नेपाली साहित्यमा माध्यमिक कालको विशिष्ट स्थान रहेको छ । प्राथमिकताकालीन भक्तिधारा अन्तरधाराका रूपमा रहे पनि शृङ्गारिक संचेततानै मूल प्रवाहका रूपमा रहृयो । शृङ्गार युगका प्रवर्तक बहुआयामिक प्रतिभाका स्रोत मोतिराम भट्ट हुन् । उनले नै नेपाली नाट्य परम्परामा रूपान्तरण नाटकको आविर्भाव गरेका हुन् । मोतीराम भट्टको चर्चा गर्दा शम्भुप्रसाद ढुड्ढेलको पनि प्रसड्ढ आउँछ, तर यी दुबै कवि बीच समयको ठूलो अन्तर रहेको छ । यसै सन्दर्भमा माध्यमिक कालकै अर्का बहुमुखी प्रतिभा पहलमानसिंह स्वाँरको सम्झना हुन्छ । उनको प्रेमामृतवचन सङ्ग्रह काव्यको सन् १९६० मा प्रकाशित भएको हो । माध्यमिक कालका काब्य परम्परामा स्वाँरको ‘प्रेमामृतवचन’ सङ्ग्रहको ऐतिहासिक मूल्य रहेको पाइन्छ । प्रस्तुत काव्यमा ‘पिकदूत’ काव्य पनि समावेश गरिएको पाइन्छ । यसरी संस्कृत साहित्यको दूत काव्य परम्परालाई ग्रहण गर्दै स्वाँरले सन् १९६० मा ‘पिकदूत’ लेखेर नेपाली साहित्यमा दूत काव्य परम्पराको प्रवर्तन गरेको देखिन्छ । स्वाँरको ‘पिकदूत’ को चौध वर्षपछि मात्र मोतीराम भट्टको ‘पिकदूत’ -सन् १९७४) ‘सुक्तिसिन्धु’ मा समावेश भएको पाइन्छ । त्यस्तै संस्कृत साहित्यमा ऋतुकाव्य परम्पराको छुट्टै स्थान रहेको छ । त्यही परिपाटीलाई वरण गरेर स्वाँरले नेपाली काव्य परम्परामा ‘ऋतुवर्णन’ नामले ऋतु काव्य विधाको प्रवर्तन गरेको देखिन्छ । यसको एकतीस वर्षपछि मात्र कवि शिरोमणि लेखनाथले ‘ऋतुविचार’ -१९९१) प्रकाशन गर्नुभएको हो । लेखनाथको ‘ऋतुविचार’ को तुलनामा स्वाँरको ‘ऋतुवर्णन’ मा स्थानीयताको सघन रूप पाइन्छ । नेपाली दूत काव्य र ऋतु काव्यको चर्चा गर्दा संस्कृत साहित्यका महाकवि कालीदासको ‘मेघदूत’ र ‘ऋतुसंहार’ खण्डकाव्य नै प्रेरणा भूमि रहेको देखिन्छ । नेपाली साहित्यको विभिन्न विधामा मोतीराम भट्टले योगदान दिए जस्तै स्वाँरले पनि कविता काव्य, नाटक, भाषाव्याकरण, धर्मदर्शन, आख्यान, बालसाहित्य, पाठ्यपुस्तक, अनुवाद आदि जस्ता विभिन्न विधाका तेइसवटा कृति प्रदान गरेर नेपाली साहित्यको श्रीवृद्धिमा महत्त्वपूर्ण योगदान दिएका छन् ।

‘प्रेभामृतवचन ‘वचन सङ्ग्रहपछिका उनका’ बालोपदेश’ र ‘प्रेमरञ्जन शृङ्गार’ जस्ता काव्यको अनुशीलन गर्दा शृङ्गार धाराबाट क्रमशः सुधारवादी भावना र आध्यात्मवादी चेतनाको विकास र विस्तार हुँदै गएको पाइन्छ । स्वाँरको सुधारवादी भावनाको प्रभाव धरणीधर कोइराला र महानन्द सापकोटामा पाइन्छ । त्यस्तै स्वाँरको आध्यात्मिक संचेतना कवि शिरोमणि लेखनाथको काव्य साधनामा क्रमशः विकसित भएको देखिन्छ । स्वाँरले जस्तैपछि लेखनाथको पनि शृङ्गारिक धारा हुँदै समाज सुधार र अध्यात्म चेतनाको लामो काव्य यात्रा सुसम्पन्न भएको छ । त्यस्तै माध्यमिक कालका साम्वभक्त शर्मा सुवेदी पनि छन्द ज्ञानका लागि स्वाँरको ‘प्रेमामृतवचन सङ्ग्रह’ नै आधारग्रन्थ भएको कुरा उनकै आत्मस्वीकृति पाइन्छ । त्यस समयका धरणीधर कोइराला, महानन्द सापकोटा, साम्वभक्त शर्मा, लेखनाथ आदिका प्रेरकका रूपमा पहलमानसिंह स्वाँर रहेको स्मरणीय छ ।

माध्यमिक कालमै मोतीराम भट्टले नेपाली नाट्य परम्परामा रूपान्तरित नाट्य चरणको शुभारम्भ गरेको देखिन्छ । यसको प्रभावका समकालीन नाट्य लेखकहरूमा प्रभाव परेको परिलक्षित हुन्छ । यसको प्रभावपछि विकसित भएको दरबारभित्र र दरवार बाहिरका थिएटर परम्परामा पनि परेको पाइन्छ । नेपाली नाटक विधामा मौलिक नाट्य लेखनका लागि उपयुक्त वातावरण सिर्जना गर्नमा मोतीराम भट्टको अप्रतिम भूमिका रहेकेा छ । यसै पृष्ठभूमिमा सं.१९६२ सालमा प्रकाशित भएको स्वाँरको नाटक ‘अटलबहादुर’ प्रवासमै लेखन, प्रकाशन र मञ्चन हुनु नेपाली नाट्य परम्परामा एउटा अभूतपूर्व र ऐतिहासिक घटना हो । संस्कृत नाटकमा वियोगान्त नाटकलाई निषेध गरी संयोगान्त नाटकलाई मात्र प्रश्रय दिइएको पाइन्छ । यस्तै प्रवृत्ति पहलमानसिंह स्वाँरको आगमनअघि नेपाली रूपान्तरण नाटकको परम्परामा पाइने तथ्यलाई बिर्सन सकिन्न । स्वाँरले ‘अटलबहादुर’ नाटककै भावभूमिमा नेपाली नाट्य साहित्यमा सर्वप्रथम वियोगान्त नाटकको पनि प्रादुर्भाव गरेका हुन् । उपर्युक्त पृष्ठभूमिमा स्वाँरले नेपाली नाटक परम्परामा एउटा नयाँ युगको सूत्रपात गरेका छन् । समष्टिमा माध्यमिककालीन काव्य र नाट्यविधामा विशुद्ध नेपाली काव्य र सर्वथा मौलिक तथा वियोगान्त नाटकको सिर्जना गरेर अमरसाधक पहलमानसिंह स्वाँरले नेपाली साहित्यको सम्वर्द्धनमा युगान्तकारी देन दिएका छन् ।

शनिवार
२०६५, मंशीर ७

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *