Skip to content

पीडा, वेदना र करुणाका गायक महाकवि देवकोटा

  • by


पीडा, वेदना र करुणासँग कवि-महाकविको अन्तरङ्ग सम्बन्ध रहन्छ भन्ने धारणा काव्यजगत्मा पाइन्छ । क्रौञ्चमिथुनमध्ये काममोहित भाले क्रौञ्चलाई व्याधाले मारेर खसालिदिएको र पोथी क्रौञ्च पतिवियोगले पीडित भएर रोइरहेको दृश्य देखेर शोकार्त भएका महषिर् वाल्मीकिको मुखबाट निस्केको ‘मानिषाप प्रतिष्ठांत्वम गमः शाश्वती ः समाः/यत्क्रौञ्च मिथुनादेक मवधीः काममोहितम्/’ भन्ने श्लोक उनको पहिलो कवितात्मक अभिव्यक्ति हो भन्ने उनकै कथनहरूबाट थाहा पाइन्छ । (हेर्नुः वाल्मीकि रामायण, बालकाण्ड, सर्ग २, श्लोक १०-१८) । यस कथाको अनुकथन महाकवि कालिदासले पनि ‘निषाप विद्धाण्डज दर्शनोत्थः श्लोकत्वमापद्यत यष्य शोकः/’ (रघुवंश १४/७०) का रूपमा गरेको देखिन्छ । यति मात्र नभई ध्वनि सिद्धान्तको प्रतिपादनका क्रममा ‘शोक श्लोकमा परिणत’ भएको यस सन्दर्भको उल्लेख ध्वनिकार आनन्दबर्द्धनले पनि ‘काव्यस्यात्मा त्य एवार्थः तथा चाविकवेः पूरा/क्रौञ्चद्वन्द्व विचोगोत्थः शोकः श्लोकत्वमागतः//’ (ध्वन्यालोक १/१८) का रूपमा ध्वन्यार्थ प्रतिपादनका क्रममा आदरका साथ गरेको पाइन्छ । ‘वियोगी होगापहला कवि/विरहले उपजा होगा गान/’ भनेर एक हिन्दी कविले पनि वियोगपीडाले नै कोही कवि हुन्छ भनेर कविको पीडा, वेदना र करुणासँग नैसर्गिक सम्बन्ध रहन्छ भन्ने जनाएका छन् ।

हाम्रा कवि देवकोटाको कवित्वको प्रस्फुटन पनि परदुःखकारिताबाट भएको देखिन्छ । उनी स्वयंको भनाइबाट दस वर्षको उमेरतिर जेठी भाउजूको प्रेरणाले उनले एक विरह कविता लेखेका थिए र त्यसको प्रथम पङ्क्ति ‘म त अभागिनी पो भएँ’ भन्ने थियो । नेपाली भाषामा लेखिएको उनको पहिलो कविता यही थियो । (देवकोटा, पृ.९, वि.सं. २०५८) । भिखारी कवितामा गौतम बुद्धलाई लक्षित गरी ‘बुद्धदेवका नजर अगाडि यही भिखारी आएथ्यो, मूत्र यसैमा शब्द यिनैमा मुटुको शूल कराएथ्यो, महान् दयाको सागर ठूलो, शब्द यिनैमा लहराएथ्यो,’ भन्ने- भिखारीप्रति स्वयं करुणाले द्रवीभूत हुने अनि ‘दुःखको दिलमा ईश्वर बोल्छ’ भन्ने देवकोटालाई दस वर्षका उमेरमा नै संसार घनघोर दुःख सागर हो भन्ने आत्मबोध, संस्कारगतरूपमा प्राप्त भइसकेको थियो र त्यसैले उनले आफ्नो दोस्रो कवितामा ‘घनघोर दुःखसागर संसार जान भाइ’ (प्रहरी १ः३) भनेका हुन् । सुखमय बाल्यकालमा देवकोटालाई संसार दुःखमय छ भन्ने लाग्नु र उनमा दुःखीप्रति सहानुभूति उत्पन्न हुनु उनको असाधारण संवेदनशीलताको परिणाम हो भन्न सकिन्छ ।

सहजानुभूति सम्पन्न अति संवेदनशील तथा अपरम्पर सिर्जन सामर्थ्ययुक्त कवि हुनाले देवकोटाले नौवटै रसमा आफ्नो असामान्य प्रतिभाको प्रदर्शन गरेको देखिन्छ तापनि उनको विशेष अभिरुचि र अनुराग पीडा र वेदनालाई अभिव्यक्ति दिने करुण रसमा रहेको छ र उनका अधिकतर रचना करुणाले आद्र छन् । उनका समकालीन कवि सिद्धिचरण पनि आँसुका कविता लेख्न कम छैनन् । नाटककार बालकृष्ण सम र गद्यकार मदनमणि दीक्षितजस्ता अन्य महान् नेपाली स्रष्टाहरूको पनि करुणाको अभिव्यक्तिमा विशेष अभिरुचि छ । दुःख र करुणाको बाजी मुखरित पार्नमा नेपाली कवि मात्र नभएर विश्वभरका कवि/लेखक सदा तत्पर रहेका देखिन्छन् । प्राचीन गि्रसेली दुःखान्तकार एस्किलस, सोफोफ्लिज र युरिपाइडिजले दुःखान्तका माध्यमबाट करुणाको गङ्गा बगाएका छन् । शेक्सपियरले पनि त्यसै गरेका छन् । लुसी ग्रेलाई लिएर विलापिका लेख्ने वर्डस्वर्थको करुण अनुभूति विश्वविख्यात् छ भने इनक आर्डेन लेखेर टेनिसनले पनि करुण रसको मार्मिक अभिव्यक्ति गरेको देखिन्छ । हिन्दीका महाकवि ‘प्रसाद’ले पनि करुणाको अजस्र धारा बगाएका छन् भने महादेवी वर्मा पनि करुणाजनक अभिव्यक्तिमा पछि छैनन् । रवीन्द्रनाथ ठाकुर, शरच्चन्द्र आदि अन्य कयौँ स्रष्टा महान् करुणावादीका रूपमा देखिन्छन् ।

उत्तर रामचरितमा रामको विरहवेदनालाई ‘अनिर्भिन्नो गभीरत्वादन्तर्गूढ घनव्यथः/ पुटपाक प्रतीकाशो रामस्य करुणे रसः//’ (अं. ३, १) का रूपमा व्यक्त गर्ने करुणावादी कवि भवभूतिले त ‘एको रसः करुण एव’ भनेर करुणा रसलाई नै रसहरूको मूल ठहर्‍याएको देखिन्छ ।

पीडा, वेदना र करुणाको अभिव्यक्ति व्यक्तिगतरूपमा पीडा, वेदना र दुःखको अनुभव गर्ने कुनै दुःखी कवि/लेखकले नै गर्छ भन्ने होइन । जयशङ्कर ‘प्रसाद’ दुःखी थिएनन्, हाम्रा बालकृष्ण सम पनि दुःखी थिएनन्, महाकवि देवकोटाको बाल्यकाल पनि दुःखी थिएन । उनले पितामाताको मृत्युपछि भने शोक, आर्थिक अभाव र अन्तिम अवस्थामा क्यान्सर जस्तो कडा रोगको पीडा सहनुपरेको भने देखिन्छ । जन्मजातरूपमा नै अर्काको दुःख देखेर द्रवित हुने संवेदनशील स्वभाव लिएर आएका देवकोटाले वेदना र पीडाका करुणाजनक कवितालेखनका साथ कवितायात्राको थालनी गरी करुण रसभावलाई आफ्नो मूलरसभाव तुल्याई कवितालेखन गर्दागर्दै अन्तमा आफैँलाई आलम्बन बनाएर ‘महामहमा कणझैँ म तातोः जलेर मर्दा विनु आश लाटो/ सुकिरहेको तरुझैँ छु खाली, चिन्ताग्नि तापी जल डाल्न फाली । संस्कार आफ्नो सबै नै गुमाएँ । म शून्यमा शून्यसरी बिलाएँ ।’ जस्ता दुःखद-करुण भावनाले भरिएको विषादपूर्ण अन्तिम नेपाली कविता लेखी प्राण त्याग गरेको उनको जीवनकथाबाट थाहा पाइन्छ । (बन्धु, वि.सं. २०५८, पृृ. ३७२) ।

करुणभाव चेतनाले ओतप्रोत देवकोटा मुना-मदनमा मुना र मदनका साथ रोएका छन्-झ्यालमा मुना झल्मल तारा ल्हासामा ती प्यारा/आँखामा आँसु मुनाको मन चिन्ताको आहारा ईश्वर तैँले रचेर फेरि कसरी बिगारिस् । सृष्टिको फूल रचेर त्यस्तो कसरी लतारिस् ? त्यो फूल हरे मलाई दिई कसरी पछारिस् ? आदि । त्यसो त देवकोटा मदनकी आमा र दिदीका साथ पनि रोएका छन् । लौ त भनूँ भने करुणानिधि कवि देवकोटाले यो काव्य आँसुले लेखेका छन् र करुणामय तुल्याएका छन् । उनले आफ्ना कृतिहरूमा मुनामदनलाई बाँकी राखी अरू सबैलाई जलाइदिनु भनेर यस काव्यलाई सर्वाधिक महत्व दिनुमा यसमा पाइने कारुणिकता नै मुख्य कारण रहेको हुनुपर्छ ।

करुणका कवि देवकोटाले कुञ्जिनीमा पनि करुण रसभावको मार्मिक अभिव्यक्ति गरेका छन् र यसमा उनले त्यसका लागि मुख्यतया कुञ्जिनी र सिन्धुलाई र आंशिकरूपमा गोरे र गोरेका साथीहरूलाई माध्यम बनाएका छन्-

परेलामा आँसु अडाई, भु्लभुल मुटु पारी
गोरे राहुत कुञ्जिनीको हेथ्र्यो फूलको बारी ।
‘म मर्छु’ भन्छिन् ‘बाँच्दिन’ भन्छिन् कुञ्जिनी रोएर छ ।
छातीको घुँक्का आँसुमा वषर्ी सारीले छोएर ।

कठै ! मेरी गयौ नि बाबा ! मेरी छोरी कुञ्जिनी अपारकी प्यारी
मेरी कलेजाभन्दा जुहार यौटी, गयौ नि संसारकी
कठै ! तिम्रो दुःखेको दिल कठै । तिम्रा जलका लोचन ।
सम्झी सम्झी फुट्दछ छाती तिम्रो मीठो बोली र वचन ।

देवकोटाका यी दुईबाहेक सृजामाता, आँसु, म्हेन्दु आदि अनेक खण्डकाव्यहरूमा पनि करुण रसले महत्वपूर्ण स्थान पाएको देखिन्छ ।

‘भिखारी’, ‘चाह’, शाहजहाँको इच्छा आदि अनेकानेक फुटकर कविताहरूमा पनि देवकोटाले करुण रसभावलाई उच्च अभिव्यक्ति दिएको देखिन्छ भने करुण रसाभिव्यक्तिका दृष्टिले देवकोटाका फुटकर कविताहरूमध्ये ‘शाहजहाँको इच्छा सर्वश्रेष्ठ देखिन्छ ।

महाकवि देवकोटाको दुःखान्त महाकाव्यहरूमा करुणाको सागर नै उर्लिएको अनुभव गर्न सकिन्छ भने शाकुन्तल जस्तो सुखान्त महाकाव्यमा पनि विप्रलम्भात्क करुण रसको मर्मस्पर्शी अभिव्यक्ति पाइन्छ । दुःखवादी देवकोटा आफ्ना दुःखी पात्रहरूसँग एकाकार भएर भावाभिव्यक्ति गर्न कुशल भएकाले उनका करुण अभिव्यक्ति साह्रै हृदयविदारक हुन्छन् । दुःख र दुःखान्तीय नियति भोग्न विवश युवा पात्रको दुर्दशा र दुर्गतिको चित्रणका क्रममा हाम्रा यी महाकवि कति अन्तर्मथित र व्यथित भएका छन् भने उनलाई घोर निराशाले ढाकेको छ र उनी निराशावादी भएर बोलेका छन् । यसको उदाहरणका रूपमा सुलोचनामा सुलोचनाको दुःख र पीडाको वर्णनका क्रममा उनले लेखेको यस श्लोकलाई प्रस्तुत गर्नु पर्याप्त हुनेछः

यो दुःखी भव हो सबै विफल छन्, काँढा यहाँ खाली छ, केही छैन नि जिन्दगी भनिलिने यो आँसुको बालि छ ।

करुणभावको अभिव्यक्तिका सन्दर्भमा देवकोटाको शृङ्गार रसप्रधान महाकाव्य शाकुन्तलमा दुष्यन्त र शकुन्तलालाई आलम्बन बनाएर व्यक्त गरिएका भावना पनि कम छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *