ निबन्धमा भन्छन् ः ‘मेरा निमित्त बुद्ध सिर्फ बुद्ध रहेनन्, त्यो बुद्ध जसले ईश्वर छैन भन्ने धर्म निकाले र जो स्वयम् ईश्वरमा परिणत भए, जसले पञ्चशील बनाए र जो शिलामा बदलिए । म बुद्धलाई अढाइ इन्ची बुद्ध, नौ इन्ची बुद्ध, सोह्र इन्ची बुद्ध, भूमिस्पर्शमुद्रा बुद्ध, ब्रोन्ज बुद्ध र मुकुटधारी बुद्धको रूपमा मात्र चिन्दछु । म बुद्धलाई किनेको मोल चौध र बेच्ने मोल बीसमा मात्र चिन्दछु ।’ जीवन चलाउनका लागि गर्नुपर्ने क्रियाकलाप एवम् आन्तरिक भावनाका बीच तादात्म्य खोज्नु निरर्थक छ भन्ने सन्दर्भ लामिछानेले प्रस्ट पारेका छन् ।

यस चरणका विशिष्ट निबन्धहरूमा ‘सम्झनाको लयमा विलीन हुँदै’, ‘देवकोटा-केही फ्ल्यासब्याक’, ‘औपन्यासिक पात्र जीवनको पृष्ठभूमिमा’, ‘एक पत्र ः सम्पादकलाई’, ‘एब्स्ट्रयाक्ट चिन्तन ः प्याज’, ‘अम्बर गुरुङ’ आदि पर्दछन् ।

२.३ तेस्रो चरणका निबन्ध र प्रवृत्ति

तेस्रो चरणमा शङ्कर लामिछानेका निबन्धमा नैतिकचेतना बलियो देखिएको छ । यस चरणका पच्चीसओटा निबन्धका अन्तरमा समन्वयको गम्भीर चिन्तन निहित छ । सम्पादकको गल्तीले गर्दा ‘पत्र-मित्र ।’ शीर्षकको विज्ञानकथा पनि शङ्कर लामिछानेका निबन्धमा छापिएको छ । गोधूलि संसारको अवधारणा यसमा अत्यन्त सान्दर्भिक छ । यस चरणका निबन्धहरू जगत्को यात्रामा निमग्न देखिन्छन् । यस काललाई लामिछानेले व्यावसायिक लेखनको अवधि मानेका छन् । यी निबन्धमा गतिशीलता कम छ अनि ज्ञान र चिन्तनको बोझले ज्यादा झुकेका पनि छन् । मान्छेको प्राकृतिक आवश्यकताले उसलाई अस्तित्ववादी नबनाई वस्तुतिर बढी आकषिर्त गर्दछ । ‘सोमरस ः स्वयम्-रस’ निबन्धमा उनी लेख्छन् ः ‘जीवनजस्तो मीठो सुधा अरू केही छैन । यसको पसिना पनि बास्ना आउने-यसको पैसा पनि, यसको प्रयास पनि मन पन-यसको प्राप्ति पनि ।’ यस चरणका अधिकांश निबन्धहरू व्यक्तिका जीवनीमा पनि केन्द्रित छन् वा एउटा उदाहरणबाट जीवनलाई उपलब्ध हुन सक्ने सार मन्थन गर्न कटिवद्ध देखिन्छन् । त्यसैले ‘खै, बुझिँदैन ।’ निबन्धमा कलाको परिभाषा उनले यसरी गरेका छन् ः ‘प्रकृतिको रचनाकौशलबाट अलग हुनु नै कलाको आरम्भ हो । प्रत्येक मानिसको स्पष्ट हुने प्रयास पनि एक प्रकारले उसमा विद्यमान कलात्मक भावनाको प्रतीक हो ।’ वास्तवमा अघिल्लो चरणको भन्दा प्राकृतिक बहावबाट टाढा कृत्रिमताको आवरण ओढाएर यस चरणका निबन्धहरू रचना गरिएका छन् ।

आफ्ना निबन्धमा केवल शैलीको चमत्कार मात्र देख्नेलाई उनी व्यङ्ग्य गर्दै गोधूलि संसारको भूमिकामा लेख्छन् ः ‘भन्न मन लागेको थिया-दाइ, तिनमा शैली मात्र छैन । तिनमा भएका वेदना, प्यास, आकाङ्क्षा र नैराश्य, कला र सौन्दर्य, अनुभूति र अभिव्यक्ति, आदर्श र आस्था, ती केहीले पनि छोएनन् तपाईंलाई ? ती त म हुँ, मेरा अङ्ग हुन् । आफूलाई उद्घाटित गर्ने दुस्साहस भएको त्यस विधालाई के क्लासमा सिकाउन सकिन्छ, सिक्न सकिन्छ ?’ यस चरणमा लेखक पाठक र समालोचकप्रति केही आक्रोशित पनि देखिन्छन् तर उनको अभिव्यक्तिमा भने विनयशील व्यङ्ग्य नै पाइन्छ । उनमा मान्छेप्रतिको विश्वास उडेको छ र त्यसको मूल कारण हो-लेखक लामिछाने खरायो गतिमा धेरै अघि गइसके तर वरिपरिको समाज कछुवा गतिमा लर्खराइरहेछ । उनलाई उपयोग गर्ने साधन मात्र ठान्नेका विरुद्ध उनी उभिए । त्यसैले उनी अव्यावहारिक पनि ठहरिए । आवश्यकता, पेसा, इष्टमित्र, उमेर आदिमा धेरै फरक आइसकेर होला, उनी आफैँप्रति, आफ्नै दृष्टिप्रति असहमत हुन्छन् र ‘गोधूलि संसार’ निबन्धमा भन्छन् ः ‘खासमा म जोकर हुनुपर्ने, तर ईश्वरले एक ठूलो गल्ती गरे मउपर, महत्त्वाकांक्षा पनि घुसारिदिए टाउकामा । त्यसैकारण न म जोकर बन्न सकेँ, न भीम पहलवान् । जेजति लेखेँ, लाग्दछ मैले स्वयम् त के इतिहासले पनि मेट्न सक्ने छैन त्यसलाई र अर्कातिर लाग्दछ इतिहासले मलाई जिउँदै मेटिरहेछ । यस दुई परिस्थितिमा, मेरो के बिहान र के बेलुकी । यो जन्मै झिसमिसे हो, यो जम्मै गोधूलि संसार हो ।’ नैतिकताको चेतना यस चरणका निबन्धको विशेषता हो ।

‘जीवन ः एक प्राध्यापक ।’ निबन्धको अन्त्यमा लामिछाने लेख्छन् ः ‘जीवनमा सिक्न कहिल्यै छाडिँदैन रहेछ वा भनौँ जीवनले हामीलाई सिकाउन छाड्दैन रहेछ । सिक्ने कुरामा अल्छी मानेको पाए, जीवन झर्किंदो रहेछ र कुकुरलाई पनि गुरुको अवतार बनाई पठाइदिँदो रहेछ ।’ यसमा ज्ञान र प्रकृतिको नियामकता पाइन्छ, त्यसको आवश्यकता बोध गरिएको छ । यस चरणका महत्त्वपूर्ण निबन्धहरूमा ‘जीवन ः एक

प्राध्यापक ।’, ‘अन्तरिक्षको गोरेटो’, ‘एकदिन जो बाँचियो’, ‘अपोलो आठ र साहित्य’, ‘गोधूलि संसार’ आदि पर्दछन् ।

२.१ चौथो चरणका निबन्ध र प्रवृत्ति

चौथो चरणका निबन्धमा लामिछानेले व्यवहारचेतना देखाएका छन् । उनको लेखन निथि्रन थालेको अवधि हो यो । यस चरणमा जीवन र कलाको विपर्यासबोधलाई चाटचुट पारी प्रस्तुत गर्न खोजिएको देखिन्छ भने विषयको प्रस्तुतिमा सापेक्षित रूपले शुष्कता पाइन्छ । उनको दृष्टिघनत्व ‘ताजमहल’ निबन्धले देखाउँछ ः ‘हामी भित्र पस्छौँ, चिहानकोठामा । त्यहाँ गएर ताजमहलको सौन्दर्यको सारा सन्तुलन अनायास भत्किन्छ । आठकुने त्यस कक्षको ठीक माझमा मुमताजको कब्र छ । अनि ठीक त्यसको दाहिनेतिर सन्तुलन बिगार्दै बनाइएको अर्को एक कब्र । मलाई अनुभव भयो, मानौँ पत्नीको भिन्न ओछ्यानमा उसको स्वीकृतिबिना पति त्यसै अटेसमटेस गर्दै घुसि्रन आइपुगेछ ।’ यसले पति र पत्नीको सम्बन्धको प्रक्रिया पनि देखाउँछ र त्यसले सिर्जना गर्ने कुरूपता पनि ।

उनका कतिपय निबन्धमा बुढ्यौलीको हठी तार्किकता पनि भेटिन्छ । रक्सीको चिन्तन ‘स्केच नं. २-मदिरापान’ निबन्धमा यो पराकाष्ठामा पुगेको छ ः ‘यस्तो अवस्थामा पुग्न सफल भएको मानिसलाई तेरो लिभर बिग्रन्छ भनेर डाक्टरले जस्तै कराए पनि, ऊ मान्छ ? दूध खा… दूधै मात्र खाएर हुने भए, दूधै मात्र खाने हाम्रा अति प्रातःस्मरणीय पूर्वजहरू आज कहाँ गए ? उपदेश दिन साक्षात् उपस्थिति हुनुपर्ने, होइन त ? आखिरमा दूधै खाए पनि मर्नुपर्दो रहेछ, रक्सी खाए पनि ? अनि, रहृयो सवाल ढिलोचाँडोको । अब ढिलोचाँडो भन्नु पनि रिलेटिभ कुरा भयो । तीन दिन लगाएर रक्सौल पुग्ने अस्ति मात्रको कुरा हो, आज तीन घन्टामा कहाँ पुगेर कहाँ पुगिन्छ ।… हाम्रो ज्ञान र आयुको तुलना त्यस गुणात्मक सापेक्षितताद्वारा गर्ने हो भने हाम्रो आयु त ३-४ हजार वर्ष लामो ठहरिन आउँछ । अनि कत्ति बाँच्नु, किन बाँच्नु ? र बाँचुन्जेल किन दूधै मात्रै खानु, किन हृस्िकी नखानु ?’

उनको लेखन र रक्सीको सम्बन्ध शङ्कर लामिछानेमा कति जटिलतासहित अभिव्यक्त छ, हेराँै ः ‘रक्सी खान पैसाको आवश्यकता, पैसा कमाउन रक्सी खाई स्मृति-विस्मृतिको सन्धिरेखामा उभ्भिनुपर्ने आवश्यकता र जनसम्पर्क गर्न नचाहने र जनसम्पर्कबिना लेखनीयता नतिखारिने यस्तो एक विषम परिस्थिति बन्न पुग्यो ।’ आफू आफ्नो परिभाषामा यसरी कन्फ्युज्ड हुन्छन् उनी ः ‘यही हुनुपर्ने र भइनँका बीचको गोधूलि संसारमा म अहिले छु र म जान्दिनँ म लेखक हुँ वा इन्टरप्रेटर ।’ त्यसैकारण यसले भुलभुलैयाको उत्तरआधुनिक वैचारिकताको प्रबल धारणा लामिछानेको लेखनबाट बिनाप्रोपोगान्डा नेपाली साहित्यमा निकै पहिल्यै पदार्पण भइसकेको तथ्य हामीसँग सुरक्षित राखेको छ ।

यस चरणका विशेष निबन्धहरूमा ‘तुलसीलाई जबाफ’, ‘कथाकार आफ्नै दृष्टिमा’, शङ्कर लामिछाने, ‘स्केच नं. २ मदिरापान’ आदि पर्दछन् ।

३. निबन्धगत व्यापकता र मूल्याङ्कन

लेखनको प्रयोजनका बारे ‘गोरेटोको खोजीमा’ निबन्धमा उनी निर्धक्कसित साँचो बोल्छन् ः

‘… र, जनताको लागि मैले जीवनमा कहिले पनि लेखिनँ ।
आमालाई रिझाउन क ख ग लेखेँ ।
मास्टरलाई रिझाउन प्रबन्ध लेखेँ ।
प्रेमिकालाई रिझाउन प्रेमपत्र लेखेँ ।…
नाम कमाउन कथा लेखेँ ।
प्रतिष्ठा कमाउन, भविष्यमा बाँच्न, यो गोरेटो लेख्दै छु ।
र, प्रत्येक लाइन लेख्दा मेरा आँखामा प्रबुद्ध अनुहार नै आए । यस्ता अनुहार जसलाई म रुचाउँछु, वा जस्तो अनुहार वृद्धि होस् भन्ने कल्पना गर्छु ।’

यसले शङ्कर लामिछानेका निबन्ध बहुल विषय प्रकटित बौद्धिक किसिमका हुन् भन्ने सिद्ध गर्छ तर तिनको सम्बन्ध प्रायः मध्यमवर्गीय नेपालीको चेतनाले जन्माएको पीडा र वेदनाको यथार्थ अनुभूतिसितै हुन्छ । घटनाको वर्णन नभई प्रतिक्रियालाई टिपेर तिनलाई अस्तित्वको गहिरो कूपमा चोपलेर शब्दचित्र खिच्ने हँुदा नै उनका निबन्धहरू अमूर्त बनेका हुन् र तिनले तत्कालीन सङ्क्रमणको उकुसमुकुसलाई थेग्न नसक्ने गरी भण्डारण गरेका छन् । त्यसैले जीवन्त हुँदाहुँदै पनि तिनमा प्रवेश गर्न सामान्य नेपाली चेतनालाई हम्मेहम्मे पर्छ । विज्ञान, राजनीति, अर्थशास्त्र, कला तथा अन्तर्राष्ट्रिय सम्बन्धको थोरबहुत भेउ नपाई तथा अङ्ग्रेजी भाषासँग मैत्री नगरी उनका निबन्धमा पस्ता त्यो पाठक चक्रव्यूहबाट निस्कन नसकेको अभिमन्युजस्तो विलखबन्दमा परेको महसुस गर्छ । यसैले शङ्कर लामिछानेलाई नेपाली साहित्यमा एकदमै अलग क्षेत्र प्रदान गर्छ, चिन्तन र शैली दुबै दृष्टिले । उनी ‘हामी पाइताला हौँ ः फगत् पाइताला ।’ निबन्धमा लेख्छन् ः ‘अँ त, मनुष्यको भेडाधसानबाट अलग्गिन सक्ने, अलग्गिन चाहने मानिस ईश्वर हो । (यही म अघि भन्न चाहन्थेँ ।) ईश्वर असलमा हाम्रै बीच छ । हामीले पाइताला मात्र चिन्न सक्नुपर्छ, त्यो पाइताला जसले नयाँ गोरेटो कोर्छ ।’ यसबाट उनी नेपाली निबन्धका ‘अभाँगार्द’ प्रतिभा भएको पुष्टि पनि हुन्छ ।

लेखनप्रतिको अविरल र अविचल आस्था लामिछानेको प्राप्ति हो । ‘कथाकार आफ्नै दृष्टिमा’ निबन्धमा लामिछाने लेख्छन् ः ‘… लेख्न थालेँ, कल्पनाको कमी थिएन, स्मरण-शक्तिको अभाव थिएन, नेपाली साहित्य क्षेत्रमा धेरै भू-खण्ड बाँकी थियो । पढ्थेँ, निकै पढ्थेँ, कारण शिक्षा मैले चाहेजस्तो प्राप्त गर्न सकेको थिइनँ ः अतः विश्वका गतिविधिसँग अलिअलि परिचय पाउने सौभाग्य मिल्यो ।

पेसा जीवनमा विविध रहृयो, त्यसले पनि विभिन्न क्षेत्रका व्यक्तिहरूको सम्पर्कमा आइयो, मैले लेखेका छापिन थाले, उत्साह बढ्यो । आफ्नो नाम कालो अक्षरमा छापेको जस्तो पि्रय अरू केही छ संसारमा ?’ जुनै प्रक्रिया, जुनै उद्देश्य वा जुनै प्रकारले संरक्षित भए पनि लेखनप्रतिको यो अनुराग, मोह र उत्सर्ग अत्यन्त प्रशंसनीय छ ।

४. निष्कर्ष

अस्तित्वको प्रश्नले जीवनलाई कसरी पीडित, द्वन्द्वमय र गतिमय पार्छ भन्ने तथ्य विम्ब-प्रतिविम्ब मा सङ्कलित ‘शङ्कर लामिछाने’ शीर्षकको निबन्धमा आफैँसित गरिएको तलको संवादबाट थाहा पाइन्छ ः

‘एक दिन मैले उसलाई सोधें-शङ्कर दिलले भन् त, तँलाई जीवनमा सबभन्दा गाहारो के लाग्यो ?’

‘आफ्नो जीवनबाट पिताको व्यक्तित्व हटाउने कार्य । अब तैँ हेर् न, जो पनि मलाई हरिहर सुब्बाको छोरा भन्ने, मेरो आफ्नो मानौँ नाम छैन, शरीर छैन, काम छैन ।। उल्टो हत्केला मानिसको निधारमा छुवाइदिने र त्यसरी ढोग दिँदा म आफूलाई उसका आँखाले देख्थेँ । के देख्थेँ, थाहा छ ? मानौँ मैले मरिसकेको पिताको मुकुण्डो लाइराखेको छु । छोराको निमित्त बाबुको आफुउपर परेको व्यक्तित्वको जुन छाप छ, र जसलाई आफूले भन्दा अरूले देखिदिन्छन्, त्यसको श्राद्ध गर्नु नै जीवनमा सायद सबभन्दा अनिवार्य र दुःखपूर्ण कार्य हो ।’

पितृविम्बलाई जीवनबाट नउतारी सन्ततिको पृथक् अस्तित्व सम्भव छैन । शङ्कर लामिछानेका निबन्धमा पूर्वजहरू र तिनका मूल्यमान्यतालाई सम्मान गर्दागर्दै पनि तिनलाई बडो कठिनतापूर्वक परिहार गरिएको छ । यही समाप्तिबाट छाडा ठिटोझैँ मुक्त र अग्रगामी अनौपचारिक निबन्धको निकास दिनु नै नेपाली निबन्धमा उनको अस्तित्वको प्रबल छाप र नवीन योगदानको रेखाङ्कन हो । आफ्नो समयमा उत्पन्न स्वतन्त्र र आनन्ददायक विभ्रमको चेतना र स्वदृष्टिकोणको न्यायलाई उनका निबन्धलेे सदैव प्राथमिकता दिएका छन् ।

जीवनमा दैनन्दिन भोगिने घटना, चरित्र र वस्तुका छट्पटीलाई नितान्त व्यक्तिगत कथन बनाई दार्शनिकतासित जोड्नु अनि त्यसलाई तीव्र गतिशील चेतनाप्रवाहमा संयोजन गर्ने अद्वितीय क्षमताले शङ्कर लामिछानेका निबन्धलाई जीवन दिएको छ । त्यसैले उनलाई गम्भीरतापूर्वक अध्ययन र विश्लेषणको केन्द्रमा ल्याउन नेपाली समालोचकलाई अझै निकै वर्ष चुनौतीपूर्ण हुनेछ ।

सन्दर्भसामग्री

एटम, नेत्र. २०५५ पौष-माघ-फागुन. “चेतनाप्रवाह पद्धति र शङ्कर लामिछानेका निबन्ध”. तन्नेरी. २०ः-३, पृ.६२६९ ।
ओझा, रामनाथ. २०६४. शङ्कर लामिछानेको निबन्धकारिता. काठमाडौँ ः पालुवा प्रकाशन प्रा.लि. ।
लामिछाने. शङ्कर. २०३२. शङ्कर लामिछाने. काठमाडौँ ः रूपायन प्रेस ।
२०२८. विम्ब-प्रतिविम्ब. काठमाडौँ-विराटनगर ः पुस्तक संसार ।
२०५७. एब्स्ट्रयाक्ट चिन्तन ः प्याज. दोस्रो संस्कं. काठमाडौँ ः भावक अभियान नेपाल ।
२०५८. गोधूलि संसार. तेस्रोे संस्क. काठमाडाँै ः साझा प्रकाशन ।
२०५९. शङ्कर लामिछानेका निबन्ध. शिव रेग्मीद्वारा सम्पादित. काठमाडौँ ः साझा प्रकाशन ।
सुवेदी, राजेन्द्र. २०५८. स्रष्टा-सृष्टि ः द्रष्टा-दृष्टि. तेस्रो संस्क. ललितपुर ः साझा प्रकाशन ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *