रामप्रसादकी छोरी

KamalSarup-02


रामप्रसादकी छोरी हराएकी छ । तर गाउँमा बढेका छोरीहरू हराउनु कुनै नौलो कुरा हैन । किनभने गाउमा बढेका छोरीहरू हराउनु भनेको प्रचलित उखान जस्तै भएको छ। त्यसैले ऊ यस्ता कुराहरुमा खासै वास्ता गर्दैन । तर बिडम्बना अहिले आफ्नै छोरी बेपत्ता भएकी छ र ऊ बिचलित छ ।

यतिबेला रामप्रसाद भर्खरै मेला सकेर घरभित्र पसेको छ। स्वास्निलाई सम्झाउनु छ । स्वास्नीसँग यतिबेला त हो नि दुख सुखका कुराहरू गर्ने । अरु बेलामा त फुर्सदै मिल्दैन । ऊ आफ्नी स्वास्नीलाई असाध्य माया गर्छ ।

उहिले हाट भर्दा कसरी गीत गाएको थियो । तर स्वास्नीलाई के भनेर संझाउने ? उसले दोधारे मनलाई कब्जामा लिन खोज्यो । बिडिको तल तल लागेको हुनाले बिडी सल्कायो । उसको मन बिडीसँगै सल्किन थाल्यो । ओहो जीवन बिडी जस्तै सल्कदै जानु त हो नि । उसले दार्सनिकता छाट्यो । स्वास्नीले पुलुक्क हेरी । ऊ दङ्दास पर्यो ।

तर छोरी हराएकोमा उसले बिस्माद प्रकट गर्यो र भन्यो, “अब रोएर के गर्ने? कतै काठमाडौँ गै कि ?”

यो सान्त्वनाका शब्दहरू बोल्दा नबोल्दै उसलाई भक्कानो फुटेर आयो । स्वास्नीको अगाडि रुन उसको मनले ठिक सम्झेन ।

“मैले बेलैमा बिहे गरिदिन भनेकै त हो नि ? तिम्रो कानमा बतास लागेन । अब कसैले बेचिपो दियो कि ?”

स्वास्नीका पछिल्लो दुई शब्दले उसको मन चटक्क चुडियो । भतभती पोलेको छातीमा नून खोर्सानी दले जस्तै नराम्रोसँग दुख्यो उसको अनिकाल जस्तो मन ।

उसको घर नजिकैको साथी झमकको छोरी पनि त बेचिएकी थिई । पछि कत्रो हबिगत भएर गाउँ फर्की । एड्स लागेर उसले देह त्यागी । तर उसकी छोरी सारै नखर्मौलि थिई । एउटा छोरी भनेर उसले गाउका सबै आवराहरूसँग पनि उठबस गर्न दिएको थियो ।

रातभर रामप्रसादलाई निद्रा लागेन । एकातिर आफ्नी छोरीको सम्झनाले बिरक्त पर्यो भने अर्कोतिर रातभर स्वास्नी रोएकी हुनाले सुतनै सकेन ।

उसलाई आफ्नो ओछ्यान देखेर रिस उठ्यो र मन पनि बिरक्तियो । एस्तो गरिबी र अभावको जीवन, जति दुख गरेपनि जोरी परिका अगाडि दुई चार पैसा खेलाएर हिड्न नसक्ने ? फेरि त्यस माथि आफ्नी छोरी हराएकी छ ।

ऊ ओछ्यानबाट जुरुक्क उठ्यो। उसलाई गाउको मुरलीधरको याद आयो । मुरलीधरको एक नम्बरको मुंद्रे छोरा हर्केले छोरीलाई बेला बेला जिस्काउने गरेको साथीबाट सुनेको थियो रामप्रसादले । कि हर्केले भगायो कि ? हर्के अस्ति मात्र गाउमा रडाको मचाएर सात दिन जेलमा जाकिएको थियो । ऊ एक्लै फत्फतायो । स्वास्नी पनि उठेर गहि दुहुन गई । सधैं त रामप्रसादले नै दुहुन्थ्यो ।

तर उसको मन पाकेको छ अहिले । एकचोटी बिरामी पर्दा रात बिहान केही नभनेर उसकी छोरीले तातो तातो दुध तताएर दिन्थी, र कसरी टाउको थिची दिन्थी । घरमा भाले नकरौदै लिपपोत सक्थी । उसले छोरीको बारेमा योभन्दा बढी केही सोच्न सकेन र पूर्वतिर फर्केर तरक्क दुखका आशु झार्यो ।

रामप्रसाद यति बेला सडकमा हिडिरहेको छ । मुरलीधरसँग कुरा गर्नु छ उसले गाउमा उहिलेका वर्ष अनिकाल परेर केही उब्जनी हुन नसकेका बखत त्यतिबेला छ पाथी मकै चार पाथी चामल सापट लिएको थियो । बुझाउन जादा मुरलीधरले पटकै लिन मानेको थिएन । त्यही गुण कहिल्य बिर्सन सकेको छैन रामप्रसादले । ऊ हिडेको बाटो अलिक परतिर एकतमासको भीड र ठुलो हल्ला बढेको देखेर रामप्रसाद नराम्रोसँग तर्सियो । यस्तो भीड र हल्ला त आन्दोलनमा मात्र हुन्थ्यो । उसले लख काट्यो । झमक बहादुरको घर जाने बाटोलै छोडेर तेर्सो तेर्सो लाग्यो रामप्रसाद ।

“कठै उमेरमा कसले मारिदिए छ बिचरीलाई “। बुढी आमा भक्कानिएको देख्यो रामप्रसादले । “कहिले पनि नराम्रो मुख गरेकी जस्तो लाग्दैन । त्यस्तिलाई पनि दैव लागे ।”

एक तर्फबाट मान्छेहरू कराइरहेका थिए । ऊ अगाडि बढ्यो । उसले त्यतिनै खेर आफ्नी छोरीलाई मृत देख्यो । सायद बलात्कार गरेर फ्यालेको हुनु पर्छ । रामप्रसादले एकै चोटी आफ्नी स्वास्नी सम्झ्यो ।

घरको अवस्था सम्झ्यो । वास्तवमा अब ऊ धेरै नै बिचलित भएको छ । बढेका छोरीहरू यसरी बलात्कृत हुदा पनि राजनीति गर्नेका आँखाले सत्यता नदेखेको देखेर उसलाई बितृष्णा पैदा भएको छ । त्यसैले छोरीको मृत शरिरमा पछारिएर रोइरहेको छ रामप्रसाद । नेता जति सबै रमाइलोमा गाउमा छोरीहरुको सुरछा कसले गर्ने ? ऊ आँखाभरि आँशु पारेर बेहोस भएको छ यतिखेर ।

कमला बुढाथोकी सरुप

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *