लेख्छु, हेर्छु, केर्छु एकक्षण भरमै मिल्काउँछु कागत
कल्पेरै पुग्ने धोको थ्योँ लेखनाथ पुग्नै सकिन म त
जन्मघरघडी जो कविशिरोमणि जो त्यो अर्घौ त्यो अर्चले
एकै धर्को कीर्ति सुनाउ कसोरी भ्याउदैन मेरा खर्चले

माछापुच्छ्रे, अन्नपूर्ण शिरको कैलाश पर्वत सरी
हाँस्छेँ छानो बनेर न्यानो घरको बोकेर माया मनभरी
ठुलाकोट ठुलो कोट हरको पिता सरी पर्वत
डाँडाँकाडाँ कटेर, अटेर भए नि सम्झेर रुञ्छु म त

काहुँ कोत्रे वारि पारी सँधियार झरना ती तारेभिर
बग्छिन जो यतिमै बनेर सेती नै तल्लो त्यो पाउ मुन्तिर
सुत्त फुत्त पानी बगेर खहरे बिसाउदा हुन फाटँमा
कल्पी शब्द रमाउँछु म पुगने सामर्थ्य छैन ममा

रुपा, मैदी, खुदी, दिपाङ्ग र बेगनास, खास्टे र न्युरेनिमा
खोज्छ यो मनले, घुम्दो जीवनले मेटिन्नौ सम्झनिमा
अहिल्यै पुगुँ पुगुँ लाग्छ यो मनमा रुपा त्यो कोटको शिर
भेटन, मेटन दुवै नसक्दो रहेछ माञ्छेले आफ्नै तक्दिर

जान्थ्यौँ खेत, बनमा, त्यो बालापनमा झुण्डिन लत्रेतरु
पानी र पधेरो, मेला र दधेरो, डिङ्गा र डाङ्गरहरू
कस्ता चुस्त दुस्त थिए ती मजिला हावा झै खुला दिनहरू
दिञ्छु यी सब ऐस, बैँस, धन यो त्यैँ लैदेऊ मलाई बरु

स्वच्छ, शान्त, सफा र सुकोमल पहाडकी ए सुन्दरी
भन्छ्यौ रे बिर्स्यो थातथलो नै उसले बिर्सौला मैले कसरी
साङगा, बाङ्गा सब पस्यौ सहरमा, बुढा र खाडा असी
कहिले जन्मिएला लेखनाथ धर्तीमा तिम्रो तरुण तपसी ।

-रमेश त्रिपाठी निराला
कालिका -२८, पोखरा
हाल : बुढानिलकण्ठ, काठमाडौं

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *