विश्वविख्यात फिल्म निर्देशक अल्पेड हिच्कोक जो हरर र सस्पेन्स फिल्मका लागि अद्वितीय थिए । त्यस्तै विषयमा उनले संग्रह गरेको एउटा कथा पढेको थिएँ । संक्षेपमा कथा यस्तो थियो- त्यसबेलाको युरोपको कुनै ग्रामीण ठाउँमा एक पर्यटक दृश्य अवलोक गर्न गएका थिए । घुम्दा-घुम्दा साँझ झमक्क परिसकेको थियो । त्यतिबेला मात्र उसलाई होश आयो कि अब आफू बसेको ठाउँमा कसरी र्फकने अथवा कहाँ बास बस्ने ? अवस्था सोचनीय थियो । त्यस्तो बेला, त्यस्तो निर्जन ठाउँमा तपाइ-हामीलाई लाग्ने कुरा के भने यस्तो ठाउँमा यतिबेला कि हिंस्रक जंगली जनावर कि त भूतप्रेत भेटिन्छ । त्रासले उसको होश गुम्नै लागेको बेला उसले केही परबाट घोडेबग्गी आफूतिर आइरहेको देख्छ र त्यसलाई रोक्दै भन्छ— ‘यतिबेला म अलपत्र परेको छु, अरू ठाउँमा जस्तै यहाँ पनि सवारी साधन…मलाई केही सहयोग…’

उसको कुरा पूरा नहुँदै बग्गीको ढोका उघ्रन्छ र त्यहाँ देखिन्छिन् एउटी अत्यन्त रूपवती युवती । युवती स्मित हाँसो हाँस्दै भन्छिन्— ‘पटक्कै चिन्ता नलिनोस्, बरु आज राति मेरोमा पाहुना हुनुहोस् ।’ बग्गी केही तल पुगेपछि घोडाहरू हिनहिनाएको सुनियो । अनि बग्गीका दुवैतिरका ढोका खोलिएर सामुमा उत्रँदा एउटा शानदार महलजस्तै घर फेला पर्छ । महलभित्र पसेर नुहाइ-धुवाइ गरेपछि उनीहरू आसपासका टेबलमा बसेर हत्तपत्त नपाइने दुर्लभ वाइन र त्यत्तिकै दुर्लभ चराहरूको परिकार स्वाद लिइरहेका हुन्छन् । क्यान्डल लाइटको मधुर उज्यालोमा यत्रो विशाल मन भएकी ती युवती झनै सुन्दरी देखिन थाल्छिन् । अनि प्रश्न पनि गर्छिन्— ‘मलाई भन्नुहोस् त, कसरी तपाईं सहरदेखि यत्ति टाढा, यो निर्जन ठाउँमा त्यो पनि एक्लै आइपुग्नुभयो ?’

बाँकी रहेको वाइन स्वाट्ट पार्दै र एकसाथ अर्को पेग थप्दै पर्यटक भन्न थाल्छ— ‘वास्तवमा म एउटा पेन्टर हुँ, पर्यटक हुनु त मेरो बहानामात्र हो । तपाईंलाई थाहा नै छ, हामी पेन्टरहरू सौन्दर्यप्रेमी हुन्छांै ।’ फेरि उसले प्रश्न गर्छे— ‘तपाईंले कोर्ने विषयवस्तुमा हामी पर्न सक्दैनौं ? पर्न सक्छौं भने मेरै बारेमा पेन्टिङ गर त !’

यसरी एउटा पर्यटक यहाँ पेन्टर भइसकेको हुन्छ । अनि सुत्ने बेला भयो । पर्यटक पेन्टरले आफ्नो सुत्ने कोठा देखाइमाग्न आग्रह गर्छ ।

‘त्यसको धन्दा नमान, तिमी तिम्रो कोठा र म मेरो कोठामा सुते पनि मैले धेरै वर्षदेखि पर्खिएको रात आजै हो ।’ यो कुरा त्यो पर्यटक-पेन्टरले सुन्यो कि सुनेन, तर दुवै कसिलो उत्तेजनामा थिए । त्यसबेला पर्यटकलाई के लागिरहेको थियो भने पर्दा पछाडि अथवा कसैले झयालको कुनाबाट यो क्रियाकलाप चियो गरिरहेको छ । त्यसैले पर भित्तोमा रहेको बत्ती निभाउन ऊ उठ्नै लागेको थियो, युवतीले उसको अर्कापट्टकिो हात अझ कसिलो पारेर आफूमा बाँध्दै ओछयानबाट उठ्नै दिइन । अनि सुती-सुती त्यो युवतीले धेरै परको भित्तोमा रहेको बत्तीको स्वीच निभाउन आफ्ना हात उचाली जुन लम्मिँदै-तन्किँदै गएर स्वीच निभ्यो । के तपाईंलाई डर लाग्यो ? डराउनु पर्दैन । यो घटनाको द्रष्टा मात्रै हामी हौं, पात्र होइनौं ।

एउटा कुरा के भने तर्सिनु र डराउनुको भाषिक अर्थ एउटै भए पनि वास्तविकता फरक छ । डराइरहेको बेला हामी तर्सिंदैनौं, तर तर्सिएपछि हामी डराइरहेका हुन्छौं ।

गिटार बजाउने भूत

भूतप्रेतको सन्दर्भमा आजसम्म म एकपक्षीय हुनसकेको छैन अथवा भूतप्रेतको अस्तित्व हुन्छ वा हुन्न भन्ने टुङ्गोमा म पुग्नसकेको छैन । त्यसको कारण यो पनि हुनसक्छ कि विश्वस्त पात्रहरूदेखि रौं ठाडा हुने मैले सुनेका भूतका भयावह कुराले होला, आफैंले नभेटेका भूतका कुरामात्र पनि सुनेर म झन्डै रातभरि डरले सुत्नै सक्दिन थिएँ । यही सन्दर्भमा मलाई एउटा युवकले एक घटना सुनाएको थियो । ऊ बसेको टोलको अलिक तलतिर भूतले आतंक मच्चाएको रहेछ । रात परेपछि त्यहाँ ढुङ्गा बर्सिने, सुतिरहेको अवस्थामा बालवृद्ध तर्सिने र अरू यस्तै चालामाला देखिने रहेछ । टोले युवाहरू मिलेर राति गस्ती गर्ने निधो गरेछन् । तीन-चार दिनको गस्तीमा त्यहाँ न कुनै भूतप्रेत भेटियो, न छानामा ढुङ्गा बर्सियो । अन्तिम रातको मध्याह्नपछि सँगै घर हुने दुई भाइले के देखेछन् भने अलिक पर दाहिनेतिरको पुरानो घरको अँध्यारो बार्दलीमा बसेर एकजनाले गिटार बजाइरहेको छ । गिटार बजाउने भूतको कुरा उनीहरूले पनि सुनेका रहेछन् । डराउँदै भए पनि नजिकै पुगेर हेर्दा त कहाँ त्यो गिटार बजाउने भूत हुनु ? त्यो त उनीहरूकै साथी रहेछ, जो तीन वर्ष अगाडि एक दुर्घटनामा परी मरेको थियो । आबुइ…!

संगीत र भूतको सन्दर्भमा आजसम्म मैले कुनै त्यस्तो किताब पढ्न पाएको छैन । तर के भनिन्छ भने जहाँ संगीत अथवा गानभजन हुन्छ, त्यस्ता ठाउँमा भूत हुँदैन अथवा आउँदैन । कुरा हाम्रै नेपालको एउटा निकै दुर्गम ठाउँको हो । एउटा घरमा प्रेतात्माले उत्पात मच्चाएको रहेछ । भूतलाई मन्साउनका लागि अनेक उपायबाट एउटा जन्डु झाँक्रीलाई त्यो घरमा ल्याइएको रहेछ । झाँक्रीले अनेक गर्‍यो— भाले, परेवा, हाँस, सुँगुरको पाठाको भोग दिएर पनि उत्पात भने कम भएन । ‘अब म एउटा उपाय गर्छु, त्यसबाट पनि भूत विसेक भएन भने तपाईंहरूले यो घर छाड्नुपर्छ’, झाँक्रीले भन्यो ।

भोलिपल्टैबाट निराहार बसेर झाँक्रीले आफ्नो पाठपूजा थालेछ । नरम स्वरमा मन्त्र पाठ र ढयाङ्ग्रोको ध्वनि पनि बिस्तारै निस्कने गरी ऊ बजाइरहेको हुन्थ्यो । अचम्म, साँझ परिसक्दा पनि झाँक्रीको चेहरामा कुनै तनाव उब्जेन । साँझ परिन्जेल ऊ पाठपूजामा लागिरहयो । अनि झमक्क साँझ भएपछि मधुर मन्त्र फलाक्दै र भाका मिलाएर ढयाङ्ग्रो ठोक्दै ऊ बाटा लाग्यो । लाग्थ्यो— उसको मन्त्र पाठ एउटा सुमधुर गीत र ढयाङ्ग्रोको रिदम अत्यन्त परिष्कृत तालवादनबाट उत्पन्न भएको हो, जुन धेरै टाढासम्म पनि सुनिन्थ्यो । त्यो दिनदेखि त्यो भूताहा घरमा फेरि भूत कहिल्यै फर्केर आएन ।

के भनेर यो भूत-चिन्तन समाप्त पार्न चाहन्छु भने संगीतजस्तै चित्र, कला, साहित्य, संस्कृति वा सभ्यता प्रारम्भमा यो सबै चिज काँचो अथवा अपरिपक्व अवस्थामै रहेको हुन्छ । म आफू पनि धेरैपटक धेरै डरलाग्दो तरिकाले तर्सिएको मान्छे हुँ । बेलबखत म आफैंदेखि पनि तर्सिएको छु, तर मलाई भूतले होइन, मान्छेले नै सातो जानेगरी तर्साएको छ । बरु यो घडी आफ्नै एउटा गीत सम्झन्छु—

‘चौतारीमा बाटो खोज्दा-खोज्दै मरेजस्तो लाग्छ
चौतारीको भूतको कथा मेरै-मेरैजस्तो लाग्छ ।’

(संगीतज्ञ गुरुङ ‘कहाँ गए ती दिनहरू’ पुस्तकका लेखक हुन् ।)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *