मेरो जिन्दगी, मेरो विश्वास: करुणा भाव हरेकभित्र छ

  • by


हाम्रो पाँच पुस्ताले पण्डित्याइँको काम गर्दै आएको हो । बुबाले सीमित व्यक्तिको घरमा हुने यज्ञ, सप्ताहलाई आमसमुदायमा पुर्‍याउनुभयो । ६२ सालमा बुटवलको महायज्ञमा प्रवचन दिने क्रममै अचानक बुबाको हत्या भयो । त्यतिबेला म हतास भएँ ।

पण्डित्याइँ हाम्रो परिवारको रीति भएकोले आमा र हजुरबुबाले मलाई बुबाकै बाटोमा लाग्ने सल्लाह दिनुभयो । कतिले चाहिँ बुबाकै हालत हुन्छ भनेर नलाग्ने सल्लाह पनि दिए । महायज्ञबाट विद्यालय, क्याम्पस, अस्पताल निर्माणका लागि पैसा उठाइदिने जस्तो असल काम गर्दागर्दै बुबा बित्नुभएको थियो । यो कुरा सम्झेपछि मभित्र सुषुप्त अवस्थामा रहेको करूणाभाव जागृत भएर आयो ।

करूणा हरेक व्यक्तिभित्र सुषुप्त अवस्थामा रहने भक्तिभाव हो । म करूणाको शक्तिमा विश्वास गर्छु । यही भावना अरूभित्र पनि जगाउन खोज्छु । करूणाभाव म बुबाको हत्याराभित्र पनि खोज्छु । उसलाई सद्बुद्धि आओस् ! ऊभित्र करूणा जागृत भएर अरूको हित हुने काम गरोस् ! जसरी विश्वविद्यालय निर्माणका लागि सुर्खेतका मोतीप्रसाद भन्ने एक व्यक्तिले रु ५६ लाख र आफूले बनाएको विश्वविद्यालयमा धेरैले शिक्षाको उज्यालो देख्ने अवसर पाउँछन् भनेर सुर्खेतवासीले १००१ विघा जमिनसहित ३२ करोडको सम्पत्ति दान गरे ।

करूणा आध्यात्मिकताको भित्री पाटो हो । यसले आफूभित्रको जडता र फोहोरलाई फाल्छ । करूणाले एक व्यत्तिको होइन, सिंगो समाजको उत्थान सोच्छ । यही उत्थानको निम्ति भनेर लेखनाथ नगरपालिकाका दम्पतिले आफू र आफ्नो पितापुर्खाले कमाएको सम्पत्ति दान गरे । करूणाभावकै कारण वनेपाको चण्डेश्वर यज्ञमा एक बूढीआमाले आफ्नो मुन्द्रीसमेत दान गरिन् । उनीसँग गहना त्यहीमात्र भएकोले दान नगर्न मैले अनुरोध गरेँ । यही कारणले उनको घर झगडा पनि भयो । तर करूणाभावले गर्दा उनले अरूको सहयोगका लागि आफ्नो मुन्द्री दान गर्नुमै जीवनको सन्तुष्टि देखिन् ।

यही करूणा हो, जसको कारण काठमाडौंजस्तो सम्पत्ति कमाउन होडबाजी चल्ने ठाउँमा पनि पारसमणि बरालले रु ५२ लाख दान दिए । कुलेश्वरको एक माध्यमिक विद्यालयमा नयाँ भवन बनेर विद्यार्थीले सहज रूपमा पढ्न पाउनु नै उनको सुख बन्यो । बुटवलका बालकृष्ण दाहाललाई रु ३० लाख दान गर्दा सामान्यझैं लाग्यो ।

महायज्ञमा मैले भागवत् पढ्दा हिन्दू धर्मको प्रचार गरेको जस्तो पनि देखिन्छ । तर यो धर्मविशेषको प्रचार होइन । मेरो उद्देश्य त मानिसभित्रको करूणा जगाएर ‘सर्वजन हिताय’ व्यक्तिहरूलाई दान गर्न अभिप्रेरित गर्नु हो । यसकै परिणाम हो, नेेपालगन्जको सप्ताहमा मुस्लिम समुदायले रु २० लाख र मागेर गुजारा चलाउने कुनै भिखारीले रु १२०० दान गर्नु ।

नेपालको ३० भन्दा बढी जिल्लामा गरेर ९२ वटा महायज्ञ गरिसकेको छु । ती यज्ञहरूमार्फत विभिन्न ठाउँमा भौतिक पूर्वाधार तथा विकास निर्माणका लागि झन्डै रु २ अर्ब रकम उठेको छ । यसरी उठेको रकममा मेरो व्यक्तिगत लोभ रहँदैन । यजमानहरूले स्वेच्छाले दिएको रकममात्रै लिन्छु । अर्काे यज्ञ गर्नलाई म बाँच्ने आधार यही नै हो । मैले मेरो समूहलाई पनि तलब दिनुपर्छ । हुन त कतिले कुरा पनि काट्छन् रे ! तर उनीहरूसँग मेरो कुनै गुनासो छैन । बरु उनीहरूभित्र पनि राम्रो सोचको विकास होस् भन्ने कामना गर्छु ।

करूणाले मनभित्रको त्यस्तो शक्तिलाई उजागर गर्छ, जसले कुनै पनि डरत्राससँग विचलित नभई असल काममा लागिरहने प्रेरणा दिन्छ । यही करूणाकै कारण म बुबाको देहान्तपछि पनि उहाँकै पदचिह्नमा हिँड्नसकेको छु । मैले गरेका यज्ञका कारण विभिन्न ठाउँमा विद्यालय, क्याम्पस, बाटो र पुल बनेका छन् । विश्वविद्यालय र अस्पताल निर्माण हुने क्रममा छन् । त्यसको निम्ति मेरो यज्ञमार्फत धेरैले दान गरे । तर दान मेरो यज्ञमा उठे पनि त्यो उनीहरूको करूणाभावको देन हो । यज्ञ र प्रवचन त उनीहरू र मेरो करूणा बीचको सेतुमात्र हो । जुन करूणा जोडिएर समाज र मानव हितको काम भइरहेको छ । त्यही करूणा जगाउनु मेरो कर्म हो, मेरो धर्म पनि हो । यही नै मेरो जिन्दगी हो, यही नै मेरो विश्वास हो ।

यो लेख एन्टेना फाउन्डेसन नेपालको टेलिभिजन तथा रेडियो कार्यक्रम ‘मेरो जिन्दगी मेरो विश्वास’बाट साभार गरिएको हो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *